+

करुणाको कमब्याक

२०८० पुष  १२ गते १८:४४ २०८० पुष १२ गते १८:४४
करुणाको कमब्याक

१२ पुस, काठमाडौं । राष्ट्रिय महिला क्रिकेट टिमकी अनुभवी स्पिनर हुन्, करुणा भण्डारी । नेपालका लागि २१ वटा टी–२० अन्तर्राष्ट्रिय खेलेकी उनी २०७९ वैशाखमा अभ्यासका क्रममा घाइते भइन् ।

घुँडाको चोट (एसीएल) को शल्यक्रिया नै गर्नु परेपछि मैदान बाहिर रहेकी उनी १८ महिनापछि प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट खेल्न मैदान फर्किएकी छिन् ।

लामो समयको अन्तरालमा मैदान फर्के पनि उनको प्रदर्शनमा खासै फरक परेको छैन । उनले पहिलेजस्तै टिमका लागि योगदान गरिरहेकी छिन् । प्रतियोगिताका ६ खेलमा ८ विकेट लिएकी उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन् ।

मधेशकी पूजा महतो र सुदूरपश्चिमकी लक्ष्मी साउदले पनि समान ६ खेलबाट ८ विकेट नै लिएका छन् । तर बलिङ एभरेज र इकोनोमी रेटमा करुणा अघि छिन् ।

बुधबार कर्णाली प्रदेशसँगको खेलमा ४ ओभरमा मात्र १३ रन दिएर ४ विकेट लिएकी थिइन् । १८ महिना खेल्न नपाएको भोक मेटाउँदै प्रधानमन्त्री कप खेलिरहेकी उनी भन्छिन्, ‘आइ क्यान डु मोर बेटर ।’

नयाँ फर्म्याटले फाइदा

यसअघि राष्ट्रिय क्रिकेट प्रतियोगिता समूह चरणमा हुन्थ्यो । त्यसैले एउटा टिमले ३–४ खेल मात्र खेल्न पाउथे । तर यसपालि नेपाल क्रिकेट संघ क्यानले राउण्ड रोबिन लिग र त्यसपछि शीर्ष ४ टिमबीच प्लेअफ फम्र्याटमा प्रतियोगिता आयोजना गरिरहेको छ । त्यसैले एउटा टिमले कम्तीमा पनि ७ खेल खेल्न पाएका छन् ।

राउन्ड रोबिनमा भइरहेको प्रतियोगिताले आफ्नो बलिङ सुधार गर्न महत्वपूर्ण भूमिका खेलेको उनले अनुभूति गरेकी छिन् । ‘पीएम कपमा पहिलो पटक राउन्ड रोबिनमा खेल भइरहेको छ’, उनले भनिन्, ‘बलिङ अझ निखार्ने मौका पाइरहेको छु ।’

उनको टिम शीर्षस्थानमा रहँदाै प्रधानमन्त्री कपको क्वालिफायरमा पनि पुगिसकेको छ । उनी टिमलाई फाइनलमा पुर्‍याउँदै उपाधि जिताउन चाहन्छिन् ।

मैदान फर्किँदाको खुसी

त्यसो त उनले प्रधानमन्त्री कपकै तयारीका लागि एपीएफ र बागमती प्रदेशबीचको अभ्यास खेलमै बलिङ गरेकी थिइन् । त्यसपछि उनलाई अब खेल्न सक्छु भन्ने लाग्यो ।

‘सानैबाट क्रिकेट खेलेको भए पनि चोटपछि पुनः फर्किएर क्रिकेट खेल्छु भनेर सोचेकै थिइनँ’, उनले अनलाइनखबरसँग खुसी साटिन्, ‘पुनरागमन गरेर खेल्दा जति खुसी म कहिल्यै भएको थिइनँ होला ।’

गत चैतमा भएको ललितपुर मेयर कप क्रिकेटमा उनी म्यानेजर (व्यवस्थापक) को भूमिकामा टिममा थिइन् । ‘म्यानेजरको भूमिकामा टिममा फर्किँदा टिमलाई पुन नजिकबाट अनुभव गर्ने मौका भयो’, उनले भनिन्, ‘त्यसपछि आफू पनि यही स्थानका लागि बनेको भन्ने अनुभव हुन थाल्यो ।’

पुनरागमनमा विभागीय टिम एपीएफको साथ र सहयोग उनले कहिल्यै भुलेकी छैनन् । चाहे त्यो अफिसबाट होस् वा साथीहरुबाट । चोटको समयमा अफिस जानुपरेन, पूर्ण बिदामा बसेर उनले उपचार गराउन पाइन् ।

‘चोट लाग्दा बाहिरी खेलाडी भएको भए कमब्याक गर्न गाह्रो हुन्थ्यो’, उनी भन्छिन्, ‘एपीएफको साथ र क्यानको करारमा भएको भएर मलाई निकै सहज भयो ।’

मैदान बाहिर रहँदाको छटपटी

गतवर्ष इटहरीमा भएको प्रधानमन्त्री कपमा एपीएफ टिम सेमिफाइनलबाटै बाहिरियो । बाहिर बसेर खेल हेर्दा, त्यहीँमाथि टिमले हार्दा अनि कप्तानले तिम्रो कमी महसुस भयो भन्दाको छटपटाहट करुणाले पनि भोगिन् ।

‘म टिभीमा लाइभ हेर्दै थिएँ । त्यति बेला म छटपटाएँ’, उनले भनिन्, ‘पछि कप्तानले पनि तिमी नहुँदा ४ ओभर मिस भयो भन्दा धेरै छटपटी भयो ।’

शल्यक्रियापछि १ वर्षमा घुँडा ठीक भए पनि खेल्न तम्सँदा ध्यान भने उनको घुँडामा नै जान्थ्यो । जसका कारण उनले धेरै समय मानसिक रुपमा तयार हुन योग शिविर र पुनर्स्थापना केन्द्र नै धाइन् ।

सुरुमा चोटको पीडा त्यसपछि मानसिक रुपमा बाहिर बस्न निकै कष्ठ हुने उनले अनुभव गरेकी छिन् । ‘खुट्टामा चोट लागे पनि असर भने दिमागमा पर्दो रहेछ’, १८ महिनामा उनले यही बुझिन् ।

राष्ट्रिय टिममा पुनरागमनको आशा

२०४५ सालमा सिन्धुपाल्चोकमा जन्मेर २ वर्षकै उमेरमा बाआमासित काठमाडौं पसेकी उनले राष्ट्रिय टिम बन्नुअघि नै मैतीदेवीका गल्लीहरुमा क्रिकेट खेल्न थालेकी थिइन् ।

सन् २००७ मा राष्ट्रिय महिला क्रिकेट टोली गठन भएपछि उनले पनि नेपालको जर्सी लगाउने सपना देखिन् । ४ वर्षमै उनको त्यो सपना पूरा भएको थियो । सन् २०११ मा महिला राष्ट्रिय टोलीमा डेब्यू गरेकी उनले त्यो मिति १८ फ्रेब्रुअरी अझै भुलेकी छैनन् ।

१८ महिनाको अन्तरालपछि मैदान फर्केर देखाएको प्रदर्शनले अब उनीमाथि राष्ट्रिय टिममा पुनरागमन कहिले भन्ने प्रश्न जायज नै हुन्छ ।

उनीसँग यसको सटिक जवाफ छ, ‘मैले पछिको सोचेको छैन । अहिले आफ्नो बेस्ट दिने हो । पछि के हुन्छ थाहा छैन ।’

जवाफ जे भए पनि उनी राष्ट्रिय टिममा पुनरागमन गर्नेमा विश्वस्त छिन् । यो अवधिमा नेपालले खेलेका केही अन्तर्राष्ट्रिय शृंखला गुमाएकी उनले यसअघि नेपाली महिला टिमको मलेसिया भ्रमणको बेला राष्ट्रिय टिमसँगै आएर अभ्यास गरेकी थिइन् । उनी भन्छिन् ‘कमब्याक गर्न सक्छु भन्ने आत्मविश्वास थियो । त्यही भएर राष्ट्रिय टिमको प्रशिक्षणमा आएर अभ्यास गर्थे ।’

करुणा भण्डारी प्रधानमन्त्री कप क्रिकेट
लेखक
नमिता दाहाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय