+

जब खेल जितेपछि पनि नेपालले सुपर ओभर खेल्न थाल्यो…

२०८१ जेठ  १२ गते ७:३५ २०८१ जेठ १२ गते ७:३५
जब खेल जितेपछि पनि नेपालले सुपर ओभर खेल्न थाल्यो…

१२ जेठ, ह्युस्टन । क्रिकेटमा सुपर ओभर खेल बराबरी भएमा नतिजा निकाल्न खेलिने गरिन्छ । तर, आईसीसी टी-२० विश्वकप २०२४ को तयारीमा अमेरिका रहेको नेपालले पहिलो टी-२० अभ्यास खेलमा ह्युस्टन हरिकेन्सलाई ६ रनले हरायो ।

प्रेरी भ्यू कम्प्लेक्समा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १४६ रन बनाएको थियो । ओपनर कुशल भुर्तेललाई १ र आसिफ शेखलाई ४ रनमै गुमाएको नेपाललाई अनिल साह र रोहित पौडेले तेस्रो विकेटका लागि ५१ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।

अनिल कुमार साहले ३८ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४७, रोहित पौडेलले २३, गुलशन झाले २०, सन्दीप जोराले २१ र कुशल मल्लले १२ रन बनाए । ह्युस्टनका उस्मान शिनवारी र इमरान शेखले २-२ विकेट लिए ।

१४७ रनको लक्ष्य पछ्याएको ह्युस्टन हरिकेन्सले २० ओभरमा ८ विकेट गुमाउँदै १४० रन मात्रै बनाउन सक्यो । ह्युस्टनका लाहिरु मिलान्थाले २२ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३३ रन बनाए ।

नेपालका करण केसी र सोमपाल कामीले २/२ विकेट लिए । अन्तिम ६ बलमा ह्युस्टन हरिकेन्सलाई १० रन चाहिँदा नेपालका तीव्र गतिका बलर करण केसीले मात्रै ३ रन खर्चेर नेपाललाई जित दिलाएका थिए । त्यसअघिको १९ औं ओभरमा अभिनाश बोहराले १४ रन खर्चेका थिए ।

जितपछि नेपाल र ह्युस्टन हरिकेन्सका दुवै खेलाडीले हात मिलाउँदै पेभेलिएन फर्केका थिए । केही समर्थक मैदान छाडेर फर्किन थालेका थिए ।  तर, केही समयपछि नेपाली खेलाडी पुन: फिल्डिङमा आए । ह्युस्टनले ब्याटिङका इमरान खान र जोश ट्रम्पलाई पठाएको थियो ।

तीव्र गतिका बलर अभिनाश बोहराले सुपर ओभरमा कुल १५ रन खर्चिए । नेपालले उक्त रन दुई बल अगाडि नै पूरा गरेको थियो । सुपर ओभरमा कुशल भुर्तेल र कुशल मल्ल आएका थिए । कुशल मल्लले पहिलो बलमै लङअनमा र दोस्रो फुलटस बललाई छक्का हान्दै सहज जितको आधार तय गरेका थिए । तेस्रो बल डट भयो । चौथो बल एज लागेर चौका गएको थियो ।

सुपर ओभर भने नेपालले आगामी टी-२० विश्वकपलाई ध्यानमा राख्दै अभ्यास गर्न खेलेको बुझिएको छ । नेपालको खेल सकिनु अघि नै सुपर ओभर हुने तय भइसकेको थियो ।

‘आजको सुपर ओभर अभ्यास मात्रै हो । किनभने त्यो दिन भोलिको दिनमा आउन सक्छ । त्यसैले सुपर ओभर गरेर हेर्‍यौ भनेर खेलेका हौं,’ नेपालका सहायक प्रशिक्षक वसन्त शाहीले खेलपछि भने ।

नेपालले गत नोभेम्बरमा आईसीसी टी-२० विश्वकप एसिया क्वालिफायर फाइनलमा ओमानसँग सुपर ओभरमा हारेको थियो । सुपर ओभरमा अभिनाश बोहराले ३ छक्कासहित कुल २१ रन खर्चेका थिए । त्यसैले गर्दा पनि नेपालले सुपर ओभरमा पनि तयारी गरेको हो । अभिनाश नै सुपर ओभर गर्ने आफ्नो पहिलो बलर भएको उनी बताउँछन् ।

‘सुपर ओभरको प्रमुख बलर अभिनाश नै हो । तर कुनैदिन खेलमा फरक योजना पनि हुनसक्छ । अरु कोही बलर पनि निस्किन सक्छ’, शाहीले भने ।

आईसीसी टी-२० विश्वकप १ जुनदेखि २९ सम्म अमेरिका र वेष्टइन्डिजमा हुनेछ । नेपालले ह्युस्टनसँग शनिबार दोस्रो तथा अन्तिम अभ्यास खेल खेल्नेछ । त्यसपछि डालासमा जानेछ । डालासमा नेपालले आईसीसीको दुई आधिकारिक वार्मअप खेल क्यानडासँग २७ मे र ३० मेमा अमेरिकासँग खेल्नेछ ।

नेपालको समूह डी मा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन् । नेपालले डालासमा नेदरल्यान्ड्ससँग खेल्नेछ । नेपालको लक्ष्य शीर्ष दुईमा रहँदै सुपर ८ खेल्नेछ । सुपर ८ मा पुग्न नेपालले कम्तिमा दुई खेलमा जित चाहिन्छ ।

नेपाली क्रिकेट
लेखक
भुपेन्द्र जि.सी.
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय