+

विश्वकपमा नेपाल कुनै पनि टोलीलाई हराउन सक्षम : रोहित पौडेल

२०८१ जेठ  ११ गते ९:२१ २०८१ जेठ ११ गते ९:२१
विश्वकपमा नेपाल कुनै पनि टोलीलाई हराउन सक्षम : रोहित पौडेल

११ जेठ, अमेरिका (ह्युस्टन) । दोस्रो टी–२० आई खेलमा बिहीबार घरेलु टोली अमेरिकाले टेस्ट टोली बंगलादेशलाई ६ रनले हरायो । ह्युस्टनमा रहेको प्रेरी भ्यू कम्पलेक्स मैदानमा १४५ रनको लक्ष्य पछ्याएको बंगलादेश १९.३ ओभरमा १३८ रनमा अल आउट भएको थियो ।

तीन टी–२० आई खेलको सिरिजमा पहिलो खेलमा अमेरिकाले बंगलादेशलाई ५ विकेटले हराएको थियो ।

बंगलादेशमाथि अमेरिकाको दुबै जितले नेपाल उत्साहित छ । त्यसको मुख्य कारण दुई सातापछि अमेरिका र वेस्टइन्डिजमा हुने टी–२० विश्वकप हो । समूह डी’मा नेपाल, नेदरल्यान्ड्स, बंगलादेश, श्रीलंका र दक्षिण अफ्रिका छन् । नेपालले शीर्ष दुईमा रहँदै सुपर–८ मा पुग्ने लक्ष्य राखेको छ ।

सुपर–८ मा पुग्न नेपालले कम्तीमा दुई खेल जित्नुपर्ने हुन्छ । अमेरिकाको नतिजाले बंगलादेशमाथि जित निकाल्न सक्ने नेपाली खेलाडीको आत्मविश्वास बढाएको छ । नेपालका कप्तान रोहित पौडेल आफूहरु कुनैपनि टोलीलाई हराउन सक्षम भएको बताउँछन् ।

‘बंगलादेशमाथि अमेरिकाको जित एसोसिएट क्रिकेटको लागि एकदमै राम्रो हो । अमेरिकाले बंगलादेशलाई हराएको छ । मनोबल बढाएको छ’, कप्तान रोहितले भने, ‘एउटा टिमको रुपमा सबै एरिया कभर गरेका हामीले कुनैपनि टोलीलाई हराउन सक्छौंजस्तो लाग्छ । तर खेलको दिन हामीले आफ्नो उत्कृष्ट दिनुपर्‍यो ।’

दुबै खेलमा हारपछि बंगलादेशका कप्तान सकिब अल हसन टी–२० मा सबै टोली बराबर बताउँछन् ।

‘टी–२० मा हरेक टोली बराबर छन् । मैले वेस्टइन्डिज ए’ र नेपालबीचको सिरिज हेरेको थिएँ । नेपालले साँच्चै राम्रो खेलेको थियो’, सकिबले भने, ‘टी–२० मा जे पनि हुनसक्छ । त्यो दिन कस्ले राम्रो प्रदर्शन गर्छ त्यसमा भरपर्छ । कसैलाई कमजोर आक्न सकिँदैन । १/ २ ओभरले खेलको मोमेन्टस् र पूरै खेलको सिनारियो परिवर्तन गर्दछ ।’

विश्वकपमा हरेक खेल हरेक टोलीलाई कठिन र दबाब पनि फरक हुने सकिब बताउँछन् ।

२ वर्षअघि आईसीसी विश्वकप लिग–२ खेल्न अमेरिका आउँदा नेपालले ह्युस्टन हरिकेन्ससँग दुई अभ्यास खेल खेलेको थियो । त्यो समय हरिकेन्ससँग नेपाल एक खेलमा पराजित र अर्कोमा विजयी भएको थियो । ह्युस्टन हरिकेन्ससँग नेपालले शुक्रबार र शनिबार दुई टी–२० अभ्यास खेल खेल्नेछ ।

नेपालले सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स (वेस्टइन्डिज) मा विनवार्ड्स भोलक्यानोजसँग ३ खेलको सिरिज २–१ ले जितेको थियो । नेपालले २७ मे मा क्यानडा र ३० मे मा अमेरिकासँग ग्राण्ड पे्ररी स्टेडियममा वार्मअप खेल खेल्नेछ ।

प्रेरी स्टेडियममै नेपालले विश्वकपमा आफ्नो पहिलो खेल ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्नेछ । रोहित २ अभ्यास खेलले विश्वकपमा फाइदा हुने बताउँछन् ।

‘हामीलाई मुख्य त कन्डिसन हेर्नु थियो । विशेषगरी वेस्टइन्डिजमा हाम्रो दुई खेल छ । ह्युस्टनमा २/३ मा एकदमै राम्रो तयारी भएको छ । वेस्टइन्डिजमा हामी खेलमात्रै खेलेका थियौं । आगामी २/३ सेसनमा राम्रो गर्ने छौं’, उनले भने ।

दीपेन्द्रले ह्युस्टनसँगको २ अभ्यास खेल गुमाउने पक्का

नेपालका प्रमुख अलराउन्डर दीपेन्द्रसिंह ऐरीले ह्युस्टनसँगको २ अभ्यास खेल नखेल्ने पक्का छ । वेस्टइन्डिजमा दीपेन्द्रको खुट्टाको एंकलमा चोट लागेको थियो । ‘दीपेन्द्रले ह्युस्टन हरिकेन्ससँग पहिलो खेल खेल्न गाह्रो छ । किनभने ठिक हुन २/३ दिन समय लाग्छ । त्यसपछि उनी मैदान फर्किनेछन्’, रोहितले दीपेन्द्रको चोटबारे भने ।

नेपालले नेदरल्यान्डस् बाहेक अन्य ३ खेल श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिकासँग फ्लड लाइटमा खेल्नेछ । नेपालले आफ्नो क्रिकेट फ्लड लाइटमा निकै कम खेल्ने भएकाले अनुभव पनि कम छ ।

‘फ्लड लाइटमा खेल्न नपाउँदा अलीकति चुनौतीपूर्ण त हुन्छ । किनभने हामी फ्लड लाइडमा युज्डटू छैनौं । आउने दिनमा फ्लड लाइटमा अभ्यास गर्छौं होला !’ राहितले भने, ‘हामी यो भन्दा अघि ओमानमा पनि खेलेका थियौं । त्यति फरक हुँदैन । एउटा खेलाडीको रुपमा त्यसमा जानकारी हुन आवश्यक छ ।’

आईसीसी टी-२० विश्वकप क्रिकेट विश्वकप रोहित पौडेल
लेखक
भुपेन्द्र जि.सी.
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय