+
+

‘करुणाले राम्रो खेली भनेर बुबालाई सबैले बधाई दिए, त्यही ठूलो खुसी हो’

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर १३ गते ४:४०

karuna_810

१२ मंसिर, काठमाडौं । कक्षा आठ पढ्दासम्म उनले सँगै खेल्ने साथीहरुलाई आफू केटी भएको खुलाइनन् किनकी केटी भन्ने थाहा पायो भने क्रिकेट खेल्न पाइँदैन । ब्वाई (केटा)कै गेटअपमै हिँडिन् । कहिले काँही मैतिदेवीको गल्लीहरुमा क्रिकेट खेलिरहँदा उनलाई डर लाग्थ्यो, कतै साथीहरुले थाहा पाउँछन् कि ! दिदीले मायाले करुणे भनेर बोलाउँथिन्, साथीहरुलाई लाग्यो ‘करने’ भनेर बोलाइएको हो ।

आफ्नो दाइ र उनकी साथी बन्टु, जो पछि नेपालको टिमबाट पनि खेले, उनीहरुसँग खेल्दा फिल्डिङ मात्र गर्न राख्थे । त्यसैले उनी केटा बनेर टोलका केटाहरुसँग क्रिकेट खेल्न रुचाइन् ।

तर, उनलाई केटी भएको त्यसबेला गर्व लाग्यो, जब नेपालमा महिला क्रिकेट टोली बन्यो ।

०००

यो कथा हो, क्रिकेटर करुणा भण्डारीको । उनी अहिले नेपाली महिला टोलीकी भरपर्दा बलर हुन् । विश्वकप छनौटमा दोस्रो भएर आएको उनी सहितको टोली अहिले थाइल्याण्डमा छ र एसिया कप खेल्दैछ ।

उनको क्रिकेट मोह लोभलाग्दो छ, २८ औं बसन्त पार गरेकी उनको एउटै लक्ष्य छ क्रिकेट, क्रिकेट क्रिकेट …।

karuna-bhandari-1त्यसै पनि महिला क्रिकेट छायाँमा परेको छ । झन् हाम्रोमा त डेढ/दुई वर्ष अभ्यास गर्दा एउटा प्रतियोगिता खेल्न पाउनु पनि मुस्किल छ । र, करुणालाई लाग्छ कि क्रिकेटमा करियर छैन ।

तर, पनि खेल्न छाड्ने कुनै सोच छैन । बैंकक उड्नुअघि अनलाइनखबरसँग गफिन तयार भएकी उनले भनिन्, ‘हाम्रो गेम नै हुँदैन । केही हुँदैन जस्तो लाग्छ तर, जबसम्म खेल्न सक्छु खेल्छु ।’

‘आफैं लागि खेलेको हो । अब २/३ वर्ष खेल्छु । किनकी क्रिकेट मेरो बच्चैदेखिको सपना थियो ।’

०००

वि सं २०४५ सालमा सिन्धुपाल्चोकमा जन्मिए पनि २ वर्षको उमेरमा नै परिवारसँग शहर पसेकी उनले गल्लीमा क्रिकेट खेल्दै गर्दा सन् २००७ मा नेपाली महिला टोलीको गठन भयो । उनलाई पनि देशका लागि खेल्ने रहर जाग्यो । लाख प्रयास गरिन्, सफलता हात लागेन । लाग्यो, अब हुन्न ।

तर, दैवले जुराउँछ भने झै भयो । उनकी दिदीको बोसले बालुवाटार क्रिकेट एकेडेमीका सरहरुलाई चिनेकी रहेछन् र करुणाका लागि भनिदिइन् । त्यहाँ कुरा भएको भोलिपल्टै आउन भनियो ।

उनलाई त्यो दिन अहिले पनि याद छ, मंसिर ५ । जुन दिन उनले ‘करण’ होइन, ‘करूणा’ भएर अरु ‘करूणा’हरूसँग खेल्न पाइन्। त्यसपछि भने उनले पछाडि फर्किएर हेर्नु परेको छैन । झण्डै एक महिना नै उनी काठमाडौंको टोलीमा परिन् र सन् २०११ मा नेशनल टिमबाट डेब्यू गरिन् ।

०००

उनले  सन् २०११ मा नेपालको राष्ट्रिय टोलीबाट डेब्यू गरिन् । संयोग पनि कस्तो, उनी नेपालको जर्सी लगाएर देशको प्रतिनिधित्व गर्दै क्रिकेट खेल्न विदेश उड्दै गर्दा घरमा दिदीको विवाहको तयारी चल्दै थियो ।

‘राम्रो खेलेर आउँछु भन्ने त थियो । तर, पहिलो खेल भएकाले डर थियो, उनले त्यो क्षण सम्झिइन् ।

उनको डेब्यू अविश्मरणीय रहृयो । उनले चार विकेट लिइन् । ‘बिहे दिदीको थियो । तर, मेरो बाहेक अरुको चर्चा भएनछ,’ उनले भनिन्, ‘करुणेले राम्रो खेली भनेर बुबालाई बधाई दिए । मेरो लागि सबैभन्दा ठूलो खुसी त्यही हो ।’

‘त्यो डेट पनि मलाई याद छ, १८ फेब्रुअरी,’ डेब्यू गरेको सम्झँदै गर्दा उनको अनुहारमा गज्जबको मचक देखिन्थ्यो । एसीसी टी-२० मा तेस्रो स्थानका लागि थाइल्याण्डविरुद्धको खेलमा उनले हृयाट्रिकसहित ५ विकेट लिँदा पनि उनले आमाबुबा र परिवारलाई नै सम्झिइन् ।

karuna-bhandari

हालै सम्पन्न एसिया क्वालिफायरमा उनले हङकङसँगको महत्वपूर्ण खेलमा १९ र बनाइन् र ३ विकेट पनि लिइन् । ‘म ब्याट्स्म्यान होइन, म बलर हुँ । तर फिल्डमा ग्यापको फाइदा उठाएर रन लिन चाहीँ मलाई आउँछ,’ हाल सशस्त्र प्रहरीको टिममा रहेकी करूणा भन्छिन् ।

तर त्योभन्दा पनि महत्वपूर्ण कुरा के हो भने करूणाले नेपाली क्रिकेटमा रहेको ठूलो ‘ग्याप’लाई परिपूर्ति गरेकी छिन् । र, जारी एसिया कपमा पनि उनी नेपाली टोलीका मुख्य सदस्य हुन् ।

०००

नेशनल टिममा खाली रहँदा पनि उनी क्रिकेटसँगै हुन्छिन् । सशस्त्र प्रहरीको एपीएफ क्लबमा आवद्ध भएकाले दैनिक रुपमा गएर खेल्नै  पर्छ । उनलाई अझै खेल्न सक्छु भन्ने पनि छ ।

र, रहर छ आफ्नो होम ग्राउण्डमा होम क्राउडका अगाडि खेल्ने । ‘अरु देशमा जाँदा त्यही देशकै मानिसहरु आउँदैनन्,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?