+
+
कभर स्टोरी :

द्वन्द्वमा बलात्कार पीडितको चीत्कार : ‘सेना, प्रहरीको के कुरा ? संसदमै पुगे बलात्कारी’

‘अझै पनि ती साना केटीहरूको चिच्याई मेरो कानमा गुञ्जिन्छ । हामी तीनै जनालाई पालैपालो बलात्कार गरियो । जब म होशमा आएँ, शरीरभरि घाउ थिए । मैले पानी मागें, तिनीहरूले मुखमा पिसाब फेरिदिए ।’

सुदर्शन खतिवडा सुदर्शन खतिवडा
२०८० चैत ९ गते २०:२९

२०८० माघ अन्तिम हप्ता काठमाडौंमा प्रमुख चार राजनीतिक दलका नेता, कूटनीतिक नियोग र संयुक्त राष्ट्रसंघका प्रतिनिधिसँग द्वन्द्वमा बलात्कार पीडित २० महिला आफ्नो भोगाइ र पीडा सुनाउन उपस्थित थिए । तीमध्ये १० पीडित महिला (पात्र) ले सुनाएको विलौना जस्ताको तस्तैः

पात्र– १

यो कार्यक्रममा हामी द्वन्द्वका क्रममा बलात्कार पीडित महिला छौं । एकप्रकारले जीवित भुक्तभोगीहरू यहाँ छौं । आज हामी अभिभावकहरूसँग आफ्ना दुःख र पीडा पोख्न यहाँ आएका छौं । न्याय माग्न जम्मा भएका छौं । यो भेटघाटको उद्देश्य यही हो ।

म नेपालको पूर्वी पहाडी जिल्लाको एकदमै दुर्गम ठाउँमा जन्मिएकी हुँ । छोरीलाई स्कुल पठायो भने कुल बिग्रन्छ भनिन्थ्यो । मैले मात्र एक दिन स्कुल टेकें, त्यो पनि भाइलाई पुर्‍याउन जाँदा ।

मेरो दाइ माओवादीको नेता हुनुहुन्थ्यो । माओवादी परिवार भएकै कारण १७ वर्षको उमेरमा म गिरफ्तारीमा परें । त्यस दिन राति १२ बजे हातमा हत्कडी र खुट्टामा साङ्लो लगाएर मलाई सानो घर (यातना गृह) मा लगे ।

बिहान ३ बजेसम्म एक उच्च अधिकारी सहित सात जना प्रहरीहरूले मलाई पिट्ने, कपाल तान्ने, गाला चिमोट्ने, चुरोटले पोल्ने लगायत यातना दिए । मलाई चिसो भुइँमा छोडियो । यसरी २८ दिन बेपत्ता बनाइयो । यसक्रममा ४ वटा जिल्लाको हिरासतमा पुर्‍याइयो ।

अन्तिम हिरासतमा म सामूहिक बलात्कारमा परें । चरम यातना दिएको भोलिपल्ट व्यक्तिहरू कोठाभित्र पसे । तीमध्ये एक जना मेरो छेउमा आयो र मेरो हात समात्यो । म चिच्याउन, कराउन थालें, कसैले सुनेन । मलाई भुइँमा लडाएर सामूहिक बलात्कार गरियो । केही समयपछि म बेहोश भएँ । त्यो रात मलाई कैयौं प्रहरीले हिरासतमा बलात्कार गरेको पछि थाहा पाएँ ।

होशमा आउँदा साङ्लोले बाँधिएको थियो मलाई । लडाइएको ठाउँमा रगत बगिरहेको थियो । मैले लगाएको लुगा च्यातिएको थियो । म रगतको पोखरीमा थिएँ । पछि, मलाई सिडिओको गाडीमा अस्पताल लगियो र त्यहाँ डाक्टरले सोधे, ‘तिमी केटाहरूसँग सुतेकी थियौ ? यसले केटाहरूसँग सुतेको देखाउँछ ।’

मैले होइन भनें । मलाई औषधि दिएपछि फेरि जेल लगियो । त्यसको भोलिपल्ट धेरै रगत बग्यो । तीन महिनापछि दोलखा कारागारबाट रिहा गर्न मानवअधिकारकर्मीले सहयोग गरे । नत्र म मर्थें होला । मलाई मानव अधिकारीवादीहरूले बचाए । एकराज भण्डारी, खिमलाल देवकोटा, गौरी प्रधान र पद्मरत्न तुलाधर लगायतले मलाई बचाउनुभयो ।

यसपछि मेरो जीवनका सबै चित्रहरू हराए । मलाई मर्न मात्रै मन लाग्थ्यो । करिब दुई वर्षपछि मात्रै म केही नियमित जीवनमा प्रवेश गर्न सफल भएँ । सबैलाई त्यो अवसर मिल्दैन तर म राज्यको माथिल्लो निकायसम्म पुगें ।

 

शान्ति प्रक्रियाको १४ वर्षपछि मात्रै म यस बारेमा बोलें । नबोल्नुका दुइटा कारण थिए, पहिलो– म सक्दिनथें । अर्को, अरू कोही बोलेन । त्यसैले रहरले होइन, म बाध्यताले बोलें । तपाईं अभिभावकहरूले बोलिदिनुभएको भए, म यसरी अहिले सडकमा आएर बोल्नुपर्ने थिएन ।

हामी शान्ति प्रक्रियामा छुट्यौं । आज पनि हामी अलि ठूलो स्वरमा भन्न चाहन्छौं– अघिल्लो कानुनले पनि हामीलाई चिनेन । समाजको नजरमा हामी चरित्र बिग्रिएका महिला भयौं, कानुनको नजरमा पीडित होइन । हामी रचनात्मक समाधान चाहन्छौं । कम्तीमा हामीलाई पीडितको दर्जा चाहियो ।

एक जना साथीलाई एनजीओ समातेर जेनेभा लगियो । संयुक्त राष्ट्रसंघको मानवअधिकार समितिको ६ बुँदे निर्देशन सहित फर्कनुभयो, जसमा देशमा कानुन बनाई यो महिलालाई न्याय देऊ भनिएको छ ।

एनजीओहरूले यहाँको कानुनले न्याय दिन्न, विदेश जाऊ भनियो । सात वर्ष हल्लाइयो । करोडौंको प्रोजेक्ट ल्याइयो तर यी पीडितको अवस्था उस्तै छ । पीडित आज पनि बच्चा लिएर सडकमा छिन् । एक जना पीडित आज पनि नाङ्गो खुट्टा लिएर यहाँ आउनुभएको छ ।

लोकतन्त्र त्यतिबेलासम्म संस्थागत हुँदैन जतिबेलासम्म हाम्रो आत्मसम्मान फिर्ता हुँदैन । हामीले खोजेको न्याय यही हो । हाम्रो प्रश्न छ– माओवादी युद्धलाई दबाउनका लागि बलात्कार गर्नु आवश्यक थियो कि थिएन ?

यहाँ रहेका मध्ये हामी केवल एक जनाले पीडक चिन्छौं । तपाईंहरू सजाय, सजाय भन्नुहुन्छ । कसलाई दिनुहुन्छ सजाय ? चिन्नेहरूलाई सजाय दिनुस् । कानुनका लागि मान्छे हो कि मान्छेका लागि कानुन हो ? हामी आफैं अपराधी खोज्न सक्दैनौं ।

हामी यहाँ उपस्थितमध्ये दुई जनाको मात्र टीआरसीमा मुद्दा दर्ता छ । घाइते भनेर दर्ता गरेको प्रमाण पनि छ । किन दर्ता भएन ? एकातिर पीडितमैत्री व्यवस्था छैन । पहिचान खुल्यो भने म कहाँ जाने भन्ने डर छ पीडितलाई । अर्कोतिर दर्ता गर्न कानुन छैन ।

हामी पीडित नै दोषी जसरी बाँचिरहेका छौं । सजाय भोगिरहेका छौं । चरित्रहीनको सट्टा कम्तीमा पीडितको दर्जा दिइयोस् । हामीलाई सुरक्षाको पनि थ्रेट छ । हामी सबैले अपराधी चिन्दैनौं । तर अपराधीले त चिन्छ । हामी प्रमाण पनि हो । राज्यले सुरक्षा देओस् । चिनिएका अपराधीलाई कारबाही गरियोस् ।

पीडितका सन्तानले पढ्न पाउन् । गाँस, बास, कपासको व्यवस्था होस् । न्याय पाइयोस् ।

यहींका एक पीडितको एक जना दाइ प्रहरी र एकजना आर्मीमा हुनुहुन्छ । बहिनीको गल्ती छैन भनेपछि धेरै वर्षपछि भाइटीका लगाए । म एकजनाले प्रयास गर्दा उहाँको जीवनमा खुसी फर्कियो । राज्यले गर्दा किन सक्दैन ?

हामीले बाँकी जिन्दगी आत्म स्वाभिमान र न्यायको अनुभूति गर्न पाइयोस् । तर राज्यले बेवास्ता गर्‍यो । संघसंस्थाले बेचे ।

व्यक्तिगत रूपमा राजनीतिमा मलाई केही चाहिन्नँ । सत्य स्थापित गरेर मात्र मर्छौं । समाधान दिन तयार छौं । देश रहे हामी रहन्छौं तर अपराध सहँदैनौं । समयमा सत्य स्थापित गरियोस् ।

पात्र–२

म सार्वजनिक स्थानमा प्रतिकार समूहबाट सामूहिक बलात्कारमा परेकी हुँ । अहिले २२ वर्ष भइसक्यो । उनीहरू विरुद्ध शान्ति समिति र माओवादीमा उजुरी पनि दिएँ । तर केही भएन ।

बिहान सात बजेको कुरा हो, हूलका हूल प्रतिकार समितिका मानिसहरू आएर मलाई बाख्रालाई जस्तै घिसारेर लगे । कुट्ने, पिट्ने गरे । १३ वर्षको छोरो घरभित्र थियो, घरमा आगो लगाइदिए ।

मलाई सामूहिक बलात्कार गरेपछि मर्‍यो भनेर खोलामा फालिदिए । म होशमा आएपछि पुनः उठाएर बाँधेर राखे । त्यसबेला मसँगै अरू दुई जना साना केटीहरू पनि थिए । उनीहरूलाई नाङ्गो पारेर स्तन, शरीर र अनुहारमा टोकिएको थियो । उनीहरूको शरीरबाट रगत बगिरहेको थियो ।

अझै पनि ती साना केटीहरूको चिच्याई मेरो कानमा गुञ्जिन्छ । हामी तीनै जनालाई पालैपालो बलात्कार गरियो । जब म होशमा आएँ, मेरा अंगभंग भएका थिए । शरीरभरि घाउ थिए । जब मैले पानी मागें, तिनीहरूले मुखमा पिसाब गरिदिए ।

ममाथि भएको ज्यादतीका बारेमा धेरै पत्र–पत्रिकाले लेखे । प्रतिकार समूहले मेरो श्रीमान्को सम्पत्ति खोसे । उहाँले बलजफ्ती नामसारी गरिदिनुभयो । मलाई छोड्दा बुवा बितिसक्नुभएको थियो । म माइती नगएको २२ वर्ष भयो । उनीहरूले मलाई पारिवारिक समारोहहरूमा पनि बोलाउँदैनन् ।

त्यसपछि मेरो श्रीमान्को मानसिक अवस्था बिग्रियो । उहाँ मन्दिरमा बस्न थाल्नुभयो । तीन वर्षअघि साथीहरूले सम्झाएर घर फिर्ता बोलाएका छन् तर उहाँ न मसँग बोल्नुहुन्छ न मैले छोएको खानुहुन्छ । अपराधीहरू खुलेआम घुमिरहेका छन् । म भित्रभित्रै रोइरहेकी छु । म मर्नुअघि एक दिन मात्रै भए पनि न्यायको अनुभूति गर्न चाहन्छु ।

मलाई बलात्कार गर्ने अपराधी संसद्मा पुग्यो । उसले हाम्रो पक्षमा कसरी कानुन बनाउँछ ? हामी नेपाली हौं । नेपालबाटै न्याय पाउने आशामा छौं । अन्यथा हामी न्याय पाउन जहाँ पनि जान तयार छौं । कानुन छिटो बनाउनुपर्‍यो । मैले पीडितको दर्जा पाउनुपर्‍यो ।

अहिले मेरो न छोरो छ, न श्रीमान् । अनि न नाता छ न समाज । हामी कसरी बाँचेका हौंला ? हामीले न्याय कहिले पाउँछौं ? हाम्रो नाम के राख्ने ? हामी वेश्या हौं ? सरकारले भनोस् ।

पात्र–३

जंगल छेउमा म भैंसी हेर्न गएकी थिएँ । कालोपट्टी लगाएका सेनाका चार–पाँच जनाले मलाई सेना अघि बढेको देख्यौ कि भनेर सोधे । मैले भनें, ‘हो, उहाँहरू जानुभएको छ’ भनें । एक जना सिपाहीले मेरो कपाल समातेर तँ माओवादीको मान्छे (जासुस) भन्दै तान्यो । तिनीहरूले मलाई कुट्न थाले र मलाई घिसार्दै जंगलतिर लगे ।

तीन जनाले मलाई बलात्कार गर्दासम्म म होशमै थिएँ, त्यसपछि बेहोश भएँ । जब होश आयो, घाम अस्ताइसकेको थियो । मेरो शरीरमा लुगा थिएन । च्यातिएका लुगा लगाएर जसोतसो घर गएँ ।

एक महिनापछि मलाई लगातार ज्वरो आयो । चेकअप गरेपछि म गर्भवती भएको थाहा भयो । मसँगै गएका शिक्षकले मलाई मन पराउँथे । उनले डाक्टरलाई आफ्नो बच्चा भएको र मेरो उमेर निकै सानो भएको भन्दै गर्भपतन गराउन आग्रह गरे ।

उनले गर्भपतन गरिसकेपछि विवाह गर्ने बाचा पनि गरे । पछि उनले मसँग विवाह पनि गरे । तर बिहेकै रातदेखि कति जनासँग सुतेकी छस् भन्दै यातना दिन थाले । म बोल्न सकिनँ । म शान्ति समितिमा बलात्कार सम्बन्धी रिपोर्ट गर्न गएँ । तर प्रमाण नभएको भनेर फिर्ता पठाइयो ।

पछि एउटा संस्थाले मेरो मुद्दा मानवअधिकार समितिमा पुर्‍यायो । त्यहाँबाट सिडिओलाई खबर गयो । अनि जिल्लाभरि अफवाह फैलियो । मेरो बाँकी जीवन झनै बर्बाद भयो । अहिले मेरो श्रीमान्ले अर्को बिहे गरेका छन् ।

मेरा ससुराले पनि मलाई सकेजति यातना दिए । मेरो घरमा आगो लगाइदिए । दूध पिउने बच्चा लिएर मैले रातिको साढे १२ बजे घर छाड्नुपर्‍यो । घरबाट निकालिएपछि आफू र छोरालाई छाताले ढाकेर पानी परेको रात घरबाहिरै बिताएँ ।

मैले कहिल्यै हार मानिनँ तर स्वास्थ्य अवस्था दिन प्रतिदिन नाजुक हुँदै गइरहेको छ । परिवारको यातना अहिलेसम्म जारी छ । म तपाइँहरूसँग आफ्नो कुरा राख्न पाउँदा खुसी छु । दुःख के लागेको छ भने, मेरो मुद्दा सबैतिर आइसक्यो । मैले यो मुद्दा विदेशमा जितेर आइसकें । तर राज्य किन बेखबर छ ? (रुँदै)

स्थानीय तहमा मुद्दा लिएर गएपछि म थप असुरक्षित भएँ । म हिजो पनि असुरक्षित थिएँ, आज पनि । यो समाजले मेरो नाम वेश्या राखिदिएको छ । मैले बच्चालाई कसरी पाल्ने ? कसरी पढाउने ? बाँच्न मात्रै पनि गाह्रो छ । सेनाको बलात्कारबाट जन्मिएको छोरालाई सम्हालिरहेकी एक आमाको रूपमा बाँचिरहेकी छु ।

तपाईं (राजनीतिक नेतृत्व) किन संवेदनशील हुनुहुन्न ? हामी तपाईंहरूकै छोरी जस्तै हौं । भनिदिनुस्, हामी कुन देशको नागरिक हौं ? के बलात्कृत महिला नेपालको नागरिक होइनन् ? हाम्रो राज्यमा हामीलाई बाँच्ने अधिकार छैन ? हामीलाई पनि हाँसेर बाँच्ने रहर छ, शिर उचालेर हिंड्न मन छ तर यो समाजमा हामीलाई वेश्याको नाम दिइएको छ । के बलात्कृत हुनु हाम्रो गल्ती, कमजोरी हो ?

युद्धमा केही बेपत्ता भए । मारिएकाहरू शहीद घोषणा भए । देशको लागि बलिदान भयो भनियो । हामीले के देखाउने ? हाम्रा अदृश्य घाउहरू छन् जुन कहिल्यै सञ्चो हुँदैनन् । बिर्सन सक्दैनौं हामी । डाक्टरलाई भन्न सक्दैनौं । पाठेघरमा समस्या छ । डाक्टरले सोध्छ, ‘कसरी यस्तो भयो ? तपाईं के काम गर्नुहुन्छ ?’ उसले पनि नराम्रै नजरले हेर्छ । के जवाफ दिने ?

हाम्रो मुद्दा दर्ता पनि भएको छैन । टीआरसी विधेयक पास गरिदेऊ र हाम्रो मुद्दा दर्ता गर्ने बाटो खोलिदेऊ । कम्तीमा पीडित हो भनेर स्वीकार गर । कसैले हामीलाई प्रोजेक्ट बनाए, कसैले सोकेस बनाए । हाम्रो नाममा प्रोजेक्ट र राजनीति कहिलेसम्म हुन्छ ?

बलात्कारमा परेर आत्मसम्मान गुमाएकी छोरीको दुःखमा कहिलेसम्म राजनीति गर्नुहुन्छ ? कहिले न्याय दिने ? के नाम दिनुहुन्छ ? हामीलाई कहाँ सुरक्षित राख्नुहुन्छ ? हामी मरिसकेपछि कानुन बनाउनुहुन्छ ? मरिसकेपछि न्याय पाए/नपाएको के अर्थ ?

हामी हजुरहरूकै चेली हो । म हात जोडेर भन्छु, बलात्कारबाट छोराछोरी जन्मिएका छन् । कसले दिने नाम ? स्कूलमा नाम छैन, अरू नै नाम दिएर पढाइरहेका छौं । हामी बेघरबार छौं । यो अवस्थामा आफूलाई राखेर हेर्नुहोस् । (रुँदै) अरू जिम्मेवारीबाट भागे पनि आमाको जिम्मेवारीबाट भाग्न सकिएन ।

पात्र–४

१४ वर्षकी थिएँ । घरमा सुतिरहेको बेला सेनाले माओवादीको आरोपमा उठाएर लग्यो । एकप्रकारले अपहरण गरेर । पक्राउ परेपछि, उनीहरूले मलाई हिरासत वा जेलमा लगेनन््, उनीहरू जहाँ गए पनि मलाई अस्थायी क्याम्पमा राखे । त्यहीं बलात्कार गरे ।

२/३ जनाले बलात्कार गरेको थाहा पाएँ । अरू थाहा पाइनँ । बिहान अर्धचेत अवस्थामा ब्युँझिएँ । मेरो खुट्टा र हात डोरीले बाँधिएको थियो । उनीहरूले मलाई बलात्कार मात्रै गरेनन्, भुइँमा लडाइदिन्थे र जुत्ताले छाती कुल्चिन्थे । यो क्रम महिनौंसम्म रह्यो ।

सेनाले बलजफ्ती शौचालय जा भन्थ्यो । हामीलाई त्यहीं बलात्कार गर्थे । मलाई प्रत्येक ब्यारेकमा १०० भन्दा बढी पटक बलात्कार गरियो । उनीहरूले यौनाङ्गमा हात हाल्थे । यसरी म १४ महिनासम्म सामूहिक बलात्कारमा परें । ब्यारेक बदल्दै बलात्कार गरे । उपचार पनि गर्ने, बच्चा बसेको नबसेको जाँच्ने पनि गर्थे । तर रगत बगिरहन्थ्यो ।

उनीहरूले कतिसम्म गरे भने गर्भपतनको औषधि खुवाउँदै बलात्कार गरे । अहिले पनि घोप्टिएर सुत्ने बानी परेको छ । पछाडि हात बाँधेर लडाउँथे र मनलाग्दी गर्थे । बुटले शरीरमा कुल्चन्थे । उभ्याएर कपडा झारेर लौरो घुसाए । म त्यतिबेला दिने यातना अहिले सम्झन पनि सक्दिनँ । उनीहरूले के के गरे, गरे ।

हामी अहिले वेश्याको बिल्ला लगाएर बाँचिरहेका छौं । बलात्कारबाटै मेरी छोरी जन्मिएकी छ । म गर्भवती हुँदा मेरो परिवारले मेरो विवाहको व्यवस्था गर्‍यो । त्यहाँ चार सन्तान जन्मिएपछि मेरा श्रीमान्ले अर्की युवतीसँग विवाह गरे । म अहिले सन्तानको जिम्मेवारी सहित एक्लै छु ।

अहिले मलाई पाठेघरको समस्या छ र उपचार गर्न सक्ने अवस्था छैन । म बलात्कृत भएँ, तर मैले तिनीहरूलाई चिन्दिनँ । त्यसबेला म मारिएको भए आजको जस्तो दुःख भोग्नुपर्दैनथ्यो (रुँदै) । मलाई यो समाजलाई भन्न हिम्मत छैन कि मेरी छोरी बलात्कारबाट जन्मिएको हो । किनकि त्यसपछि यो समाजले हामीलाई बाँच्न दिनेछैन । मलाई र छोरीलाई आत्महत्या गर्न बाध्य पार्नेछ ।

युद्धमा मारिन सकिन्छ । तर बलात्कारलाई हतियार बनाइयो । सिंगो आर्मी गलत होइन, व्यक्ति त दोषी होला नि ? हाम्रो अभिभावक (राजनीतिक नेतृत्व) ले कस्तो कारबाही गर्नुहुन्छ ? अपराधीहरू अहिले सम्मान र सुरक्षाका साथ विलासी जीवन बिताइरहेका होलान् तर हामी यो हालतमा ज्यूँदै मर्ने अवस्थामा छौं । पल–पल मरेर बाँचिरहेका छौं ।

हामीलाई स्वतन्त्रतापूर्वक सुरक्षित र सम्मानपूर्वक बाँच्ने वातावरण चाहियो । तपाईं अभिभावकहरूलाई मेरो प्रश्न छ– युद्धमा बलात्कार गर्नु आवश्यक थियो ? हामीलाई भविष्यमा अन्य द्वन्द्व वा कुनै पनि बहानामा छोरीचेली बलात्कार नहुने कानुन चाहियो । हामीलाई कानुन चाहियो, न्याय चाहियो ।

मैले सन्तानलाई भात खुवाउन सकेकी छैन । म रोडमा छु, सन्तानलाई के खुवाउने ? छोराछोरीले भोक लाग्यो भन्दा एक गाँस खुवाउन नसक्दा म आमालाई कस्तो भएको होला ?

१० वर्षको छोरालाई स्कुलमा तेरो बाउ को हो भन्दै जिस्क्याउँछन् । ऊ घर आएर पैसा कमाउन विदेश जान्छु र त्यही पैसाले बन्दुक किनेर ती अपराधीहरूलाई मार्छु भन्छ । अर्को पुस्ताले बन्दुक उठाउन नपरोस् भनेर तपाईंहरू कसरी काम गर्नुहुन्छ ?

हामी रोइरहेका छौं, तपाईंहरूको मन दुःखेको छ कि छैन थाहा छैन । न्याय नपाएर हामी भोलि वेश्या बनेर सडकमा उत्रनु नपरोस् । त्यस्तो अवस्था आयो भने यो देश र तपाईं नेताहरूको इज्जत पनि बाँकी रहने छैन । हामी ससम्मान मान्छे बनेर बाँच्न पाऊँ । हामीलाई पीडित हो भनेर स्वीकार गर ।

पात्र–५

म १४ वर्षकी थिएँ । दिदीघर जान गाडी कुरेर बसिरहेको बेला सशस्त्र सुरक्षा बलले समातेर लग्यो । तीन वर्ष सुरक्षा बलको हिरासतमा राख्यो । आँखामा पट्टी बाँधेर लगे । कहाँ लगे थाहा भएन । दिन रात बलात्कार गरे । बुटले पिटे । यातना दिए । (रुँदै) केही बेर सन्नाटा !

हरेक बिहान बेहोश अवस्थाबाट ब्युँझिंदा शरीरमा कपडा हुँदैनथ्यो । शरीर आधा नचले जस्तो हुन्थ्यो । यातना र बलात्कारपछि सेनाले नुन–खुर्सानी लगाएर यातना दिन्थ्यो । सरकारी सेनाको कब्जाबाट छुटकारा पाएर घर फर्कंदा मसँग डेढ वर्षको बालक काखमा थियो ।

हिरासतमा मलाई तीन दिन व्यथा लागेपछि मात्रै अस्पताल लगियो । अस्पतालमा मैले बच्चा जन्माइरहँदा पनि हातहरू साङ्लोले बाँधिएको थियो । मैले हत्कडी लगाएरै बच्चा जन्माएँ ।

त्यसपछि मेरो समुदायका मानिसले आफ्नै समुदायको केटासँग विवाह गराइदिए । उहाँले बच्चा सहित मलाई स्वीकार गर्नुभयो । तर बिहेपछि सुरुदेखि नै ‘सेनाकी श्रीमती’ भन्दै मलाई सधैं शङ्का गर्न थाल्नुभयो । विस्तारै यातना दिने गर्नुभयो ।

मलाई न्याय कसरी पाउने थाहा नभएकोले मेरो मुद्दा दर्ता भएको छैन । राज्यको नियन्त्रणमा हुँदा जन्मेको बच्चाको बाबु खोज्ने जिम्मेवारी कसको ? त्यो बच्चा नै अहिले १८ वर्षको भइसक्यो । मैले न्याय पाउने कहिले हो ?

पात्र–६

द्वन्द्वकाल थियो । मलाई घरबाटै पक्राउ गरेर लगे । हिरासतमा रहँदा सुरुमा आँखामा कालोपट्टी बाँधिदिए । पछि सुपर ग्लु लगाइदिए । म अहिले पनि राम्ररी आँखा देख्दिनँ ।

तिनीहरूले मेरो योनीमा काठको लट्ठी घुसाउँथे । मलाई धेरैले सामूहिक बलात्कार गरे । शान्ति प्रक्रियामा आएपछि डाक्टरले पाठेघरबाट काठको टुक्रा निकालेका थिए ।

(उनले आफ्ना कुरा राखिरहँदा पृष्ठभूमिमा अरू पीडितहरू बेस्सरी रोइरहेका थिए ।)

यातना दिने ठाउँमा पुरुषैपुरुष थिए । बाँधेर नाङ्गै राखेका थिए । मलाई बरमझियाबाट राजविराजको क्याम्पमा लगेर राखे । यातना दिने ठाउँमा तीन महिना राखे । अहिले पनि म हिंडडुल गर्न सक्दिनँ । नेपालको अस्पतालमा सबै उपचार भएन । विदेश जान सक्ने कुरा भएन । हामी ज्यूँदो लास भएर बाँचिरहेका छौं ।

हाम्रा साथीहरूको मुद्दा टीआरसीमा दर्ता हुँदा पनि न्याय पाएका छैनन् । धेरै जनासँग मुद्दा दर्ता गर्न प्रमाण छैन, सरकारी निकायले प्रमाण खोज्छन् । के प्रमाण दिने ? तर मसँग प्रमाण छ तर पनि टीआरसीमा मुद्दा दर्ता गर्न मानिएन ।

अब एक कानले सुन्ने अर्को कानले उडाउने नगर्नुहोला । तपाईंहरूले न्याय दिनुभएन भने हामी सडकमा आउँछौं र संसारलाई भन्छौं हिजो के भएको थियो भनेर । हामी भन्छौं, हामी बलात्कृत हौं, अब हामी न्याय नपाएसम्म छाड्दैनौं ।

न्याय दिने नाममा एउटा संस्थाले मुद्दा सार्वजनिक गरेपछि मेरो जीवन झन् बर्बाद भयो । बलात्कारको घटना सार्वजनिक गरेपछि श्रीमान्ले मलाई छाडिदिए । एक मात्र छोरीले आत्महत्या गरिन् । हिरासतमा बलात्कृत भएको भन्दै ६ पृष्ठ लामो घटनाको प्रतिवेदन शान्ति समितिमा बुझाएकी थिएँ । अहिलेसम्म केही भएको छैन ।

पात्र–७

३ बुहारी, एक विवाहित छोरी र म गरी पाँच जना जङ्गल नजिकैको खेतमा गहुँ काटिरहेका थियौं । सेना आएर माओवादीमा संलग्न भएको आरोप लगाए र हामीमाथि ज्यादती गर्न थाले । उनीहरूले बुहारी र छोरीलाई बलात्कार गर्न थाले । मैले सेनासँग उनीहरूलाई केही नगर्न आग्रह गरें ।

त्यसपछि सेनाले मेरो देब्रे आँखामा हान्यो र मलाई पनि बलात्कार गर्‍यो । मेरो देब्रे आँखामा चोट लाग्यो र त्यसबेलादेखि यसले काम गरेन । पेट र तिघ्रामा संगीनले घोचेका घाउ अझै छन् ।

हामी सबैलाई खेतमा परिवारका ५ जना सदस्यमाथि सामूहिक बलात्कार गरे । साँझ छिप्पिएपछि मात्रै हामी घर फर्कियौं । हामीले हाम्रा च्यातिएका र रगत लत्पतिएका लुगाहरू नजिकैको खोलामा फ्याँक्यौं । एकअर्कासँग यो घटना कसैसँग नभन्ने प्रतिबद्धता गर्‍यौं ।

सँगै बलात्कारमा परेकी उहाँकी छोरीको थप बयानः

भर्खरै मेरी आमाले भन्नुभए झैं हामी गहुँ काट्न बारीमा गएका थियौं । सेनाले बारीमै पुगेर माओवादीको आरोप लगाएर हामी सबैमाथि बलात्कार गर्‍यो । आमाको आँखा नै फुटाइदिए । हामीलाई गाउँमा मानिसहरूले ‘वेश्या’ र ‘रन्डी’ भन्छन् । हामी सर्वसाधारण हौं तर सेनाले माओवादी भनेर बलात्कार गरेर हिंड्यो ।

अहिले पनि राम्ररी हिंड्न सक्दिनँ । तीन महिना सिभिकमा बसें । यहाँ उपचार हुँदैन बाहिर जानु भन्यो । पैसाको अभावले विदेश जान सकिनँ । जिउँदो लास भएर बाँचेकी छु । पागल भएर हिंडेका छौं । हामीसँग प्रमाण हुँदा पनि दर्ता हुँदैन । यहाँ कुरा सुन्ने बाहिर बिर्सने नगर्नुस् नेताज्यूहरू ! हामीलाई न्याय चाहियो । नभए आन्दोलन गर्छौं ।

पात्र–८

सानै थिएँ, कक्षा ८ मा पढ्थें । म गाईवस्तु हेर्न गएकी थिएँ । गाईवस्तु मकैको खेतमा पसे । त्यसैले, म खेतबाट गाईवस्तुहरू खेद्न हतार–हतार दगुरें । त्यो दिन सेनाको टुकुडी गाउँ आएको रहेछ । सेनाले मलाई बोलायो ।

म डराएँ । आउँछेस् कि गोली हानौं भनेर धम्क्याए । उनीहरूले खेत नजिक रहेको एकान्त घरमा लगे । पहिला एक जनाले घर खानतलासी गर्‍यो । माओवादी होस् ? भनेर सोध्यो । उनीहरूले आलुलाई बम भने, मैले अस्वीकार गरें । मैले मेरो बा एमालेका नेता हुन् भनें । उसले लात्ताले हानेर लडायो ।

उनीहरूले मलाई कुट्न थाले । तिनीहरूमध्ये एकले ढोका बन्द गरे । त्यसपछि बाहिर रहेका चार जना पनि कोठाभित्र पसे ।

तिनीहरूले मेरो लुगा बाहिर निकाले र सबैले एकै समयमा बलात्कार गरे । म सानी बालिका थिएँ । तीमध्ये एकले पछाडिबाट, कसैले अगाडिबाट र एकले आफ्नो लिंग मेरो मुखमा राखेका थिए । त्यति सानो उमेरमा मलाई कति गाह्रो भयो होला !

ट्राउजर सबै रगताम्य भएको थियो । उनीहरूले मलाई मेजरलाई नदेखाउन धम्की दिए । र, मलाई गाउँ फर्काउनका लागि अरू ४ जनासँग राखिएको गाडीमा राखे । मेजरकोमा पुगेपछि हातखुट्टा बाँधेर दौडन भने । म सानो बच्चा कहाँ दौडन सक्थें ? माओवादीको छोरीलाई दौडिन आउँछ होला नि भन्यो । कपाल ताने, धिसारे । यौनाङ्ग चलाउँथे । (रुँदै) उनीहरूले अनेक ज्यादती गरे ।

हामीलाई नमार्नु भन्यौं । मानवअधिकारवादी र रेडक्रसबाट फोन आयो । अनि ‘वेश्याहरूलाई छाडिदे’ भन्दै छाडिदिए । मैले आमालाई सबै कुरा सुनाएँ । उहाँले यो घटना कसैलाई नभन्नु भन्नुभयो । आमाले मलाई उपचारका लागि लैजानुभयो ।

एकातिर बुवा एक प्रमुख दल (त्यतिबेला संसद्वादी पार्टी भनिने) सँग आबद्ध भएकोले माओवादीको टर्चर थियो । अर्कोतिर सेनाले यस्तो दुर्व्यवहार गर्‍यो । १४ वर्षको उमेरमा भएको घटना भन्दैछु । एमालेको नेताको छोरी भएर पनि मैले न्याय पाइनँ । हामी वेश्या होइनौं । हामी कसरी बाँच्ने ? हामीलाई न्याय चाहियो ।

पात्र–९

म आमा हुँ । आमाको व्यथा आमालाई मात्रै थाहा हुन्छ । हाम्रो परिवारको छिमेकीसँग लेनदेनको विषयमा विवाद थियो । छिमेकीहरूले माओवादीलाई घटनाको पोल लगाइदिए । ३ महिनाकी छोरी थिइन् । ती छोरीदेखि अलग बनाएर मलाई माओवादीले राति १२ बजे घरबाट पर अर्को गाउँमा लगे । हामी दम्पतीलाई फरक–फरक कोठामा राखियो ।

त्यहाँ मैले एक जना मानिसलाई देखें जो मलाई पछ्याउँथे । सोही व्यक्तिले मलाई मेरो श्रीमान् छोड्न आग्रह गरे, जब मैले अस्वीकार गरें, उनले मलाई रातभर बलात्कार गरे । मसँग आएर तेरो श्रीमान् मर्‍यो भन्ने र श्रीमान्कोमा पुगेर तेरी श्रीमती मरी भनेर यातना दिए । यसरी ‘म तँलाई चाहन्छु’ भन्दै मलाई पटक–पटक बलात्कार गरियो ।

बच्चाले दूध नखाएको तीन महिनाको गर्भवती महिलाको स्तनको अवस्था कस्तो हुन्छ ? आमालाई मात्रै थाहा हुन्छ । दूध चुहिरहेको थियो । मलाई बेहोश हुने गरी बलात्कार गरे । त्यतिबेला स्तनबाट दूध बगिरहेको थियो भने पाठेघरबाट रगत ।

विद्रोही हौं धनी गरिब एकनास गर्छौं भन्थे । बोर्डिङ पढ्नेलाई पनि सरकारी स्कुलमा पढाउँछौं, सबैलाई बराबरी गर्छौं भन्थे । तर मेरो बुवालाई पनि अपहरण गरियो ।

(रुँदै) बोर्डिङ पढिरहेकी थिएँ । बोर्डिङ बन्द गरेर मलाई शिक्षाबाट पनि वञ्चित गरियो । माइतीमा त दुःख दिन्थे, दिन्थे मलाई घरमा पनि बस्न दिएनन् । तीन महिनाकी छोरीबाट छुट्याएर लगेर बलात्कार गरे । मेरो जीवन क्षत–विच्छेद भयो । त्यसैकारण म श्रीमान्बाट टाढा भएर बस्नुपर्‍यो । पछि द्वन्द्वमा ती बलात्कारी पुरुष मारिएको थाहा पाएँ ।

यहाँ राजनीतिक दलको मान्छे हुनुहुन्छ, परियोजना चलाउने मान्छे हुनुहुन्छ । हामी पलपल मरिरहेका छौं । रोएर बाँचिरहेका छौं । हाम्रो पीडाले तपाईंहरूलाई पक्कै पनि पोल्नेछ । मेरो अनुरोध छ– हाम्रा लागि राजनीति गर्नुस्, हाम्रो नाममा राजनीति नगर्नुस् ।

पात्र १०

तीन महिनाकी गर्भवती थिएँ । मेरो परिवारले मलाई सुरक्षित राख्न तराईमा रहेको फुपूको घरमा पठायो । म उपचारका लागि अस्पताल जाँदै थिएँ । मलाई माओवादीको आरोपमा पक्राउ गरियो ।

नेपालको पश्चिमी भागबाट आएकोले मधेशमा भाषाको अप्ठ्यारो थियो । त्यसैले म माओवादी हुँ भन्नेमा सेना ढुक्क भयो । जब मैले उनीहरूलाई प्रमाणित गर्न खोजें, उनीहरूले मेरो मुखमा राइफलले हिर्काए । मेरो दाँत भाँचियो र रगत बग्न थाल्यो ।

तिनीहरूले मलाई सानो खोला भएको जङ्गलमा लगेर सामूहिक बलात्कार गरे । म होशमा आउँदा मेरा हात साङ्लाले बाँधिएका थिए र म ब्यारेकको भुइँमा लडाइएकी थिएँ ।

सेनाले मेरो पेटमा जुत्ताले कुल्चियो र मेरो गर्भ खेर गयो । लगातार रगत बगेपछि मलाई अस्पताल पुर्‍यायो । डाक्टरले बच्चा भित्रै सडेको बताए र मेरो पाठेघर सफा गरे । यसबीचमा म कसरी गुज्रिएँ होला, तपाईं कल्पना पनि गर्न सक्नुहुन्न ।

कभर स्टोरी
लेखकको बारेमा
सुदर्शन खतिवडा

खतिवडा अनलाइनखबर डट कमका अपिनियन एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?