+
+
Shares
गृहमन्त्रीसँग अन्तर्वार्ता :

‘सरकारले सुशासनको मुद्दा बोक्छ, निर्वाचन भाँडियो भन्‍न पाइँदैन’

'ओलीले जाँचबुझ आयोगको अस्तित्व स्वीकार नगरे कानुनले ठाउँमा ल्याउँछ'

यो मुलुकलाई कसैको पनि क्रीडास्थल बन्न दिनुहुँदैन । उहाँहरुलाई दुख्ने कुरा हामीले केही पनि गर्न मिल्दैन । नेपाल कुनै पनि शक्ति केन्द्रको भूराजनीतिक क्रीडास्थल बन्नुहुँदैन । तत् तत् राष्ट्रहरुले पनि यो कुरा बुझ्नुपर्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ४ गते २०:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी विद्रोहपछि बनेको संवेदनशील सरकारमा शान्ति सुरक्षा र सुशासन कायम राख्न दबाब रहेको बताए।
  • अर्यालले भ्रष्टाचार नियन्त्रण र कानुनको शासनलाई निर्वाचन सफलताका लागि आवश्यक ठानेर छ महिनाभित्र चुनाव सम्पन्न गर्ने लक्ष्य राखेका छन्।
  • उनले पूर्वप्रधानमन्त्री केपी ओलीको भड्काउ अभिव्यक्तिलाई फौजदारी कानुनअनुसार व्यवहार गरिने र सबैलाई कानुनको दायरामा ल्याइने स्पष्ट पारे।

जेनजी विद्रोहीको प्रभाव, शान्ति सुरक्षा बहालीको तनाव र चुनावी दबाबको बीचमा कतै थिए, गृहमन्त्री ओमप्रकाश अर्याल । सोमबार साँझ अनलाइनखबरका लागि बसन्त बस्नेतकृष्ण ज्ञवालीसँग दुई घण्टाजति अन्तरङ्ग कुराकानीमा बस्नुअघि उनी विपिन जोशीको शवमाथि श्रद्धाञ्जली गरी फर्केका थिए।

उनीसामू जेनजी विद्रोहीको तारन्तार माग सम्बोधन, दलहरूसँग समन्वय गर्दै चुनावको तयारी, अनि सुशासनको एजेन्डामा देखिनेगरी काम तथा शान्तिसुरक्षाको प्रत्याभूति गराउनुपर्ने चौतर्फी दबाब थियो। ‘म त खासमा सुशीला श्रीमान्को सल्लाहकार बन्न चाहन्थें, मन्त्री बन्नुपर्ने भयो,’ अर्यालले दिक्दारीकै लयमा भने, ‘कतिखेर चुनाव गरिसकौं, र यो भारी बिसाउँ जस्तो भइराखेको छ ।’

अनलाइनखबरसँगको यो लामो वार्तामा अर्यालले आफ्ना प्राथमिकता, विभिन्न साझेदारका दबाब, अनि आन्तरिक र बाह्य राजनीतिक–भूराजनीतिक सरोकारबारे खुलेर बोलेका छन् । आफ्ना विवादास्पद टिप्पणी, अनि उत्पन्न क्रियाप्रतिक्रियाबारे पनि यो अन्तर्वार्तामा उनको जवाफ प्राप्त छ :

तपाईं सडकमा संघर्षरत छँदै, अदालतमा मुद्दाहरू उठाउँदा उठाउँदै, एकाएक गृहमन्त्रीको भूमिकामा पुग्नुभयो ? एक महिने अनुभव कस्तो छ ?

म सडकमै हुँदा पनि कहिलेकाहीँ बढी भावुक भएँ हुलाँ । तर मैले सकेसम्म समन्यायिक हिसाबले के उचित हो भन्ने कुरा बुझेर वकालत गर्थे । अहिले पनि म त्यो भन्दा धेरै पर छैन ।

म अहिले पदमा हुँदा पनि शक्तिबाट प्रभावित भएँ जस्तो लाग्दैन । आफ्नो इच्छाशक्ति व्यक्त गर्नुपर्ने रहेछ, किनभने कहिलेकाही सरोकारवालाहरूको माग आउँछ ।
कहिलेकाहिँ दबाब आउँछ, त्यो सम्बोधन गर्नुपर्ने अवस्थामा बाहेक मैले सामान्यतया सडकमा छँदाखेरि पनि एक किसिमको समन्यायिक सन्तुलनलाई अलि केन्द्रमा राखेरै काम गरेजस्तो लाग्थ्यो ।

आजको दिनमा पनि मैले मूलतः त्यसैलाई आधारमा मानेको छु । त्यसकारण मलाई म पदमा छु जस्तो पनि लागिरहेको छैन, म असाध्यै अनौपचारिक छु । अहिलेसम्म सबैको पहुँचमै छु ।

धेरै प्राथमिकताका कामहरूले गर्दा कैयौं फोन उठाउन सकिएन, म्यासेजको जवाफ दिन सकिएन । धेरै जनासँग भेटघाट गर्न सकिएन । तर मैले लिएको दृष्टिकोण पहिले र अहिले त्यत्रो धेरै फरक छैन ।

जेन–जी आन्दोलनपछि बनेको सरकारमा तपाईं गृहमन्त्रीको रुपमा आउनुभयो । अझ यो संवेदनशील अवस्थामा संवेदनशील मन्त्रालय तपाईंको जिम्मेवारीमा परेको छ । यसलाई कसरी हेर्नुभएको छ ?

म सरकार गठनको पृष्ठभूमि बताउँछु । २३ गतेको घटनापछि हामी सबै भावविभोर भयौं । सरकारमा रहेकाहरू अभिभावक जस्तो हुनुभएन । आन्दोलनकारी, जेन्जी पुस्ता, उहाँको परिवार हामी सबै एकापट्टि थियौं।

अर्कोतिर राज्यको संयन्त्र पुलिस फोर्स, नेपाली सेना, कर्मचारी उहाँहरूले पनि सरकार अभिभावक हो भन्ने ठान्नु भएन । किनभने एकातिर स्कुलको ड्रेसमै किशोरकिशोरीहरू  मारिए, दमन भयो।

अर्कोतर्फ त्यतिबेलाको सरकारबाट सुरक्षा फौजको मनोबल गिराउने र अपमानित गर्ने काम भयो । सुरक्षा निकायसँग समन्वय नगर्ने, उनीहरूका सुझाव नसुन्ने परिस्थिति बनेको रहेछ । त्यतिखेरको सरकार अविभावकजस्तो भएन ।

पछि त उहाँहरूले राजीनामा गर्नुपर्‍यो, त्यो रिक्ततामा अविभावकको खोजी हुनु स्वभाविक थियो । राज्यको अंगमा समेटिएका व्यक्तिहरुले र बाहिरका नागरिकहरूले अविभावकको रिक्तता महशुस गरेपछि सुशीला कार्कीलाई सबै अविभावकको रुपमा आग्रह गरेको हो ।

त्यतिबेला नेपाली सेना, प्रहरी, कर्मचारी र विस्थापित भएका दलका शीर्ष नेता बाहेक अरु नेताले पनि स्वीकार गरेपछि यो सरकार जन्मिएको हो । सुशीला कार्की प्रधानमन्त्री हुनुभयो, मन्त्री भनेको पनि प्रधानमन्त्रीको अंग हो । मैले आफूलाई त्यही भूमिकामा राख्ने प्रयास गरिरहेको छु ।

तपाईंहरू सामान्य अवस्थामा बनेको सरकार नभएकाले हनिमुन पिरियडको सुविधा छैन । तपाईंका कामप्रति आलोचना, सुझाव, टिप्पणीहरू आइरहेका छन् । तिनलाई कसरी बुझ्नुभएको छ ?

एक थोपा पनि रगत बग्न नदिनु मेरो पहिलो काम हो । हामीले जतिसुकै कुरा गरेपनि रगत बगेको देखियो भने भावुक हुन्छौं, भावनात्मक बन्छौं ।मान्छे मुलभूत रुपमा आफ्नै अनुभूतिबाट निर्देशित हुन्छ । कतिपय अवस्थामा बौद्धिकता भन्दापनि अनुभूतिबाट निर्देशित हुन्छ ।

तसर्थ म आउनासाथ कुनैपनि हालतमा रगत बग्नु हुँदैन भन्नेमा सतर्क भएँ, मानवीय क्षति हुनुहुँदैन भन्ने भयो । हामीले भौतिक क्षति त अकल्पनीय रुपमा देखिहाल्यौं । नेपाली सेनाले पनि त्यही दृष्टिकोण राख्यो ।

मानवीय क्षति रोक्न सकिएन भने जनतासँग नागरिकको सँधैको दुश्मनी हुन्छ, सरकार र नागरिकबीच फाटो आउँछ । राष्ट्रिय सुरक्षा नै संकटमा पर्नसक्छ भन्नेमा नेपाली सेनाको पनि अन्तर्यको बुझाई जस्ता लाग्यो । एउटा अभिभावक सरकारले राजनीतिक हिंसा जसरी पनि टार्नुपर्छ ।

अरु अहिंसात्मक वादविवाद, कानुनी लडाइँले केही फरक पर्दैन, भइरहन्छ । तर राजनीतिक हिंसा र त्यसबाट मानवीय क्षति हुनुहुँदैन भन्ने एप्रोचमा मैले काम गर्न खोजेको हो । प्रधानमन्त्रीज्यूको जे एप्रोच हो, मन्त्रीहरूको पनि त्यही नै एप्रोच हो ।

चुनावी माहोल बनाउने दायित्व छ तपाईंहरूलाई । एक महिनामा के प्रगति भए ?

प्रधानमन्त्री नियुक्ति हुनुभन्दा अघि वार्ताकै प्रक्रियामा पनि हिंसा दोहोरिन हुँदैन है भन्नेमा जोड थियो ।

बरु म जतिसुकै अपमानित हुन तयार छु, हिंसा दोहोरिनु हुँदैन, नत्र मुलुक नै संकटमा पर्छ भन्ने दृष्टिकोण राखेको थिएँ ।

हिंसा लम्बिएको भए अनेक समस्या आउन सक्थ्यो । तसर्थ जे गरेर भएपनि स्थिति सामान्यीकरण गर्न जोड गरेका थियौं ।

त्यसपछि बल्ल कानुनको शासन, सरकारले पाएको म्याण्डेट, सुशासन लगायतका विषय आउने भए । हामीले त्योभन्दा पहिले द्वन्द्व नदोहोरिने कुराकै सुनिश्चितताका लागि सरोकारवालालाई ‘इन्गेज’ गरिरहेका थियौं ।

यो अवधिमा हामीले सरोकारवालाहरुका अनुभूति सुन्यौं, आक्रोशहरु सुन्यौं । उहाँहरुलाई ‘सबै सुरक्षित हुनुहुन्छ यो अभिभावक सरकार हो । सबै जना यसमा सुरक्षित हुनुहुन्छ’ भन्ने अनुभूति दिलायौं । अब सबैको मनोबल बढाउने काम मात्रै गरिन्छ, कसैलाई पनि हेपिदंैन, सँगसँगै लिएर गइन्छ भन्ने सन्देश दिने प्रयास गर्‍यौं ।

त्यस्तो सुनिश्चितता प्रदान गर्न सकियो त ?

हामीले यो बीचमा एउटा पनि राजनीतिक हिंसा हुन दिएनौं । अरु खालका हिंसा अथवा अपराधका गतिविधि भए होलान्, तर हामीले राजनीतिक हिंसा हुन दिएको छैन।

विपद्का बेलामा पनि हामीले मानवीय क्षति हुन दिनुहुँदैन भनेर लागेका हौं । काबु बाहिरको परिस्थितिले इलाममा ठूलो क्षति भयो तर अन्यत्र सरकारले परिस्थितिहरुलाई काबु बाहिर जान नदिएकाले क्षति हुन पाएन ।

कतिपय राजनीतिक दलहरु सरकारसँग सशंकित छन् । सरकार राजनीतिक प्रतिशोधमा अघि बढ्छ कि भन्नेमा उनीहरु त्रस्त देखिन्छन् । यसले राजनीतिक हिंसाको जोखिम घटाउला र ?

राजनीतिक मुद्दामा प्रतिशोध लिइएको हो भने राजनीतिक प्रतिशोध लिइयो भनेर परिभाषित गर्न सकिएला । तर भ्रष्टाचारका मुद्दाहरुलाई अगाडि बढाउँदा, आर्थिक अपराधका मुद्दाहरु, जो रोकिएर रहेका थिए, तिनलाई सुचारु गर्दा अन्यथा राजनीतिक तवरबाट सोच्नु हुँदैन । किनभने कानुनले त काम गर्नुपर्‍यो नी । कानुनको प्रक्रिया अनुसार जे हुनुपर्ने थियो, पहिले अवरोध गरिएको थियो । अहिले त्यसलाई सुचारु गर्ने कुरा हो ।

तपाईंले राजनीति र भ्रष्टाचार छुटाउँ भनेपनि बंगलादेश र पाकिस्तानमा भ्रष्टाचारकै विरुद्धको मुद्दाहरुमै राजनीतिक प्रतिशोध भयो भनेर प्रश्न उठ्यो । प्रतिपक्षमा रहेकाहरुलाई सत्ताले दमन गर्‍यो भन्ने आरोप लागेको हामीले सुनेको थियौं । कतै नेपालमा पनि यस्तै हुने हो कि दलका नेताहरुको आशंका छ । के भन्नुहुन्छ ?

‘खुट्टा काट्’ भन्दा गल्ती गर्नेले खुट्टा तान्ने जस्तो परिस्थिति हो । भ्रष्टाचारको विरुद्धमा विद्रोह नै भइसकेपछि यो देशमा भ्रष्टाचार थिएन भन्ने तर्क गर्न मिल्दैन । भ्रष्टाचार थियो, कुशासन थियो, सेवा प्रवाह राम्रो थिएन भन्ने कुरा त स्थापित नै थियो । यो विद्रोह नै त्यसैको जगमा भएको हो । त्यसैले विद्रोहको मुद्दालाई हामीले सम्बोधन गर्नुपर्छ ।

हिजो भ्रष्टाचारको विषयमा कानुन कार्यान्वयन अवरुद्ध थियो । अब त्यसलाई सुचारु हुन दिनुपर्छ, सुचारु हुने बित्तिकै (त्यो कदम) भ्रष्टाचारमा संलग्न रहेकाहरु विरुद्ध त हुन्छ नि ।

विगतमा राजनीतिक भ्रष्टाचार थियो । अब भ्रष्टाचारलाई छुने बित्तिकै विगतको राजनीतिलाई पनि छुने भयो । यो जेनजी विद्रोहपछिको अवस्था हो । विद्रोहपछिको अवस्थालाई पूर्ववत अवस्था जस्तो सोच्नुभएन, यो त एक किसिमले क्रान्ति पछिको अवस्था हो ।

सरकारको यही कदमले २१ फागुनमा निर्धारित निर्वाचन पो तलमाथि हुने हो कि ?

निर्वाचन र लोकतन्त्रलाई नै भ्रष्टाचारले कब्जा गरेको थियो । भ्रष्टाचारीहरु संगठित हुन्छन्, उनीहरुको शक्ति धेरै हुन्छ । उनीहरुलाई प्रहार गर्नुहोस्, सबै भ्रष्टाचारी एकै ठाँउमा आउँछन् । विभिन्न दलमा भ्रष्टाचारीहरु छन्, सबै एकै ठाँउमा आउँछन् ।

संगठित अपराधमा विभिन्न तह तप्काका स्वार्थ समूह जोडिएका होलान् । एउटा संगठित अपराधीको अनुसन्धान गरेपछि त्यो प्रवृत्तिकाहरु एकै ठाँउमा आउँछन् । उनीहरुको अभूतपूर्व एकता हुन्छ, आज अभूतपूर्व एकता फेरि सुरु भइसकेको छ ।

हिजो उनीहरु लड्दै थिए । कोही सत्तामा, कोही बाहिर थिए । भ्रष्टाचारमा सरकारले कानुन कार्यान्वयन गर्न थाल्यो भनेपछि विभिन्न पार्टीहरुमा, राजनीतिक समूहमा छरिएका भ्रष्टाचारीहरूबीच अहिले अभूतपूर्व एकता हुँदैछ ।

प्रधानमन्त्री सुशीला कार्की र तपाईंले निर्वाचनका साथसाथै बारम्बार भ्रष्टाचार नियन्त्रण र छानबिनको विषय पनि उठाइरहनुभएको छ । संविधान अनुसार, भ्रष्टाचारमाथिको अनुसन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विषय हो । यस्तोमा तपाईंहरु कसरी अगाडी बढ्नुहुन्छ ?

अघिल्लो सरकार र अघिल्लो प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षको थियो । तर जेनजी विद्रोहले गर्दा पाँच वर्ष पुरा हुन पाएन । सुशासन दिन नसकेपछि अनि भ्रष्टाचार भइरहेपछि त त्यो म्याण्डेट बीचैमा भंग हुँदो रहेछ । तसर्थ, जनादेश पुरा गर्नका लागि पनि सुशासन सरकारको पूर्वशर्त हो ।

आन्दोलनकारीले कर्मचारीको राजीनामा माग्न सक्थे,न्यायाधीशको र संवैधानिक पदाधिकारीहरुको पनि राजीनामा माग्न सक्थे ।त्यस्तोमा मेरो म्याण्डेट यति वर्षको हो भनेर अर्थ हुँदैनथ्यो । जसरी तत्कालीन सरकारको र संसद्को म्यान्डेट भंग भयो, त्यसरी नै यो सरकारको म्याण्डेट पनि छ महिना र केही दिनको हो ।

छ महिनाभित्र निर्वाचन हुन्छ, केही दिन मतगणना अनि शपथ लगायतका कामले थप १५–२० दिनको म्यान्डेट हो । यो अवधिमा सुशासन दिन सकिएन भने म्यान्डेट बिचैमा भंग हुनसक्छ । म्याण्डेट भंग हुन नदिन हामीले सुशासनका कामहरु गर्नुपर्छ ।

अख्तियारले राम्रो काम गरेन भनेर जनस्तरबाट उठेको प्रश्न हो । राज्यका अरु संयन्त्रहरु, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले राम्रो गरेन भन्ने प्रश्न उठिरहेको छ ।
विभाग प्रधानमन्त्रीकै मातहत थियो । तत्कालीन प्रधानमन्त्रीले त्यसलाई कसरी प्रयोग गर्नुभयो या गर्नुभएन ? दुरुपयोग गर्नुभयो कि ?

राजनीतिक सूचना मात्र हैन भ्रष्टाचार सम्बन्धि सूचना पनि संकलन गर्ने राष्ट्रिय अनुसन्धान विभाग थियो । प्रधानमन्त्री मातहतको त्यो निकायलाई किन चलायमान बनाइएन ? किन त्यसको सदुपयोग भएन ? अहिले गृहमन्त्रालय मातहत छ ।

किन अख्तियारमा हस्तक्षेप गरियो ? त्यो निकाय किन चयनमुखी भयो ? राज्यका अरु अंगहरु पनि किन चयनमुखी भए ? यस्ता अंग र निकायहरु क्रियाशील गर्नु पहिलो काम हो ।

अहिले हामीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई काम गर्ने वातावरण दिएका छौं । उसको कामकारबाहीमा सरकारले हस्तक्षेप गरेको छैन । केन्द्रीय अनुसन्धान ब्यूरोले आर्थिक अपराधसम्बन्धी विषयहरुमा बिना हस्तक्षेप काम गरिरहेको छ । अब सम्पत्ति शुद्धीकरण विभागले काम गरिरहेको छ ।

प्रहरी, राजस्व लगायतका अंगहरुले अपराध अनुसन्धानको काम गरिरहेका छन् । भ्रष्टाचार, आर्थिक अपराधका लगायतका विषयहरु त्यहाँबाट सम्बोधन हुन्छन् । यति गर्दागर्दै पनि सम्बोधन नभएका विषयहरु छन् । राजनीतिक दलको कोही नेता छ । केन्द्रीय समितिमा छ, प्रदेश वा जिल्लामा छ । उसको सम्पत्ति शंकास्पद छ । त्यस्तो अवस्थामा हिजो राजनीतिक दलले राज्यलाई नियन्त्रणमा लिएको थियो ।

तिनीहरुलाई दायराभन्दा बाहिर रहन दिने कि नदिने ? तिनीहरुमा कसरी पुग्ने भन्ने अब सोच्नुपर्ने होला । यिनै संयन्त्रले किन अझै सन्तोषजनक रुपमा काम गर्न सकेनन् ? थप केही गर्नुपर्ने हो कि ? एउटा अध्ययन गरेर केही न केही गर्नुपर्ने देखिन्छ ।

राज्यसंयन्त्रको आडमा हुने भ्रष्टाचार र आर्थिक अपराधको प्रमाण खोज्नु निकै चुनौतीपूर्ण काम हो । हिजो हामीले गिरीबन्धु टि स्टेट प्रकरण र नक्कली शरणार्थी प्रकरण देखेकै हो । जेनजी आन्दोलनका अगुवाहरुले पनि यसमाथि अहिले प्रश्न गरिरहेका छन् । हैन र ?

अख्तियारले केही मुद्दा दायर गरिसकेको छ । तिहारपछि केही अनुसन्धान टुंगिन्छन् भन्ने सूचना छ । ढोरपाटनको मेयरको ठुलो विषयमा अघिल्लो सरकारले मुद्दा चलाउन दिएको थिएन । किन मुद्दा चलाउन दिएन ? उहाँ कुन पार्टीको मेयर हुनुहुन्थ्यो ? उहाँलाई आज मुद्दा चल्यो, त्यो काम त भएकै होला ।

कृष्णबहादुर महराको सुनकाण्ड थियो । कसैलाई हिजो करुणा जाग्यो के–के भयो । अहिले त मुद्दा चल्यो, अदालतले पनि थुनामा पठाउने भनेकै छ । हिजो अनुसन्धान गर्न नदिइको कान्तिपुर भेट डिस्ट्रिब्यूटर्सको विषयमा अनुसन्धान भइरहेको छ । अरु विषयहरु पनि छन्, तिनकाबारेमा गोपनीयता राखिदिनुपर्छ ।

तपाईंले लुटिएका हतियारहरुबारे दलहरुले स्वघोषणा गरिदिनुपर्छ भन्नुभयो । लुटिएका हतियारहरु दलहरु वा उनीहरुसँग सम्बन्धित मानिसहरुसम्म पुगेका छन् भन्नेमा गृहमन्त्रीको रुपमा तपाई आश्वस्त हुनुहुन्छ ?

मैले ‘उनीहरुले हतियार लगेका छन्’ भनेर अभिव्यक्ति दिएको छैन । कतिपयले त्यसरी विश्लेषण गरेका हुनसक्छन् । तसर्थ त्यस्तो विश्लेषण आंशिक सत्य हो । सुरक्षासम्वद्ध संयन्त्रहरुले गरेको विश्लेषण अनुसार, ती हतियार कुनै गिरोहको हातसम्म पुगेको भन्ने छैन । हतियार लगेकाहरु एकै ठाँउमा संगठित भइहाल्ने अवस्था नहोला भन्ने लाग्छ ।

ती हतियार कुनै गिरोहको हातमा पुग्यो भने अथवा लुटेराहरुसम्म पुग्यो भने क्षति गर्नसक्छ । हामी त्यसो हुन दिदैनौं । अपरेसन नै चलाएर हतियार फिर्ता ल्याउछौं भन्ने छ । तर कतिपय राजनीतिक शक्तिहरुले वा तिनका केही समूहहरुले हतियारमा रुचि राखेका हुन्छन् । त्यस्तो अवस्था नआओस् भन्न खोजेको हो ।

हामीले सबै दललाई होइन, सबै नेतालाई पनि होइन । तर हतियारप्रति रुचि रहेका कोही हुन सक्छन्, त्यो खालको रुचि हुन सक्छ, उनीहरुसँग त्यो हतियार पुग्यो भने फिर्ता गर्न गाह्रो हुन्छ भनेको हो ।

फेरि निर्वाचनमा एउटा दलबाट अर्को दल नै बढी असुरक्षित हुने भएकाले उहाँहरुको हितको लागि भनेको हो ।

लुटिएका हतियार फिर्ता ल्याउन सरकारले के गर्दैछ ?

हामीले पटक पटक सूचना निकालिसकेका छौं । फिर्ता दिनुभयो भने सम्मान गर्छौं, त्यसवापत कानुनी कारबाही हुँदैन भनेका छौं । अब पनि फिर्ता नभए हामीले अपरेसन चलाउँछौं । त्यतिबेला नागरिक समाज र राजनीतिक दलहरुको पनि सहयोग चाहिन्छ । जोसँग सूचना छ उसले भनिदिनुपर्छ ।

भदौ २३ को रक्तपातका दोषीलाई कारबाहीको दायरामा ल्याइहाल्ने, २४ को विध्वंशका दोषीलाई चाहिँ जाँचबुझ आयोग देखाएर सरकार पन्छिन मिल्छ ?

पहिलो कुरा, गम्भीर प्रकृतिको अपराधमा संलग्नमाथि छुट नै हुँदैन । माओवादी द्वन्द्वकालको पनि त्यही हो । जहाँ गम्भीर अपराध भएको छ, त्यहाँ छुट हुँदैन । राज्य वा गैरराज्य जहाँबाट भएपनि त्यो सिद्धान्तलाई नेपालले छुट्टै परिभाषा गर्न पाउँदैन।

जहाँ लोकतान्त्रिक र मानवअधिकार मैत्री सरकार छन् त्यहाँ सबैका लागि त्यही सिद्धान्त लागु हुन्छ । त्यो एक किसिमले विश्वव्यापी कानुन नै हो । जहाँ निरंकुश सरकार छ, केही समय यस्तो मूल्यमान्यता ओझेलमा परेको होला, तर पछि प्रकट हुन्छ।

कानुनको शासन अवरुद्ध गर्ने प्रयास सम्भव हुँदैन । आंशिक रुपमा कहिलेकाही प्रयास होला । तर गम्भीर र जधन्य किसिमका परिस्थितिहरुलाई कानुनले सम्बोधन गर्छ । म कानुनी शासनकै विद्यार्थी पनि हो।

जहाँ अधिक शक्तिको प्रयोग भयो । कतै नियतवश दुरुपयोग भयो । त्यस्तो अवस्थामा राज्य वा गैरराज्य पक्ष भनेर फरक व्यवहार हुँदैन, अनुसन्धान हुन्छ । मात्रै के हो भने कहिलेकाही कानुन कार्यान्वयनमा यान्त्रिक रुपमा अघि बढियो भने ठूलो संख्याका मानिसहरुलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने हुनसक्छ । त्यस्तोमा सीमित स्रोतसाधनले कठिनाई हुन सक्छ।

मुलुकलाई पनि क्षति हुने परिस्थिति आउन सक्छ । त्यसैले स्थिति सामान्यीकरण र कानुन कार्यान्वयनलाई सन्तुलनमा लिएर हिँड्नुपर्ने हुनसक्छ । राष्ट्रिय सुरक्षा चुनौती नआउनेगरी सन्तुलनमा हिँड्न खोजेका हौं । तसर्थ यस्ता घटनामा कसैलाई पनि छुट वा उन्मुक्ति हुँदैन।

गृह मन्त्रालयले जुन वक्तव्य निकालेको थियो, त्यसले सन्तुलन कायम राख्न सकेको छ ?

त्यो वक्तव्यको अन्तिम वाक्यको गलत विश्लेषण भएछ । यथार्थमा त्यहाँ सुझबुझपूर्ण तरिकाले लेखिएको छ। आयोगको कार्यक्षेत्र रहेको विषयमा आयोगले नै हेर्नेछ, अरु संयन्त्रमा नजाने भन्ने व्यहोरा छ।

आयोगको कार्यक्षेत्र भनेको छानबिन र जाँचबुझ हो । घटनाको छानबिन र जाँचबुझ हुन्छ । त्यो सँगसँगै तर भनेर लेखेको वाक्यांश पनि छ । तसर्थ आयोगले जाँचबुझ गर्छ, छानबिन गर्छ । तर गैरकानुनी काम कारबाहीहरुलाई कानुन बमोजिम कारबाही गरिनेछ भनेर पनि उल्लेख छ।

दुई दिनको घटनामा अपराध नै भएको छ, वारदात छ भने कानुन कार्यान्वयन हुन्छ भनेर उल्लेख छ । एउटा घटनाको जाँचबुझ गर्ने काम एकापट्टि हो भने अपराधको अनुसन्धान गर्ने अर्कोपट्टिको काम हो, तसर्थ क्षेत्राधिकार स्पष्ट छ ।

विगतमा राजनीतिक भ्रष्टाचार थियो । अब भ्रष्टाचारलाई छुँदा बित्तिकै विगतको राजनीतिलाई पनि छुने भयो । यो जेन–जी बिद्रोहपछिको अवस्था हो । विद्रोह पछिको अवस्थालाई पूर्ववत अवस्था जस्तो सोच्नुभएन, यो त एक किसिमले क्रान्ति पछिको अवस्था हो ।

आयोगले जाँचबुझ गर्ने हो, छानबिन गर्ने हो। उसले जे अवस्था छ त्यो सत्यतथ्य विवरण पत्ता लगाउने हो । यतापट्टि वारदात भएको हो भनेर पिडितले जाहेरी ल्याउनुहुन्छ । त्यसमाथि अनुसन्धान गर्ने निकायले काम गर्छ।

राज्यको निकायले काबुभित्रको परिस्थितिहरु, शान्ति सुरक्षामा चुनौति नथपिने, राष्ट्रिय सुरक्षामा चुनौती नथपिने अवस्थाको सुनिश्चितता गर्दै स्थिति सामान्यीकरण गर्दै आफ्नो काम गर्छ । यी दुई अवस्थालाई त्यहाँ सन्तुलन गरिएको हो।

एकातिर २१ फागुनमा निर्वाचन गराउने सरकारको दायित्व छ । अर्कोतर्फ भ्रष्टाचार नियन्त्रण र सुशासनका विषय पनि छन् । सरकारले यी दुई विषयलाई सन्तुलनमा राखेर कसरी निर्वाचनको सुनिश्चितता गर्ला ?

गृह मन्त्रालय कामको जस पाउने ठाँउ हैन । अहिलेसम्म कसैलाई पनि सफल गृहमन्त्री भनिएको छैन । धेरैलाई त भ्रष्टाचारकै मुद्दा लागेको छ । कयौंै गृहमन्त्रीले निर्वाचन हार्नुभएको विगत छ।सुरुमा मलाई कुनै पनि मन्त्रालयमा चासो थिएन।

अधिकतम प्रधानमन्त्रीज्यूको मुख्य सल्लाहकार भएर सहयोग गरौंला भन्ने थियो । तर उहाँलाई कानुन बुझेको, आन्दोलन बुझेको विश्वासिलो मानिस आवश्यक थियो । एउटा सन्तुलन मिलाउने मानिस चाहियो भनेपछि म यहाँ आएको हुँ।

मूलतः गृहमन्त्रालयको जिम्मेवारी पनि निर्वाचन नै गराउने हो । तर निर्वाचनसम्म पुग्नका लागि सुशासन चाहियो । मुलुकको शान्तिसुरक्षाका लागि पनि सुशासन चाहियो किनभने सुशासन भएन भने समाज भड्किने भयो।

सुशासन नहुँदा पहिले सानातिना आन्दोलन हुन्थे, तर अहिले त ‘आउटब्रष्ट’ भएको छ । देशको कार्यपालिका ढल्यो, व्यवस्थापिका अपदस्थ भयो । आजको दिनमा पनि सर्वोच्च अदालतले आफ्नो काम गर्न सकेको छैन । न्यायपालिकाले फङसन गर्न नसकेको पनि कुनै देश हुन्छ र ?

मुलुक यो अवस्थामा किन पुग्यो ? सुशासन नभएका कारणले हो । शान्तिसुरक्षा, राष्ट्रिय सुरक्षा, कानूनी शासन आदि सबै कुरा सुशासनसँग जोडिने रहेछ । अहिले फेरि जेन–जी पुस्ताको प्रदर्शन विश्वव्यापी रुपमा देखा परेको छ, यहाँको मात्रै होइन । सुशासन नभएको र भ्रष्टाचार भएको एजेण्डा सहित संसारभर प्रदर्शन भइरहेका छन् ।

हामीले सुशासनको प्रत्याभूति गराउन अवस्थाको सामान्यीकरण हुनु आवश्यक छ । कुनै समय हामी पनि नरहने, मुलुक पनि नरहने र मुलुक विदेशीको क्रिडास्थल बन्नसक्ने हो कि भन्ने त्रासमा पुगेका थियौं । त्यो परिस्थितिलाई दोहोरिन नदिन स्थितिको सामान्यीकरण गर्नुपर्छ ।

स्थितिको सामान्यकिरण नहुँदासम्म हामीले कानुनको यान्त्रिक प्रयोग गर्न मिल्दैन । अवस्था सामान्य भएपनि कानुनको शासनको सुदृढीकरण गर्नुपर्छ । स्थिति सामान्य भएपनि कानुनको शासनको जगमा सुशासनको सन्देश दिने हो । फेरि भ्रष्टाचारी उम्केर त सुशासन हुँदैन ।

भ्रष्टाचारका अनुसन्धानहरु अवरुद्ध भएका थिए, अभियोजनहरु अवरुद्ध थिए । प्रणालीलाई नै अपहरण गरेर राजनीतिक पहुँचका आधारमा उनीहरुले छुट पाइरहेका थिए । अब हामीले त्यस्ता कामलाई छुट दिन मिल्दैन। जेन–जी विद्रोहको माग नै सुशासन हो, अब त सुशासन दिएर विद्रोहीहरुलाई आश्वस्त पार्नुपर्छ ।

सुशासन माग्नेमाथि दमन भएको थियो, त्यो विषयलाई पनि सम्बोधन गर्दै राजनीतिक रुपमा विस्थापित भएकाहरुलाई पनि निर्वाचनमा अग्रसर बनाउनुपर्नेछ । नयाँ र पुराना दुवै थरीलाई स्वतन्त्र र निष्पक्ष निर्वाचन हुनेमा आश्वस्त पार्दै हामीले चुनाव गराउनुपर्ने छ ।

गृह प्रशासनबाट कसैको पनि माग सबै पुरा हुँदो रहेनछ । सबैका माग आंशिक रुपमा सम्बोधन हुने रहेछ । मागहरु आंशिक रुपमा सम्बोधन हुन्छन् र अधिकतमका लागि प्रयास गर्ने हो। अरु मन्त्रालयहरुले कतिपयको माग शतप्रतिशत सम्बोधन गर्नसक्ने रहेछन् । तर गृहबाट त्यो सम्भव रहेनछ । गृह मन्त्रालयबाट कोही पनि पूर्ण रुपमा सन्तुष्ट नहुने रहेछ।

तर उनीहरुलाई आश्वस्त त पार्नुभएको होला ?

भाँड्न खोज्ने कतिपयले यसलाई गलत रुपमा व्याख्या गरेका छन् । उहाँहरुमध्ये कतिपयले वातावरण बिगारेको पनि हो । मानिसहरुलाई बारम्बार आक्रोश र उत्तेजनामा लैजाने प्रयासहरु भएका छन् । नत्र मैले हिजोका दलहरु र नयाँ सबैलाई सुधार र रुपान्तरणका लागि आह्वान गरेको छु ।

हिजोका दलहरुले आफ्नो संस्थाको सुधारका लागि पनि प्रयास गर्नुपर्छ । मैले सबैलाई कम्तिमा चुनावमा आउनको लागि आफ्नो संस्थालाई पनि सुधार गर्न र पार्टीहरुलाई सुदृढ बनाउन आग्रह गरेको छु । त्यहाँका गलत तत्वहरु बाहिरिने र असल पक्षहरु दलको मूलधारमा आउन आवश्यक छ ।

किनभने राजनीतिक दलहरुलाई पनि त आन्तरिक रुपमा मुक्ति दिलाउनपर्ने होला । त्यहाँ पनि राम्रा मान्छे होलान् । तिनलाई अत्याचार र दमन भएको होला । भ्रष्टाचारले त्यहाँ पनि थिलोथिलो भएको होला । केही नेताहरुका कारण सबैको छवि बिग्रेको होला । त्यहाँ पनि मुक्तिको आन्दोलन सुरु होला, आउटब्रस्ट होला भन्ने थियो ।

तपाईंले भर्खरै दलहरुको रुपान्तरण र दोस्रो पुस्ताको नेताको चिन्ता गर्नुभयो, तर शीर्ष नेतामध्ये केहीले तपाईंको नामै तोकेर उत्ताउलो नहुनु बाबु भन्दैछन् नि ?

केपी ओली सुपर ह्युमन बिईङ(विशिष्ट मानव) हो । उहाँ विशिष्ट नागरिक हो । मैले त्यहि बुझेको छु । केपी ओलीजी यो देशको महामानव हो, विशिष्ट नागरिक हो । उहाँले अरुलाई जे–जे भने पनि हुन्छ । बाबु भने पनि हुन्छ । सुरक्षा निकायका उच्च अधिकारीहरुलाई पनि बाबु भन्नुहुन्थ्यो रे । उहाँलाई भने सबैले ‘बा’ भनिदिनुपर्ने रे ।

म त्यस्तो मान्यतामा छैन । हामी समान नागरिक हौं । उहाँले मापदण्ड विपरीत सुरक्षा फौज राख्नुभएको रहेछ । गृह प्रशासनले मापदण्डभन्दा बढीका फौज फिर्ता गरेकोमा उहाँलाई रिस उठेको रहेछ ।

तपाईंले ओलीको सुरक्षा टोली घटाएर मेयर र वडा अध्यक्षको थप्नु भएको छ रे ?

त्यो मलाई थाहा छैन । मैले कसैको थपेको छैन । कोही मेयर, वडाध्यक्ष मेरो सम्पर्कमा पनि छैनन् । त्यो बेकारको कुरा हो । उहाँले कुन तथ्यको आधारमा भन्नुभयो ? त्यो ओलीजीलाई नै सोध्नुपर्छ ।

मेरो लागि उहाँ अपदस्थ पूर्व–प्रधानमन्त्री हो । उहाँको पनि जिउज्यानको सुरक्षा गृहमन्त्रालयकै जिम्मेवारीमा रहन्छ । मैले उहाँलाई विशेष नागरिकको रुपमा नभई समान नागरिकको व्यवहार गर्नुपर्छ । त्यसैले पनि उहाँले आफूलाई विशेष नागरिक नठान्दा हुन्छ ।

अनि सरकारले उहाँलाई उपत्यका छाड्न प्रतिबन्ध लगाएको छ । हैन ?

सरकारले त्यो बन्देज लगाएको हैन । उहाँको मतिले (सरकारले) रोक लगाएको देखेछ । तर त्यो आयोगले गरेको निर्णय हो । आयोग स्वतन्त्र ढंगले चलेको छ । यस्ता विषयमा उहाँले अपवाह फैलाउनु भएन, मति सुध्रिनुपर्‍यो।

अपवाह फैलाएर, लापरवाही गरेर, उट्पट्याङ कुरा गरेर उहाँले देशलाई यत्रो भड्खालोमा हाल्नुभएको हैन ? सुरक्षा निकाय र तिनका संयन्त्रले रिपोर्ट गर्दागर्दै उहाँले लापरवाही गर्नुभएको हो । उहाँहरुले बेलैमा ‘तपाईंले राजीनामा दिनुस् क्षति कम हुन्छ’ भन्दाभन्दै उहाँको ‘क्रिमिनल नेग्लिजेन्स’ का कारण यत्रो धनजनको क्षति भएको हो । अब उहाँको चेत खुल्नु पर्छ, उहाँको हितका लागि मैले भनेको हुँ।

०००

उहाँले सरकारकै वैधतामा प्रश्न उठाउनुभएको छ । आयोगलाई अस्विकार गर्नुभएको छ । बयानमा बोलाउँदा आउनुभएन भने के हुन्छ ?

उहाँ ‘सुपर सिटिजन’ त होइन । पूर्वराजा आफैंले ‘पूर्व–राजा’ भनेर लेख्नुहुन्छ । त्यत्रो इतिहास भएको राजसंस्थाको राजा त सामान्य नागरिक हो भनिरहनुभएको छ । अब केपी ओलीजीलाई ‘म कानुनभन्दा माथि छु’ भन्ने लागेको होला । तर कानुनको दायरामा ल्याएर छाडिन्छ । जाँचबुझ आयोगको अस्तित्व अस्वीकार गर्नुभयो भने उहाँलाई कानुनले ठाउँमा ल्याउँछ।

यदि उहाँलाई आयोगको निर्णय चित्त बुझेको छैन भने अदालत गए हुन्छ । चित्त नबुझेका मानिसहरु अदालतमा गएर नै न्याय खोज्ने हो । अदालत नजानुको अर्थ अदालतलाई पनि उहाँले विश्वास गर्नुभएको रहेनछ।

संवैधानिक संस्थाको नियुक्तिमा त उहाँले भागवण्डा गर्नुभएकै थियो । त्यसैले गर्दा भ्रष्टाचार बढ्यो भन्ने आरोप लागेकै हो । चित्त नबुझेकोमा अदालत जाने हो कि बाहिर आएर ‘प्रोभोक’ गर्ने हो ? उहाँका यस्तो व्यवहार अर्को ‘क्रिमिनल नेग्लिजेन्स’ हो।

उहाँले दिन प्रतिदिन बोल्दै जाने, तपाईंहरुले पनि दिन प्रतिदिन प्रतिउत्तर दिइरहँदा निर्वाचनको वातावरण बिथोलिँदैन ?

उहाँहरुले भाड्न थाल्नुभयो भने सुरुमा सम्झाई बुझाई नै गर्ने हो । सम्झाई बुझाई गर्दापनि सम्झिनु भएन भने पार्टीमा उहाँ मात्रै त हुनुहुन्न । उहाँको सम्बन्धमा सोच्नुपर्ने होला, कानुन कार्यान्वयन गर्नुपर्ने होला।

राज्यको सुरक्षा संयन्त्रको उपयोग गरेर सत्तापलटका कुरा गर्न मिल्छ र ? यसरी उत्ताउलो हुँदै भड्काउँदै त हिँड्न मिल्दैन । शान्तिसुरक्षाको विषय मात्रै होइन, सुरक्षा संकटकै अवस्था आउनसक्छ।

उहाँकै कारण अस्ति त्यो अवस्था आयो । पछि अवस्था फेरिएको होला भन्ने भयो । राज्यले उहाँलाई पीडितको रुपमा सहानुभूति प्रकट गरेको हो । उहाँको घर जलेको छ, उहाँलाई क्षति पुगेको छ । राज्यले पीडितको रुपमा उहाँलाई सम्बोधन गर्न खोजेको थियो । तर अब त्यो अवस्था रहेन।

अहिले पनि उहाँ उत्पीडन दिने खालको, अस्थिरता निम्त्याउने खालको सत्तापलट गर्ने खालको कुरा गर्नुहुन्छ भने राज्यले उहाँलाई दिएको सुरक्षा लगायतका सुविधा पनि फिर्ता गर्नुपर्ने हुनसक्छ।

तस्वीर र भिडियो : शंकर गिरी/अनलाइनखबर

अहिले भएको र नियमले पाएको सुविधा पनि फिर्ता गर्ने ?

यस्तो काम गर्नेले नियमबाट पनि सुरक्षाकर्मी पाउँदैनन् । उहाँले बनाएको नियम कानुनले नै त्यसबारेमा स्पष्ट पारेको छ । राजनीतिक परिधिभित्र दिइने चुनौतीबारे हामी केही बोल्दैनौं । तर शान्तिसुरक्षा नै खलल पार्ने र राजनीतिक परिधि नाघेर दिइने चुनौतीबारे उहाँलाई राज्यले त्यही ढंगले सम्बोधन गर्छ।

केपी ओलीले सरकारको वैधतामा प्रश्न गर्नुभएको छ । ‘हा हु’ गरेर बनेको सरकार हो भनेर प्रश्न उठाउनुभएको छ। उहाँले अदालतमा चुनौती दिएको भए हुन्थ्यो । उहाँलाई न्यायालयप्रति विश्वास छैन ? त्यत्रो जिम्मेवारीमा बसेको र प्रधानमन्त्री भएको मानिसले अब पनि ‘हा हु’ भनेर भन्न मिल्छ ? उहाँलाई पनि त्यस्तै भनौं हामीले ? उहाँलाई अझै नपुगेको हो ?

उहाँले ‘हा हु’ भन्ने, गृहमन्त्रीलाई ‘बाबु’ भन्ने, प्रहरीका अधिकारीहरुलाई ‘बाबु’ भन्ने, सेनापतिलाई कुनै मर्यादा गर्नुभयो कि गर्नुभएन ? उहाँहरुका सुझावहरु नमान्ने अवस्था आयो । हरेक कुरामा परिस्थिति भड्काउने, गुण्डागर्दीलाई प्रोत्साहन दिने, भ्रष्टाचारलाई प्रोत्साहन दिने, आर्थिक अपराधलाई प्रोत्साहन दिने गर्नुभयो।

अनि त्यसको जगमा सत्ता कब्जा गर्न खोज्ने प्रवृत्ति ठिक भएन । जब यो प्रवृत्तिका विरुद्ध जनविद्रोह भयो भने जनविद्रोहपछि जन्मेको सरकारले यो प्रवृत्तिलाई कसरी छुट दिन मिल्छ ? उहाँले यो भड्कावपूर्ण प्रवृत्तिलाई निरन्तरता दिनुभयो भने शान्ति सुरक्षा मात्रै होइन कि देशको फौजदारी कानुन मिचेको अर्थमा पनि व्यवहार गर्नुपर्ने हुनसक्छ ।

हिजो २८ लाख मत पाएको र प्रतिनिधिसभामा दोस्रो रहेको दलको प्रमुखलाई यो खालको आरोप लगाउँदा भोति निर्वाचनको वातावरण पो बिथोलिने हो कि ?

लोकतान्त्रिक परिधिभित्रका क्रियाकलाप र अभिव्यक्तिलाई हामीले वैधता दिनुपर्छ, सहजीकरण गर्नुपर्छ । तर लोकतान्त्रिक परिधिभित्र बसेर आपराधिक प्रोत्साहन त गर्न मिल्दैन । किनभने अरुलाई त निर्वाचन चाहिएको छ । अर्कोतर्फ, उहाँकै सिफारिसमा सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार जन्मिएको हैन र ?

उहाँले होइन भन्नुभयो । प्रमाण देखाउ भनेर पूर्वप्रधानमन्त्री प्रचण्डलाई चुनौती दिनुएको छ नि ?

उहाँको सिफारिस छ, देशको राजपत्रमा प्रकाशित भइसकेको छ । मुख्यसचिवले पढेर सुनाउनुभएको हो । राष्ट्रपतिज्यूले त्यही भनिरहनु भएको छ । हामी वार्ताको प्रक्रियादेखि छौं । देख्ने, सुन्ने, जान्ने सबैले केपी ओलीले झुटो बोल्नुभयो भनिरहेका छन् । उहाँले संसारलाई ढाँट्दै जाने अनि उहाँले ढाँटेको कुरालाई तथ्य बनाएर फेरि प्रश्नहरु जन्माउनुभएन ।

उहाँले सुशीला कार्कीको नेतृत्वमा सरकार बनाउन सहमति दिनुभएको हो त ?

उहाँकै सिफारिसमा सुशीला कार्कीको सरकार बनेको हो । प्रधानमन्त्रीले सिफारिस गरेपछि संसद् विघटन भएको हो । सुशीला कार्कीको सरकार बन्ने कुरा त तत्क्षणमा सर्वपक्षीय रुपमा स्वीकृत भएको हो ।

उहाँ (सुशीला कार्की)को नेतृत्वलाई जेन–जीदेखि विस्थापित सबै राजनीतिक शक्ति सबैले तत्क्षणमा स्वीकार गरेको हो । दुनियाँलाई गुमराहमा पारेर ओलीजीले दिने भड्कावपूर्ण अभिव्यक्तिले राष्ट्रिय हित गर्छ ? यसले राष्ट्रिय सुरक्षा संकट बढाउँछ कि घटाउँछ ?

केपी ओलीले आफूलाई ‘सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने’ भनी प्रस्तुत गर्नुहुन्थ्यो । बहालवाला गृहमन्त्रीले उहाँले बोलेको कुरा झुटो हो भन्दै हुनुहुन्छ । हैन ?
उहाँले हस्ताक्षरसहित गरेको सिफारिस छ, राजपत्रको सूचना छ । होइन भने उहाँले प्रमाणसहित खण्डन गरे भइहाल्यो । यो सबै आधिकारिक रेकर्डमा भएको कुरा हो ।

हिजोको प्रतिनिधिसभामा दोस्रो ठूलो दलले विभिन्न प्रश्न उठाएर निर्वाचनबाट विमुख हुने वक्तव्यहरु निकालेको छ । उसका निर्णयहरु त्यततर्फ उन्मुख छन् । त्यो शक्ति विमुख भयो भने निर्वाचन हुने परिस्थिति होला ?

एमाले राम्रो संगठन भएको पार्टी हो । राम्रा बुद्धिजीवी भएका कर्मठ योद्धाहरु भएको पार्टी हो । सबै केपी ओली जस्ता छैनन् । उहाँको बोली नै एमालेको बोली त हैन होला ? केपी ओलीको आलोचनालाई सिंगो एमालेमाथिको आलोचना हो भनेर कसैले बुझिदिनु भएन । हामीले उहाँको कमजोरीका बारेमा भनेको हो ।

उहाँले संरक्षित गरेको सानो समूह छ, जसले अपराधिक भाष्यहरु सिर्जना गरेर परिस्थिति भाँड्ने र सत्तापलट गर्ने कुराहरु गरिरहेको छ । उहाँले जेनजी विद्रोहलाई आतंककारी भन्ने भाष्य सिर्जना गरिरहनुभएको छ।

जसका विरुद्ध यत्रो शक्तिप्रदर्शन भयो । क्षति भयो । यो अवस्था नदोहोरियोस् भनेर सरकारले स्थिति सामान्यीकरण गर्न निर्वाचनलाई प्राथमिकता दिएको छ । अरुसँगै उहाँलाई पनि अवसर छ । निर्वाचनबाट जेनजी आन्दोलनबाट उदाएकाहरुलाई पनि आफ्नो क्षमता जाँच्ने अवसर छ।

हिजो विस्थापित भएकाहरुलाई पनि निर्वाचनबाट फेरि आउने अवसर छ । यो परिस्थितिलाई भाँडेर उहाँले के गर्नुभएको हो ? उहाँको कुण्ठालाई राष्ट्रिय कुण्ठा बनाएर अगाडिको बाटो अवरोध गर्ने अधिकार कसैलाई हुन्छ र ?

हामी भूराजनीतिक दृष्टिकोणले संवेदनशील ठाँउमा छौं । आन्दोलनमा संलग्न र उनीहरुको पक्षधरतामाथि कतिपय प्रश्न छन् । दलाई लामा लगायतले शुभकामना दिएपनि मान्छेशरु सशंकित छन् । यसमा के भन्नुहुन्छ ?

यस्तो कुरामा हामी खेलबाड गर्नु हुँदैन । सावधानीपूर्वक नै व्यवहार गर्नुपर्छ । पहिला राष्ट्रको जीवन, त्यसपछि हाम्रो जीवन हो । यो कुरा अहिलेको सरकारले महसुस गर्छ । कोही कसैले बधाई दिए । प्रचलन विपरीत किन दिए ? अब यसको के अर्थ हुन्छ भन्ने कुराहरुलाई हामीले सावधानीपूर्वक सम्बोधन गर्नुपर्छ ।

यो मुलुकलाई कसैको पनि क्रीडास्थल बन्न दिनुहुँदैन । नेपाल कुनै पनि शक्ति केन्द्रको भूराजनीतिक क्रीडास्थल बन्नुहुँदैन । तत्–तत् राष्ट्रहरुले पनि यो कुरा बुझ्नुपर्छ । हामीले खोजेको ‘रुल बेस्ड इन्टरनेसनल अर्डर’ हो।

अन्तर्राष्ट्रिय कानुन छ, त्यसका नियमहरु छन् । मापदण्डहरु छन् । संयुक्त राष्ट्रसंघले साना राष्टहरुलाई पनि उत्तिकै अधिकार दिएको छ । सुरक्षा परिषद्का सदस्य मुलुकहरुले भिटो प्रयोग गर्ने बाहेक सबैको हैसियत बराबर हो । त्यसैले हामी अन्तर्राष्ट्रिय कानुनको आधारमा हाम्रो शक्ति र दायित्वको अभ्यास गर्नुपर्छ ।

कुनै पनि विदेशी राष्ट्रहरुले नेपालमा अधिक उपस्थिति देखाउने, कुनै बहानामा प्रवेश गर्ने र गिजोल्ने काम गर्दैनन् । हामीले पनि उहाँहरुको राष्ट्रिय स्वार्थमा आघात पुग्ने कुनै काम गरिदिनु हुँदैन ।

गतमहिना लुटिएका हतियारहरु र खुला सिमाका कारण हुने जोखिमबारे भारतले चासो देखाएको छ । चीनले नेपालमा के भइरहेको छ भनेर बेइजिङस्थित राजदूतलाई बोलाएर सोधेको छ । यस्ता विषयमा त सरकार जानकारै छ । हैन ?

राजदूतहरुले हामीलाई आफ्ना सरोकारहरु जाहेर गर्नुभएको छ । कतिपयले बिल्कुल आफ्नो राष्ट्रिय स्वार्थको कुरा गर्नुभएको छ । कतिपयले यहाँको परिस्थितिको बारेमा बढी कुरा गर्नुभएको छ । कुनै पनि देशले आफ्नो राष्ट्रिय स्वार्थको बारेमा कुरा गर्नु प्राथमिक दायित्व नै भयो ।

उहाँहरुलाई दुख्ने कुरा हामीले केही पनि गर्न मिल्दैन । हामीले राष्ट्रिय स्वार्थलाई जगेर्ना गर्ने हिसाबले यस्ता विषय हेर्नुपर्‍यो । हामीले त्यो राष्ट्रलाई अहित हुने खालको कुनै पनि गतिविधिलाई ठाउँ दिन मिल्दैन ।

कानून कार्यान्वयनका क्रममा समान व्यवहार गरिनेछ । तर जसले कानुनलाई हातमा लिन्छु भन्छ, उनीहरुको सम्बन्धमा कानुन पनि कठोर हुन्छ ।

हामीले हिजो ठूलो राष्ट्रिय सुरक्षा संकट सामना गरेका थियौं, अब त्यसबाट सामान्यतर्फ गएका छौं । हामीले उनीहरुको स्वार्थमा प्रहार गर्‍यौं भने उनीहरुको चासो र हस्तक्षेप बढ्ने खतरा हुन्छ । एउटाको उपस्थिति बढे अर्कोको पनि झनै बढ्ला । यो देशमा उहाँहरुको बीचको प्रतिस्पर्धा हुने स्थिति आउन दिनुहुँदैन ।

कतिपयले ‘यो कसको सरकार हो थाह छैन, तर नेपालीहरुको सरकार हैन’ भन्ने सन्देश प्रवाह गर्न खोजिएको छ । उनीहरुलाई के जवाफ दिनुहुन्छ ?

जेनजी विद्रोहपछि मुलुक अविभावक नभएको अवस्थामा पुग्यो । सबैले अभिभावक खोजेको अवस्थामा सुशीला कार्की आउनुभएको हो । कि त उहाँ न्यायधीश हुँदादेखि नै बेठिक मान्छे हुनुहुन्थ्यो भनेर भन्नुपर्‍यो ।

सुशीला कार्की प्रधानन्यायधीश हुँदा उहाँले भ्रष्टाचार विरुद्ध र सुशासनको पक्षमा जेहाद नै छेड्नुभएको हो । उहाँ कसैसँग नझुकेर निष्ठा प्रमाणित गरेकै मान्छे हो । उहाँलाई नै अहिले अभिभावकको रुपमा सरकारको नेतृत्व सुम्पिएको हो ।

हामी उहाँले नै छानेका मानिसहरु हौं । उहाँले हामीमाथि शंका हुनासाथ एक मिनेटमा नै बिदा गर्न सक्नुहुन्छ । उहाँको स्वविवेक अनुसार हामी बस्ने र काम गर्ने हो । अब यसलाई अब कहिँ विदेशी राष्ट्रसँग जोड्नु हुँदैन ।

विभिन्न खालका टिसर्ट लगाएका मानिसहरु आन्दोलनमा देखिए । उनीहरुका गतिविधिमाथि यावत प्रश्नहरु छन् । अब सरकारले के गर्छ ?

कानुनी दायरा नाघेका घटनाहरुलाई सरकारले त्यही ढंगले हेर्छ । कोही पनि कानुनी दायराभन्दा बाहिर जान मिल्दैन । कानुनी दायरा भित्रका गतिविधिहरुलाई सरकारले स्विकार गर्छ । देशको राष्ट्रिय सुरक्षा र मित्रराष्ट्रसँगको सम्बन्धमा असर पार्ने गतिविधी र उपस्थितीमाथि सरकारले उचित कदम चाल्छ ।

भोलिका दिनमा सडक प्रदर्शन वा त्यस्तै गतिविधि भए भने गतमहिनाको जस्तो घटना हुँदैन भनेर सरकारले जनतालाई आश्वस्त पार्ने आधार के छ ?

हामी कुनै पनि अप्रिय घटना नहोस् भन्नेमा पहिले नै सचेत छौं । संवादबाट नै समाधानको प्रयास गर्नुपर्छ । काबुबाहिरको परिस्थिति हुन थाल्यो भने नियन्त्रण गर्नुपर्छ । तर अवस्था आउनै नदिनेतर्फ सचेत हुनुपर्छ । पहिले त्यो अवस्था थिएन ।

हिजोको नेतृत्वमा यसबारेमा ध्यान पुगेन । अहिले सबै कानुनको अधिनमा छौं, कसैलाई पनि म विशेष हुँ भन्ने अवस्था छैन । हामी सूचना संयन्त्रका विश्लेषण सुन्छौं, सुरक्षाकर्मीहरुको सुझाव मान्छौं र निजामती एवं अन्य विज्ञहरुको सुझावका आधारमा चल्छौं । सकभर नियन्त्रण गर्नुपर्ने चरणमा प्रवेश नै गर्न नपरोस् भन्ने हाम्रो जोड रहन्छ ।

तपाईंको विगत सौम्य र शालिन खालका छन् । अभिव्यक्तिहरु सन्तुलित देखिन्छ । तर पछिल्ला अभिव्यक्तिहरु किन विवादमा परिरहेका छन् ?

मेरा कतिपय अभिव्यक्ति विवादमा तान्न खोजिएका छन् । कतिपयले केपी ओलीका अभिव्यक्तिलाई सामान्य रुपमा ग्रहण गरे, गृहमन्त्रीका अभिव्यक्तिलाई विवादमा तान्न खोजे । अहिले आमरुपमा आपराधिक भाष्यलाई सामान्यीकरण गर्न खोजिएको छ । आपराधिक भाष्यका समाचार बनिरहेका छन् । तर मैले आपराधिक भाष्य बोलिरहेको छैन ।

तत्कालीन उर्जामन्त्रीका बारेमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग क्रियाशिल भएको छ । जलेका नोटहरुको बारेमा प्रारम्भिक अनुसन्धान अघि बढेको छ । अनुसन्धानको दायरामा परेको व्यक्ति राज्यको निगरानीमा हुनु स्वभाविकै हो ।

उहाँ निवर्तमान मन्त्री पनि भएकाले राज्यले सुरक्षा अधिकृत(पीएसओ)को सुविधा पनि दिएको थियो । सबै सूचनाहरुको विश्लेषण गर्दा उहाँ मुलुकमा नभएको यकिन भयो । फेरि, विमानस्थलबाट पनि जानुभएको छैन । लुकिछिपी रुपमा स्थलमार्गबाट गएपछि ‘भाग्यो’ भन्ने शब्द पनि उपयुक्त होला । हाम्रो संयन्त्रले भाग्नुभयो भनी विश्लेषण गर्‍यो ।

उहाँ नेपालभित्र देखिनुभएन, राज्यको सम्पर्कमा आउनुभएन, पीएसओको सम्पर्क बाहिर हुनुहुन्छ भनेपछि कसैले प्रश्न सोधेपछि ‘उहाँ नेपालमा हुनुहुन्न’ भन्ने अवस्थालाई जसरी सम्बोधन गर्नुपर्ने थियो, त्यही शब्द प्रयोग भएको हो ।

उहाँ आज पो आएर प्रकट हुनुभएको होला । जतिबेला अन्तर्वार्ता भएको थियो, त्यतिखेरकै अवस्थालाई मैले चित्रण गरेको हो । आज आएर अन्तरवार्ता झुटो थियो भनेर दुनियालाई हसाउने काम भएको छ । पत्रकार साथीहरुले पनि त्यति कुरा नबुझी ‘गृहमन्त्रीले झुटो बोल्यो’ भनिदिनुभयो ।

जलेको घरअगाडी बसेर उहाँले ‘म यहाँ छु’ भनिदिनुभयो । अब सरकारले के गर्छ ?

सरकार उहाँप्रति पूर्वाग्रही बन्न मिल्दैन । सरकारका संयन्त्र छन्, तिनले अनुसन्धान गर्लान् । बयान लिनुपर्ने होला, त्यसका लागि सम्बन्धित मानिसलाई उपस्थित गराउनुपर्ने होला । सुशासनका लागि गठन भएको सरकारले ‘बयान लिनुपर्ने मानिसलाई भगायो रे’ भन्ने अवस्था हुन दिनुभएन ।

उहाँ विमान चढ्नै नसक्ने मानिस पनि त होइन । लुखुर–लुखुर स्थलमार्गबाट गएर त्यतैबाट फर्किनुभएको रहेछ । आज बडो स्वाभिमानपूर्वक जसरी उहाँले अन्तर्वार्ता दिनुभयो, यो बीचका गतिविधि स्वाभिमानयुक्त त थिएनन् ।

ओलीले भड्काउ अभिव्यक्ति दिए फौजदारी कानुनअनुसार व्यवहार हुन्छ भड्कावपूर्ण प्रवृत्तिलाई निरन्तरता दिनुभयो भने शान्ति सुरक्षा मात्रै होइन कि देशको फौजदारी कानुन मिचेको अर्थमा पनि व्यवहार गर्नुपर्ने हुनसक्छ ।

जनताको नजरमा लुकीछिपी गरेका क्रियाकलाप नै थिए होलान् । मैले अन्तर्वार्ता दिँदा उहाँको नेपालमा उपस्थिति थिएन । आज आएर उहाँ उपस्थित हुँदैमा उहाँको भनाई सत्य, मेरो अस्तिको भनाई असत्य भन्ने त हुँदैन ।

कहिलेसम्म मन्त्रिमण्डल विस्तार भएर जेन–जीको पनि प्रतिनिधित्व हुन्छ ?

यो प्रधानमन्त्रीको विशेषाधिकारको विषयवस्तु हो । उहाँले सोचिरहनु भएको होला । उहाँले नाम संकलन गर्नुभएको होला । उहाँले हामीसँग परामर्श गर्नुहोला । अब यो चाहिँ उहाँको विशेषाधिकारको विषयवस्तु हो । मलाई लाग्छ उहाँले चाँडै नै कार्य सम्पन्न गर्नुहुनेछ ।

२१ फागुनको निर्वाचनको मिति त सर्दैन नी ? तपाईं ढुक्क हो ?

मलाई त कतिखेर यो जिम्मेवारी बिसाउँ भन्ने भएको छ । उदाहरणीय गृहमन्त्री बनेर एक थोपा पनि रगत नबगाई चाँडोभन्दा चाँडो चुनाव गरेर शान्तिपूर्ण रुपमा निर्वाचन सकेर मलाई जिम्मेवारी हस्तान्तरण गर्न मन छ ।

यो मान्छेले गृहमन्त्रीको हैसियतले धेरै राम्रो काम गर्‍यो, एउटा उदाहरण बन्यो भन्ने अवस्था आओस् । मलाई साढे छ महिनाभित्र यो भारी बिसाउँ भन्ने लागेको छ । फागुनमा निर्वाचन सकेपछि नयाँ प्रधानमन्त्री आउन १०–१५ दिन लाग्नसक्छ ।

नेपालमा त शक्तिको ताप प्रकाश पाइसकेपछि मानिसहरु त्यहाँबाट बाहिर जान खोज्दैनन् । हैन र ?

अहिलेको मन्त्रिपरिषद्मा कोही पनि त्यस्तो छैन । जब प्रधानमन्त्रीकै त्यस्तो अवस्था छैन भने मन्त्रीको मनस्थिति पनि त्यही हो ।

तपाई वा कुनै मन्त्री कुनै पार्टीमा लागेर या आफैं दल खोलेर चुनावमा भाग लिने सम्भावना कति छ ?

अर्काको मनमा के छ ? तर दुईतिर रहन पाइँदैन । सरकारमा पनि बस्ने, दल खोलेर त्यतातिर पनि लाग्न मिल्दैन ।

तपाईं योबीचमा दल गठनमा लाग्नुहुन्न ?

म कहाँबाट लाग्नु ? निष्पक्ष सरकार गठनका लागि यो सरकार गठन भएको हो । पुराना र नयाँ दुवैले विश्वास गर्ने गरी यो सरकार गठन भएको हो । नत्र त काम चलाउ सरकारले निर्वाचन गरिहाल्थ्यो नी । काम चलाउ सरकारलाई पनि विश्वास नगरेर अपदस्थ गरेकाले यो सरकार गठन भएको हो । नागरिक सरकार बनेको हो।

नागरिक सरकार भनेकाले नागरिककै थितीमा बस्नुपर्‍यो । अर्को कुरा, जेनजी क्रान्ति सुशासनका लागि थियो । हामीले त्यो मुद्दा सम्बोधन गरिएन भने फेरि आगो सल्किन सक्छ । किनभने विश्वभर जेनजी विद्रोह फैलिएको छ।

नेपालकै झण्डा लिएर कतिपय ठाँउमा प्रदर्शन भएको छ । नेपाल जेनजी आन्दोलनमा ‘गुरु–राष्ट्र’ बनिसकेको छ । अन्यत्र पनि यसका छाल आइसकेका छन् ।

त्यो फेरि यही फर्केर नआओस् भन्न सुशासनको माग सम्बोधन गर्नुपर्छ । सुशासनको सवालमा हाम्रो पक्षधरता छ । हामी सुशासनको मुद्दा बोक्छौं, बोक्छौं, बोक्छौ । त्यति गर्दा निर्वाचन भाँडियो भन्न पाइँदैन है ।

हामी जेनजी विद्रोहको गुरु राष्ट्र त बनांैला । जेनजीका नाममा भएको विध्वंशको पनि गुरु–राष्ट्र बन्ने हो कि ? कतिपयले त हिजो दलका नेताहरुमाथिको आक्रमण र आगजनीको पनि छानबिन हुनुपर्ने भनेर तपाईलाई ज्ञापनपत्र बुझाइरहेका छन् ।

न्यायको प्रक्रियामा सरकारले अवरोध गर्न मिल्दैन । न्याय माग्ने सरकारसँग नै हो । सरकारले गरेको काम कारबाहीमा चित्त बुझेन भने भोलि अदालतले हेरिदिन्छ । अदालत पनि स्वतन्त्र र निष्पक्ष रहनुपर्छ । स्वतन्त्र र निष्पक्ष रहने अदालतले हामीलाई नियन्त्रण र सन्तुलन गरेको हुन्छ ।

कसैले म पीडित भएँ भनेर शिकायत गर्छ भने अविभावकको रुपमा रहने राज्यले सम्बोधन गर्ने प्रयास गर्नुपर्छ । सबैको चित्त बुझाएर शान्ति पनि कायम गर्नुपर्छ । व्यक्तिलाई न्याय दिँदा सँगसँगै राष्ट्रलाई पनि न्याय दिनुपर्छ ।

अहिले कानुनको कार्यान्वयनमा केही सीप देखाउनुपर्ने अवस्था छ । केहीबेर रोकेर अगाडि बढ्ने हो की एकैचोटी फटाफट जाने ? आज हुनुपर्ने काम एक दिन रोकेर भोलि हुँदैछ भने त्यसमै पनि अत्तो थाप्न हुँदैन । यस्ता विषयमा र कानुन कार्यान्वयनमा कसैले केही लाभ पाएमा त्यसलाई अतिरञ्जना गर्न मिल्दैन । किनभने दशैंअघि हुनुपर्ने कतिपय काम दशैैंपछि भएका होलान् ।

हिजोका कतिपय घटनामा हिरासतमा रहेका मानिसहरुबीचमा बाहिर आए । अहिले फेरि कतिपयहरु बाहिर आउन प्रयास गरिरहेका छन् । उनीहरुप्रति सरकारको कस्तो नीति रहन्छ ?

म कानुनको मामिलामा अलि कठोर मानिस हो । मैले त्यहि अभ्यास गरेर आएको हुनाले कानुन कार्यान्वयन हुनुपर्ने मान्यता राख्छु । कानुन कार्यान्वयनबाटै सुशासन सुरु हुने हो । कतिपयले भ्रष्टाचारीमाथिको कारबाहीलाई मात्रै सुशासन भन्ने बुझेका छन्, तर त्यतिमात्रै होइन ।

प्रतिशोधपूर्ण रुपमा कानूनको कार्यान्वयन हुनुहुँदैन । निष्पक्ष र औचित्यपूर्ण रुपमा त्यसको कार्यान्वयन हुनुपर्छ । कानुनले कठोरताको व्यवस्था गरेको छ भने कठोर नीति रहन्छ । कानुनले नरमशीलता अपनाउनुपर्छ भनेको छ भने नरमशीलताको नीति अबलम्बन हुनेछ ।

केपी ओलीजी यो देशको महामानव हो, विशिष्ट नागरिक हो । उहाँले अरुलाई जे–जे भने पनि हुन्छ । बाबु भने पनि हुन्छ । उहाँलाई भने सबैले ‘बा’ भनिदिनुपर्ने ?

यस्तो मामिलामा एउटासँग जे व्यवहार भयो, अर्कोसँग पनि त्यही व्यवहार हुन्छ । यसमा कसैले बढी लाभ लिने, कसैले कम लाभ पाउने अवस्था हुँदैन । समान व्यवहार गरिनेछ । जसले कानुनलाई हातमा लिन्छु भन्छ, उनीहरुको सम्बन्धमा कानुन पनि कठोर हुन्छ ।

जेनजीको प्रतिनिधि वा अरु कसैलाई पनि तपाईंको यही सन्देश हो ?

सबैलाई यही सन्देश हो । यो मेरो शास्वत कुरा यही हो । मलाई यो पदमा रहनु वा नरहनुसँग अर्थ छैन । शाश्वत कुराबाट म किन विचलित हुने ? यो पद त के ठूलो कुरो छ र ? आफ्नो मूल्य मान्यता र यो पदमा मेरो उपस्थिति मिलेन भने मैले आफ्नो मूल्यमान्यता नै रोज्नु पर्छ ।

०००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?