
News Summary
Generated by OK AI. Editorially reviewed.- क्लाउड स्टोरेजले डिजिटल फाइलहरु इन्टरनेटमार्फत रिमोट सर्भरमा सुरक्षित रुपमा संग्रहित गर्ने सुविधा प्रदान गर्दछ।
- डेटा सेन्टरहरु अमेरिका, सिंगापुर, युरोप लगायत विभिन्न ठाउँमा रहेका सर्भरहरुमा अर्बौँ फाइलहरु स्टोर हुन्छन्।
- क्लाउड कम्पनीहरुले एण्ड टू एण्ड एन्क्रिप्सन र टू फ्याक्टर अथेन्टिकेसनमार्फत प्रयोगकर्ताका फाइलहरु सुरक्षित राख्ने व्यवस्था गरेका छन्।
काठमाडौं। अब आफ्ना डिजिटल फाइलहरु संग्रहित गर्नका लागि पेन ड्राइभ वा हार्ड डिस्कको प्रयोग गर्नुपर्ने जमाना पूरानो भैसक्यो । डेटा स्टोरेजका ती भौतिक डिभाइसहरु हराउने तथा बिग्रिने डरमात्र हुँदैन, पूरानो भएर डेटा करप्ट हुने खतरा पनि रहन्छ ।
तर आजको डिजिटल युगमा ती भौतिक स्टोरेज डिभाइसको सहज विकल्प उपलब्ध छ । मानिसहरुल्े आफ्नो तस्वीर, भिडियो तथा डकुमेन्टहरु संग्रहित गर्नका लागि क्लाउड स्टोरेजको प्रयोग गर्न थालेका छन्।
क्लाउड स्टोरेजले भौतिक स्टोरेज डिभाइसलाई आफूसँगै राख्नुपर्ने झण्झट पनि हटाइदिएको छ । आखिर त्यो अभौतिक तथा अमूर्त ठाउँमा अनगिन्ती डेटाहरु कसरी संग्रहित हुन्छन् होला ? अनि क्लाउडमा सेभ गरिएका फाइलहरु आखिर कहाँ जान्छन् होला ? के यो जिज्ञासा तपाइँको मनमा पनि उब्जिन्छ ?
क्लाउड स्टोरेजले कसरी काम गर्छ अनि यसमा डेटा सेक्योरिटी कसरी हुन्छ ? यसबारेमा विस्तृतमा जानौँ ।
के हो क्लाउड स्टोरेज ?
क्लाउड स्टोरेज एउटा यस्तो प्रविधि हो जसले हाम्रा फोटो, भिडियो, अडियो, एप तथा अन्य डकुमेन्ट जस्ता डिजिटल डेटाहरुलाई इन्टरनेटका माध्यमबाट रिमोट सर्भरमा स्टोर गर्ने सुविधा प्रदान गर्दछ। अर्थात् हाम्रो कम्प्युटर वा मोबाइल फोनको इन्टर्नल मेमोरीको साटो यसमा फाइलहरुलाई अनलाइन क्लाउड सर्भरमा सेभ हुन्छन्, जसलाई हामीले जहाँसुकैबाट प्राप्त गर्न सकिन्छ ।
कहाँ सेभ हुन्छन् हाम्रो डेटा ?
जब तपाइँ कुनै फाइललाई गुगल ड्राइभ, आइ क्लाउड वा ड्रपबक्स जस्ता प्लाटफर्ममा सेभ गर्नुहुन्छ, ती वास्तवमा कुनै डेटा सेन्टरमा रहेका विशाल सर्भर सिस्टममा अपलोड हुन्छन्। यी डेटा सेन्टरहरु विश्वमा अमेरिका, सिंगापुर, युरोप लगायतका विभिन्न ठाउँमा रहेका छन् । हरेक डेटा सेन्टरमा हजारौँ सर्भर तथा स्टोरेज युनिट हुन्छन्, जसले समग्रमा अर्बौँ फाइलहरु स्टोर गर्दछन् ।
ती सर्भरहरुलाई यस्तो प्रकारले डिजाइन गरिएको हुन्छ कि बिजुली जाँदा वा कुनै सर्भर बिग्रिँदा पनि डेटा सुरक्षित रहन्छ । यसका लागि रिडन्डेन्सी तथा ब्याकअप सिस्टमको प्रयोग गरिन्छ। जसका कारण हाम्रा डिजिटल फाइलका कपीहरु ठाउँठाउँमा सेभ रहन्छन् ।
कसरी काम गर्छ क्लाउड स्टोरेज सिस्टमले ?
जब तपाईले आफ्नो मोबाइल वा कम्प्युटरबाट कुनै फाइल अपलोड गर्नुभयो भने सबैभन्दा पहिले त्यो इन्टरनेटको माध्यमबाट एनक्रिप्ट भएर क्लाउड सर्भरसम्म पुग्दछ । त्यहाँ डेटालाई साना साना हिस्सामा छुट्टाएर सुरक्षित रुपमा विभिन्न सर्भरमा स्टोर गरिन्छ ।
जब तपाइँले त्यहीँ फाइल पुनः डाउनलोड गर्नुहुन्छ वा खोल्नुहुन्छ, तब सर्भरहरुले ती हरेक हिस्सालाई जोडेर तपाईलाई पूर्ण फाइल देखाउँछन् ।
यो सबै प्रक्रिया सेकेण्डभरमै हुन्छ । तर यसका पछाडि हाइ स्पीड नेटवर्क, अटोमेटेड डेटा रुटिंग् तथा आर्टिफिसियल इन्टेलिजेन्स जस्ता प्रविधिहरुको प्रयोग हुन्छ ।
कति सुरक्षित छन् हाम्रा फाइल ?
क्लाउड कम्पनीहरुले प्रयोगकर्ताका डेटा सुरक्षित राख्नका लागि एण्ड टू एण्ड एन्क्रिप्सनको प्रयोग गर्दछन् । अर्थात् प्रयोगकर्ताको फाइलहरु अपलोड हुनेदेखि डाउनलोड हुँदासम्म एनक्रिप्टेड रहन्छन् । यसको अर्थ ती फाइललाई कुनै तेश्रो पक्षले पढ्न सक्दैन । यसका अलावा लगइनका लागि टू फ्याक्टर अथेन्टिकेसन जस्ता सेक्योरिटी तह पनि प्रदान गरिएको हुन्छ ।
यद्यपि क्लाउडमा पूर्ण रुपमा भर पर्नुअघि प्रयोगकर्ताले पनि केही सावधानीहरु अपनाउनु आवश्यक हुन्छ। आफ्ना अनलाइन अकाउन्टमा बलियो पासवर्ड राख्ने, अपरिचित लिंकमा क्लिक नगर्ने वा पब्लिक नेटवर्कबाट डेटा अपलोड नगर्ने जस्ता सावधानी प्रयोगकर्ता स्वयंले अपनाउनु र्पछ ।
समग्रमा क्लाउड स्टोरजबाट विभिन्न फाइदा हुन्छन् । जस्तो कि जुनसुकै ठाउँबाट डेटामा पहुँच प्राप्त गर्न सकिन्छ र त्यसका लागि आफैसँग भौतिक डेटा स्टोरेज डिभाइस बोकिरहनु पर्दैन। त्यसैगरी मोबाइल वा ल्यापटपको डेटा आफसे आफ क्लाउडमा सेभ रहन्छ भने कुनै फाइललाई लिंकको माध्यमबाट अरुसँग सजिलै शेयर गर्न सकिन्छ ।
कतिपय क्लाउड सर्भिसहरुले निश्चित स्पेस निशुल्क रुपमा पनि प्रदान गर्ने भएको हुनाले थोरै डेटा स्टोर गर्नुपर्ने इन्टरनेट प्रयोगकर्ताले सित्तैमा क्लाउडको उपयोग गर्न पाउँछन् । एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4