
News Summary
Generated by OK AI. Editorially reviewed.- सर्वप्रिय गीत 'यो मन त मेरो नेपाली हो' का गीतकार मापन भुसाल अहिले काठमाडौंमा सडकमा डुलेर भोकमरी र एक्लोपन भोगिरहेका छन्।
- उनलाई सम्मान गर्ने कार्यक्रमपछि लुटपाट भएको र सबै प्रमाणपत्र, नगद, मोबाइल चोरी भएपछि उनी सम्पर्कविहीन बनेका थिए।
- मापन भुसालले आफूलाई 'डार्बिनको बाँच्नका लागि संघर्ष' सिद्धान्त अनुसार जीवन संघर्ष गरिरहेको र राम्रो अवस्था आएपछि काम सुरु गर्ने बताउनुभयो।
आखिर ऊ हरायो । कहाँ गयो होला ?
शहरलाई रातले छोपिसकेको थियो । त्यही अँध्यारोभित्र उसले आफूलाई कहीँ कतै लुकाइदियो । थोत्रो चप्पल लगाएको, एकसरो धुस्रो सर्ट र टाउजर पहिरिएको ऊ ‘भोक लाग्यो’ भनी दुई–चार पैसा माग्दै हिँडिरहेको थियो।
शंखमुलस्थित एक भोजनालय अघिल्तिर ऊ टुप्लुक्क देखापरेको थियो, त्यो साँझ । साहुले हातमा पाँच रुपैयाँ थमाइदिएपछि फिस्स हाँस्दै भनेका थिए, ‘यो मन त मेरो नेपाली हो भन्ने गीत सुन्नुभएको छ ? त्यो मेरै गीत हो नि।’
दार्जीलिङे लवजमा लेग्रो तानेर उसले आफूलाई प्रमाणित गर्न यसो पनि भनेका थिए, ‘हुन त मान्छेले मलाई चिन्दैन हो । हेर्नु न म नै यस्तै छु । यस्तै छु पनि के भन्नु, मलाई लुट्यो नि । मेरो डल्लै सामान लुट्यो कि त्यही भएर म खर्च उठाउँदै हिँडेको हौ।’
हुलियाबाहेक ऊ सबैकुराले सहीसलामत देखिन्थ्यो । साँच्चै लुटिएकै हुन् ? साँच्चै गीतकार नै हुन् ? त्यो पनि सर्वप्रिय गीतको ? यस्तो गीतको, जुन नेपालीहरूको साझा स्पन्दन बनेको छ । जब–जब नेपालीहरू देशप्रेमले भावविभोर हुनपुग्छन् तब एकताबद्ध भाका गुञ्जिन्छ–
‘जसो गर जे भन जतासुकै लैजाउ मलाई
यो मन त मेरो नेपाली हो ।’
यो गीत मात्र होइन, नेपालीलाई एकढिक्का गराउने उत्साह र वीरताको जोडदार भाका पनि हो ।
000
‘काठमाडौं नि खत्तम भएछ हौ’ उसले आफूतिर ध्यानाकर्षण गराउन यसो भनेको थियो, ‘मेरो सबै लुट्यो, हेर्नु त म कस्तो हालतको भएँ ? न लुगा छ हो, न फोन छ ।’ साँच्चै उनीसँग केही थिएन, सिवाय एउटा सानो प्लास्टिकको झोला । त्यो झोलमा के छ ? सोधीखोजी गरेनौं ।
‘रोटी खानुहुन्छ ?’ हाम्रो प्रश्नमा उनले हतारिँदै जवाफ दिएका थिए, ‘खान्छु नि । हिजोदेखि केही खाएको छैन ।’ रोटी र तरकारी खाइरहँदा उनले फेरी दोहोर्याएका थिए, ‘मलाई मान्छेले पत्याउदैन हो, तर त्यो गीतको गीतकार मै हुँ नि ।’
त्यसपछि उनले कुन गीत कसरी र किन लेखे भनी बखान गरेका थिए । यसरी,
‘काठमाडौंमा मास्टरी काम गरिरहेकै बेला एक जनासँग प्रेम बस्यो हो । असाध्यै माया गर्थें । एकदिन भेट्न जाँदा उनको विवाह भइरहेको थियो । मेरो मुटु चिरियो । दुई बोतल कडा रक्सी घटघट पिएँ । गीटार साथमै थियो । अनि एउटा धुन कम्पोज गरें । नभन मेरो माया लाग्छ भन्ने गीत छ नि त्यही ।’
काठमाडौंका थुप्रै नामी स्कुलहरूमा पढाएको, थुप्रै संगीतकर्मीसँग उठबस गरेको, फेरि फर्किएर पटना गएको । पटनामा मास्टरी गरेको । मास्टरी गर्दागर्दै काठमाडौंमा सम्मान थाप्न आएको । सम्मान थापेर यसै हिँडडुल गरिरहँदा कसैले ‘लठ्याएर लुटपाट गरेको’सम्मका कुरा हामीले सुनिरह्यौं । आज्ञाकारी श्रोता भएर ।
उनी जस्ता देखिन्थे, उनका कुरा फरक थिए । यी भद्र ठग हुन् वा इमान्दार गफाडी ? हेर्नेहरूलाई शंसय गर्ने ठाउँ थियो ।
हामीले उनका धेरै कुरा सुन्यौं । थोरै कुरा पत्यायौं । अनि त्यहाँबाट हिँड्यौं ।
000
‘मापन भुसाल’
यो नाम गुगल सर्च गर्दा एउटा भिडियो फेला पर्यो, लगभग ७ महिनाअघिको । इलामको बौद्धधाममा भएको एक सांगीतिक कार्यक्रममा मापन भुसाललाई सम्मान गरिएको देखिन्छ । तर, त्यो मापन भुसाल र यो मापन भुसास उस्तै थिएनन् ।
१९७४ एडी ब्याण्डलाई पृष्टभूमिमा राखेर सगौरव मञ्चमा उभिएका, खादा र मालाले सजिएका ती मापन भुसाल चिरिच्याट्ट देखिन्थे । जोश र होसमा देखिन्थे ।
के सात महिनाको अन्तरमा एउटा मान्छेको अनुहार यसरी फेरिन सक्छ ? हुलिया यसरी बदलिन सक्छ ? कुन प्रलयले मान्छेको जिन्दगीलाई यसरी बेरङ्गी बनाइदिन्छ ? हामीलाई शंका निवारण गर्नु थियो ।
अन्ततः नतिजा यस्तो हात लाग्यो, ‘वास्तवमा त्यो अजम्बरी गीतका सर्जक यिनै हुन् ।’ जसले नेपाली मनमा जितको उत्साह र एकताको आभास दिने अमर गीत दिए, के उनी चाहिँ आफैंसँग हारिरहेका छन् ?
यो प्रश्नले लखेट्न थालेपछि हामीलाई लाग्यो, जसरी पनि मापन भुसालसँग यसका जवाफ खोज्नुपर्छ । तर, यतिबेलासम्म उनी शहरको भीडमा अलप भइसकेका थिए ।
000
कहाँ भेट्ने ? कहाँ खोज्ने ? रात छिप्पिदै गर्दा हामी दोधारमा थियौं । उनको बस्ने कुनै ठाउँ–ठेगाना थिएन । साथी थिएन, आफन्त थिएन, फोन थिएन । एक्लो फकिर बनेर ऊ त बेपर्वाह भीडमा हराइसकेको थियो।
कहाँ गयो होला ?
बानेश्वरको कुनै चिसो सडक पेटीमा टोलाइरहेका होलान् ? पशुपति पारी बसेर चिताको धुवाँमा एकोरिहएका होलान् ? कुनै साँघुरो लोकल भट्टीमा पसेर आफूलाई चिनाइरहेका होलान् ?
अघिको भेटमा उनलाई हामीले सोधेका थियौं । राति कहाँ बास्नुहुन्छ ?
‘बस्ने ठाउँ नै छैन । जता पनि बस्छु’ उनले भनेका थिए, ‘कहिले पाटन कृष्णमन्दिरको पाटीमा, कहिले कहाँ ।’
हामी पाटनलाई ताकेर निस्कियौं ।
ओ फकिर
शहरलाई अँध्यारो रातले छोप्दै गर्दा एक फकिर कतै हिँडिरहेको थियो । कहाँ हिडेको थियो त्यसको कुनै जवाफ थिएन । बस हिँड्नु थियो, तर पुग्नु कहीं थिएन सायद ।
हामी उसैका पाइला पहिल्याउँदै पुग्यौं पाटन कृष्ण मन्दिर परिसर । त्यसैको एक पाटीमा भेटिए यी फकिर, भित्तामा अडेसिएर, गोडा तन्काएर बेपर्वाह चुरोटको धुँवामा हराइरहेका । यी फकिर अर्थात मापन भुसाल ।
त्यस रात उनले हामीलाई आफ्नो दर्दनाक कहानी सुनाए । गीत गुनगुनाए । कहिले रोए, कहिले हाँसे । यसो भन्दै, ‘मेरो कुरा सुनिदिने पनि कोही छैन । म कसलाई सुनाउँ ? अब त एक्लै बस्ने आदत भएछ । न जमघट, न रमाइलो । दशैं तिहार नमनाएको वर्षौं भएछ । साँच्चै मैले भाइटीका नलगाएको कति भएछ है ।’
नजिकबाट मापन भुसाल
उनी गत चैतमा भएको १९७४ एडी ब्यान्डको ‘रक यात्रा २.०’ मा काठमाडौं आएका थिए । ब्यान्डका एक सदस्यका अनुसार उनलाई त्यसबेला नगदसहित सम्मान गरिएको थियो ।
उनले लेखेको गीतले ब्यान्डलाई परिचय दिन ठूलो भूमिका खेलेकाले सम्मान गरिएको ती ब्यान्ड सदस्यले बताए ।
त्यसबेला भुसालसँगै उनकी दिदी पनि काठमाडौं आएकी थिइन्, साथी । कार्यक्रमपछि भुसाल दिदीसँगै दार्जीलिङ फर्केका थिए ।
केही समयअघि ११ असोजमा पर्ने विश्व पर्यावरण दिवसको अवसरमा एउटा संस्थाले उनलाई सम्मान गर्न काठमाडौं बोलाएको थियो । त्यसबेला उनी दार्जीलिङबाट काठमाडौंमा एक्लै आएका थिए । उनले सम्मान लिए । तर यस पटक उनी घर फर्केनन् ।
भुसालमा अनुसार सम्मान कार्यक्रमपछि उनी कुनै होटल बसे । त्यही बेला उनको लुटपाट भयो । सबै प्रमाणपत्र, नगद, मोबाइल फोन चोरी भयो । उनी सम्पर्कविहीन भए । खाने, जाने खर्च थिएन ।
त्यसपछि उनी सडकमा डुलिरहे । आश्रयका लागि पाटन क्षेत्रको एउटा पाटीमा बस्न थाले । जसमा दु:खबाहेक केही नभएको उनले बताए ।
‘राति पाटीमा सुत्दा कहिलेकाहीं केटाहरूले टर्चर दिन्छ हौ । पिट्छ, लात पनि हान्छ हौ । अनि त डर र चिन्ताले रातभरि ननिदाई जाग्राम बस्नुपर्छ’ उनले भने ।
त्यसयता उनी सडकमै बसे । परिवारलाई सम्पर्क गर्ने प्रयास गरेनन् । गुजारा चलाउन उनले मागिरहे ।
उनी दार्जीलिङ, कालिम्पोङमा जन्मे हुर्केका हुन् । १९७४ एडीका गायक तथा ड्रमर एड्रिन प्रधान उनको बाल्कालीन साथी । उनीहरूले विद्यालयमा सँगै पढ्ने, पढाउनेदेखि संगीतको कखरा पनि करिब सँगैसँगै सिकेका थिए ।
कालान्तरमा दुवै काठमाडौं आए । मापनका अनुसार उनी भने आजभन्दा २५ वर्षअघि काठमाडौं आएका थिए ।
‘नेपाली हो’ गीत बनाउँदै गर्दा काठमाडौं आएको ब्यान्ड सदस्यले पुष्टि पनि गरे । अर्को उनी आफैं पनि लामो समय काठमाडौं बसे । उनले बताएअनुसार शिक्षण पेशा गरी उनी करिब १२ काठमाडौंमा बसेका थिए । बाबा बोर्डिङ, ग्यालेक्सी जस्ता विद्यालयमा आफूले पढाएको उनको भनाइ छ । साँखु र काभ्रेको पनौतीमा पढाउन गएको पनि उनले बताए ।
आजको यस्तो हालत हुनुअघि पनि आफूले बिहारको पटनास्थित एक स्कुलमा पढाएको सुनाए । ‘नेपाली हो’ गीत पनि विद्यालयमा पढाइरहँदा नै आफूले बनाएको उनले प्रष्ट्याए । ‘मैले यो गीत नानीहरूको राइम्स टाइपको बनाएको थिएँ । उनीहरूलाई नेपाली गीत सिकाउन सजिलो होस् भनेर त्यस्तो बनाएको थिएँ’ उनले भने ।
उनका बाल्यकालका साथी एड्रिन प्रधानले यो गीत धेरै मन पराए । गीत आधा मात्र थियो । एड्रिनले उनलाई गीत पूरा गर्न भनिरहे । मापनका अनुसार उनलाई यो गीत पूरा गर्न दुई वर्ष लागेको थियो । गीत पूरा भएपछि त्यसमा ब्यान्डले केही आफ्नोपन मिसाएर बजारमा निकालेको थियो ।
त्यस्तै एड्रिन प्रधानकै स्वरमा निकालिएको ‘नभन’ पनि मापनकै शब्द हो । यो पनि उत्तिकै हिट गीत हो । अनि यो गीत बनाउँदै गर्दा पनि काठमाडौंमै थिए । तर कथा दु:खान्त थियो । उनका अनुसार यो गीत काल्पनिक नभई वास्तविक जीवनको चोटबाट बनाएको हो । उनी त्यसै समय आसपास प्रेममा थिए । उनी शिक्षणमा व्यस्त हुँदा प्रेमिकालाई भेट्न सकिरहेका थिएनन् ।
उनलाई भेट्न साँखु जाँदा ती प्रेमिकाको विहे हुँदै थियो । यो घटनाले उनलाई मर्माहत बनायो । संयोगबस त्यसबेला उनको साथमै गीतार थियो । उनी पिपलको रुखको फेदमा बसे । मताउने कुरा पनि पिएका थिए । गीतारमा कर्ड खेलाउँदै थिए । त्यतिबेलै शब्द फुर्यो- नभन मेरो माया लाग्छ भनी, नबोलाऊ भेट्न…
मात पनि भएकाले सायद उनले त्यसबेला गीत पूरै सकेनन् । त्यसको केही समयपछि विद्यालयमै आएर उनले साँखुमा बनाएको त्यो टुप्पोलाई पूरा गरे । यसबेला तीन/चार महिना लागेको थियो ।
गीत बनेपछि एड्रिनले आफ्नो एकल एल्बममा राख्न गीत मापनसँग मागे । मापनले नाइँ भन्ने अवस्थै थिएन ।
000
उनले भने उनको अवस्था नाजुक छ । तर यति धेरै दुख र एक्लोपन हुँदाहुँदै पनि उनी आफूलाई दु: खी वा बैरागी मान्दैनन् । यो परिस्थिति आफ्नै जिद्दीपनाले बनाएको उनको बोध छ ।
अझै राम्रो जुत्ता, नयाँ पाइन्ट लगाउन र दाह्री काट्न पाए, तुरुन्तै स्टुडियो जान पाए काम सुरु गर्ने हिम्मत देखाउँछन् उनी । तर, अहिलेको खराब हालतमा साथीहरूका अगाडि जान नसक्ने उनी सुनाउँछन् ।
यसरी उनी आफैंमा आशावादी देखिन्छन् । तर आफैंमा शंका पनि गर्छन् । अनि आफ्नो जीवनलाई संघर्ष मान्छन् । ‘डार्बिनको ‘बाँच्नका लागि संघर्ष ’ भन्ने सिद्धान्त छ । अहिले मेरो हालत त्यस्तै छ भाइ’ उनी भन्छन् ।
फोटो/भिडियो : कमल प्रसाईं
प्रतिक्रिया 4