+
+
Shares

मापन भुसालसँगको एक हृदयस्पर्शी क्षण : ३० वर्षअघि छुटेको साथी यसरी भेटिए

डा. किशोर खत्री डा. किशोर खत्री
२०८२ कात्तिक ७ गते २०:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ३० वर्षपछि किशोर सर र मापन भुसालले एकअर्कालाई भेटेर अंगालोमा बाँधेर रोएका थिए।
  • मापन भुसालले अनलाइनखबरमा आफ्नो जीवनको संघर्ष कथा सुनाएपछि ब्यान्डका सदस्यहरूले विशेष हेरचाह गरिरहेका छन्।
  • मापन भुसालले संगीत सिकाउने शिक्षक भएर दाङको तुलसी बोर्डिङ स्कुलमा काम गरेका थिए र अहिले सम्मान थाप्न काठमाडौं आएका थिए।

३० वर्षअघि छुटेका साथीलाई पहिलो पटक भेट्दा मैले मन थाम्न सकिनँ । सोधेँ, ‘मलाई चिन्यौ ?’ उनले हार्दिक स्वरमा जवाफ दिए, ‘किशोर सर होइन ?’

त्यसपछि हामीले एक-अर्कालाई हेर्‍यौं । अंगालोमा बाँधियौं । अनि रोयौं दुवै ।

‘कति दिनपछि है हाम्रो भेट भयो’ मैले भनें, ‘मिडियामा तिमीलाई देखेर ।’

भर्खर मात्र अनलाइनखबरमा अचानक मैले मापन भुसालको कथा पढेको थिएँ । ‘बेखर्ची भई माग्दै हिँडेको, पार्टीमा बास बसेको । कति भोकै, कति अनिदो रात कटाएको ।’ यस्तो कथा सुनेर म स्तब्ध भएँ । कथा पढ्दै जाँदा मन भारी भयो, आँखा रसायो ।

ऊ जस्तो प्रतिभाशाली मान्छे कसरी यो हालतमा पुग्यो होला ?

यतिबेला मेरो साथी उस्तै थिएनन्, जस्तो पहिले थियो । समय र दुःखले उसको जीवनको रङ उडाइसकेको थियो । भेटमा हामीले एक-अर्कालाई धित मर्नेगरी हेर्‍यौं । मनभरीको बात मार्‍यौं । अनि उसको हातमा गीतार थमाइदियौं । उसले गीत गाइदियो, ‘यो मन त मेरो नेपाली हो ।’

यही गीतको एउटा स्थायी, जुन हामी किशोरवयमा भाका हालेर गाउथ्यौं । तीन दशक अघिको कुरा हो यो । अर्थात सन् १९९५ । म सम्झन्छु, दाङको तुलसी बोर्डिङ स्कुलमा हाम्रो पहिलो भेट भएको थियो ।

त्यसबेला उनी कालिङपोङबाट आएका थिए, ‘म्युजिक टिचर’ बनेर । तुलसी आवासीय माध्यामिक विद्यालयका विद्यार्थीलाई संगीत सिकाउँथे । त्यहीं मेरो दाइ किरण पनि पढाउने । दुवैको दोस्ती जमेको थियो । त्यसैले दाजुभाइको नाताले मापन हाम्रै घरमा बस्थे।

सन् १९९८ तिर म र मेरो दाइ मेडिकल शिक्षाका लागि घर छाडेर बाहिर गयौं । उनी पनि काठमाडौंतिर लागेछन् । त्यसपछि हाम्रो कहिल्यै भेट भएन ।

उनी कहाँ गए होलान् ? के गर्दै होलान् ? कस्तो भए होलान् ? कहिलेकाहीँ हामी याद गर्थ्यौँ । तर न सम्पर्क गर्ने सुत्र पाइयो, न भेट्ने मेसो मिल्यो । वर्षौं बित्यो । समयले हामीलाई कहाँ-कहाँ पुर्‍यायो ।

एमबीबीएस पढ्दै गर्दा मेरो दाइ किरणको निधन भयो, सन् २००६ मा । खासमा दाइ किरण, म र मापनबीच त्रिकोणात्मक सम्बन्ध थियो । दाइ बितेपछि एक किसिमको रिक्तता थियो, मनमा ।

त्यसपछिका दिनहरू आफ्नै हिसाबले चल्दै गयो । म चिकित्साशास्त्र पढेर यही क्षेत्रमा काम गर्न थालें । डाक्टरी पेशा आफैंमा बेफुर्सदिलो हुने । काम र जिम्मेवारीले आरम गर्न नदिने । यसरी समय बितेको पनि पत्तो नहुँदो रहेछ ।

वर्षौंपछि अचानक मैले मापन भुसालको कथा देखें, अनलाइखबरमा । कथा पढेर आफैंभित्र उकुसमुकुस भयो । मलाई ऐठन भयो । के गरौं, कसो गरौं ? तुरुन्त भेटेर उसलाई स्पर्श गर्न मन लाग्यो । अंगालोमा बाँधेर सोध्न मन लाग्यो, ‘आखिर किन तिमी यस्तो भयौ ?’

मापन भुसाल मनको प्रिय मान्छे मात्र होइन, उत्तिकै प्रतिभाका धनी पनि । उसले लेखेको, कम्पोज गरेको गीत आज हरेक नेपालीको ढुकढुकी बनेको छ । यस्तो गीत दिएका उनलाई आज जुन अवस्थामा पाएँ, त्यो दुःखलाग्दो थियो ।

खासमा उनी सम्मान थाप्न काठमाडौं आएका रहेछन् । काठमाडौंमा आएपछि यतै बरालिएछन्, बेखर्ची भई । अनलाइनखबरले उसको कथा लेखेपछि ब्यान्डका सदस्यहरूले लगेर विशेष हेरचाह गरिरहेका रहेछन् । जब मैले उनलाई भेटें, आफ्नो दाइको झझल्को आयो । मैले आफूलाई सम्हाल्न सकिनँ । उसको काँधमा टाउको राखेर रोएँ ।

मिलनको यो क्षण मेरा लागि सधै स्मरणीय रहनेछ । म कामना गर्छु, अब फेरि उसैगरी मापन भुसाल आफ्नो लयमा फर्कनेछन् । र, देशका लागि यस्तै सुमधुर कृति दिनेछन् । जसले उसलाई युगौं, युगसम्म बचाउनेछ ।

(कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?