+

४ प्राणायाम, जसले ‘हार्ट ब्लकेज’ हुनबाट जोगाउँछ

२०८० असोज  ७ गते १८:१३ २०८० असोज ७ गते १८:१३
४ प्राणायाम, जसले ‘हार्ट ब्लकेज’ हुनबाट जोगाउँछ

केही वर्षयता बढ्दो मुटुसम्बन्धी रोगले विश्वव्यापी रुपमै चिन्ता बढाइरहेको छ । मुटुरोग अब उमेर बढेपछि हुने समस्या मात्र हो भन्न सकिने अवस्था रहेन । किनकि वृद्ध उमेरमा मात्र होइन युवाहरूमा पनि हृदयरोगको जोखिम बढेको छ । ४० वर्षमुनिका युवासमेत ‘हार्ट ब्लकेज’जस्ता मुटुरोगको सिकार भइरहेका छन् ।

त्यसैले अब रोगलाई बढ्दो उमेरसँग जोड्न सकिंदैन, बरु जतिसक्दो चाँडो स्वस्थ हुने आयामहरु पहिचान गरी रोग लाग्न नदिने स्वस्थ जीवनशैलीमा ध्यान दिनुपर्छ । स्वस्थ जीवनशैलीसँगै योग गर्नाले सम्पूर्ण शरीर स्वस्थ र खुसी हुन्छ । जब तन र मन दुवै खुसी रहन्छ तब दीर्घरोग कम लाग्ने विज्ञहरुको मत छ ।

तनाव र शारीरिक क्रियाकलापमा कमीका कारण कोलेस्टेरोल, मोटोपन, मधुमेह र रक्तचापको समस्या अहिले सामान्य सोच्न थालिएको छ । यस्ता दीर्घरोगले ‘हार्ट ब्लकेज’को समस्या हुने सम्भावना अधिक हुन्छ ।

‘हार्ट ब्लकेज’ मुटुको धड्कन नियन्त्रण गर्ने विद्युतीय संकेतहरू आंशिक वा पूर्ण रूपमा अवरुद्ध भई धड्कनको चालमा असर पर्ने अवस्था हो । यस्तो हुँदा मुटुले शरीरमा रगत सही तरिकाले पुर्‍याउन सक्दैन । र, हृदयघातको जोखिम हुन सक्छ । यस्तोमा मुटुसम्बन्धी समस्या हुन नदिन र भएमा जोखिम कम गर्न केही प्राणायाम प्रभावकारी मानिन्छ ।

अनुलोम–विलोम

मुटु स्वस्थ राख्न सबैभन्दा प्रभावकारी प्राणायाममध्ये अनुलोम–विलोम एक हो । अनुलोम–विलोममा एउटा नाकबाट सास फेरेपछि अर्को नाकबाट सास लिने गरिन्छ । यसको नियमित अभ्यासले तनाव कम गर्छ । अनुलोम–विलोमले ‘हार्ट ब्लकेज’ कम गर्न मद्दत गर्छ ।

कसरी गर्ने ?

-सबैभन्दा पहिला म्याटमा आरामसँग बस्ने ।

-दाहिने औंलाले आफ्नो दाहिने नाकको प्वाल बन्द गर्ने र देब्रे नाकबाट गहिरो सास लिने

-त्यसपछि औंलाले बायाँ नाकको प्वाल बन्द गरी दाहिने नाकको प्वाल छोड्ने ।

-दाहिने नाकको प्वालबाट गहिरो सास छोड्ने र पुनः लिने ।

-दायाँ नाकको प्वाल बन्द गर्ने र बायाँ नाकबाट सास छोड्ने ।

-अब बायाँ नाकको प्वालबाट पूरै सास छोड्ने ।

-यसले अनुलोम–विलोमको एक चक्र पूरा हुन्छ । यसलाई १०–१५  मिनेटसम्म दोहोर्‍याउने ।

भ्रामरी प्राणायाम

भ्रामरी प्राणायाममा मौरीको जस्तो आवाज निकालेर गुन्गुनाइन्छ । यो अभ्यासले तनाव कम गरी दिमागलाई शान्त बनाउँछ । भ्रामरी प्राणायामले शरीरमा अत्यधिक अक्सिजन पुर्‍याउन मद्दत गर्छ र रक्तसञ्चार  सुधार गर्न सक्छ, जसले मुटुको स्वस्थता कायम राख्छ ।

कसरी गर्ने ?

-आँखा बन्द गरेर आरामदायी स्थितिमा बस्ने ।

-यसपछि बुढी औंलाले कान बन्द गरी र माथिल्लो दुई औंला निधारमा र अर्को दुई औंला आँखामा राख्ने ।

-नाकमार्फत गहिरो सास लिने ।

-सास फेर्दा घाँटीबाट मौरी झैं आवाज निकाल्ने ।

-यसले शरीरमा कम्पन पैदा गर्छ, जसले रक्तसञ्चारमा सुधार गर्छ ।

-यो अभ्यास पाँचदेखि सात पटक दोहोर्‍याउने ।

उज्जयी प्राणायाम

उज्जयी प्राणायामले दिमाग र शरीरलाई अक्सिजन प्रदान गर्छ । जसले  मन शान्त गराई तनाव, चिन्ता र उच्च रक्तचापको समस्याबाट राहत दिन्छ । यसले मुटुमा अक्सिजनको मात्रा बढाउँछ ।

कसरी गर्ने ?

-उज्जय प्राणायामका लागि आफ्नो मेरुदण्ड सीधा राखेर बस्नुपर्छ ।

-घाँटीबाट आवाज निकाल्दै गहिरो सास लिने ।

-यसपछि चिउँडोलाई घाँटीमा अड्याउने र श्वास छोड्ने ।

-यो आसन पाँचदेखि १० मिनेटसम्म गर्न सक्नुहुन्छ ।

कपालभाती प्राणायाम

कपालभाँतीले शरीरभित्र शुद्ध अक्सिजन पुर्‍याउँछ । फोक्सो र मुटुको कार्य क्षमतालाई बलियो बनाउँछ । शरीरमा पर्याप्त अक्सिजन भएपछि रक्त प्रवाहमा समेत सहज हुन्छ । मनलाई शान्त तुल्याउँछ ।

कपालभाँती प्राणायाम सबै प्राणायामका विधि गरेपछि अन्त्यमा कपालभाँती गर्नुपर्छ । प्राणायाममा यो सबैभन्दा प्रभावकारी मानिन्छ ।

कसरी गर्ने ?

-सहज रूपमा कुनै एक ध्यान आसनमा बस्ने ।

-दुवै नाकबाट श्वास बाहिर फाल्न केन्द्रित हुने ।

-श्वास बाहिर फाल्ने क्रममा पेटभित्र, मलद्वार तथा मूत्रद्वार संकुचन हुनुपर्छ ।

-एक सेकेन्डमा एकपटकको गति बढाउने ।

यस क्रममा के कुरा ध्यान दिनुपर्छ भने सास बाहिर निकाल्ने मात्र हो, भित्र तान्नु पर्दैन । किनभने यो क्रियामा स्वतः सास भित्र प्रवेश गर्छ ।

यद्यपि मुटुसम्बन्धी समस्या आउन नदिन प्राणायाम मात्र गरेर हुँदैन । यससँगै  खानपानमा नियन्त्रण, दीर्घरोग भएकाले नियमित स्वास्थ्य परीक्षण गर्ने, राति ८ घण्टा सुत्ने, पर्याप्त पानी पिउने, मदिरापान तथा धुम्रपान नगर्ने, शारीरिक श्रम गर्ने,  तनाव व्यवस्थापन र योग अभ्यासलाई पनि प्राथमिकता दिए मात्र शरीर स्वस्थ रहन सक्छ ।

प्राणायाम मुटुरोग हार्ट ब्लकेज
लेखक
कमल पौडेल, योगाचार्य
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय