+

पटकाबाट जोगिनुहोला गर्भवती, हुन सक्छ दीर्घकालीन असर

२०८३ कात्तिक  २३ गते १३:३० २०८३ कात्तिक २३ गते १३:३०
पटकाबाट जोगिनुहोला गर्भवती, हुन सक्छ दीर्घकालीन असर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पटकाको चर्को आवाज र धुवाँले गर्भवती महिला र गर्भस्थ शिशुको स्वास्थ्यमा जोखिम बढाउन सक्ने विभिन्न अध्ययनले देखाएका छन्।
  • सीडीसीले गर्भावस्थामा ११५ डेसिबलभन्दा चर्को आवाजबाट टाढै रहन र वायु प्रदूषणबाट जोगिन सुझाव दिएको छ।
  • गर्भवती महिलालाई पटका पड्काइने स्थानबाट टाढा राखी स्वच्छ हावा भएको ठाउँमा बस्ने वातावरण मिलाउन लेखले आग्रह गरेको छ।

प्रतिबन्धित भनिए पनि अहिले पटका यसरी पड्काउने गरिएको छ, मानौँ यहाँ ठूलै युद्ध भइरहेको छ । पटकालाई उत्सवसँग जोडेर पड्काउने कुरा कति ठीक हो ? सांस्कृतिक पाटोबाट यसको बहस फरक होला । तर, यसले गर्भवती महिला र गर्भको शिशुमा भने जोखिम निम्त्याउन सक्छ ।

बम विस्फोट भएजस्तो चर्को आवाज र धुवाँले गर्भवती महिला र शिशुको स्वास्थ्यमा हानि गर्न सक्ने विभिन्न अध्ययनले देखाएका छन् । यसको जोखिम आवाजको तीव्रता, सम्पर्कको अवधि, दूरी र गर्भवती महिलाको स्वास्थ्य अवस्थामाथि निर्भर गर्छ । यसबारे भएका विभिन्न वैज्ञानिक अध्ययनले गर्भावस्थामा चर्को आवाज र वायु प्रदूषणको सम्पर्कबाट जोगिनुपर्ने देखाएका छन् ।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) अन्तर्गतको राष्ट्रिय व्यावसायिक सुरक्षा तथा स्वास्थ्य संस्थान (एनआईओएसएच) का अनुसार गर्भावस्थामा अत्यधिक चर्को आवाजको सम्पर्कले जन्मिने शिशुको श्रवण क्षमतामा समस्या निम्त्याउन सक्छ । गर्भस्थ शिशुको कान करिब २०औँ हप्तासम्म विकसित हुन्छ भने २४औँ हप्तादेखि उसले आवाजप्रति प्रतिक्रिया जनाउन थाल्छ । आमाको शरीरबाहिरबाट आएको आवाज गर्भभित्र पुग्दा केही कमजोर भए पनि पूर्ण रूपमा रोकिँदैन ।

सीडीसीले ११५ डेसिबलभन्दा चर्को आवाज भएको ठाउँबाट गर्भवती महिलालाई टाढै रहन सुझाव दिएको छ । कानमा लगाउने सुरक्षा उपकरणले आमाको श्रवण क्षमताको सुरक्षा गरे पनि गर्भभित्र पुग्ने आवाजलाई पूर्ण रूपमा रोक्न सक्दैन ।

सन् २०१४ मा प्रकाशित ध्वनि प्रदूषणसम्बन्धी मेटा–विश्लेषणमा २९ वटा अध्ययन समेटिएका थिए । उक्त विश्लेषणअनुसार गर्भावस्थामा ८० डेसिबल वा सोभन्दा बढी आवाजको सम्पर्कमा रहेका महिलामा गर्भावस्थासँग सम्बन्धित उच्च रक्तचापको जोखिम २७ प्रतिशत र गर्भावस्थाको अवधिअनुसार अपेक्षितभन्दा सानो आकारका शिशु जन्मिने जोखिम १९ प्रतिशत बढी देखिएको थियो ।

अचानक ठूलो आवाज आउँदा गर्भवती महिला झस्किने, तनाव बढ्ने र मुटुको धड्कन बढ्ने अवस्था पनि आउन सक्छ। यद्यपि यी नतिजा नियमित वा लामो समयसम्म चर्को आवाजको सम्पर्कमा रहेका महिलासम्बन्धी अध्ययनमा आधारित छन् ।

पटकाको धुवाँले पनि वायु प्रदूषण बढाउँछ । सन् २०२४ मा इन्भाइरोन्मेन्टल जियोकेमिस्ट्री एन्ड हेल्थ नामक जर्नलमा प्रकाशित अध्ययनले भारतको भुवनेश्वरमा दीपावलीका बेला वायु प्रदूषण उल्लेख्य रूपमा बढेको देखाएको थियो । सन् २०२१ को दीपावलीका दिन पीएम २.५ को मात्रा ११३.८३ र पीएम १० को मात्रा २०४.३२ माइक्रोग्राम प्रतिघनमिटर पुगेको थियो । अध्ययनले यी कणको मात्रा सातवटै मापन केन्द्रमा राष्ट्रिय मापदण्डभन्दा बढी पाइएको उल्लेख गरेको छ ।

पटकाको धुवाँमा हुने सूक्ष्म कण श्वासप्रश्वासमार्फत शरीरभित्र प्रवेश गर्छन् । यसले दम, खोकी र सास फेर्न गाह्रो हुने समस्या बढाउन सक्छ । गर्भावस्थामा वायु प्रदूषणको सम्पर्क र कम तौलका शिशु जन्मिने तथा समय नपुगी प्रसूति हुने जोखिमबीच सम्बन्ध रहेको विभिन्न अनुसन्धानले देखाएका छन् ।

सन् २०२४ मा अब्स्टेट्रिकल एन्ड गाइनोकोलोजिकल सर्भे नामक जर्नलमा प्रकाशित समीक्षात्मक अध्ययनमा २५ वटा अनुसन्धान समेटिएका थिए । यसले ध्वनि प्रदूषण र गर्भस्थ शिशुको विकास, आमाको उच्च रक्तचाप, मधुमेह तथा मानसिक स्वास्थ्यबीच हुन सक्ने सम्बन्धबारे अध्ययन गरेको थियो ।

त्यसैले सम्भावित जोखिमबाट जोगिन गर्भवती महिलालाई पटका पड्काइने स्थानबाट टाढा राख्नु, धुवाँबाट जोगाउनु र सकेसम्म स्वच्छ हावा भएको ठाउँमा बस्ने वातावरण मिलाउनु आवश्यक छ ।

तिहार खुसी र उज्यालोको पर्व हो । तर आफ्नो केही क्षणको मनोरञ्जनका लागि गर्भवती महिला र गर्भमा हुर्किरहेको शिशुको स्वास्थ्यलाई जोखिममा पार्नु उचित हुँदैन । पटका नपड्काएर पनि तिहार मनाउन सकिन्छ । अरूको स्वास्थ्य र सुरक्षाको ख्याल गर्नु पनि पर्व मनाउने संस्कार हो ।

पटका
लेखक
डा. बालकृष्ण शाह
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय