+
+
Shares

डोल्पा अस्पतालमा छैन आईसीयू सेवा, उपचार अभावमा छटपटाउँदै बिरामी

डोल्पा अस्पतालमा आईसीयू र भेन्टिलेटर सेवा छैन । अस्पतालमा ब्लड बैंकसमेत छैन । गम्भीर बिरामीलाई रगत आवश्यक पर्दा स्थानीयस्तरमै रक्तदाताको सहयोग लिनुपर्ने अवस्था छ ।

पुष्पराज चौलागाईं दिनेश गौतम पुष्पराज चौलागाईं, दिनेश गौतम
२०८३ कात्तिक २२ गते १६:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डोल्पा जिल्ला अस्पतालमा आईसीयू, भेन्टिलेटर, विशेषज्ञ चिकित्सक र ब्लड बैंक अभाव हुँदा गम्भीर बिरामीलाई तत्काल उपचार दिन नसकिएको छ।
  • ६९ वर्षीय नरबहादुर बुढा र ५० वर्षीया हिराकाली दोचाल जस्ता बिरामी आर्थिक अभावका कारण सुविधासम्पन्न अस्पताल लैजान नसकेर जिल्ला अस्पतालमै उपचार कुर्दै छन्।
  • अस्पतालले आर्थिक वर्ष २०८२/८३ मा २०० भन्दा बढी बिरामीलाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरेको छ।

२२ कात्तिक, काठमाडौं । डोल्पा जिल्ला अस्पतालको बेड नम्बर ६ मा ६९ वर्षीय नरबहादुर बुढा छटपटाइरहेका छन् । लामो–लामो श्वास तानिरहेका बुढाको मुटुको चाल असामान्य गतिमा चलिरहेको छ । नाकमा अक्सिजनको पाइप जोडिएको छ । शरीर शिथिल भएको छ ।

बेडको छेउमा उनकी श्रीमती उभिइरहेकी छन्, श्रीमान्‌लाई सञ्चो हुने आशामा । नरबहादुरको अवस्था असामान्य छ । उनलाई तत्काल सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गर्नुपर्ने चिकित्सकहरू बताउँछन् । तर, उनी भर्ना भएको डोल्पा जिल्ला अस्पतालमा आईसीयू सेवा नै छैन ।

काइके गाउँपालिकाका नरबहादुरलाई केही दिनअघि दिसासँगै रगत देखिएको थियो । त्यसपछि शरीरका विभिन्न भाग सुन्निन थाले । स्वास्थ्य अवस्था थप बिग्रिँदै गएपछि परिवारले उनलाई अस्पताल पुर्‍याउने निर्णय गर्‍यो ।

बिहान ४ बजे स्ट्रेचरमा बोकेर घरबाट हिँडाइयो । उकालो–ओरालो र कठिन बाटो छिचोल्दै जसोतसो बिहान ११ बजे अस्पताल पुर्‍याइयो ।

उपचारमा संलग्न चिकित्सकका अनुसार नरबहादुरको शरीरमा रगतको मात्रा निकै कम छ । प्रारम्भिक परीक्षणमा मिर्गौला र कलेजोमा समेत समस्या देखिएको छ ।

‘उहाँलाई आईसीयूमा राखेर उपचार गर्नु पर्नेछ । तर यहाँ सेवा छैन,’ अस्पताल प्रमुख डा. राजकुमार भुजेल भन्छन्, ‘हारगुहार गरेर रगत जोहो गर्दै सकेको उपचार गरिरहेका छौँ ।’

चिकित्सकका अनुसार नरबहादुरलाई सुविधासम्पन्न अस्पतालमा पुर्‍याएर उपचार गर्न आवश्यक छ । तर डोल्पाबाट बाहिर लैजान हेलिकोप्टर वा एम्बुलेन्सको व्यवस्था गर्नुपर्छ । त्यसका लागि चाहिने रकम परिवारसँग छैन ।

अस्पतालको बेडमा जीवनसँग संघर्ष गरिरहेका नरबहादुरका छोरा फूर्वाछिरिङ बुढा निराश सुनिन्छन् । बुबालाई राम्रो अस्पतालमा पुर्‍याएर उपचार गराउने इच्छा छ । आर्थिक अभावले त्यो इच्छा पूरा गर्न सकेका छैनन् ।

‘यहाँभन्दा तल लैजान हेलिकोप्टर वा एम्बुलेन्स चाहिन्छ । पैसा छैन,’ उनी भन्छन्, ‘जे उपचार हुन्छ, यहीँ गर्छौं ।’

नरबहादुरको जस्तै पीडा डोल्पा जिल्ला अस्पतालकै अर्को वार्डमा भर्ना भएकी त्रिपुरासुन्दरी नगरपालिकाकी ५० वर्षीया हिराकाली दोचालको पनि छ ।

उनी उठ्न र बस्न सक्दिनन् । शरीरका अधिकांश भाग सुन्निएका छन् । थोरै बोल्दा पनि श्वास फुल्छ । बोली प्रष्ट आउँदैन ।

केही दिनअघि हिराकाली बेहोस अवस्थामा अस्पताल ल्याइएकी थिइन् । परीक्षणपछि चिकित्सकहरूले उनको मुटुमा समस्या रहेको आशंका गरेका छन् । उनलाई मुटुरोग विशेषज्ञको निगरानीमा विशिष्टीकृत परीक्षण र उपचार आवश्यक छ ।

‘उहाँलाई मुटुरोग विशेषज्ञको निगरानीमा विशिष्टीकृत परीक्षण गर्नुपर्ने देखिन्छ,’ डा. भुजेल भन्छन्, ‘अहिलेको अवस्थामा बिरामीलाई आईसीयूसहितको सेवा आवश्यक छ ।’

हिराकालीलाई तत्काल सुविधासम्पन्न अस्पताल पुर्‍याएर उपचार गर्न पनि आर्थिक अभाव नै तगारो बनेको छ । त्यसैले उनी जिल्ला अस्पतालकै शय्यामा उपचारको प्रतीक्षामा छिन् ।

हिराकालीकी छोरी लक्ष्मी दोचालका अनुसार आमालाई दुई महिना अघिदेखि नै मुटुसम्बन्धी समस्या देखिन थालेको थियो । सुरुमा सामान्य होला भन्ने ठाने पनि समस्या बढ्दै गयो ।

जिल्ला अस्पतालसम्म ल्याउनसमेत परिवारले निकै कठिनले खर्च जुटाएको थियो ।

‘जिल्ला अस्पतालमा पनि उपचार गर्न बल्लतल्ल खर्च जुटाएर आएका थियौँ,’ लक्ष्मी भन्छिन्, ‘डाक्टरले काठमाडौं लैजान भन्नुभएको छ । उपचार त परको कुरा, आमालाई लैजानसमेत पैसा छैन ।’

डोल्पा अस्पतालमा उपलब्ध सेवाभन्दा बाहिरका जटिल प्रकृतिका बिरामीलाई जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता छ । आर्थिक वर्ष २०८२/८३ मा मात्रै अस्पतालले २०० भन्दा बढी बिरामीलाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरेको छ ।

रेफर हुनेमा ब्रेन हेमरेज, जटिल पेटसम्बन्धी समस्या, हड्डी भाँचिएका, पत्थरी, ठूलो आकारको पाठेघरसम्बन्धी समस्या, मुटुरोग, आईसीयू आवश्यक पर्ने बिरामी छन् ।

आईसीयू छैन, रगतको व्यवस्थापन पनि आफैं

डोल्पा अस्पतालमा सघन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटर सेवा छैन । गम्भीर बिरामीलाई तत्काल सघन उपचार आवश्यक पर्दा अस्पतालसँग पर्याप्त सुविधा छैन ।

डा. भुजेल उपकरण खरिद गरेर मात्रै आईसीयू सेवा सञ्चालन गर्न सम्भव नहुने बताउँछन् । त्यसका लागि तालिमप्राप्त चिकित्सक, नर्स र अन्य प्राविधिक जनशक्ति आवश्यक पर्छ ।

‘आईसीयू र भेन्टिलेटर चलाउने जनशक्ति छैन । उपकरण ल्याएर राख्ने तर चलाउन सक्ने जनशक्ति नहुँदा ती उपकरण प्रयोगविहीन हुन्छन्,’ उनी भन्छन् ।

अस्पतालमा ब्लड बैंकसमेत छैन । गम्भीर बिरामीलाई रगत आवश्यक पर्दा स्थानीयस्तरमै रक्तदाताको सहयोग लिनुपर्ने अवस्था छ ।

रगत चढाएपछि बिरामीको अवस्थाबारे विस्तृत परीक्षण र थप उपचार गर्न आवश्यक स्रोतसाधन अस्पतालसँग छैन । विशेषगरी रक्तस्रावको कारण पत्ता लगाउने विस्तृत परीक्षण र त्यसपछि आवश्यक पर्ने आईसीयू सेवाको अभाव छ ।

अस्पतालमा गम्भीर प्रकृतिका बिरामी आउने गरे पनि जनशक्ति र पूर्वाधार नहुँदा उनीहरूलाई आवश्यक उपचार दिन नसकिएको उनको स्वीकारोक्ति छ ।

सामान्य परीक्षणका लागि पनि जिल्ला अस्पताल

डोल्पाको स्वास्थ्य सेवा प्रणा निकै कमजोर छ । जिल्लामा प्राथमिक स्वास्थ्य केन्द्र छैनन् । स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा केन्द्र मात्रै छन् ।

ती स्वास्थ्य संस्थाबाट खोप, परिवार नियोजन, पोषण कार्यक्रम र सामान्य औषधि वितरण जस्ता सेवा उपलब्ध हुन्छन् । स्वास्थ्यकर्मीले सामान्य उपचार पनि गर्छन् । तर प्रयोगशाला परीक्षण, एक्सरे र अन्य उपचारात्मक सेवा उपलब्ध छैनन् ।

सामान्य चोटपटक अवस्थामा पनि एक्सरे गर्न जिल्ला अस्पताल जानुपर्ने बाध्यता रहेको शे–फोक्सुण्डो गाँउपालिकाका-८ का वडाध्यक्ष निमा लामा बताउँछन् ।

‘आधारभूत स्वास्थ्य केन्द्रबाट सामान्य उपचार र औषधि दिन सकिन्छ । शल्यक्रिया वा अन्य आकस्मिक उपचार गर्न स्ट्रेचरमा दुई दिन लगाएर जिल्ला अस्पताल जानुपर्छ,’ वडाध्यक्ष लामा भन्छन्, ‘अपर्झट त हेलिकोप्टरमै हालेर लैजानुपर्छ । अस्पताल पुर्‍याउँदा मात्रै १२–१४ लाख सकिन्छ ।’

गाउँमै उपचार हुनसक्ने कतिपय समस्यासमेत पर्याप्त उपकरण र जनशक्ति नहुँदा जिल्ला अस्पतालसम्म आइपुग्ने गरेका छन् ।

हिमाली जिल्ला डोल्पामा स्वास्थ्य उपचार सहज छैन । भौगोलिक विकटता, सडक सञ्जालको अभाव र स्वास्थ्य संस्थामा पर्याप्त जनशक्ति नहुँदा यहाँका नागरिकले सामान्य उपचारका लागि समेत लामो दुरी पार गर्नुपर्छ ।

दुई दिनसम्म पैदल हिँडेर बिरामी अस्पताल आइपुग्छन् । कतिपयलाई स्ट्रेचर र डोकोमा बोकेर ल्याउनुपर्छ । सडक नपुगेका चार पालिकाका नागरिकका लागि उपचार पाउनै ठूलो चुनौती छ । अस्पताल आइपुगे पनि सबै उपचार सम्भव छैन । विशेषज्ञ चिकित्सक, उपकरण र सघन उपचार कक्ष (आईसीयू) नहुँदा गम्भीर बिरामीलाई रेफर गर्नुपर्ने बाध्यता रहेको डा. भुजेल बताउँछन् ।

जिल्लाको एकमात्र जिल्ला अस्पतालले सीमित स्रोतसाधनका बीच बिरामीको चाप धानिरहेको स्वास्थ्यकर्मी बताउँछन् । अस्पतालको स्वीकृत क्षमता १५ शय्याको हो । तर बिरामीको चाप बढ्दै गएपछि ३० भन्दा बढी शय्याको व्यवस्थापन गरी सेवा दिइरहेको छ ।

डा. भुजेलका अनुसार अस्पतालको स्वीकृत दरबन्दी ३२ जनाको छ । तर अहिले २४ जना मात्रै कार्यरत छन् । ८ जनाको दरबन्दी रिक्त छ । स्वास्थ्य सेवा व्यवस्थापकदेखि विशेषज्ञ चिकित्सकसम्मका पद खाली छन् ।

अस्पतालमा बिरामीको चाप र आवश्यकताअनुसार जनशक्ति तथा पूर्वाधार विस्तार हुन नसकेको उनको भनाइ छ ।

‘१५ शय्याको स्वीकृत दरबन्दीमा सञ्चालन भइरहेको छ । तर बिरामीको चाप हेर्दा ३० भन्दा बढी शय्याको आवश्यकता देखिन्छ,’ डा. भुजेल भन्छन्, ‘जिल्लाको जनसंख्या, सेवाग्राहीको संख्या र भौगोलिक अवस्थालाई हेर्दा अस्पतालको स्तरोन्नति आवश्यक भइसकेको छ ।’

अस्पतालमा आकस्मिक सेवा २४ घण्टा सञ्चालन हुन्छ । आकस्मिक सेवाअन्तर्गत प्रयोगशाला, फार्मेसी र शल्यक्रिया सेवा पनि उपलब्ध छन् । प्रसूति शल्यक्रियादेखि एपेन्डिसाइटिस, हर्नियालगायतका आकस्मिक शल्यक्रिया अस्पतालले दिँदै आइएको छ ।

विशेषज्ञ सेवाको अवस्था कमजोर छ । एक जना एमडीजीपी चिकित्सकको भरमा अस्पतालको विशेषज्ञ सेवा निर्भर छ । मेडिकल अधिकृत र दन्त चिकित्सकसहित करिब ११ जना चिकित्सकले सेवा दिइरहेका छन् ।

अस्पताल पुग्नै दुई दिन, बिरामीको उद्धारमा डोको र स्ट्रेचर

डोल्पा अस्पतालमा जिल्लाका विभिन्न पालिकाबाट बिरामी आउँछन् । त्रिपुरासुन्दरी नगरपालिका, ठूलीभेरी नगरपालिका, जगदुल्ला, काइकेलगायतका क्षेत्रबाट बिरामी आउने गर्छन् । जिल्लाका ८ स्थानीय तहमध्ये करिब पाँच पालिकाबाट अस्पतालमा नियमित बिरामीको चाप रहेको डा. भुजेल बताउँछन् ।

जिल्लाका चार वटा स्थानीय तह अझै सडक सञ्जालसँग जोडिएका छैनन् । कतिपय बस्तीबाट जिल्ला अस्पताल पुग्न दुई दिनभन्दा बढी पैदल हिँड्नुपर्छ ।

शे–फोक्सुण्डो, छार्का ताङसोङ, डोल्पोबुद्ध र काइके क्षेत्रका नागरिकलाई अस्पतालसम्म पुग्न सहज छैन । त्यहाँबाट बिरामीलाई स्ट्रेचरमा बोकेर वा डोकोमा राखेर ल्याउनुपर्ने अवस्था छ ।

शनिबार र आइतबार बिदा हुने भएकाले सोमबार अस्पतालमा बढी भिड हुन्छ । दैनिक ६० देखि ७० जनासम्म बिरामी ओपीडीमा आउने गरेका छन् । आकस्मिक कक्षमा पनि दैनिक ८ देखि १० जना बिरामी पुग्छन् ।

जिल्ला अस्पतालमा आउने बिरामीको प्रकृति पनि केही फरक छ । डोल्पामा उच्च रक्तचाप र श्वासप्रश्वाससम्बन्धी समस्या बढी देखिने गरेको अस्पताल प्रमुखको अनुभव छ ।

हिमाली क्षेत्रको चिसो मौसम, उचाइ, सुख्खा हावा र परम्परागत जीवनशैलीले नागरिकको स्वास्थ्यमा असर पार्ने गरेको डा. भुजेल बताउँछन् । विशेषगरी उच्च रक्तचापको समस्या बढ्नुमा अत्यधिक नुन सेवन एउटा कारण रहेको उनको विश्लेषण छ । स्थानीयस्तरमा प्रचलित नुनिलो चिया र खानामा बढी नुन प्रयोग गर्ने चलनले जोखिम बढाएको उनी बताउँछन् ।

घरभित्रै दाउरा बालेर खाना पकाउने, धुवाँधुलो र सुख्खा हावाले श्वासप्रश्वाससम्बन्धी समस्या निम्त्याउने गरेको चिकित्सक बताउँछन् । रोग लागेपछि उपचार प्रणालीमा पनि समस्या रहेको उनी बताउँछन् । उच्च रक्तचाप भएका कतिपय बिरामीले समयमै स्वास्थ्य संस्था पुगेर परीक्षण तथा उपचार गराउँदैनन् । समस्या जटिल भएपछि मात्रै अस्पताल आउने गरेका छन् ।

‘उच्च रक्तचापको समस्या समयमै पहिचान र उपचार नगर्दा कतिपय बिरामी पक्षघात हुने, हातखुट्टा कमजोर हुने र बोलीमा समस्या आउने अवस्थासम्म पुगेर अस्पताल आइपुग्छन्,’ उनी भन्छन् ।

उपचार गर्न नसक्दा रेफर, विशेषज्ञ चिकित्सकको अभाव

डोल्पा अस्पतालमा हाडजोर्नी, शल्यक्रिया, आन्तरिक रोग र स्त्रीरोग विशेषज्ञ छैनन् । एमडीजीपी चिकित्सकले आफ्नो क्षमताअनुसार विभिन्न प्रकारका सेवा दिइरहेको डा. भुजेल बताउँछन् ।

विशेषगरी दुर्घटनामा परेर गम्भीर घाइते भएका बिरामीलाई अस्पतालले प्राथमिक उपचारपछि सुविधासम्पन्न अस्पतालमा पठाउनुपर्ने हुन्छ ।

हड्डीमा गम्भीर चोट लागेको, करङ भाँचिएर फोक्सोमा हावा वा रगत जमेको तथा टाउकोमा चोट लागेर मस्तिष्कमा रगत जमेको अवस्थामा जिल्लामा उपचार सम्भव हुँदैन । त्यस्ता बिरामीलाई प्राथमिक व्यवस्थापन गरेर अन्य अस्पतालमा रिफर गर्नुपर्ने हुन्छ ।

विशेषज्ञ चिकित्सक नआउनुको कारण पनि अस्पतालले भोगिरहेको चुनौती हो । छात्रवृत्ति करारमा अध्ययन पूरा गरेपछि अनिवार्य सरकारी सेवामा खटिने चिकित्सकसमेत दुर्गम क्षेत्रमा जान इच्छुक नहुने गरेको डा. भुजेल बताउँछन् । दुर्गम क्षेत्रमा उपलब्ध हुने सेवा सुविधा सीमित हुनु, निजी अभ्यासको अवसर नहुनु र आवश्यक उपकरणको अभावले विशेषज्ञ चिकित्सकलाई आकर्षित गर्न कठिन भएको उनको भनाइ छ ।

अस्पतालको अर्को समस्या वर्षौंदेखि कायम रहेको पुरानो दरबन्दी हो । अस्पतालको संरचना र जनशक्ति व्यवस्थापन पुरानै मापदण्डअनुसार भइरहेको छ । तर अहिले बिरामीको चाप र स्वास्थ्य सेवाको आवश्यकता परिवर्तन भइसकेको छ ।

भुजेलका अनुसार अहिलेको आवश्यकता सम्बोधन गर्न नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गरेर दरबन्दी पुनरावलोकन गर्नुपर्छ ।

‘पुरानो दरबन्दी परिवर्तन गर्नुपर्छ । अहिलेको आवश्यकताअनुसार विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीको दरबन्दी थपेर पदपूर्ति गर्न सकियो भने अस्पतालबाटै धेरै सेवा दिन सकिन्छ,’ उनी भन्छन् ।

भुजेलका अनुसार स्वास्थ्य उपचारात्मक सेवामा संघ र प्रदेश सरकारले थप लगानी गर्न आवश्यक छ । पूर्वाधार, उपकरण र जनशक्ति तीनै पक्षमा लगानी नगरी दुर्गम क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन सम्भव छैन ।

संविधानले स्वास्थ्यलाई नागरिकको मौलिक हक मानेको छ । संविधानको धारा ३५ को स्वास्थ्यसम्बन्धी हकको उपधारा १ मा ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने’ भनिएको छ । तर डोल्पाली भने स्वास्थ्य सेवाको पहुँचमा अझै जोडिन सकेका छैनन् ।

लेखक
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?