+
+
Shares

इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट को हुन् ?

राजनीतिमा प्रवेश गरेको चार वर्षमै सरकारको नेतृत्वमा पुग्न लागेका पूर्वसैन्य अधिकारी आइजनकोट अहिले नेतन्याहूका प्रमुख राजनीतिक प्रतिस्पर्धी बनेका छन् ।

बीबीसी बीबीसी
२०८३ कात्तिक २२ गते १५:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इजरायली राष्ट्रपति इसाक हर्जोगले विपक्षी गठबन्धनका नेता गादी आइजनकोटलाई नयाँ सरकार गठनको जिम्मेवारी दिएका छन्।
  • पूर्वसैनिक प्रमुख आइजनकोटले नेतन्याहूलाई जवाफदेही बनाउने, अक्टोबर ७ को आक्रमणबारे छानबिन गराउने र हमासको शासन १८ महिनाभित्र अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
  • आइजनकोटले दक्ष नागरिक पलायन रोक्ने, समान सेवा कानून ल्याउने र यहुदी बस्ती विस्तारलाई कानुन र राष्ट्रिय हितअनुसार अघि बढाउने योजना सार्वजनिक गरेका छन्।

इजरायली राष्ट्रपति इसाक हर्जोगले विपक्षी गठबन्धनका नेता गादी आइजनकोटलाई नयाँ सरकार गठनको जिम्मेवारी दिएका छन् ।

लामो समयदेखि इजरायलको राजनीतिमा प्रभाव जमाउँदै आएका बेन्जामिन नेतन्याहूलाई चुनौती दिइरहेका आइजनकोट पूर्वसैनिक प्रमुख हुन् ।

आइजनकोट राजनीतिमा नयाँ अनुहार हुन् । उनले सन् २०२२ मा औपचारिक रूपमा राजनीतिमा प्रवेश गरेका थिए । उनी नेसनल युनिटी पार्टीबाट इजरायली संसद्का सदस्य बनेका थिए । पछि वैचारिक मतभेदका कारण उक्त पार्टी छाडे ।

गत वर्ष विपक्षी दलका प्रमुख नेताहरूबाट अलग हुँदै उनले मध्यमार्गी दल ‘यासर’ गठन गरे । यासरको अर्थ ‘सीधा’ वा ‘इमानदार’ हुन्छ । त्यसपछि उनी नेतन्याहूका प्रमुख राजनीतिक प्रतिस्पर्धीका रूपमा उदाए ।

नेतन्याहूका प्रमुख प्रतिस्पर्धी

यस निर्वाचनमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको दक्षिणपन्थी लिकुड पार्टी र उसका अतिदक्षिणपन्थी तथा अतिरूढिवादी यहुदी सहयोगीहरूले १२० सदस्यीय संसद्मा ५३ सिट जितेका छन् ।

त्यस्तै, आइजनकोट नेतृत्वको मध्यमार्गी यासर पार्टी र गठबन्धनमा रहेका अन्य तीन यहुदी विपक्षी दलले ४८ सिट जितेका छन् ।

पछिल्ला वर्षमा नेतन्याहू भ्रष्टाचारको आरोपमा घेरिँदै आएका छन् । उनले भने आरोप अस्वीकार गर्दै आएका छन् । सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमण रोक्न नसकेको भन्दै उनको आलोचना भएको थियो । न्यायपालिकामा व्यापक परिवर्तन गर्ने उनको विवादास्पद योजनाले पनि देशभर विरोध प्रदर्शन निम्त्याएको थियो ।

तर, नेतन्याहूलाई चुनौती दिने आइजनकोटको निर्णय पछाडि एउटा व्यक्तिगत दुःखद घटना पनि जोडिएको छ ।

छोराको मृत्यु र घरमा थन्किएका दुई बाकस

गादी आइजनकोटका पाँच सन्तानमध्ये कान्छा छोरा मास्टर सार्जेन्ट गाल आइजनकोटको सन् २०२३ डिसेम्बरमा उत्तरी गाजामा भएको विस्फोटमा मृत्यु भएको थियो ।
उनी अक्टोबर ७ मा हमासले बन्धक बनाएका दुई इजरायलीका अवशेष खोज्ने अभियानमा सहभागी भएका थिए ।

गादी आइजनकोटले अहिलेसम्म छोराका सामान राखिएका दुईवटा बाकस खोलेका छैनन् । ती बाकस तेल अभिभको उत्तरमा समुद्री किनारमा रहेको सम्पन्न सहर हर्जलियास्थित उनको घरमा राखिएका छन् ।

६६ वर्षीय आइजनकोटले अप्रिलमा इजरायलको सरकारी रेडियो ‘कान रेसेत बेट’सँग भनेका थिए, ‘मैले अहिलेसम्म ती बाकस खोलेको छैन । म यसलाई लगातार टारिरहेको छु ।’

गाजामा भएको सैन्य अभियानमा उनका छोरासँगै दुई भतिजाको पनि मृत्यु भएको थियो ।

यो व्यक्तिगत क्षति र नेतन्याहू नेतृत्वको सरकारले हमासको अप्रत्याशित आक्रमण रोक्न नसकेको निष्कर्षले उनको राजनीतिक महत्वाकांक्षालाई थप बलियो बनाएको छ ।

उनले ‘द टाइम्स अफ इजरायल’सँग भनेका थिए, ‘म समयलाई पछाडि फर्काउन सक्दिनँ । इतिहासले चुकाएको ठूलो मूल्यको योग्य बन्न म आफूले गर्न सक्ने सबै काम गर्नेछु ।’

नेतन्याहूलाई जवाफदेही बनाउने योजना

नेतन्याहू र उनको मन्त्रिपरिषद्लाई जवाफदेही बनाउनु आइजनकोटको प्रमुख प्राथमिकतामध्ये एक हो ।

अक्टोबर ७ को हमास आक्रमणपछि राष्ट्रिय एकताको सन्देश दिन उनी विपक्षी दलका केही नेतासँगै प्रधानमन्त्री नेतन्याहूको युद्ध मन्त्रिपरिषद्मा सहभागी भएका थिए ।
तर, सन् २०२४ जुनमा उनले युद्ध मन्त्रिपरिषद्बाट राजीनामा दिए ।

उनले हमासको नियन्त्रणमा रहेका बन्धकलाई मुक्त गर्न नेतन्याहूले पर्याप्त र छिटो कदम नचालेको आरोप लगाए ।

आइजनकोटले ‘द टाइम्स अफ इजरायल’सँग भनेका थिए, ‘उनको शासनकालमा महिला र बालबालिका अपहरणमा परे । उनीहरूलाई मुक्त गर्न जे गर्न आवश्यक थियो, उनले जानाजान त्यो गरेनन् ।’

नेतन्याहूले भने यो आरोप अस्वीकार गर्दै आएका छन् ।

उनका अनुसार युद्ध मन्त्रिपरिषद्मा रहँदा आइजनकोटले गाजामा सञ्चालन गर्नुपर्ने केही महत्त्वपूर्ण सैन्य कारबाहीको विरोध गरेका थिए । आइजनकोटको रणनीति अपनाएको भए हमास कमजोर नहुने नेतन्याहूको दाबी छ ।

जुनमा आयोजित पत्रकार सम्मेलनमा नेतन्याहूले भनेका थिए, ‘गाजामा रहँदा गादी आइजनकोट र अरूले के भनेका थिए, मलाई याद छ । उनीहरूको भनाइ थियो– सम्झौता गरेर बन्धकलाई मुक्त गरौँ र सम्पूर्ण गाजाबाट बाहिर निस्कौँ ।’

नेतन्याहूका अनुसार त्यस्तो रणनीति अपनाइएको भए हमास र युद्धका क्रममा मारिएका उसका शीर्ष अधिकारी अहिले पनि जीवित र नियन्त्रणमा हुने थिए ।

तर, आइजनकोटले नेतन्याहूको दाबी अस्वीकार गरेका छन् । उनले युद्ध मन्त्रिपरिषद्का बैठक र त्यहाँ भएका मतदानको विवरण सार्वजनिक गर्न प्रधानमन्त्रीसँग माग गरेका छन् ।

निर्वाचनको केही दिनअघि उनले आफू निर्वाचित भए १८ महिनाभित्र हमासको शासन अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

आइजनकोटका प्राथमिकता के हुन् ?

इजरायलका प्रमुख पत्रकार तथा शिक्षाविद् नदाव इयालका अनुसार छोराको मृत्युले आइजनकोटलाई राजनीतिक जीवनमा एउटा उद्देश्य र अभियानको अनुभूति गराएको छ ।

उनको उद्देश्य यासर पार्टीलाई संसद्मा पर्याप्त सिट जिताउनु मात्र नभई नेतन्याहूलाई सत्ताबाट हटाउन सक्ने गठबन्धन निर्माण गर्नु पनि हो ।

नेतन्याहूजस्तै आइजनकोट पनि गाजाको भविष्यसम्बन्धी कुनै योजनामा हमासको भूमिका हुनु हुँदैन भन्ने मान्यता राख्छन् ।

इयालले बीबीसीसँग भनेका छन्, ‘उनका छोरालाई हमासले त्यही युद्धमा मारेको थियो, जुन युद्ध हमासले सुरु गरेको थियो भन्ने कुरा बुझ्न निकै महत्त्वपूर्ण छ ।’

आइजनकोटले दुई राष्ट्र समाधानको पनि समर्थन गरेका छैनन् । दुई राष्ट्र समाधानमा इजरायलसँगै स्वतन्त्र प्यालेस्टिनी राष्ट्रलाई मान्यता दिने अवधारणा समेटिएको छ ।

इजरायली सञ्चारमाध्यमका अनुसार गत अगस्टको अन्त्यमा उनले दुई राष्ट्र समाधानको सम्भावनामा विश्वास गर्नेहरू भ्रममा रहेको बताएका थिए ।

यद्यपि, उनले प्यालेस्टिनी प्राधिकरणसँग इजरायलको सम्बन्धलाई नयाँ ढंगले परिभाषित गर्न चाहेको बताएका छन् ।

अक्टोबरमा ‘द टाइम्स अफ इजरायल’सँग उनले भनेका थिए, ‘आधिकारिक पश्चिम किनारमा बसोबास गर्ने २८ लाख प्यालेस्टिनीमाथि शासन गर्न प्यालेस्टिनी प्राधिकरणलाई

अनुमति दिनुपर्छ । म उनीहरूमाथि शासन गर्न चाहन्नँ ।’

यहुदी बस्ती विस्तारबारे के छ धारणा ?

आइजनकोट इजरायलका ठूला यहुदी बस्तीहरूको विस्तारको पक्षमा छन् । तर, यस्तो विस्तार इजरायली कानुन र राष्ट्रिय हितअनुसार हुनुपर्ने उनको सर्त छ ।

यद्यपि, पश्चिम किनारका केही क्षेत्रमा यहुदी बस्ती विस्तार गर्ने विवादास्पद योजनाको उनले विरोध गरेका छन् ।

विशेषगरी जेरुशलमको पूर्वमा रहेको ई–१ क्षेत्रको बस्ती विस्तार गर्ने योजनाप्रति उनले असहमति जनाएका छन् । यसमा अन्तर्राष्ट्रिय समुदायबाट आउन सक्ने नकारात्मक प्रतिक्रियालाई पनि उनले महत्त्व दिएको देखिन्छ ।

हालै उनले ‘जुडिया र सामरिया’ क्षेत्रबाट यहुदी आतंकवादीहरूलाई हटाउने प्रतिबद्धता व्यक्त गरेका थिए । इजरायलले आधिकारिक पश्चिम किनारलाई ‘जुडिया र सामरिया’ भन्ने गरेको छ ।

अक्टोबर ७ को आक्रमणबारे छानबिन गर्ने प्रतिबद्धता

आइजनकोटले निर्वाचन अभियानका क्रममा अक्टोबर ७ को हमास आक्रमणबारे छानबिन गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । उक्त छानबिनमार्फत इजरायली सरकारबाट भएका कमजोरी र गल्ती पहिचान गर्ने उनको योजना छ ।

इजरायलका प्रमुख सञ्चारमाध्यमहरूले संयुक्त अरब इमिरेट्स र इजिप्टका अधिकारीहरूले गाजाबाट सम्भावित आक्रमण हुन सक्ने विषयमा नेतन्याहूलाई चेतावनी दिएको आरोपसहितका समाचार प्रकाशित गरेका छन् ।

नेतन्याहूले भने यी आरोप अस्वीकार गरेका छन् । उनले सबैभन्दा पहिले यस्तो दाबी प्रकाशित गर्ने इजरायली पत्रिकाविरुद्ध मुद्दासमेत दायर गरेका थिए ।

नेतन्याहूले इजरायलको सर्वोच्च अदालतको नेतृत्वमा हुने सरकारी छानबिनको पनि विरोध गर्दै आएका छन् । न्यायपालिकाले आफूविरुद्ध पक्षपात गर्न सक्ने उनको तर्क छ ।

आइजनकोटले भनेका छन्, ‘यो निर्वाचन जिम्मेवारी स्वीकार गर्ने र जिम्मेवारीबाट भाग्नेबीचको छनोट हो ।’

दक्ष जनशक्ति पलायन रोक्ने योजना

आइजनकोटले सार्वजनिक गरेको १० बुँदे कार्यक्रममा आपत्कालीन योजना सुरु गर्ने प्रतिबद्धता पनि समेटिएको छ ।

यस योजनामार्फत ठूलो संख्यामा इजरायल छाडेर विदेश गइरहेका दक्ष नागरिकलाई रोक्ने र नयाँ आप्रवासीलाई इजरायल आउन प्रोत्साहित गर्ने उनको लक्ष्य छ ।

त्यसैगरी, उनले अतिरूढिवादी यहुदी समुदाय र अरब इजरायली नागरिकले सैनिक सेवाबाट पाउँदै आएको छुट अन्त्य गर्न चाहेका छन् ।

‘द टाइम्स अफ इजरायल’सँग उनले भनेका थिए, ‘हामी सबै इजरायली नागरिकका लागि समान सेवा कानुन पारित गर्नेछौँ । यसअन्तर्गत सैनिक, राष्ट्रिय वा नागरिक सेवा गर्नुपर्नेछ । अरब नागरिकका लागि पनि राष्ट्रिय सेवा समावेश हुनेछ ।’

यसअघि पनि अनिवार्य सैनिक सेवाको दायरा विस्तार गर्ने प्रयास भएका थिए । नेतन्याहू सरकारले समेत यस्तो प्रयास गरेको थियो । तर, अतिरूढिवादी यहुदी समुदायले त्यसको विरोध गर्दै प्रदर्शन गरेका थिए ।

सामान्य परिवारबाट आएका आइजनकोट

गादी आइजनकोटको जन्म इजरायलको तिबेरियसमा भएको थियो । उनको बाल्यकाल इलातमा बित्यो । यी दुवै सहर इजरायलको राजनीतिक शक्तिका प्रमुख केन्द्र यरुशलम र तेल अभिभबाट टाढा छन् ।

उनका आमाबुबा मोरक्कोबाट आएका आप्रवासी थिए । सन् १९५० को दशकमा इजरायल आएर बसोबास गरेका उनीहरू सामान्य आर्थिक अवस्थाको परिवारका थिए ।
मध्यपूर्व र उत्तर अफ्रिकी देशबाट इजरायल आएका यहुदी समुदायलाई ‘मिजराही’ भनिन्छ ।

हालसम्म मिजराही समुदायका कुनै व्यक्ति इजरायलको प्रधानमन्त्री बनेका छैनन् । यद्यपि, यस समुदायका नेताहरूले विगतमा पनि प्रधानमन्त्री बन्ने प्रयास गरेका छन् ।

‘द न्युयोर्कर’का सम्पादक डेभिड रेमनिकले निर्वाचन अभियानका क्रममा आइजनकोटसँग समय बिताएका थिए ।

उनका अनुसार आइजनकोटले इजरायली समाजमा लामो समयदेखि अधिकारबाट वञ्चित महसुस गर्दै आएका मिजराही समुदायजस्ता वर्गको प्रतिनिधित्व गर्छन् । यसले नेतन्याहूको राजनीतिक पहिचानलाई चुनौती दिएको छ ।

नेतन्याहू पूर्वी युरोपबाट इजरायल आएका यहुदी आप्रवासीका सन्तान हुन् । उनको बाल्यकाल यरुशलमको सम्पन्न क्षेत्रमा बितेको थियो । यस्तो पृष्ठभूमिका कारण उनी अधिकारबाट वञ्चित समुदायका प्रतिनिधि भएको उनको छविमाथि प्रश्न उठ्ने गरेको छ ।

इजरायली सञ्चारमाध्यमका अनुसार ऐतिहासिक रूपमा लिकुड पार्टीलाई समर्थन गर्दै आएको मिजराही समुदायले आइजनकोटका लागि मोरक्कोको अरबी भाषाको शब्द ‘दियालिना’ प्रयोग गर्ने गरेको छ । यसको अर्थ ‘हामीमध्ये एक’ हुन्छ ।

आइजनकोटले यस वर्षको सुरुवातमा टेलिभिजन नेटवर्क च्यानल १३ सँग भनेका थिए, ‘मेरा आमाबुबा मोरक्कोबाट आउनुभएको हो । मलाई उहाँहरू र आफ्नो पुख्र्यौली पहिचानप्रति गर्व छ । तर, सबैभन्दा पहिले हामीले आफ्नो इजरायली पहिचानप्रति गर्व गर्न सक्नुपर्छ ।’

इजरायली सेनामा ४० वर्षको यात्रा

आइजनकोट १८ वर्षको उमेरमा इजरायली सेनामा भर्ती भएका थिए । उनले सेनामा ४० वर्ष सेवा गरे । विभिन्न पदमा रहेर काम गर्दै उनी सन् २०१५ देखि २०१९ सम्म इजरायली सेनाको प्रमुख बने ।

सन् २००० को दशकमा दोस्रो इन्तिफादाका क्रममा उनी पश्चिम किनारमा तैनाथ इजरायली सेनाको जिम्मेवारीमा थिए । दोस्रो इन्तिफादा प्यालेस्टिनी विद्रोह थियो, जुन चार वर्षभन्दा बढी समयसम्म चलेको थियो । त्यस क्रममा करिब एक हजार इजरायली र तीन हजारभन्दा बढी प्यालेस्टिनी मारिएका थिए ।

पछि आइजनकोटको नाम ‘दहिया सिद्धान्त’सँग जोडियो । यस सिद्धान्तले इजरायलमाथि आक्रमण भइरहेको ठानिएका क्षेत्रको नागरिक पूर्वाधारविरुद्ध अत्यधिक सैन्य शक्ति प्रयोग गर्नुपर्ने मान्यता राख्छ ।

नेतन्याहूको चर्को आलोचना गर्दै आएका आइजनकोटले अक्टोबर ७ को हमास आक्रमणपछि इजरायलले गरेको सैन्य कारबाहीको भने कहिल्यै विरोध गरेका छैनन् ।

हमासको नेतृत्वमा भएको उक्त आक्रमणमा करिब एक हजार २०० जनाको मृत्यु भएको थियो भने २५१ जनालाई बन्धक बनाइएको थियो । त्यसको जवाफमा इजरायलले गाजामा सैन्य अभियान सुरु गरेको थियो ।

गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अभियानमा ७४ हजार २०० भन्दा बढी प्यालेस्टिनी मारिएका छन् । संयुक्त राष्ट्रसंघले यी तथ्यांकलाई विश्वसनीय मानेको छ ।

आइजनकोटले ‘द टाइम्स अफ इजरायल’सँग भनेका थिए, ‘हामीलाई आफ्नो रक्षा गर्न बाध्य पारिएको थियो । यसको सुरुवात कहाँबाट भएको थियो भन्ने कुरा इमानदारीपूर्वक हेर्नुपर्छ ।’

आलोचकहरू आइजनकोटबारे के भन्छन् ?

पत्रकार तथा प्रसारक मेहदी हसनले बेलायती अखबार ‘द गार्जियन’मा लेख्दै आइजनकोट नेतन्याहूजस्ता नभएको टिप्पणी गरेका छन् । तर, उनका अनुसार आइजनकोटले पनि पश्चिम किनार र गाजामा विस्तार तथा विनाशका नीतिलाई निरन्तरता दिनेछन् ।

‘द इकोनोमिस्ट’का इजरायल संवाददाता तथा नेतन्याहूको जीवनीका लेखक अंशेल फेफरका अनुसार आइजनकोट शान्तिवादी नेता होइनन् । तर, उनको छवि गम्भीर र जिम्मेवार व्यक्तिको छ ।

फेफरले बीबीसीसँग भनेका छन्, ‘अहिलेसम्म निर्वाचन अभियानमा उनले ठूला वा अव्यावहारिक वाचा गरेका छैनन् । उनी कुनै प्रभावशाली वा विशिष्ट परिवारबाट पनि आएका होइनन् । त्यसैले उनको छवि बिगार्न निकै कठिन छ ।’

उनका अनुसार नेतन्याहूलाई प्रत्यक्ष चुनौती दिने नेताका रूपमा आइजनकोटको उदय केही अप्रत्याशित हो ।
फेफर भन्छन्, ‘छ महिनाअघिसम्म पूर्वप्रधानमन्त्री नफ्ताली बेनेटलाई नेतन्याहूको सबैभन्दा सम्भावित प्रतिस्पर्धी मानिएको थियो । तर, आइजनकोटले ठीक समयमा मतदाताको भावना समेट्न सफल भएको देखिन्छ ।’

आइजनकोटलाई प्रायः ‘नेतन्याहूको ठीक उल्टो’ व्यक्तिका रूपमा चित्रण गरिन्छ । उनी चर्चामा रहिरहन खोज्दैनन् र उत्कृष्ट राजनीतिक वक्ताका रूपमा पनि चिनिँदैनन् ।
पत्रकार नदाव इयालका अनुसार आइजनकोटलाई सम्भवतः राजनीतिज्ञ हुनु पनि त्यति मन पर्दैन ।

विश्व समुदायसँग इजरायलको सम्बन्ध सुध्रिएला ?

आइजनकोट प्रधानमन्त्री बनेमा इजरायल र अन्तर्राष्ट्रिय समुदायबीच बिग्रिएको सम्बन्ध सुधार हुनसक्छ ?

बेलायतस्थित थिंक ट्यांक च्याथम हाउसका अन्तर्राष्ट्रिय सम्बन्धका इजरायली विज्ञ प्राध्यापक योसी मेकेलबर्गले बीबीसीसँग यस्तो सम्भावना रहेको बताएका छन् । तर, परिवर्तन रातारात हुने अपेक्षा गर्न नहुने उनको भनाइ छ ।

उनका अनुसार नेतन्याहूको ठाउँमा अर्को नेता आउँदैमा इजरायलले अन्तर्राष्ट्रिय समुदायप्रति सद्भाव देखाउने ग्यारेन्टी हुँदैन ।

प्राध्यापक मेकेलबर्ग भन्छन्, ‘मलाई लाग्दैन कि आइजनकोटको पार्टीसहित कुनै पनि विपक्षी दलले नेतन्याहूको तुलनामा स्पष्ट र फरक विकल्प प्रस्तुत गरेका छन् ।’

–बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?