News Summary
Generated by OK AI. Editorially reviewed.- इजरायलको केन्द्रीय निर्वाचन समितिले ९ हजार ६९ मतदान केन्द्रको लेखापरीक्षणमा निर्वाचन परिणाममा अनियमितताको प्रमाण नभेटिएको जनाएको छ ।
- राष्ट्रपति आइज्याक हर्जोगले आधिकारिक परिणाम पाएपछि नेतान्याहु वा गादी आइसेनकोटमध्ये कसलाई सरकार गठनको पहिलो अवसर दिने भन्ने निर्णय गर्नेछन् ।
- निर्वाचनमा नेतान्याहुको गठबन्धनले ५३ र आइसेनकोटको पक्षले ४८ सिट जितेका छन्, बहुमतका लागि ६१ सिट आवश्यक छ ।
१८ कात्तिक, जेरुसेलम (रासस/एएफपी)। इजरायलको केन्द्रीय निर्वाचन समितिले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब दलहरूमाथि लगाएको निर्वाचनमा धाँधलीको आरोप अस्वीकार गरेको छ । समितिले नौ हजार ६९ मतदान केन्द्रको लेखापरीक्षण गर्दा निर्वाचन परिणाममा अनियमितता भएको प्रमाण नभेटिएको जनाएको छ ।
समितिका अनुसार घोषित परिणामले मतदाताको इच्छालाई सही रूपमा प्रतिबिम्बित गरेको छ । यसैबीच, राष्ट्रपति आइज्याक हर्जोगले बुधबार निर्वाचनको आधिकारिक परिणाम प्राप्त गरेपछि नेतान्याहु वा विपक्षी नेता गादी आइसेनकोटमध्ये कसलाई सरकार गठनको पहिलो अवसर दिने भन्ने निर्णय गर्नेछन्।
नेतान्याहुले निर्वाचनका दिन अरब दलहरूले नगद बाँडेको र कतारबाट रकम प्राप्त गरेको आरोप लगाएका थिए। तर महान्यायाधिवक्ता गली बहराव–मियाराले प्रमाणबिना कसैलाई सोधपुछ गर्न नमिल्ने बताएका छन् । नेतान्याहुको लिकुड पार्टीले भने उहाँमाथि अनुसन्धानमा अवरोध पु-याएको आरोप लगाएको छ ।
विपक्षी नेता आइसेनकोटले मध्यमार्गी तथा मध्यदक्षिणपन्थी दलहरूलाई एकजुट गर्दै नेतान्याहुको लामो शासन अन्त्य गर्ने प्रयास गरिरहेका छन्। उनले इरानविरुद्ध अर्को युद्ध सुरु नगर्न नेतान्याहुलाई चेतावनी दिँदै इजरायलमा एकता सरकार गठन हुनुपर्ने बताएका छन्।
पूर्वप्रधानमन्त्री यायर ल्यापिडले पनि अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले बेहोरेको पराजयपछि नेतान्याहुको नेतृत्वमा एकता सरकार बन्ने सम्भावना कमजोर भएको बताएका छन्।
इजरायलको १२० सदस्यीय संसदमा बहुमतका लागि ६१ सिट आवश्यक छ । निर्वाचनमा नेतान्याहुको गठबन्धनले ५३ र आइसेनकोटको पक्षले ४८ सिट जितेका छन् । अरब अल्पसङ्ख्यक दलका १९ सिटको समर्थन प्राप्त भए विपक्षी पक्ष बहुमतको नजिक पुग्न सक्छ । तर विपक्षी गठबन्धनका केही दलले गैरयहुदी सांसदको समर्थनमा सरकार गठन गर्न अस्वीकार गर्दै आएका छन् ।
राष्ट्रपति हर्जोगले निर्वाचन परिणाम प्राप्त गरेपछि दुई दिनसम्म राजनीतिक दलहरूसँग परामर्श गर्नुहुनेछ । सरकार गठनको जिम्मेवारी पाउने नेताले २८ दिनभित्र बहुमत जुटाउनुपर्नेछ । आवश्यक परे थप १४ दिन समय दिइनेछ । पहिलो प्रयास असफल भए अर्को नेतालाई अवसर दिइनेछ । त्यो पनि सफल नभए संसदका बहुमत सदस्यले २१ दिनभित्र प्रधानमन्त्रीको उम्मेदवार चयन गर्न नसके देश नयाँ निर्वाचनमा जानुपर्नेछ ।
यसअघि सन् २०१९ देखि २०२२ बीच इजरायलमा राजनीतिक गतिरोधका कारण पाँच पटक निर्वाचन भएको थियो । सन् २०२२ को निर्वाचनपछि नेतान्याहुलाई सरकार गठन गर्न ५८ दिन लागेको थियो । उनले सत्ता गुमाए भ्रष्टाचारसम्बन्धी आरोप र जेल सजायको जोखिमसमेत सामना गर्नुपर्नेछ ।
यसैबीच, आगामी संसद्मा सबैभन्दा ठूलो अरब बहुल पार्टीका नेता युसेफ जाब्रिनले विपक्षी दलहरूलाई नेतान्याहुलाई सत्ताबाट हटाउन संयुक्त प्रयास गर्न आग्रह गरेका छन् । नेतान्याहुले अरब दलहरू हमासका समर्थक रहेको आरोप लगाउँदै आए पनि अरब–इजरायली पार्टीका नेताहरूले सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणको निन्दा गरेका छन् ।
प्रतिक्रिया 4