News Summary
Generated by OK AI. Editorially reviewed.- सरिता लामिछानेले तिहारलाई लक्षित गरी अमेरिकाको रेनल्सबर्गमा देउसी–भैलो कार्यक्रम आयोजना गरेकी छिन्।
अभिनेत्री सरिता लामिछानेले नजिकिदो तिहारलाई लक्षित गरी अमेरिकामा देउसी भैलो कार्यक्रम आयोजना गरेकी छिन् । एभरेस्ट कला केन्द्र, युएसएले नजिकिँदै गरेको तिहारलाई लक्षित गर्दै हालै रेनल्सबर्गस्थित वेलकम इभेन्ट सेन्टरमा दीपावली, देउसी–भैलो तथा छठ विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा बालिकाहरूले नेपाली मौलिक नृत्य तथा देउसी–भैलो प्रस्तुत गरे । ज्येष्ठ नागरिकको सम्मानसमेत गरिएको कार्यक्रममा नेपाली समुदायका अभिभावक, बालबालिका तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरू सहभागी थिए ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी अमेरिकाअन्तर्गत ओहायो च्याप्टरका अध्यक्ष विजय बुढाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा चर्चित गायक तथा कलाकार बाबु बोगटीले सांगीतिक प्रस्तुति दिएका थिए ।
नेपाली फिल्म तथा टेलिभिजन क्षेत्रमा करिब २५ वर्ष बिताएकी लामिछाने अमेरिकामा नेपाली कला र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने अभियानमा सक्रिय छिन् ।
लामिछानेले जुन २०२५ मा अमेरिकाको ओहायो राज्यको रेनल्सबर्गमा एभरेस्ट कला केन्द्र स्थापना गरेकी थिइन् । अहिले यहाँ सयभन्दा बढी नेपाली समुदायका बालबालिका नृत्य तथा सांस्कृतिक प्रशिक्षणमा सहभागी छन् ।
विदेशमा बसाइँ सर्दा एउटा कलाकारको सोच र सपना पनि सँगै आउने लामिछानेको अनुभव छ । नयाँ देश र परिवेशमा पुगेपछि पनि आफूभित्रको कलाकारलाई जीवित राख्ने, नेपाली समुदायका बालबालिकालाई मौलिक कला र संस्कृतिसँग परिचित गराउने र आफ्नो सिर्जनशीलतालाई निरन्तरता दिने चाहनाले कला केन्द्र स्थापनाको प्रेरणा दिएको उनी बताउँछिन् । उनका लागि एभरेस्ट कला केन्द्र नृत्य सिकाउने संस्था मात्र होइन, कलाकारिताप्रतिको लगाव र सांस्कृतिक जिम्मेवारीको निरन्तरता हो ।
उनको लक्ष्य नृत्य जान्ने विद्यार्थी तयार गर्नुमा मात्र सीमित छैन । एभरेस्ट कला केन्द्रबाट बाहिरिँदा बालबालिकाले राम्रो संस्कार, अनुशासन, आत्मविश्वास र नेपाली सांस्कृतिक पहिचानप्रतिको गर्व गरून् भन्ने ध्येय छ । अभिभावकहरूले पनि आफ्ना बालबालिकाको कलात्मक सीपसँगै व्यवहार र व्यक्तित्वमा सकारात्मक विकास अनुभव गरून् भन्ने अपेक्षा रहेको लामिछाने बताउँछिन् ।
निकट भविष्यमै केन्द्रमा नेपाली भाषाको कक्षा सञ्चालन गर्ने योजना समेत रहेको लामिछानेले जानकारी दिइन् । भाषा बुझ्ने र बोल्ने क्षमता विकास भएपछि अभिनय, संवाद, अभिव्यक्ति तथा मञ्च प्रस्तुतिको प्रशिक्षण पनि विस्तार गर्ने योजना छ ।
लामिछाने आफ्नो अभिनय अनुभव बालबालिकासँग बाँड्न चाहन्छिन् । यसले विद्यार्थीको बोल्ने क्षमता, प्रस्तुति कौशल र आत्मविश्वास अभिवृद्धि गर्न सहयोग पुग्ने उनको विश्वास छ ।
प्रतिक्रिया 4