+
+
Shares

ट्रम्पको घट्दो लोकप्रियताले डेमोक्र्याट्सलाई फाइदा होला ?

पछिल्ला महिनामा सार्वजनिक भएका जनमत सर्वेक्षणहरूले प्रतिनिधिसभामा डेमोक्र्याट्सले बहुमत हासिल गर्ने सम्भावना बलियो देखाएका छन्। प्रतिनिधिसभामा बहुमतका लागि २१८ सिट आवश्यक पर्छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १६ गते ११:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकामा मंगलबार हुने मध्यावधि निर्वाचनअघि डेमोक्र्याट्सले प्रतिनिधिसभा र सिनेट दुवैमा बहुमत जित्ने लक्ष्य राखेका छन्।
  • पछिल्ला जनमत सर्वेक्षणले प्रतिनिधिसभा र केही राज्यका सिनेट प्रतिस्पर्धामा डेमोक्र्याट्सलाई अघि देखाएको छ।
  • विगतमा सर्वेक्षण गलत ठहरिएकाले नतिजाबारे सतर्कता छ, र विज्ञहरूले अन्तिम परिणाम मतदानपछि मात्रै थाहा हुने बताएका छन्।

१६ कात्तिक, काठमाडौं । अमेरिकामा मंगलबार हुन लागेको मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा विपक्षी डेमोक्रेटिक पार्टीमा उत्साह देखिएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको खस्कँदो लोकप्रियता र दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिप्रति अमेरिकी जनतामा बढ्दो असन्तुष्टिलाई आफ्नो पक्षमा पार्दै डेमोक्र्याट्सले प्रतिनिधिसभा र सिनेट दुवैमा बहुमत हासिल गर्ने लक्ष्य राखेका छन्।

तर, विगतका निर्वाचनमा जनमत सर्वेक्षणहरू पटक-पटक गलत साबित भएका कारण यसपटकको नतिजालाई लिएर राजनीतिक वृत्तमा सतर्कता र अनिश्चितता पनि छ।

जनमत सर्वेक्षणमा डेमोक्र्याट्सको अग्रता

पछिल्ला महिनामा सार्वजनिक भएका जनमत सर्वेक्षणहरूले प्रतिनिधिसभामा डेमोक्र्याट्सले बहुमत हासिल गर्ने सम्भावना बलियो देखाएका छन्। प्रतिनिधिसभामा बहुमतका लागि २१८ सिट आवश्यक पर्छ।

सिनेटमा भने प्रतिस्पर्धा अझै कडा छ। केही महत्त्वपूर्ण राज्यमा डेमोक्रेटिक उम्मेदवारहरूले अग्रता बनाएका छन् भने कतिपय राज्यमा प्रतिस्पर्धा बराबरीको अवस्थामा छ।

हालै न्युयोर्क टाइम्स र सिएना कलेजले गरेको सर्वेक्षणमा रिपब्लिकनको बलियो पकड रहेको साउथ क्यारोलाइनामा पनि सिनेटका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ। सन् २०२४ को राष्ट्रपति निर्वाचनमा ट्रम्पले उक्त राज्यमा १८ प्रतिशत अङ्कको मतान्तरले जितेका थिए।

सीएनएनले गरेको सर्वेक्षणमा टेक्सस र मिशिगनमा डेमोक्रेटिक उम्मेदवारहरू बलियो अवस्थामा देखिएका छन्। तर, मेन र कान्सासमा भने कसले जित्छ भन्ने स्पष्ट भइसकेको छैन।

सर्वेक्षण किन गलत साबित हुन्छन् ?

अमेरिकी राजनीतिमा जनमत सर्वेक्षणको विश्वसनीयतामाथि पटक-पटक प्रश्न उठ्ने गरेको छ। सन् २०१६ को राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पले धेरै सर्वेक्षणको अनुमानविपरीत जित हासिल गरेका थिए। सन् २०२० र २०२४ का निर्वाचनमा पनि सर्वेक्षणहरूले ट्रम्पको वास्तविक मत समर्थनलाई कम आकलन गरेका थिए।

ट्रम्पको एउटा विशेषता राजनीतिप्रति निराश वा नियमित मतदान नगर्ने मतदातालाई पनि ठूलो सङ्ख्यामा मतदान केन्द्रसम्म ल्याउन सक्नु हो। यस्ता मतदाताको मत सर्वेक्षणमा समेट्न कठिन हुने गर्छ।

‘इप्सोस पब्लिक अफेयर्स’का अध्यक्ष क्लिफोर्ड यङका अनुसार मानिसहरूले ल्यान्डलाइन फोन प्रयोग गर्न छाड्नु, अपरिचित नम्बरबाट आउने फोन नउठाउनु र विशेषगरी दक्षिणपन्थी मतदातामा रहेको व्यवस्थाविरोधी मनोवृत्तिका कारण सर्वेक्षणमा सहभागी हुनेको सङ्ख्या घटेको छ। यसले रिपब्लिकन मतदाताको वास्तविक समर्थन कम आकलन हुने जोखिम बढाउँछ।

मध्यावधि निर्वाचनमा सत्तारुढ दललाई धक्का

अमेरिकी इतिहासमा मध्यावधि निर्वाचनमा राष्ट्रपतिको दलले प्रायः सिट गुमाउने गरेको छ। सन् २०१० मा राष्ट्रपति बाराक ओबामाको कार्यकालमा रिपब्लिकन पार्टीले प्रतिनिधिसभामा ६० भन्दा बढी सिट थपेको थियो।

यसपटक पनि डेमोक्र्याट्स विपक्षी भूमिकामा छन् भने अर्थतन्त्र र महँगी प्रमुख चुनावी मुद्दा बनेका छन्। ट्रम्पको लोकप्रियतामा आएको गिरावट र जीवनयापनको बढ्दो लागतले डेमोक्र्याट्सलाई फाइदा पुग्न सक्ने आकलन गरिएको छ।

यद्यपि, डेमोक्र्याट्सका लागि चुनौती पनि कम छैनन्। सन् २०२४ मा ट्रम्पले सहजै जितेका कतिपय निर्वाचन क्षेत्रमा रिपब्लिकन उम्मेदवारहरूको बलियो आधार छ। निर्वाचन क्षेत्रको पुनर्निर्धारणले पनि केही स्थानमा प्रतिस्पर्धाको समीकरण प्रभावित पारेको छ।

अमेरिकी समाजमा राजनीतिक रूपमा स्थिर मतदाताको सङ्ख्या बढ्दै जाँदा अन्तिम समयमा विचार परिवर्तन गर्ने मतदाता घटेका छन्। अर्कोतर्फ, रिपब्लिकन पार्टीसँग चुनावी चन्दा र प्रचारप्रसारका लागि ठूलो आर्थिक स्रोत छ। उसले अन्तिम साताहरूमा डेमोक्र्याटिक उम्मेदवारविरुद्ध विज्ञापनमा ठूलो रकम खर्च गरिरहेको छ।

सन् २०२२ को नजिर र ट्रम्पका चुनावी र्‍याली

राष्ट्रपति निर्वाचनको तुलनामा मध्यावधि निर्वाचनमा ट्रम्प स्वयं उम्मेदवार नहुने भएकाले उनको व्यक्तिगत प्रभाव केही कम हुन सक्छ। सन् २०२२ को मध्यावधि निर्वाचनमा पनि राष्ट्रपति जो बाइडेनको लोकप्रियता कमजोर हुँदाहुँदै डेमोक्र्याट्सले सिनेटमा आफ्नो बहुमत जोगाएका थिए। प्रतिनिधिसभामा भने उनीहरूले निकै कम अन्तरले बहुमत गुमाएका थिए।

यसपटक अन्तिम दिनहरूमा राष्ट्रपति ट्रम्प आफूले सन् २०२४ मा सहजै जितेका राज्यहरूमा समेत पुगेर चुनावी र्‍याली गरिरहेका छन्। आयोवा र कान्सासमा उनले गरेका पछिल्ला चुनावी सम्बोधनले रिपब्लिकन पार्टीले आफ्नो पकड भएका क्षेत्रमा पनि मतदाता परिचालनलाई प्राथमिकता दिएको देखाउँछ।

रिपब्लिकन उम्मेदवारहरू दबाबमा परेको र चुनावी प्रतिस्पर्धा अपेक्षाभन्दा कडा बनेको अवस्थामा ट्रम्पको सक्रियता बढेको विश्लेषण गरिएको छ।

विज्ञहरूका अनुसार सर्वेक्षणको त्रुटि सीमा (मार्जिन अफ एरर) र अन्तिम समयमा अनिर्णित मतदाताले गर्ने निर्णयले निर्वाचनको नतिजामा ठूलो प्रभाव पार्न सक्छ। त्यसैले सर्वेक्षणमा डेमोक्र्याट्सको अग्रता देखिए पनि अन्तिम परिणामका लागि मतदान र मतगणना कुर्नुपर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?