+
+
Shares

जनताका पीडा सुन्न घरदैलोमा सांसद बुढा

पहिरोपीडितको पीडा सुन्दा रसाए आँखा, ६० परिवारलाई राहत

हेमन्त केसी हेमन्त केसी
२०८३ कात्तिक १६ गते ९:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जाजरकोटको जुनीचाँदे गाउँपालिकामा चार दिन बसेर फर्किएका प्रतिनिधिसभा सदस्य खड्कबहादुर बुढा पहिरो प्रभावित परिवारको पीडा देखेर भावुक बनेका छन्।
  • सांसद बुढाले डोग्रा टोलसहितका प्रभावित परिवारलाई करिब ६० परिवारका लागि राहत सामग्री वितरण गरेका छन्।
  • उनले जुनीचाँदेका जोखिमयुक्त बस्ती सुरक्षित बनाउने, अधुरा विकास आयोजना अघि बढाउने र आधारभूत सेवा सुधारका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

६ कात्तिक, सुर्खेत । जाजरकोटको जुनीचाँदेका गाउँबस्तीमा चार दिन बिताएर सदरमुकाम फर्किएका प्रतिनिधिसभा सदस्य खड्कबहादुर बुढा यसपटक जनताका समस्या र पीडाले भावुक बनेका छन् ।

कतै प्राकृतिक विपत्तिले उजाडिएका परिवारका आँसु, कतै विकासको प्रतीक्षामा रहेका बस्तीका अपेक्षा त कतै नागरिकले देखाएको आत्मीयताले उनको चारदिने यात्रा भावुक र अर्थपूर्ण बनेको छ ।

जुनीचाँदे गाउँपालिका–५ को डोग्रा टोलमा पुग्दा पहिरो प्रभावित परिवारको अवस्था देखेर सांसद बुढा भावुक बने । पहिरोमा आफन्त गुमाएका परिवारसँग भेटेर उनीहरूको दुःख र पीडा सुन्दा आफ्ना आँखा रसाएको उनले बताएका छन् ।

प्रियजन गुमाउनुको पीडा र विपत्तिले थलिएका परिवारको अवस्था देख्दा मन भारी भएको उनको भनाइ छ । प्रभावित परिवारलाई केही भए पनि राहत पुगोस् भन्ने उद्देश्यले आफ्नै तर्फबाट सामग्री लिएर पुगेका उनले करिब ६० परिवारलाई राहत वितरण गरेका छन् । आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

‘विपत्तिमा परेका नागरिकको पीडा नजिकबाट महसुस गर्ने अवसर मिल्यो । उहाँहरूको दुःख सुन्दा मन थाम्न सकिनँ । यो सहयोग सानो भए पनि दुःखको घडीमा साथमा छु भन्ने अनुभूति दिलाउन चाहेको हुँ,’ उनले आफ्नो भ्रमणबारे उल्लेख गरेका छन् ।

बस्तीका समस्या र नागरिकका अपेक्षा

चारदिने भ्रमणका क्रममा सांसद बुढाले वडा नं. ५, ६, ४ र ११ हुँदै वडा नं. १ सम्म पुगेर स्थानीयसँग भेटघाट तथा छलफल गरेका थिए । त्यसक्रममा अग्रज, आमा–बुवा, दाजुभाइ तथा दिदीबहिनीसँग आत्मीय संवाद गर्ने अवसर पाएको उनले बताएका छन् ।

भ्रमणका क्रममा कतै विकासका अधुरा योजना, कतै खानेपानी र विद्युत्को समस्या त कतै प्राकृतिक विपत्तिबाट जोखिममा परेका बस्तीका नागरिकका गुनासा सुनेका थिए । पार्टीका अग्रज, जनप्रतिनिधि तथा स्थानीय अगुवाहरूसँग पनि छलफल गर्दै समस्याको समाधानका उपायबारे संवाद गरेका थिए ।

नागरिकले देखाएको माया, विश्वास र आत्मीयताले आफूलाई थप जिम्मेवार बनाएको सांसद बुढाको भनाइ छ ।

जोखिमयुक्त बस्ती सुरक्षित बनाउने प्रतिबद्धता

सांसद बुढाले जुनीचाँदेका जोखिमयुक्त बस्तीलाई सुरक्षित बनाउने, वर्षा तथा प्राकृतिक विपत्तिबाट सिर्जित समस्याको दीर्घकालीन समाधान खोज्ने र अधुरा विकास आयोजनालाई गति दिन पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

खानेपानी, विद्युत्लगायतका आधारभूत आवश्यकता पूरा गर्न सम्बन्धित कार्यालय र सरकारका जिम्मेवार निकायसँग निरन्तर समन्वय गर्ने उनले बताएका छन् ।

‘जुनीचाँदेका प्रत्येक बस्तीको सपना मेरो पनि सपना हो । यहाँका नागरिकका समस्या र अपेक्षालाई सम्बन्धित निकायसम्म पुर्‍याउनेछु,’ उनले भनेका छन् ।

समस्या बोकेर फर्किए, फेरि बस्तीमै आउने प्रतिबद्धता

चार दिनको भेटघाटपछि सदरमुकाम फर्किए पनि स्थानीयका समस्या, पीडा र गुनासा आफूले सँगै लिएर आएको सांसद बुढाले बताएका छन् । नागरिकका आवाज सम्बन्धित कार्यालयदेखि सरकारका जिम्मेवार निकायसम्म पुर्‍याउने र समाधानका लागि निरन्तर पहल गर्ने उनको प्रतिबद्धता छ ।

‘यो साथ केवल भेटघाट र आश्वासनमा सीमित हुने छैन । म फेरि फर्कनेछु, तपाईंहरूकै बीचमा हुनेछु । सुखदुःखमा सधैं साथमा रहनेछु,’ उनले उल्लेख गरेका छन् ।

सांसद बुढाका लागि जुनीचाँदेका चार दिन औपचारिक भेटघाटमा मात्रै सीमित रहेनन् । विपत्तिले थलिएका परिवारका आँसु, विकासको प्रतीक्षामा रहेका नागरिकका अपेक्षा र स्थानीयले देखाएको आत्मीयताले जनप्रतिनिधिका रूपमा जनताप्रतिको जिम्मेवारीलाई थप गहिरो बनाएको छ ।

लेखक
हेमन्त केसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?