इजरायलको अरब नेतृत्वका दलहरूको गठबन्धनले इजरायलमा नयाँ सरकार गठनका लागि विपक्षी नेता गादी आइजेनकोटलाई समर्थन गर्ने घोषणा गरेको छ ।
गठबन्धनले बिहीबार जारी गरेको विज्ञप्तिमा राष्ट्रपति आइज्याक हर्जोगलाई बिहीबार साँझ आइजेनकोटलाई सरकार गठनको जिम्मेवारी दिन सिफारिस गर्ने निर्णयबारे जानकारी गराउने जनाएको छ ।
गत साता सम्पन्न आम निर्वाचनमा अरब नेतृत्वका दलहरूले संसद्का १२० सिटमध्ये १९ सिट जितेका थिए । यसले आगामी सरकार गठनमा उनीहरूको प्रभाव महत्त्वपूर्ण हुने देखिएको छ ।
संयुक्त सूचीका ११ सांसदले औपचारिक रूपमा आइजेनकोटको नाम सिफारिस गरेपछि उनलाई संसद्का ६७ सांसदको समर्थन प्राप्त हुने अपेक्षा गरिएको छ । सरकार गठनका लागि आवश्यक ६१ सिटको बहुमतभन्दा यो संख्या बढी हो ।
यसअघि आठ सिट जितेको अरब नेतृत्वको अर्को दल रामले पनि आइजेनकोटलाई समर्थन गर्ने जनाएको थियो ।
यता प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनसँग ५३ सिट भए पनि सबै सांसदको समर्थन जुट्ने निश्चित छैन । संयुक्त तोराह यहुदी पार्टीका सात सांसदमध्ये चार सिट रहेको डेगेल हातोराहले भने कुनै पनि उम्मेदवारलाई समर्थन नगर्ने बताएको छ ।
इजरायल टाइम्सका अनुसार अति रूढिवादी यहुदी समूह नेतान्याहुसँग असन्तुष्ट छ । उनको गठबन्धनले हरेदी पुरुषलाई सैन्य सेवाबाट छुट दिने कानुन पारित गर्न नसकेपछि उक्त समूहले साथ छोडेको हो ।
नेतान्याहुले भने विदेशी सहयोगमा अरब दलहरूले निर्वाचनमा धाँधली गरेको आरोप पटक-पटक लगाउँदै आएका छन् । यद्यपि, उनले अहिलेसम्म त्यसको कुनै प्रमाण प्रस्तुत गर्न सकेका छैनन् ।
नेतान्याहु र उनको पार्टी लिकुडले मतदान सुरु हुनुअघि मतदातालाई घुस दिएको आरोपमा तीन राजनीतिक कार्यकर्ता पक्राउ परेको घटनालाई आधार बनाउँदै आएका छन् । उनीहरूको राम पार्टीसँग सम्बन्ध रहेको आशंका गरिए पनि उक्त पार्टीले आफ्नो संलग्नता अस्वीकार गरेको छ ।
नेतान्याहु र लिकुडले विपक्षी गठबन्धनले अरब दलहरूसँग मिलेर सरकार बनाउनु देशद्रोह हुने टिप्पणीसमेत गरेका छन् । निर्वाचनपछि जारी विज्ञप्तिमा लिकुडले अरब गठबन्धनसँग सहकार्य गर्ने जायोनिस्ट दलहरू इजरायलका लागि ‘खतरनाक’ हुने चेतावनी दिएको थियो ।
तर, इजरायलको केन्द्रीय निर्वाचन समितिले धाँधली भएको कुनै प्रमाण नभेटेपछि बुधबार निर्वाचन परिणामलाई आधिकारिकता दिएको छ ।
राष्ट्रपति आइज्याक हर्जोगले पनि निर्वाचन परिणाम स्वीकार गर्दै नयाँ सरकार गठनको जिम्मेवारी कसलाई दिने भन्ने विषयमा राजनीतिक दलका नेताहरूसँग परामर्श सुरु गरेका छन् ।
उनले निर्वाचनमा सम्भावित हस्तक्षेपबारे अनुसन्धान गर्नुपर्ने पक्षमा समर्थन जनाए पनि प्यालेस्टिनी मूलका इजरायली मतदातामाथि आरोप लगाएर बदनाम नगर्न चेतावनी दिएका छन् । इजरायलको कुल जनसंख्याको करिब २० प्रतिशत हिस्सा प्यालेस्टिनी अल्पसंख्यक समुदायको छ ।
‘हालै हामीले सुनेका अशिष्ट र जातिवादी अभिव्यक्तिको म निन्दा गर्छु,’ उनले भने ।
बुधबार राष्ट्रपतिले धार्मिक जायोनिस्ट र जेहुत, शास तथा यिस्रायल बेतेनु दलका प्रतिनिधिसँग भेट गरेका थिए ।
हर्जोगले सामाजिक सञ्जाल एक्समा लेख्दै ती दलका प्रतिनिधिहरूबाट सरकार गठनको जिम्मेवारी पाउनुपर्ने सांसदबारे सिफारिस प्राप्त गरेको बताएका छन् । उनले बिहीबार पनि राजनीतिक दलहरूसँगको परामर्श जारी रहने जनाएका छन् ।
परामर्श सकिएपछि राष्ट्रपतिले गठबन्धन सरकार बनाउन सक्ने उपयुक्त उम्मेदवारलाई जिम्मेवारी दिनेछन् । यसका लागि नेतान्याहु वा आइजेनकोटमध्ये एक जना छनोट हुने सम्भावना छ ।
राष्ट्रपतिले आफ्नो निर्णय सार्वजनिक गर्न केही दिन समय पाउनेछन् । जिम्मेवारी पाउने उम्मेदवारले सरकार गठनका लागि २८ दिन पाउनेछन् । आवश्यक परे थप १४ दिन समय दिन सकिने व्यवस्था छ ।
दुवै उम्मेदवारले सरकार गठन गर्न नसके इजरायलमा आगामी वर्षको सुरुवातमै पुनः निर्वाचन हुनेछ ।
–अलजजीराबाट
प्रतिक्रिया 4