+
+
Shares

थातथलो फर्किने छटपटीमा होल्डिङ सेन्टरका बाढीपीडित (तस्वीरहरू)

केही भने पुन: गाउँ फर्किसकेका छन्। केही गाउँ फर्किने तयारीमा छन् भने केही चाहिँ फर्केर के गर्ने भनेर रनभुल्ल छन्।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८३ कात्तिक १९ गते १३:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भदौ १० को रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीले विस्थापितहरू काठमाडौंका होल्डिङ सेन्टर र गुम्बामा दुई महिनादेखि बसिरहेका छन्।
  • विस्थापितहरूले सरकारले पुनर्स्थापनाको योजना नल्याएको भन्दै तिहारपछि आफ्नै थलो फर्किने तयारी गरेका छन्।
  • रसुवाको टिमुरेका बासिन्दाले टिमुरेडाँडामा स्थायी बसोबास, खाद्यान्न र अस्थायी टहराको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।

१९ कात्तिक, काठमाडौं । भदौ १० गतेको रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण विस्थापितहरूलाई काठमाडौंमा होल्डिङ सेन्टरमा राखिएको छ। काठमाडौंका विभिन्न गुम्बा तथा सेन्टरहरूमा विस्थापितहरू बस्दै आइरहेका छन्। केही भने पुन: गाउँ फर्किसकेका छन्। केही गाउँ फर्किने तयारीमा छन् भने केही चाहिँ फर्केर के गर्ने भनेर रनभुल्ल छन्।

बाढीबाट विस्थापित भएकाहरू दुई महिनादेखि काठमाडौंमा बसिरहे पनि उनीहरूले थातथलो कसरी फर्किने भन्ने पिरलो छ। सरकारले पुनर्स्थापनाको योजना नल्याएको उनीहरूको गुनासो छ।

सधैँ काठमाडौंकै होल्डिङ सेन्टरमा बस्न सम्भव नदेखेपछि उनीहरू तिहारपछि आफ्नै थलो फर्किने तयारी गरिरहेका छन्। उनीहरू आफ्नो थलोमा गएर परम्परा, रीतिरिवाज जगाउने सोचाइमा छन्।

रसुवाको टिमुरेकाहरू टिमुरेडाँडामा स्थायी बसोबासको योजना बुनिरहेका छन्। पुनर्वासका लागि खाद्यान्न, अस्थायी टहराको व्यवस्था गरिदिन उनीहरूले सरकारलाई आग्रह गरेका छन्। बाढीपछि राहतस्वरूप आएको पैसा प्रयोगमा ल्याउन सरकारलाई उनीहरूको सुझाव छ।

काठमाडौंको गुम्बामा बास बस्दा समाज, संस्कृति, खानपिन नमिलेको उनीहरूको अनुभव छ। उनीहरूले रसुवागढी नाका सञ्चालनमा ध्यान दिन सरकारसँग आग्रह गरेका छन्।

टिमुरेका कामी नुर्बु तामाङले भने, ‘कहिले गाउँ फर्किने भन्ने मात्रै छ यहाँ सबैको चाहना। यहाँ कसरी चल्छ र सधैँ,’ उनले भने, ‘सरकारले हामी फर्किने वातावरण बनाओस्। गाउँमा गएर बस्ने व्यवस्थापनमा पनि सहजीकरण गरोस्। हाम्रो अभिभावक नै सरकार हो नि।’

उनीहरूको बसोबासको अवस्था हेर्न हालै संसदीय समितिका सदस्यहरू पनि होल्डिङ सेन्टर पुगेका थिए। उनीहरूसमक्ष विस्थापितहरूले नाका सञ्चालन, बाढी पीडित कोषमा आएको रकम परिचालन, स्थायी बसोबासको प्रबन्धका विषयमा ध्यानाकर्षण गराए।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?