+

मोटोपनबाट कसरी छुट्कारा पाउने ?

२०८० कात्तिक  १ गते १४:५० २०८० कात्तिक १ गते १४:५०
मोटोपनबाट कसरी छुट्कारा पाउने ?

काठमाडौं । हिजोआज मोटोपनबाट धेरै जना हैरान छन् । मोटो शरीरलाई कसरी घटाउने भन्ने चिन्ता पनि त्यत्तिकै छ । सबै जना आफ्नो फिटनेस र लुक्सको बारेमा चिन्तित देखिन्छन् ।

फिट र स्वस्थ रहन मानिसहरू डाइटिङ गर्छन् र जिममा गएर पसिना पनि बगाउँछन् । तौल घटाउने टिप्सलाई लिएर सामाजिक सञ्जालमा धेरै भिडियो देखिन्छन् । त्यससलाई हेरेर पनि मानिसहरू प्रेरित भइरहेका छन् ।

तर सबैभन्दा ठूलो प्रश्न यो हो कि यदि तपाईं फिट रहन चाहनुहुन्छ भने जिम वा डाइट केमा बढी ध्यान दिनु राम्रो हुन्छ ?  यस्तोमा खानपानमा ध्यान दिएर व्यायाम नगरे पनि तौल घट्छ त ? व्यायाम गर्न जाँदा के के कुरामा ध्यान दिने ? यिनै विषयमा आधारित रहेर फिटनेस ट्रेनर सबाना खातुनसँग गरिएको कुराकानी :

मोटोपन घटाउन व्यायाम गर्ने कि खाना कम गर्ने ?

मोटोपन घटाउन व्यायाम गर्ने कि खाना कम गर्ने भन्ने प्रश्न धेरैको हुन्छ । तर मोटोपन कम गर्न व्यायाम र खाना कम दुवै गर्नु जरुरी छ । खाना मात्र कम गर्ने हो भने पनि तौल त कम हुन्छ । तर पछि त्यसलाई निरन्तरता दिन नसक्दा फेरि तौल बढ्ने हुन्छ । त्यसैले खाना कम गर्ने र सँगै व्यायाम पनि गर्ने गर्नुपर्छ ।

जस्तो उचित खानपान गर्ने, सही व्यायाम गर्ने, सन्तुलित दिनचर्या अपनाउने । यस्ता विधिबाट क्रमशः तौल नियन्त्रण गर्न सकिन्छ । तौल घटाउने उपयुक्त तरिका पनि यही हो ।

खाना कम गर्ने र दैनिक व्यायाम गर्ने गरियो भने तौल कम हुनुका साथै स्वस्थ पनि भइन्छ । व्यायाम गर्न जिम गइयो भने मान्छेको अवस्था वा शरीरको बनोटअनुसार कति अवधिमा तौल नियन्त्रण गर्ने भन्ने कुराको टुंगो लाग्छ ।

फिटनेस क्लब जानुअघि केके कुरामा ध्यान दिनुपर्छ ?

मोटोपन घटाउनुपर्ने त त्यसको लागि फिटनेस स्टुडियो पनि जान मन छ तर केही तयारी पो गर्नुपर्छ कि भन्ने पनि धेरैलाई लाग्न सक्छ । तर त्यो कुराको चिन्ता लिनु पर्दैन ।

फिटनेस क्लब जाने बित्तिकै एकदमै गाह्रो खाले  व्यायाम सुरु गर्नुहुँदैन । वार्मअप गर्ने र सजिलो व्यायामबाट सुरु गरेर पछि बिस्तारै व्यायामलाई बढाउँदै लैजानुपर्छ । त्यसैले यो सबै कुरामा तपाईंको फिटनेस ट्रेनरले सहयोग गर्छन् ।

व्यायाम गर्न फिटनेस क्लब किन जाने ?

तौल घटाउनु गाह्रो काम होइन, तपाईंले केही दिन खानै खानु भएन भने पनि तौल त घट्छ । तर तौल घट्नुका साथै स्वस्थ हुनु पनि जरुरी छ । त्यसका लागि फिटनेस क्लब जानु ठीक हुन्छ ।

फिटनेस क्लबमा स्वस्थ वातावरण हुन्छ । आफूजस्तै तौल घटाउन मेहनत गरिसकेका व्यक्तिहरूसँग भेट हुन्छ । उनीहरूले मेहनत गरेको देखेर हौसला बढ्छ ।

व्यायाम गरेर मात्र हामीले शरीरको बोसो घटाउन सक्छौ ?

व्यायाम गरेर मात्र भन्दा पनि सन्तुलित खाना पनि खाएर शरीरको बोसो घट्छ । यसरी शरीरको बोसो घट्नु भनेको लामो समयको लागि हो । यदि खाना मात्र कम गरियो वा व्यायाम मात्र गरियो भने त्यो दीर्घकालीन नहुन पनि सक्छ ।

आफ्नो विशेष समय छुटाएर अल्छी नमानी व्यायाम गरियो भने त्यसले शरीरमा बिस्तारै परिवर्तन ल्याउँछ ।

जिम गएपछि कस्तो खानपान गर्नुपर्छ ?

हाम्रो नेपाली समाज कस्तो छ भने कोही व्यक्ति तौल नियन्त्रण गर्न जिम गइरहेको र डाइट पनि गरिरहेको छ भने उसलाई परिवारको सदस्य र साथीभाइले आज एक दिन खाऊ न केही हुन्न भन्दै कर गर्छन् । त्यति मात्र होइन, दशैं-तिहार नजिकिंदै छ । त्यसैले यस्तो वातावरण छ भने मैले के को लागि डाइट गरिरहेको छु जिम गइरहेको छु भन्ने कुरा ध्यान दिनुपर्छ । एक छाक जंकफुड खाइयो भने अर्को छाक अलि स्वास्थ्यकर खाना खाने र व्यायाम गर्नुपर्छ ।

तौल नियन्त्रण गर्न सकेसम्म बाहिरको खाना, धेरै चिल्लो, धेरै गुलियो नुनिलो खानेकुरा कम गर्नुपर्छ ।  दैनिक खानामा कार्बोहाइड्रेटको मात्रा अलि कम गर्नुपर्छ । खानामा प्रोटिन, फाइबर र खनिजको मात्रा बढाउनुपर्छ । गुड फ्याटको सेवन गर्नुपर्‍यो । प्रशस्त मात्रामा फाइबर भएको तरकारी र सलादको पनि सेवन पनि गर्नुपर्छ ।

जिम गएपछि पोट्रिन सेक पनि खानैपर्छ ?

एक सामान्य व्यक्ति तौल नियन्त्रण गर्नुका साथै शरीरलाई चिटिक्क, फूर्तिलो र बलियो बनाउन जिम जाने गर्छन् । त्यसका लागि सन्तुलित आहार नै पर्याप्त छ, प्रोटिन सेक खानु पर्दैन । तर कसैलाई धेरै मांसपेशी बढाउनुपर्ने छ, सिक्स प्याक बनाउनु छ, धेरै हेभी एक्सरसाइज गर्नुपर्ने छ भने मात्र प्रोटिन सेक खानुपर्छ ।

रक्तचाप, मधुमेह भएकाले जिम जाँदा के कुरामा ख्याल गर्नुपर्छ ?

रक्तचाप र मधुमेह भएका व्यक्तिले जिम जाँदा डाक्टरको सल्लाह लिनुपर्छ । डाक्टरको सल्लाहअनुसार नै व्यायाम र खानपानमा ध्यान दिनुपर्छ । एकै दिन धेरै व्यायाम गर्नेभन्दा पनि बिस्तारै बढाउँदै लैजानुपर्छ ।

व्यायाम गर्न जिम जान सम्भव नहुनेहरूले घरमै पनि व्यायाम गर्न सक्छन् ?

आजभोलि प्राय: सबै जना व्यस्त छन् । जिम धाउने फुर्सद पनि धेरैलाई छैन यस्तो अवस्थामा धेरै फिटनेस क्लबहरूले अनलाइन क्लासको व्यवस्था गरेका छन् । तर अनलाइन क्लासमा पनि सहभागी हुन नसक्नेहरूले घरमा आफैं पनि केही व्यायाम गर्न सक्छन् ।

घरमै पनि व्यायाम गरेर तौल घटाउन सकिन्छ । घरमै आधा घण्टा दौडिने, उफ्रिने, ब्याडमिन्टन, भलिबलजस्ता खेल खेल्ने गरेर पनि तौल नियन्त्रण गर्न सकिन्छ ।

तस्वीर, भिडियो : आर्यन धिमाल/अनलाइनखबर

फिटनेस मोटोपन व्यायाम
लेखक
सुमित्रा लुईटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय