काठले बनेका मदिराको ट्यांकीमा लगाइएका फलामको रिङहरु फुस्किने र त्यसको मर्मत गर्ने कुरा सामान्य थियो । त्यसैले सन् १८१४ अक्टोबर १७ को तेस्रो प्रहरमा लण्डनस्थित हर्स शू ब्रुअरीका कर्मचारीले पनि कारखानामा रक्सी भरिएको एउटा भीमकाय ट्यांकीको बाँधिएको रिङ फुस्किन लागेको देखे र मर्मत गर्नुपर्ने भन्ने सन्देश लेख्नका लागि कार्यकक्षमा गए ।
सन् १७६४ मा स्थापित यो ब्रुअरीले केवल पोर्टर भनिने कालो रंगको बियर उत्पादन गर्दथ्यो । सो पेयको लोकप्रियताको कारणबाट बेलायतका दुई ठूला कम्पनीमध्ये एक हेनरी मेभ एण्ड कम्पनीको स्वामित्वमा रहेको उक्त ब्रुअरीले वर्षमा एक लाख ब्यारेल बियर उत्पादन गर्दथ्यो।
पत्रकार क्रिस्टोफर क्लिनका अनुसार ब्रुअरीको भण्डारगृहमा काठका २२ फुट अग्ला ट्यांकीमा रक्सी राखिन्थ्यो ।
ट्यांकीलाई चारैतर्फबाट फलामका धेरै ठूला रिङहरुले बाँधिएको हुन्थ्यो । त्यसमध्ये कतिपय छल्लाको वजन एक टनसम्म हुन्थ्यो । भरिएको एक ट्यांकीमा करीब ३ हजार ५५५ ब्यारेल अर्थात् पाँच लाख लिटर भन्दा धेरै बियर हुन्थ्यो ।
त्यसदिन फुस्किएको एउटा फलामे रिङको मर्मतको सन्देश पठाउन गएका कर्मचारीको हातमै त्यो सन्देश थियो जतिबेला उनले मदिराशालाको भण्डारगृहबाट केही चिज खसेको जस्तो निकै ठूलो आवाज सुने । त्यतिबेला बेलुकीको साढे ५ बजेको थियो । उनी आवाज आएको दिशातर्फ दौडिए ।
पोखियो ६ देखि १४ लाख लिटर बियर
पत्रकार मार्टिन कर्नलका अनुसार मर्मत गर्नुपर्ने भनेर उनले सन्देश पुर्याउन लागेकै ट्यांकी फुटेको रहेछ र सो दुर्घटनामा ब्रुअरीको २५ फुट अग्लो भित्तो र छतको अधिकतम भाग पनि भत्किएको थियो । त्यो दृश्यले उनी निकै भयभित भए ।
अझ स्टोरहाउसका सुपरिटेन्डेन्ट समेत रहेका उनका भाइ र अन्य धेरै घाइते कर्मचारीहरु भग्नावशेषमुनि बेवारिस अवस्थामा छटपटाइरहेको देख्दा उनी झनै त्रसित बने ।
इँटा र भग्नावशेष मिश्रित बाढीका कारण न्युस्ट्रिटमा दुईवटा घर भत्किएका थिए । एक अनुमान अनुसार त्यसक्रममा हर्स शू ब्रुअरीबाट ६ देखि १४ लाख लिटर बियर पोखिएर १५ फुट अग्लो मदिरा बाढीको छाल निस्किएको थियो ।
रक्सीकेा बाढी कारखानाको पछाडि रहेको कच्ची घरको वस्ती सेन्ट जाइल्स रुकरीतर्फ अघि बढेको थियो ।
सेन्ट जाइल्स को स्थापना १७औँ शताब्दीमा एक धनाढ्य परिवारले पश्चिम लण्डनस्थित ब्रेन ब्रिजको भूमिमा गरेको थियो ।
फाइदाको लोभमा त्यहाँ तिव्र गतिमा त्रुटिपूर्ण निर्माण कार्य हुँदै गयो । जसको फलस्वरुप त्यो अँध्यारा गल्लीयुक्त निकै घना वस्तीमा परिणत भयो । १८औं शताब्दीसम्म यो घनाबस्ती लण्डनका अपराधीहरुका लागि कुख्यात रहेका कच्चीघरहरुको बस्तीको रुपमा चिनिन्थ्यो । त्यहाँ गरीब, बेरोजगार, अपराधी तथा ठूलो संख्यामा आइरिश शरणार्थीहरु बस्दथे । त्यहाँ घरभित्र मानिसहरु यसरी कोचिएर बस्दथे कि बाटो तथा भान्सामा समेत सुत्नु पर्थ्यो । कहिलेकाहीँ त एउटै कोठामा धेरै परिवार पनि बस्नुपर्थ्यो ।
दी डेन्स अफ लण्डन पुस्तकमा जोन डंकोमले लेखेका छन् कि १९औँ शताब्दीको सुरुवातसम्म जाइल्समा अपराध, देह व्यापार तथा फोहोर चरमस्तरमा थियो ।
केजिंग हाउसेस भनिने कुखुराको खोरजस्ता त्यहाँका घरहरुमा विभिन्न अपराधिक कार्य गर्ने मानिसहरुले शरण लिन्थे । भुलभुलैया जस्ता गल्ली र त्यसमा बनेका खोल्साखाल्सीका कारण पुलिसले पनि त्यहाँ भेउ पाउँदैनथ्यो ।
जाइल्समा त्यसदिन अझै साँझ परेको थिएन र मानिसहरु आफ्नो दैनिकीमा लागिरहेका थिए ।
रक्सीको बाढी
ढल निकासको जर्जर व्यवस्था आमरुपमा अस्वस्थता तथा विभिन्न रोगव्याधीको संक्रमणको कारक बन्दछ । जब त्यहाँ रक्सीको बाढी आयो तब घरहरुसँगै मानिसहरु पनि डुबे ।
त्यसपछि त्यहाँ उद्धारको काम तीव्र रुपमा सुरु भयो । मानिसहरु बियरको बाढीमा कम्मर सम्म डुब्दै पुरिएका मानिसहरुको खोजी गरिरहेका थिए ।
विध्वंसको डरलाग्दो असर प्रष्ट देखिन्थ्यो र घाइते तथा समस्याग्रस्त मानिसहरु सडकमा आएर रोइरहेका थिए । वस्तीको भग्नावशेषमा फसेका मानिसहरुको चिच्याहट सुनेपछि उनीहरु भग्नावशेष हटाउँदै जिवित मानिसहरुलाई बाहिर निकाल्न पुग्थे ।
यो दुर्घटनाको क्षतिका बारेमा सन् १८१४ अक्टोबर १९ मा भएको कोरोनर छानबिनका साक्षीहरुको बयानबाट पनि थाहा हुन्छ ।
सुरुमा मृतकको संख्या निकै धेरै हुनसक्ने आशंका गरिएको थियो, किनकि सेनट जाइल्समा लगभग हरेक ठाउँमा मानिस बसेका थिए । तर जब बाढी रोकियो तब केवल ८ जनाको मात्रै मृत्यु भएको पत्ता लाग्यो । ज्यान गुमाउनेमा अधिकांश महिला र बच्चा थिए ।
दुर्घटना स्थल
सो दुर्घटनामा धेरै मानिस घाइते भए, जसमा ब्रुअरीकै ३१ क्रमचारी पनि थिए । तर ब्रुअरीका कसैले पनि ज्यान गुमाउनु परेन ।
घटनाको छानबिनका क्रममा दर्शकको एक ठूलो भीड बाढीको दृश्य हेर्न पुग्यो । पत्रकार क्लिनका अनुसार ब्रुअरीका कर्मचारीहरुले कारखानाको दुर्घटनास्थल हेर्न दिनका लागि मानिसहरुसँग पैसा असुली गर्न पनि सुरु गरे ।
अर्को रोचक कुरा त के भने उक्त बाढीमा ज्यान गुमाउनेका परिवारले समेत आफ्नो मृतक सदस्यको लास हेर्न आउनेसँग पनि शुल्क लिएका थिए । कारखानामा लास राखिएको कोठामा लास हेर्नका लागि यतिधेरै बाहिरी मानिसहरु पुगे कि त्यो कोठाको तला नै भत्कियो र मानिसहरु बियर भरेर राखिएको तल्लो तलामा खसे ।
वास्तवमा १९औं शताब्दीमा मानिसका शवहरु पनि निश्चित रुपमा पर्यटकको आकर्षणको केन्द्र बन्दथे ।
दुर्भाग्य र परिस्थितिवस दुर्घटना
छानबिनका क्रममा उक्त बाढीको भयानकता निकै उच्च रहेको र एउटा ट्यांकी फुट्दा पोखिएको बियरले अन्य ट्यांकी पनि फुटाउँदा ठूलो बाढी आएको पत्ता लाग्यो ।
साथै छानबिनले उक्त दुर्घटनामा ब्रुअरीको कुनै गल्ती नरहेको र परिस्थिति तथा दुर्भाग्यका कारण सो दुर्घटना र जनधनको क्षति भएको निष्कर्ष निकाल्यो ।
साथै दुर्घटनामा मृत्यु भएकाका परिवार तथा घर सम्पत्ति गुमाएका हरुले पनि क्षतिपूर्ति पाएनन् । त्यसक्रममा ब्रुअरीलाई २३ हजार पाउण्ड बराबरको क्षति पुगेको अनुमान गरिएको थियो । त्यसलाई टाट पल्टिनबाट बचाउनका लागि सरकारले पहिले लिइएको अन्तशुल्क फिर्ता गर्दै कम्पनीलाई ७ हजार २५० पाउण्ड प्रदान गर्यो, जुन आज करिब ४ लाख पाउण्ड बराबर हो ।
उता पीडित मानिसहरुलाई सरकारबाट कुनै सहयोग नमिलेको भएपनि लण्डनका अन्य क्षेत्रबाट आएका मानिसहरु, जसमध्ये अधिकांश गरीब थिए, ले विभिन्न सहयोग प्रदान गरे र कम्तिमा मृतकहरुको सम्मानजनक रुपमा अन्तिम संस्कार गर्न मद्धत गरे ।
आइरिस शरणार्थी
बेन जोन्सनको शोध अनुसार उक्त बाढीपछि कैयन् दिनसम्म स्थानीय मानिसहरु गल्लीमा बगिरहेको बियर पिउँदै त्यसकै नशामा लठि्ठएको हल्ला चलेको थियो ।
कतिपयले त यतिधेरै रक्सी पिए कि उनीहरुको मृत्यु नै भयो । तर बियरको सो बाढीपछि बस्तीका धेरै मानिसले सडकमा बगेको रक्सी पिएर धेरै दिनसम्म लठ्ठ परेको भन्ने दाबीमा मार्टिन कर्नल सहमत छैनन् ।
उनका अनुसार समकालीन अखबारहरुमा यस्तो खालका कुनै दाबीका समाचारहरु छैनन् ।
उनी भन्छन्, ‘प्रभावित इलाकाहरुमा आइरिस शरणार्थीहरु ठूलो संख्यामा बस्दथे । उनीहरुलाई लण्डनबासीले मन पराउँदैनथे । यदि त्यस्तो ढंगले रक्सी पिएका हुँदा हुन् त त्यहाँका अखबारले उनीहरुको खिल्ली उडान बाँकी राख्थे होलान् र ?
महँगो व्यवसायिक इलाका
अन्ततः १९औं शताब्दीमा सेन्ट जाइल्स र अन्य कच्च भवनयुक्त बस्तीहरुलाई भत्काएर न्यू अक्सफोर्ड स्ट्रिट बनाइयो । यो आज लण्डनको निकै महँगो व्यवसायिक क्षेत्र बनेको छ । त्यहाँ कुनै ब्रुअरी होइन डोमिनियन थिएटर छन् ।
साथै एउटा अर्को परिवर्तन पनि आएको छ ।
अमेरिकी लेखक टम क्लेभिनका अनुसार लण्डन बियर फ्लड भनिने उक्त मदिरा बाढी दुर्घटनापछि मदिरा उत्पादन कारखानामा काठले बनेका भिमकाय ट्यांकीमा मदिरा राख्ने प्रचलन हट्यो । त्यसपछि काठका ट्यांकीको साटो कंक्रिटका ट्यांकीमा मदिरा भण्डारण गर्न थालियो । त्यसैले सायद पछिल्लो दुईसय वर्षमा यस्तो कुनै दुर्घटना दोहोरिएको छैन ।
बीबीसीबाट
प्रतिक्रिया 4