+
+

अभियन्ताले नै डुबाए विशिष्टीकृत सहकारी

सहकारी सञ्चालकले ९० टन प्याज बाढीले बगाएको दाबी गरे पनि प्याज खरिद गरेको बिल देखाउन नसक्दा विराट कृषि उत्पादन तथा बजारीकरण विशिष्टीकृत सहकारी संघ डुबेको हो ।

हरि अधिकारी हरि अधिकारी
२०८० फागुन १७ गते १४:३४

१७ फागुन, विराटनगर । मोरङका सहकारी अभियन्ताको सक्रियतामा स्थापित विराट कृषि उत्पादन तथा बजारीकरण विशिष्टीकृत सहकारी संघ डुबेको छ ।

कोशी प्रदेशका ३६ सहकारी संस्थाले १ करोड २३ लाख रुपैयाँ सेयर लगानी गरेर स्थापना गरेको विशिष्टीकृत सहकारी डुबेको हो  ।

तीन वर्षदेखि साधारणसभा नभएको सहकारीको खातामा जम्मा १९ लाख ९० हजारमात्र छ । १ करोड ३ लाख ८ सय ४४ रुपैयाँ जोखिममा छ ।

संघीय सरकारले विराटनगरसँग जोडिएको सिंघिया खोला किनार (कटहरी–१) करिब १५ करोड लागतमा निर्माण गरी प्रदेश सरकारलाई हस्तान्त्रण गरेको आधुनिक तरकारी तथा फलफूल बजार सञ्चालनका लागि प्रदेश सरकारले विशिष्टीकृत सहकारी संघलाई जिम्मा दिएको थियो ।

२०७७ असार ९ मा स्थापना भएको सहकारीले एक वर्ष कृषि उपज खरिद गरेर केन्द्रमार्फत कारोबार गर्‍यो । २०७८ कात्तिक ३ र ४ मा आएको बाढीपछि कारोबार बन्द भयो । कारोबार बन्द गर्दा सञ्चालकले गरेको दाबी शंकास्पद छ ।

विराटनगरको गुद्री बजार स्थानान्तरण गर्न भन्दै निर्माण गरिएको आधुनिक संरचनामा व्यापारी नगएपछि प्रदेश सरकारले बजार सञ्चालन गर्न सहकारी संघलाई जिम्मेवारी दिएको थियो ।

तर, संघले सञ्चालन गर्न नसकेपछि करिब १५ करोड लागतमा निर्माण भएको संरचनामा अहिले कटहरी गाउँपालिकाले साप्ताहिक हाट बजार लगाइरहेको छ ।

९० टन प्याज डुबेको शंकास्पद दाबी

राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष रमेश पोखरेल र उनका भाइ डिल्ली पोखरेल लगायतको सक्रियतामा ३६ सहकारी सदस्य रहने गरी तरकारी बजार सञ्चालन गर्न विशिष्टीकृत सहकारी संघ गठन भएको थियो । सहकारी संघको सञ्चालक सबै सहकारी अभियन्ता छन् ।

२०७७ असार ९ मा स्थापना भएको सहकारीले प्रदेशका कृषकले उत्पादन गरेका कृषि उपज कटहरीमा निर्माण भएको संरचना प्रयोग गरेर बिक्री गर्ने उद्देश्य राखेको थियो ।

सहकारी अध्यक्ष देवेन्द्र पौडेल र सचिव राकेश दाहाल छन् । स्थापनाको एक वर्ष सञ्चालन भएको सहकारी पछिल्लो समय लथालिङ्ग छ । सहकारी संघको साधारणसभा भएको छैन, नियमित बैठक पनि बस्न सकेको छैन ।

२०७८ कात्तिकको बेमौसमी वर्षापछि आएको बाढीलाई कारण देखाएर संघले बजार बन्द गरेको थियो ।  बजार बन्द गर्दा ९० टन  प्याज डुबेर बिग्रिएको दाबी संघ अध्यक्ष र सचिवको छ । तर, दाबी नै शंकास्पद छ, किनकि ९० टन प्याज खरिदको कागजात देखिँदैन ।

अध्यक्ष पौडेलका अनुसार बाढीले प्याज डुबेका कारण ५५ लाख क्षति भएको थियो । सहकारी सञ्चालक सदस्यले प्याज खरिद गरेको र डुबेको भन्ने सुइँकोसम्म पाएका थिएनन्, एक्कासि बढीको ४१ दिनपछि १५ मंसिरमा बसेको सञ्चालक समिति बैठकमा अध्यक्षले ९० टन प्याज डुबेर बिग्रिएको प्रतिवेदन प्रस्तुत गरेपछि सदस्यहरू झस्किएका थिए ।

अध्यक्षको दाबी शंकास्पद भएपछि सोही बैठकले टिकादत्त पन्तको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति बनाएको थियो । समितिले तयार गरेको प्रतिवेदनमा पनि ९० टन प्याज डुबेको आधार नभेटिएको उल्लेख छ । अध्यक्ष र सचिवले समितिलाई प्याज खरिदको बिल भौचर पनि पेस गर्न सकेनन् ।

‘भण्डारण गरिराखेको ९० टन प्याज पूरै क्षति भएको भन्ने बेहोरा खुलाइ सञ्चालक समितिको २०७८ मंसिर १५ मा बसेको बैठकमा अध्यक्षज्यूले प्रतिवेदन दिनुभएको पाइयो,’ सुपरीवेक्षण समितिको प्रतिवेदनमा छ, ‘आर्थिक रूपमा ठूलो क्षति हुँदै गरेको अवस्थामा संघका अख्तियारी प्राप्त गरेका जिम्मेवार पदाधिकारीहरूले सञ्चालक सदस्य लगायत निकायलाई तत्कालै जानकारी नगराउनुले क्षति भएको भनिएको परिमाणमा प्याज भण्डारण गरिएको थियो भन्ने कुरामा सहमत हुन सकिएन ।’

९० टन प्याज डुबेको भन्दै प्रहरीले बनाएको मुचुल्का पनि शंकास्पद छ । ‘सहकारीले बजारका लागि ९० टन प्याज खरिद गरेको थिएन, तर बाढीमा बग्यो र डुब्यो भनेर सहकारीको पैसा हिनामिना गर्न खोजिँदैछ,’ सहकारी संघका एक सदस्य भन्छन्, ‘कृषि बजार सञ्चालनका लागि खोलेको सहकारीको पैसा व्यक्तिगत काममा प्रयोग गरेका छन्, प्रहरीको मिलेमतोमा झुटो कागजात बनाएका छन् ।’

ती सदस्यको दाबीलाई बल पुग्ने गरी बाढीको दुई महिनापछि प्रहरीले घटनाको मुचुल्का गरी कागज दिएको देखिन्छ ।

‘९० टन प्याज डुब्यो भने भोलिपल्ट बाढी घट्यो, त्यति बेला नै किन मुचुल्का गरिएन ?,’ ती सदस्यले भने, ‘मुचुल्का पनि सुटुक्क गरे, कसैलाई जानकारी नै दिएनन् ।’

बाढीबाट भएको क्षति यकिन गर्न ६७ दिनपछि वडा प्रहरी कार्यालय हाटखोलामा निवेदन दिएको देखिन्छ । सोही निवेदनका आधारमा प्रहरीले पनि प्याज डुबेर बिग्रिएको मुचुल्का गरिदिएको थियो ।

प्रहरीले सर्जमिन मुचुल्का गर्दा सञ्चालक समितिका सदस्यलाई जानकारी नै दिइएन । ‘जिम्मेवार पक्षले घटना भएकै समयभित्र सम्बन्धित निकायमा निवेदन दिई क्षतिको सर्वपक्षीय सर्जमिन र स्थलगत अनुगमन अवलोकन नगराई बाढी आएको दिनबाट ६७ दिनपछि वडा प्रहरी कार्यालयमा निवेदन दिई क्षति भएको भनिएको प्याजको अवशेष समेत नभएको अवस्थामा हचुवा भरमा सर्जमिन मुचुल्का तयार गराएको देखिन्छ,’ सुपरीवेक्षण समिति प्रतिवेदनमा छ, ‘करिब ९० टन प्याज भण्डारण गरिएको र बाढी आएकै कारण क्षति भएको भन्ने बेहोरालाई लेखा सुपरीवेक्षण समितिले स्वीकार गर्न सकिने अवस्था देखिएन ।’

सहकारी संघ अध्यक्ष पौडेलले आफूखुसी ४ लाख रुपैयाँ लगेको, सहकारी संघ र को–मार्टबीच भएको भाडा सम्झौता अनुसार भाडा नउठाइ को–मार्टलाई ५ लाख ६८ हजार रुपैयाँ दिएको, बजारबाट उठाउन बाँकी बक्यौता भनेर दाबी गरेको ३८ लाख ८५ हजार रुपैयाँ पनि शंकास्पद देखिएको समितिको प्रतिवेदनमा छ ।

तीन दिन विद्युत आपूर्ति बन्द हुँदाको अवस्थामा भण्डारणमा रहेको सबै प्याज क्षति भएको अध्यक्षको दाबी छ । स्टोर गरेर राखेको प्याज एकैपटक बिग्रिएपछि सहकारी समस्यामा परेको उनले बताए । उनले समितिले तयार गरेको प्रतिवेदन नै प्रतिशोधपूर्ण जस्तो देखिएको दाबी गरे ।

बाढीका कारण भएको क्षतिको पूर्ति प्रदेश सरकारले दिने भने पनि नदिएको बताउँदै उनले सहकारीलाई नयाँ ढंगले सञ्चालन गर्ने तयारी भइरहेको बताए । सहकारी संघको साधारणसभा नगरेको विषयमा उनले व्यस्तताका कारण गर्न नसकिएको बताए ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?