
१ चैत, काठमाडौं । सेयर बजारमा सबैभन्दा शक्तिशाली रहेको वाणिज्य बैंकहरूको समूह पछिल्लो समय कमजोर बन्दै गएको छ । हाइड्रोपावर तथा अन्य समूहको शक्ति बढ्दै जाँदा बैंकिङ समूह कमजोर बन्दै गएको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार गत वर्ष माघ मसान्तसम्म बजारको कुल पूँजीकरणमा बैंकिङ समूहको हिस्सा ३४.६ प्रतिशत रहेकोमा यो माघ मसान्तसम्म आउँदा २६.५ प्रतिशतमा झरेको छ ।
वाणिज्य बैंकहरूको कुल सूचीकृत सेयर मूल्य नै यो समूहको पूँजीकरण हो । वाणिज्य बैंकहरूको सेयर मूल्य घट्दा पूँजीकरण घटेको हो । गत वर्ष माघ मसान्तमा बजारको कुल पूँजीकरण (सबै समूहका सेयरको मूल्य) ३० खर्ब ६१ अर्ब रुपैयाँ थियो ।
त्यसमध्ये बैंकिङ समूहको पूँजीकरण रकम १० खर्ब ६३ अर्ब थियो । तर, यो माघ मसान्तसम्म कुल पूँजीकरण ३३ खर्ब ३० अर्ब पुगेको छ । यसमा वाणिज्य बैंकहरूको कुल पूँजीकरण ८ खर्ब ७६ अर्ब २५ करोडमा झरेको छ । कुल पूँजीकरण रकम बढ्दा पनि बैंकिङ समूहको पूँजीकरण घटेको छ ।
वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, माइक्रोफाइनान्स तथा बीमा कम्पनीहरूको कुल पूँजीकरण हिस्सा ५७.३ प्रतिशत छ । गत वर्षसम्म यो हिस्सा ६५.८ प्रतिशत थियो । नयाँ बीमा कम्पनी थपिँदा बीमा समूहको पूँजीकरण हिस्सा केही बढेको छ ।
गत माघमा यो समूहको पूँजीकरण हिस्सा १४.९ प्रतिशत रहेकोमा यो वर्ष माघ मसान्तसम्म १६ प्रतिशत पुगेको छ । हाइड्रोपावर समूहको पूँजीकरण पनि बढेको छ ।
कुल पूँजीकरणमा यो समूहको हिस्सा गत वर्ष माघ मसान्तसम्म १०.८ प्रतिशत रहेकोमा यो माघ मसान्तमा १५.९ प्रतिशत पुगेको छ । नयाँ हाइड्रोपावर कम्पनी थपिने, हकप्रद र बोनस सेयर थपिने तथा अन्य क्षेत्रका तुलनामा यस क्षेत्रका कम्पनीको मूल्य पनि धेरै नघटेकाले हाइड्रोपावरको पूँजीकरण हिस्सा उल्लेख्य बढेको छ ।
किन घट्यो बैंकिङ समूहको शक्ति ?
मुख्यतः बैंकहरूको सेयर मूल्य घट्दा यसको शक्ति घटेको हो । गत वर्ष माघ अन्तिममा बैंकिङ समूहको सूचक १३७८ अंकमा थियो भने यो वर्षको माघ मसान्त आइपुग्दा ११३५ अंकमा झर्यो ।
‘गएको एक वर्षलाई हेर्दा अरूको तुलनामा बैंकिङ समूहको सूचक नै सबैभन्दा धेरै १७ प्रतिशतले घटेको देखिन्छ । मुख्यतः यही कारण यो समूहको पूँजीकरण घटेको हो,’ नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले भने, ‘बीमा तथा हाइड्रोपावर क्षेत्रमा कम्पनीहरू थपिए, यसले गर्दा ती क्षेत्रको पूँजीकरण थप बढ्यो, तर सूचीकृत बैंकहरूको संख्या बढ्दैन ।’
कुल पूँजीकरणमा बीमा समूहको हिस्सा एक वर्षमा १३.४ बाट बढेर १६ प्रतिशत पुगेको छ । त्यस्तै हाइड्रोपावर समूहको पूँजीकरण हिस्सा १२.९ बाट बढेर १५.९ प्रतिशत पुगेको छ ।
बीमा र हाइड्रोपावर समूहका कम्पनी पनि थपिने र यी समूहका कम्पनीको मूल्य पनि त्यति धेरै नघटेपछि पूँजीकरण बढ्नु स्वाभाविक रहेको उनको भनाइ छ ।
२०७९ माघ मसान्तसम्म सूचीकृत हाइड्रोपावर कम्पनी संख्या ६३ रहेकोमा गत माघ मसान्तसम्म भने ९१ पुगेको छ । एक वर्ष अवधिमा हाइड्रोपावर समूहका कम्पनी नै २८ थपिएको छ, जसले हाइड्रोपावर समूहको शक्ति बढेको छ ।
कम्पनीको हकप्रद र बोनस सेयर थपिँदा सेयर संख्या बढे पनि मूल्य सोही अनुसार समायोजन गरिने भएकाले हकप्रद वा बोनसका कारण पूँजीकरणमा असर पर्दैन ।
बैंकिङ, बिमा र हाइड्रोपावर समूहको वृद्धिले नेप्सेलाई कति असर पार्छ ?
बजारमा शक्तिशाली समूहमा क्रमशः बैंकिङ, बीमा र हाइड्रोपावर पर्दछन् । माघ मसान्तसम्म बजारको कुल पूँजीकरण ३३ खर्ब २ अर्ब रुपैयाँ बराबर छ, जसमा बैंकिङ समूहको ८ अर्ब ७६ करोड २५ लाख छ ।
अरू सबै समूह स्थिर रहेर बैंकिङ समूह ५ प्रतिशत बढ्दा पनि यसको पूँजीकरण ९ खर्ब २० अर्ब ६ करोड हुन आउँछ भने कुल पूँजीकरण रकम ३३ खर्ब ४५ अर्ब ८१ करोड २५ लाख हुन आउँछ । अर्थात्, कुल पूँजीकरण रकम १.३२ प्रतिशत बढ्छ ।
त्यसकारण अरू सबै समूह स्थिर रहँदा बैंकिङ समूह ५ प्रतिशत बढेमा नेप्से पनि १.३२ प्रतिशत अर्थात् (नेप्सेको अंक २ हजार हुँदा) करिब २६ अंक बढ्छ । तर, अरू समूह ५ प्रतिशत बढ्दा नेप्से यति धेरै अंकमा बढ्न सक्दैन । जसले गर्दा यो समूह बजारमा सबैभन्दा शक्तिशाली समूह भनिएको हो ।
त्यस्तै माघ मसान्तसम्म हाइड्रोपावर समूहको कुल पूँजीकरण रकम ५ खर्ब २५ अर्ब ६२ करोड छ । यो समूह ५ प्रतिशत बढ्दा यो समूहको कुल पूँजीकरण रकम ५ खर्ब ५१ अर्ब ९० करोड हुन आउँछ भने बजारको कुल पूँजीकरण ३३ खर्ब २८ अर्ब २८ करोड हुन आउँछ । अर्थात्, कुल पूँजीकरण रकम र नेप्से ०.७९५ प्रतिशत बढ्छ ।
अरू समूह स्थिर रहेर हाइड्रोपावर समूह ५ प्रतिशत बढ्दा समग्र बजार परिसूचक नेप्से (नेप्सेको अंक २ हजार हुँदा) १५.८ अंक बढ्छ ।
माघ मसान्तसम्म बीमा समूहको कुल पूँजीकरण ५ खर्ब २६ अर्ब ८९ करोड रुपैयाँ छ । यो समूह ५ प्रतिशत बढ्दा समूहको पूँजीकरण रकम ५ खर्ब ५३ अर्ब २३ करोड हुन आउँछ भने समग्र कुल पूँजीकरण रकम ३३ खर्ब २८ अर्ब ३४ करोड हुन आउँछ । कुल पूँजीकरण र नेप्से ०.७९७ प्रतिशत नै बढ्छ । अरू समूह स्थिर रहेर बीमा समूह ५ प्रतिशत बढ्दा नेप्से करिब १६ अंक बढ्छ ।
प्रतिक्रिया 4