
काठमाडौं । कुमार नगरकोटीको ग्राफिक उपन्यास ‘जे थर्टी-थ्री’लाई नाटकीय प्रस्तुतिमा रुपान्तरण गर्दै मञ्चन गरिएको छ । शिल्पी थिएटरले उक्त उपन्यासको अंशमा आधारित सांगीतिक नाटक प्रस्तुत गरेको हो ।
उपन्यासका पात्रले नाटकमा आफूलाई प्रस्तुत गरे । डा.वाग्ले र जङ्गबहादुर राणाका अङ्गरक्षक लगायत पात्रसँग दर्शकलाई परिचय गराइयो । नाटक हेरिरहँदा दर्शकले आफू भिन्न संसारमा पुगेको महसुस गरे ।
जुन संसारमा अझैपनि जंगबहादुर राणा काठमाडौंमुनिको काल्पनिक सहर ‘वर्ल्ड हेरिटेज प्लाजा’मा ब्यस्त छन् । हरेक वर्ष जङ्गबहादुरका अङ्गरक्षक नयाँ ग्रेगोरियन क्यालेन्डर किन्न काठमाडौं आउँछन् । सोही सन्दर्भमा डा.वाग्लेले उपन्यासका कथा दर्शकलाई सुनाउँछन् ।
मंचन सकिएपछि लेखक नगरकोटीले उपन्यास निर्माणमा लामो समय लागेको बताए । ‘नेपाली साहित्यमा ग्राफिक नोभलको पनि परिचय दिनुपर्छ भन्ने मलाई सधैं लाग्थ्यो । त्यसैले ‘जे थर्टी-थ्री’ लेख्न थालें,’ उनले भने ।
आफूले प्रायः लेख्ने ‘स्वैरकाल्पनिक फेन्टासी’ विधालाई यसमा निरन्तरता दिएको उनले बताए । आफ्नो नयाँ प्रोजेक्टका रूपमा नेपाली फिल्म लेखिरहेको उनले बताए । उनले लेखेको फिल्मलाई नीर शाहले निर्माण गर्ने जनाइएको छ ।
प्रतिक्रिया 4