+
+

हिमालयन हाइड्रो एक्स्पोमा ग्रिन हाइड्रोजन कार प्रदर्शन गरिँदै

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २९ गते १९:२५

२९ चैत, काठमाडौं । ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ मा काठमाडौं विश्वविद्यालयले तयार पारेको ग्रिन हाइड्रोजन र यसबाट चल्ने कार प्रदर्शनीमा राखिने भएको छ ।

त्यसैगरी विद्युतीय ट्याक्टर समेत एक्स्पोमा राखिने स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जनाएको छ । एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ ।

इप्पान र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेस प्रालिको संयुक्त आयोजनामा आगामी वैशाख १२, १३ र १४ (अप्रिल २४, २५ र २६) मा हुने एक्स्पोकोे तयारी दुई साताअघि नै अन्तिम चरणमा पुगेको इप्पानले जनाएको छ ।

‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित आयोजना गर्न लागिएको एक्स्पो उद्‍घाटन राष्ट्रपति रामचन्द्र पौडेलबाट गर्ने तयारी छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र लगानी बोर्ड नेपालको संरक्षकत्वमा आयोजना हुने एक्स्पोको कन्ट्री पार्टनरमा भारतीय राजदूतावास छ ।

सरकारले भारतमा १० वर्षमा १० हजार मेगावाट विद्युत दीर्घकालीन रूपमा निर्यात गर्ने सम्झौता गरिसकेको, सन् २०३५ भित्र २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने मार्गचित्र निर्माण भइसकेको तथा तेस्रो लगानी सम्मेलनको पूर्वसन्ध्यामा आयोजना हुने यो एक्स्पो ऊर्जा क्षेत्रको समग्र विकासका लागि महत्वपूर्ण हुने इप्पानले जनाएको छ ।

ऊर्जा देशको आर्थिक समृद्धि र उज्यालो नेपालसँग जोडिएकाले यसलाई मूर्तरूप दिने गरी निजी क्षेत्रबाट यो भव्य एक्स्पो आयोजना गरिएको हो ।

नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपत वृद्धि गर्न तथा निर्यात बजारीकरणको ठूलो सम्भावनाबारे ज्ञान र सूचना आदान प्रदान गर्न एक्स्पो उचित गन्तव्य हुने इप्पानको अपेक्षा छ ।

एक्स्पोमा ऊर्जा विकाससँग सरोकार राख्ने सरकारी तथा गैरसरकारी निकाय, विश्वविद्यालय/कलेज, स्वदेशी तथा विदेशी लगानीकर्ता कम्पनी, दातृ निकाय, कूटनीतिज्ञ नियोग लगायतलाई एकै थलोमा उपस्थित गराएर ऊर्जा समृद्धिका विभिन्न आयामबारे नीतिगत बहसका साथै नयाँ–नयाँ प्रविधि र उपकरण प्रर्दशनी गर्न झन्डै एक दर्जनभन्दा बढी देशको सहभागीता निश्चित भएको इप्पानले जनाएको छ ।

एक्स्पोमा दिगो, समावेशी, हरित, पहुँचयोग्य र प्रतिफलयुक्त ऊर्जा विकासका विविध आयामसँगै ऊर्जासँग सम्बन्धित स्वदेशी र विदेशी लगानी, पूँजी संकलन र व्यवस्थापन, जनताको सहभागिता, आन्तरिक खपत र विद्युत् व्यापार, समृद्धि र सामाजिक विकास, नीति र राजनीतिको प्राथमिकता लगायत विषयमा सात प्राविधिक सत्र तथा अन्तरक्रिया आयोजना गरिने छ ।

हाइड्रोपावर विकास र विस्तारमा सहयोग पुग्ने गरी हाइड्रोपावर सम्बन्धी वस्तु तथा सेवाको नयाँ अवधारणाबारे विद्यार्थी एवं व्यक्तिगत तहबाट आविष्कार गरेका वस्तु तथा सेवाको प्रतिस्पर्धा र युवा पुस्तालाई हाइड्रो सम्बन्धी कार्यमा अभिरुचि बढाउन समृद्धिका लागि हरित ऊर्जा विषयगत दुई मिनेटको भिडियो उत्पादन गर्ने प्रतिस्पर्धा एक्स्पोको आकर्षण बन्नेछन् । यी दुवै विधाको प्रतिस्पर्धाका विजेतालाई आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?