 
																			६ वैशाख, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को बहुमत सांसदहरुले कैलाश चौधरी संसदीय दलको नेता नभएको भन्दै प्रदेश प्रमुखलाई पत्र बुझाएका छन् ।
एकीकृत समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्री नियुक्तिका लागि पेश भएको दाबीमा नाउपा संसदीय दलको नेताका रुपमा कैलाशले हस्ताक्षर गरेका थिए । नेकपा एमाले, माओवादी केन्द्रको समेत समर्थनमा दाबी पेश गरेका सोडारीलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री नियुक्त गरिसकेका छन् ।
तर नउपाका बहुमत सांसदले भने कैलाशले गरेको समर्थन गैरसंवैधानिक भएको बताएका छन् ।
सुदूरपश्चिम प्रदेशमा नाउपाका ७ सांसद छन्, जसमध्ये ५ सांसदले प्रदेश प्रमुख मियाँलाई बुझाएको पत्रमा संसदीय दलको नेता घनश्याम चौधरी नै भएको बताएका छन् । चौधरीसहित खुसीराम चौधरी, रामेश्वर चौधरी, इन्दिरा गिरि र लक्ष्मणकिशोर चौधरीले बुझाएको पत्रमा भनिएको छ, ‘नागरिक उन्मुक्ति पार्टीको दलको नेता भन्दै माननीय प्रदेश प्रमुखलगायत अन्य निकायमा कहीं, कतै, कसैबाट पत्राचार गरिएमा त्यो अमान्यमात्रै होइन, किर्ते हो ।’
उनीहरुले एकीकृत समाजवादीका सोडारीलाई मुख्यमन्त्रीमा समर्थन नरहेको समेत बताएका छन् ।
केन्द्रमा गठबन्धन फेरिएसँगै नाउपाको सुदूरपश्चिममा विवाद छ । बहुमत सांसद पार्टी संरक्षक रेशम चौधरी पक्षका छन् र कांग्रेस सरकारलाई साथ दिएका थिए ।
तर अध्यक्ष रञ्जिता श्रेष्ठले सरकारबाट फिर्ता आउन दिएको निर्देशन कार्यान्वयन नगरेको भन्दै कारबाही गरिन् । उनले समानुपातिक सांसद इन्दिरा गिरिलाई पदमुक्त गरेको पत्र पठाएकी थिइन्, जसलाई सभामुखले सदर पनि गरेका थिए । तर सर्वोच्च अदालतले उनलाई पदमुक्त नगर्न आदेश दिएको छ ।
रञ्जिताले संसदीय दलका नेता घनश्यामलाई ३ महिनाका लागि निलम्बन गर्ने पत्र पनि पठाएकी थिइन् । दल नेताबारे अलमल रहेकै बेला नाउपाका कैलाश चौधरीले एमाले र माओवादीको समर्थनमा, अनि लक्ष्मणकिशोरले कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्रीमा दाबी समेत पेश गरेका थिए ।
एकीकृत समाजवादी र कांग्रेससँग सहकार्यले केन्द्रको सत्ता गठबन्धनमा खैलाबैला सुरु भयो । अनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिमको मुख्यमन्त्री नाउपाको साटो एकीकृत समाजवादीलाई दिने सहमति गरे ।
लगतै एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारीले प्रदेश प्रमुख कहाँ पुगेर लक्ष्मणकिशोरलाई दिएको समर्थन फिर्ता लिए । बिहीबार एमाले, माओवादी र नउपाको रञ्जिता पक्षको समर्थनमा सोडारी मुख्यमन्त्री बनेका छन् ।
तर रेशम पक्षका सांसदहरु उनको विपक्षमा उभिएका छन् । रञ्जिता पक्षका दुई प्रदेशसभा सदस्य कैलाश चौधरी र टीका थापाको भने उनलाई समर्थन छ ।

 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4