नयाँ वर्षको पहिलो दिन जुन रूपमा बितायो, सिङ्गो वर्ष त्यसरी नै बित्छ भन्ने कुराले आजसम्म पनि मनमा जरो गाडेर बसेको छ । नयाँ वर्ष, नयाँ थालनी गर्नका लागि नयाँ सपनाको जग हाल्ने दिन पनि ।
१ वैशाखको दिन हुलाकी राजमार्ग हुँदै यस क्षेत्रका जनताका कुरा सुन्न, समस्या बुझ्न समुदायमा कांग्रेस अभियानका निम्ति हामी नेपाली कांग्रेसका महामन्त्री गगन थापाका साथ बाँकेदेखि कञ्चनपुरसम्मको यात्रामा निस्कियौं ।
काठमाडौंको भुइँ छोडेर आकाशमार्ग हुँदै बाँकेको माटोमा पाइला राख्दासम्म हाम्रो यात्रा अलिअलि चिसोबाट उखुमै गर्मीमय बनिसकेको थियो । बाँकेको डुडुवा पुग्दा मध्यान्हको एक बजिसकेको थियो । खाना खाएर महामन्त्री गगन थापासँगै हामी पहिलो कार्यक्रममा पुग्यौं ।
यो दिन पनि आफ्ना सबैथोक थाती राख्दै गर्मीलाई चुनौती दिँदै बाँके डुडुवाका मानिसहरू आँखा बिछ्याएर एकैठाउँमा भेला भएर बसेका थिए । नेताको कुरा सुन्न होइन, नेतालाई आफ्ना कुरा सुनाउन । यहाँ नेपाली कांग्रेसका कार्यकर्ता मात्रै थिएनन्, स्थानीय बासिन्दा र जनप्रतिनिधि समेत थिए ।
कार्यक्रम सुरु भयो । हप्प पार्ने गर्मीमा पसिना पुछ्न काँधमा पातलो गम्छा राखेका करिब सत्तरी वर्ष नाघेका बाले हात उठाएर आफ्नो कुरा राख्नका निम्ति माइक समात्नुभयो र भन्नुभयो, ‘पार्टीहरूभित्रको जिमिनदारी पुस्ता हट्नुपर्छ अब । कहाँ हामी भर्खरका युवाहरूसँग हिंड्न सक्छौं ? हाम्रो उमेर अब युवाहरूसँग हिंड्न सक्ने छैन । अब नेतृत्व युवाहरूलाई सुम्पनुपर्छ ।’
अन्य कार्यक्रममा पुरुष अनुहारको भीडमा महिला अनुहारहरू हराउने गर्थे । डुडुवामा भने महिलाहरूको उल्लेख्य उपस्थिति थियो । महिलाबाट प्रतिनिधित्व गर्दै एकजना अधबैंसे उमेरकी आमाले माइक समात्नुभयो र प्रसूतिका समयमा महिलाले अस्पतालमा भाषा, प्रक्रिया मिलाउँदा मिलाउँदै आमा र बच्चाको मृत्यु हुने र विविध कारणले गर्दा भोग्ने गरेको अभद्र व्यवहारका विषयमा कुरा राख्नुभयो ।
युवाहरूले विकासका कुरा, युवा नेतृत्वका कुरा गरे । यहाँभित्रको मगन्ता समुदायले पहिचानको मुद्दा उठायो । बाँकेमा धेरै कृषिका कुरा उठे । मलखाद भारतबाट ल्याउनुपर्ने बाध्यता र मलखाद ल्याउँदा सीमामा भारतीय प्रहरीद्वारा भोग्ने गरेको यातनाको बेलिबिस्तार लगाए । नहर, कालोपत्रे सडक, सुकुम्बासी समस्या, फलफूल र तरकारीले बजार नपाएको कुरा अधिकांश किसानले सुनाए ।
बढ्दो चोरी, असुरक्षा, बर्खामा राप्ती र डुडुवाको ज्यादती, डुवान, तटबन्धन, विद्यालय शिक्षा सुधार, २४ सै घण्टा सबै रोगको उपचार हुने अस्पताल, खेलकुद लगायत विषयमा कुरा उठे ।
यहाँका मानिसहरूलाई त्रिभुवन विमानस्थलबाट भन्दा पनि रोजगारीका निम्ति नाकाबाट युवा बाहिरिएकोमा बढी चिन्ता छ ।
नेपालगञ्जको त्रिभुवन चोकमा कार्यक्रम चलिरहेको थियो । कार्यक्रमस्थलको बीचतिर केही किशोर भाइबहिनीहरू ध्यान दिएर कुरा सुनिरहेका रहेछन् । यति सानो उमेरका मान्छेहरूको राजनीतिप्रतिको चासो देखेर अनौठो लाग्यो । म उनीहरूको नजिकैको खाली कुर्सीमा गएर बसें । उनीहरू दृष्टिविहीन रहेछन् ।
उनीहरूमध्ये छाला सम्बन्धी रोग एल्बिनिज्म भएका नेत्रविहीन भाइ आफ्नो कुरा राख्न उठे । छालामा रङ्ग बनाउने मेलानिन नामक तत्वको कमीले हुने यस अवस्थाका मानिसलाई बाहिर गएर काम गर्न चर्को गर्मी र घामले हुनसक्ने छालाको क्यान्सरको जोखिमको पीडा उनले सुनाए ।
यस्तो अवस्थामा कसरी काम गरेर खाने, कसरी बाँच्ने, आफूहरूलाई सामाजिक सुरक्षा भत्ता पनि कम भएको र राज्यले यसको समाधान दिनुपर्ने कुरा उनले राखे ।
उनीहरूलाई देशमा के भइरहेको छ भन्ने थाहा छ, त्यसैले पनि उनीहरूलाई सरकारले आफ्नो कुरा सुन्छ भन्नेमा विश्वास छैन तर पनि कांग्रेस महामन्त्रीबाट केही हुन्छ कि भन्ने विश्वासले मात्र यहाँ आएको उनले बताए ।
उद्योग व्यवसायीहरूले आवश्यकता र विलासिताका वस्तुहरूमा एउटै भ्याट राखेकोमा असन्तुष्टि जाहेर गरे । सरकारी कार्यालयबाट विना घुस काम हुन नसक्नु, देशमा लगानीमैत्री वातावरण नहुनु, युवाहरूलाई व्यवसायमा आकर्षित गर्न नसक्नु, देशको कूटनीति कमजोर हुनु, स्थायी सरकार नहुनु, भन्सारमा आयात र निर्यातको सही व्यवस्था नहुनुले निम्त्याउने समस्या उनीहरूले उजागर गरे ।
देशले केही उत्पादन गर्न नसकेर भएभरका युवा नै विदेश निर्यात गरेको आरोप लगाए ।
मध्य दिनको चर्को गर्मीमा पसिनाले लुछुप्पै भिजेको शरीर लिएर प्राकृतिक स्रोत व्यवस्थापन क्याम्पस खजुराका विद्यार्थीहरू पनि आफ्नो समस्या र समाधानको आशा सहित कार्यक्रममा आइपुगे ।
उनीहरू मध्येबाट एकजना छात्राले माइक समातेर क्याम्पसको भवन बनिसक्दा पनि विवादका कारण क्याम्पसले विद्यालय भवनको दुईवटा कोठामा ५ वटा सेमेस्टर चलाएको अवस्थामा पढ्न असहज भएको, २५/३० जना शिक्षक र कर्मचारी हुनुपर्नेमा ५/७ जनाले क्याम्पस चलाएको, पालैपालो पढ्नुपर्ने बाध्यता र शिक्षक अभावले आफैं पढ्नुपर्ने अवस्थामा हामीले कसरी पढेर सुन्दर भविष्यको सपना देख्ने ! हाम्रो भविष्यमाथि किन खेलबाड भइरहेछ भनेर प्रश्न राखिन् ।
स्थानीयका दैनन्दिनका समस्या, पेशाकर्मी, व्यवसायी, विद्यार्थीका आ–आफ्ना सरोकार सुन्दै बसेका कांग्रेसका महामन्त्रीलाई आफ्नै कार्यकर्ताले पनि प्रश्नले घेर्न छोडेनन् । बढी कुरा गठबन्धनकै उठ्यो ।
गठबन्धनका निम्ति पार्टीले अरू पार्टीको चुनाव चिह्नमा मतदान गर्न बाध्य पारेकोमा चित्तदुखाइ, असन्तुष्टि, आक्रोश, रूखमा भोट हाल्न नपाएकोमा गुनासो गरे । महामन्त्रीसँगको अपेक्षा, लिनुपर्ने अभिभारा, युवाहरूको अभिभावक बन्नुपर्ने कुराहरू कार्यकर्ताले उठाए ।
बाँकेका प्रश्नहरू सकिएसँगै सुशील कोइराला क्यान्सर अस्पताल निरीक्षणपछि हुलाकी राजमार्ग पछ्याउँदै हामी कुरा सुनाउने पालो पर्खिएर बसिरहेको बर्दियातिर लम्कियौं । बर्दिया पुग्दा हामी गर्मीसँगै भोकले पनि आत्तिएका थियौं ।
हिन्दीमा एउटा भनाइ छ, दाने दाने पे लिखा होता है खाने वालेका नाम । आफ्नो नाम लेखिएको अन्न ग्रहण गर्न हामी बडैया ताल छेवैमा रहेको थारू गाउँमा पुग्यौं । भूगोल फरक, भेषभुषा फरक, भाषा फरक अनि खानाको स्वाद पनि फरक रहेको थारू बस्तीका सुन्दर लिवाजमा सजित दिदीहरूलाई भोकको भाषा संसारभर एउटै हुन्छ भन्ने थाहा छ ।
त्यसैले हामी पुग्ने वित्तिकै उहाँहरूले कमलको पात ओछ्याएर आफ्नो रैथाने खानामा सत्कारको स्वाद थपेर हामीलाई पस्कनुभयो । बर्दिया पुग्दा महसुस भयो कि बर्दिया विकास पर्खिएर बसेको रहेछ ।
हामी विलम्ब नगरी कार्यक्रमस्थलमा पुग्यौं । बडैया ताल छेवैमा कार्यक्रम सुरु भयो । बडैया ताल व्यवस्थापन गर्न कसैले चासो नदिएको र तालको वरिपरि भौतिक संरचना बनाएर अतिक्रमण गर्न थालेको चिन्ताले गर्दा यहाँका स्थानीयले तालकै नजिक कार्यक्रम राखेको कुरा पहिलो वक्ताले प्रष्ट्याए ।
बडैया ताललाई पर्यटकीय क्षेत्र बनाउनुपर्ने, लगानी गरे तालले नै आम्दानी गर्ने कुरा जोडतोडले उठ्यो । आफ्नो ठाउँले विकास नपाएको गुनासो, सरकारद्वारा उपेक्षित हुनुको पीडा उनीहरूले सुनाए ।
एकजना स्थानीयले मान्छे मर्दा लाश घुसार्ने ठाउँ समेत नभएकोले मसानघाटको आवश्यकता रहेको बताए । यहाँ विकास नगरे, अरू नेता जस्तै भए, ‘आज मानेको गगन थापालाई पनि भोलि छोडिन्छ’ भनेर रिसाउनेहरू पनि भेटिए ।
युवाले देशमा सम्भावना देख्न नसकेकोदेखि लिएर मल, बीउ, तरकारीको निम्ति बजार नभएको पीडा सुनाए । त्यति मात्र होइन यहाँ पनि सरकारले पुर्याउन नसक्दा र भारतबाट मलखाद ल्याउँदा स्थानीयले भोग्नुपरेको ज्यादती र सास्ती पोखे ।
भारतबाट कृषिजन्य पदार्थ नेपाल आउने तर यताबाट निर्यात हुन नसक्ने, यताबाट धान भारत जाने र त्यही धानको चामल भएर नेपालमा बिक्री हुने तर उताबाट धान ल्याउन नपाइने अवस्थालाई गम्भीरतापूर्वक लिनुपर्नेमा नागरिकको जोड थियो ।
आफ्नै ज्ञान बेचेर ठूलो हुनुपर्नेमा अरूको ज्ञान ल्याएर नेपाल सानो भइरहेको, मल कारखाना, निःशुल्क शिक्षा र स्वास्थ्य, महिलालाई सुरक्षा र रोजगारीको ग्यारेन्टी, धार्मिक पहिचान र मिटरब्याजका कुरा पनि आए ।
गुलरिया राधाकृष्ण चोकमा नेपाली कांग्रेस कमजोर भएकोमा कार्यकर्ताले चिन्ता, पार्टीभित्रको कलहले निम्त्याएको संकट र पार्टी ढिलासुस्तीले चल्नु नहुने महामन्त्रीलाई सन्देश दिए । स्वास्थ्य बीमा प्रक्रिया झन्झटिलो भएर धेरैको पहुँचमा नपुगेको गुनासो पनि गरे । हुनत यहाँ महिलाको उपस्थिति लगभग शून्यप्रायः नै थियो ।
यद्यपि, यहाँ महिला नेतृत्वको कुराचाहिं उठ्यो । आफैं गठबन्धन गर्नुहुन्न भनेर अन्तिमसम्म लडिरहेका महामन्त्रीले गठबन्धन किन गरेको भनेर गाली खाने सिलसिला यहाँ पनि रोकिएन ।
हामी बजार क्षेत्रका कुरा सुनिसकेर निर्माणाधीन हुलाकी राजमार्ग पछ्याउँदै बर्दिया राष्ट्रिय निकुञ्जबाट गुज्रँदै कुरा सुन्दै हिंड्दा यहाँका जनताले भोगेका समस्याले मन भारी भयो । खाता करिडोरमा जनप्रतिनिधिसँग लामो जैविक संवाद भयो ।
जैविक संवाद पछि हामी रात्रिको समयमा राष्ट्रिय निकुञ्जको बाटोमा कतै बाटो हराउँदै, कतै भेटिंदै त्यसदिनको अन्तिम कार्यक्रमका निम्ति भेला भएका मानिसहरूसँग कृषि संवादका लागि १२ बजे टक्रा, राजापुर पुग्यौं । यहाँको जीवन यहींको बाटो जस्तै अप्ठ्यारो रहेछ ।
यहाँका मानिसहरूको निद्रा कति पातलो होला सोच्न दिमाग लगाउनुपर्दैन । शिरमाथि छत छ भनेर निदाइरहेकाहरूको घर लात्तीले हानेर हात्तीले ढालिदिने रहेछ । हजारौं हेक्टरको धान हात्तीले सखाप पारिदिने, बाली क्षति हुँदा क्षतिपूर्ति नपाएको चित्तदुखाइ सुन्दै नेपालको फरक चित्र देखेर, फरक व्यथा सुनेर रातको खाना टक्रामै खाएर हामी हुलाकी राजमार्ग पछ्याउँदै अगाडि लाग्यौं ।
अब पालो थियो कैलाली पुग्ने । देशको सुदूरपश्चिमको गर्मीले बर्दियालाई पछि पार्यो । बर्दियाको सिमाना कटेर कैलाली पुग्दा यहाँका युवाहरूको ठूलो समूह उत्साहित भएर बसेको रहेछ । गाडी जनसंवादको लागि टीकापुरको सतीबजार पुगेर रोकियो । यहाँ पनि गठबन्धनका कुरा उठे ।
प्रदेश सरकारको औचित्य नभएको, गठबन्धन संस्कृति नै ठिक नभएको, सुदूरपश्चिम सरकार, पार्टीको गुटबन्दी, समावेशिता नभएको, टिकट वितरण लगायत कुराहरू उठे । एक जना छात्राले युवाहरूले देशमा भविष्य नदेखेको, देशमा राजनीतिक नेतृत्वले कुनै सम्भावना देखाउन सकेका छैनन्, के अब हामी पनि विदेशिनुपर्ने हो भनेर आक्रोश पोखिन् ।
दिनैभर हुलाकी राजमार्गकै वरिपरि कार्यक्रम भइरहे भने लगभग उस्तै किसिमका प्रश्नहरू उठे । कैलालीमा टीकापुर, भजनी, कैलारी गाउँपालिका हुँदै धनगढीका विभिन्न स्थानमा कार्यक्रमहरू भए ।
जनप्रतिनिधिसँग संवाद पनि भयो । जनप्रतिनिधिहरूले विकास बजेट कम भएको, जनताले धेरै आश गरेको तर बजेटले गर्दा राम्रोसँग काम गर्न नसकेको, प्रदेशको योजना आउँदा स्थानीय तहलाई थाहा नहुने, विषयवस्तुमा जानकारी नहुने, कुनै पनि तहको सल्लाह समन्वय नहुने, स्वास्थ्य चौकीमा डाक्टर नभएको, शिक्षा, स्वास्थ्यका क्षेत्रमा रहेका समस्या जस्ता कुराहरू उठाए ।
कैलाली जिल्लामा विशेषगरी सुख्खा, डुवान, महिला नेतृत्व, सरकार बदली, युवाहरू नाकाबाट विदेशिने गरेको, गेटा अस्पताल र मेडिकल कलेज, अन्तर्राष्ट्रिय रंगशाला, खुला नाका व्यवस्थापन, नदीले गरेको कटान व्यवस्थापन, भूमिहीनहरूको व्यवस्थापन, लालपुर्जा, युवा उद्यमशीलता, निजी क्षेत्र र सरकार मिलेर उद्योग सञ्चालन गर्नुपर्ने कुराहरू उठे ।
सीमा क्षेत्रमा सधैं देश दुखिरहन्छ । यहाँका बासिन्दाहरू राति १० बजेपछि कञ्चनपुरबाट कैलाली आफ्नै भूगोलको बाटो हिंड्न पनि भारतको अनुमति लिन बाध्य छन् । उनीहरू यसको दीर्घकालीन समाधानको बाटो कुरिरहेका छन् ।
पार्टीभित्र उठेका पुनर्जागरण, गठबन्धन र गुटबन्दीका कुरा सुन्दै पार्टीभित्र एउटा पक्षको असहयोग भोगेर कैलालीबाट हुलाकी राजमार्ग पछ्याउँदै महामन्त्रीको गाडी कञ्चनपुरतर्फ लाग्यो । हामीले उहाँलाई पछ्यायौं ।
नेपाल भारतको सीमामा महामन्त्रीको स्वागत पछि हामी सीमा स्तम्भलाई देब्रे पारेर पुनर्वास, बेलौरी, बेलडाँडी, वेदकोट हुँदै भीमदत्तको शारदा ब्यारेजमा समापनतर्फ लाग्यौं । ‘समुदायमा कांग्रेस’ अभियान झापाको मेची पुलबाट सुरु भएर कञ्चनपुर, भीमदत्त नगरपालिकाकोे हरिहरघाट, महाकाली पुलमा पुगेर समापनमा नागरिकका समस्या उठे ।
शहीद परिवारका गुनासा, प्रदेश सरकारको औचित्य, गठबन्धनको कारण पार्टीलाई भोट हाल्न नपाएको चित्तदुखाइ यहाँ व्यक्त भए । सीमा क्षेत्रको जिल्ला देशको अस्तित्वको निम्ति लडिरहेकै रहेछ । खुला नाकाले पारेको समस्या पनि उस्तै छ । बेलाबखतमा सीमा स्तम्भ भारततिरबाट नेपालतर्फ सरिराख्छ ।
बाँके हुँदै कञ्चनपुर पुग्दा भिन्नै नेपाल देखियो । नेपालको फरक–फरक चित्रहरू देखियो । तर ती चित्रहरूका रङ्ग भने एउटै लागे । देशलाई सिंगापुर, स्विट्जरल्याण्ड बनाउने ठूला–ठूला सपना बेच्ने नेताहरूले कहिल्यै ध्यानपूर्वक जनताका कुरा सुनेका भए थाहा पाउने थिए, जनताका मागहरू निकै साना छन् ।
कृषकलाई मलखाद र बजार चाहिएको छ । विद्यार्थीलाई क्याम्पस, कक्षा र भवन अनि युवालाई रोजगारी चाहिएको छ । व्यापारीलाई सहयोगी राज्य र पेशाकर्मीलाई सुरक्षा चाहिएको छ । अप्राकृतिक गठबन्धन र सत्ता सौदाको राजनीतिबाट दिक्क भएका पार्टी कार्यकर्तालाई सिद्धान्त निष्ठ संगठन र लोकतान्त्रिक विधि र मेरिटोक्रेसी चाहिएको छ ।
यो यात्राबाट के पनि जान्न पाइयो भने जति–जति शासनसत्ता काठमाडौंकेन्द्रित र नेतृत्व जनताबाट पर हुँदै जान्छन्, उति–उति गणतन्त्र र संघीयताप्रति जनताको भरोसा कमजोर हुँदै जानेछ ।
राजनीतिक अस्थिरता र अस्वस्थताले जति नै निराशा फैलाए पनि किसानले भने इमानदारीको पसिनाले सिंचेर सुन फलाइरहेका गराहरूको सुन्दरता हेर्दै, आफ्नो देशको भूगोल चिन्दै, समस्या र अपेक्षाहरू सुन्दै हुलाकी राजमार्गको यात्रा संवाद यात्रा ५ वैशाखमा सकियो ।
यस यात्रा जनतासँग संवाद गरेर फर्किएका महामन्त्री गगनकुमार थापाले नयाँ वर्षको दिन डुडुवामा भनेका थिए, ‘मलाई संवाद यात्रा सुरु गर्दा धेरैले भनेका थिए, नयाँ वर्ष त परिवारसँग पो मनाउनुपर्छ । म मेरै परिवारका सदस्यहरूसँग नयाँ वर्ष मनाउन आएको छु ।’
जनतालाई नै परिवार मानेको मर्ममा बोलेका थापाले देश चिन्न गरेको यो प्रयत्न तारिफयोग्य छ । उनले बोलीलाई न्याय गर्न सकुन् सतत शुभकामना ।
(ढकाल नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील छन् ।)
प्रतिक्रिया 4