म हिजोआज इङलिस प्रिमियर लिग फुटबल हेरिरहेको छु । फुटबलको नतिजापछिको प्रतिक्रिया र समर्थकहरूको भावभंगीमा अदालतले विघटन गरिदिएपछि गैरआवासीय नेताहरूको भाव मिल्दो देख्छु ।
यस वर्षको उपाधिको लागि सात खेल बाँकी हुँदा गत हप्ता लिभरपुल क्लिस्टर प्यालेससँग परिजित भयो । शीर्ष स्थानमा रहेको आर्सनल आफ्नै घरेलु मैदानमा आस्टन भिल्लासँग हार्यो ।
युरोपियन च्याम्पेनसिपमा रियल म्याड्रिडले बराबरीको खेललाई उल्टाउँदै ट्रफीको प्रवल दाबेदार मानिएको म्यानचेस्टर सिटीलाई घरेलु मैदानमै पछार्यो, ‘घरमे घुसकर मारा’ भनेजस्तो ।
अहिले बजारमा त्रिकोणात्मक खुशी देखिन्छ । आर्सनल हार्दा लिभरपुलका समर्थकहरू खुब खुशी देखिन्छन् । आफू हारेकोमा दुःखी हुनुभन्दा अर्को हारेकोमा मख्ख छन् । सिटी तेस्रोमा थियो । लिगको पहिलो र दोस्रोले हार्दा उसको मौका प्रवल हुने हुँदा खुशी स्वभाविक नै हो ।
अहिले आर्सनल–लिभरपुल दुवै रियलले घरेलु मैदानमा सिटीलाई चक्कर खुवाइदिएकोमा गद्गद् छन् । यही लयको खुशी छ- सर्वोच्च अदालतको फैसलापछि गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र पनि ।
सर्वोच्चको फैसलापछि एनआरएन जगत चकमन्न जस्तो देखिन्छ- आँधीपूर्वको सन्नटा जस्तो । तत्कालै खुशीका बौछारहरू विस्तारै पानीको फोका बन्दै गएको देखिन्छ । फैसलाले त हामी सबैलाई डुबाएछ भन्दै ‘ऊ’ गएकोमा किर्ते हाँसो हाँस्दै छन्, कोही लेखिएको स्टाटस सच्याउँदै छन् ।
माथी भनेझै आर्सनल हार्दा लिभरपुल खुशी हुनुपर्ने वा लिभरपुल हार्दा आर्सनल ? न त सिटी युरोपियन च्याम्पियनसिपबाट बाहिरिंदा अरू दुई खुशी मनाउनुपर्ने ? सबै एक अर्का सकिएकोमा दुःखी हैन, ऊ त खारेज भो नी, मेरो के सवाल भो र ? भन्दै मनमनै पीडा भए पनि नक्कली हाँसो देखाउनै व्यस्त छन् । ऊ अर्थात् असहमत प्रतिद्वन्दी ।
फैसलाले सबै मिल्ने सुवर्ण मौका दिएको छ । यसअनुसार अगुवाहरूमा चमत्कारिक स्वभाव प्रकट नभए २० वर्षको यो संस्थाको दुःखद अन्त्य धेरै टाढा छैन ।
भलै यो लेखक सुरुवाती दिनदेखि नै जिम्मेवार पदमा रहे पनि नरहे पनि उस्तै लय र रफ्तारमा आजपर्यन्त लाग्दै छ । यो सुन्दर संस्था दलीय जोडबल र राज्य संयन्त्रको चंगुलबाट यसरी अवसानको भीरमा पुग्छ भन्ने लागेको भए सायद यो समय र ऊर्जा अन्यत्रै खर्चिन्थ्यो होला ।
झट्ट सुन्दा चरम निराशावादी देखिन्छ । तर, वास्तविकता तितो भए पनि स्वीकार्नै पर्छ । सर्वोच्चको फैसला हामी सबैले मान्नुपर्छ । कानूनी राज्यमा न्याय निरुपणका अन्तिम अस्त्र बाँकी रहँदासम्म जो कोही कानूनसम्मत तरिकाले चल्न चाहन्छ ।
अहिलेको फैसला झट्ट सुन्दा आनन्द लागे पनि गैरआवासीय आन्दोलनका अबका दिनहरू उज्यालो पक्कै छैनन् । मानिसहरू प्रश्न गरिरहेका छन्- एउटा गैरसरकारी संस्थाको निवेदनउपर माग नै नगरिएको विषयमा फैसला आउनुको कारण के होला ?
पाकिस्तानी पुरानो लघु कथा भन्छ ‘सोझो हाजी मावलीमा खसीको सेकुवा खान पायो । मीठो लाग्यो । घर लैजान माइजूले छुट्टै एक किलो पठाइदिइन् । पकाउने विधि राम्रोसँग टिपेर खल्तीमा राख्यो र घर फर्क्यो । बाटोमा चीलले झम्टेर मासुको पोको लगिदियो । दुःखी हुनुको साटो हाजी हाँस्न थाल्यो । उसले भन्यो– ‘म चीलको मूर्खतामा हाँस्दैछु । पकाउने विधि त मेरो खल्तीमा छ, विचरा चीलले अब कसरी खाला ?’
हाम्रोमा पनि सवाल यही हो । हाजीले बनाउने विधि खल्तीमा भएको भ्रम पाले झै- मन्त्री आफ्ना भएकोमा, ठूलाबडा आफ्नो पक्षमा भएकोमा भ्रम पालेका छन् ।
सबै जात, धर्म, वर्ग, विचार अटाउने चौतारीलाई जब कोहीले एक विचार, एक दल र एक सोचले चलाउने कुचेष्टा गरे, त्यही दिनबाट यसको ओरालो यात्रा सुरू भएको हो । जब यसका हर्ताकर्ताले, कुनै दल, नेताको दैलो चहार्न थाले त्यहीँबाट यसको औचित्यमा प्रश्न उठ्न थालेको हो ।
त्यसपछि सन् २०२१ मा नेताकै घरभित्र संस्था जोगाउने सिन्दुर लेपन भित्र कालकुट बिष हालेर ३ अध्यक्ष र तमाम पद सिर्जना गरियो । अहिले गैरआवासीय नेपाली संघ नेताको आशीर्वादले छोटे नेता बन्ने यही रोगबाट ग्रसित छ ।
पहिला गतिला मानिएका अग्रज यस घडीमा गतिला नभए पनि हामी कार्यकर्ता गुणगान गाउन छोडेका छैनौं ।
कोही आजन्म कसैको मान्छे– दुई ध्रुवमा बाँडिएका साहुहरू खै कुनै समय के रसायनले मिलाउँछन् । चपक्कै मिल्या देखिन्छ, के लेनादेनामा अनबन हुन्छ ज्यानी दुश्मन कहलाउँछन् ।
आखिर मुर्ख हामी तल्लो तहका कार्यकर्ता नै हौं । गुण र दोषका आधारमा समर्थन वा विरोध कसले पो गरेको छ र ? अनि कसरी सम्भव हुन्छ वास्तविक एकता र संस्थागत पद्धति ? यसले छियाछिया हुने त संस्था नै हो ।
संस्थागत सत्ता र शक्ति हातमा पर्ने बित्तिकै बुद्धि मलिन, विवेक शून्य र दृष्टि धुमिल बन्छ र आसपासका ५/७ जना बाहेक अरू कोही नजरमा पर्दैनन् । यस्तो सम्मोहन, मादकता वा उन्मादको स्थितिमा सही गलतको भेद हराएर जान्छ ।
हुनतः उहाँहरूलाई यो मुकाम दिलाउने हामी हौं । उहाँहरूले मान, सम्मान र प्राप्तिको सबै अंश पाइसक्नु भएको छ । गुमाउने त हामीले हो ।
यद्यपी विध्वंशपछि निर्माण हुन्छ भन्ने उक्तिलाई आत्मासात् गर्ने हो भने संस्था अहिले विध्वंशको चरणमा छ । आशा गरौं, यो पुनर्निर्माणको सुवर्ण अवसर हो । तर, यो कुरा हामीले मात्र सोच्ने हो कि बागडोर हातमा लिएका अग्रजहरूले पनि ? हुनत उहाँहरूको लागि ‘बजे बाँसुरी नबजे बाँसको कप्टेरो न हो एनआरएन’ ।
(लेखक गैरआवासीय आन्दोलनका अभियन्ता हुन् ।)
प्रतिक्रिया 4