तीजको रौनक सकिएको छ। तीजका सम्बन्धमा पक्ष र विपक्षमा सदा झैं अनेकौं लेख र असंख्य टीकाटिप्पणी पनि आए। हाम्रो वार्षिक क्यालेण्डरमा योभन्दा बढी महत्व बोकेका महान् भनिने अरू चाड–पर्व पनि धेरै छन्। महिलाका लागि मात्र नमानिने दशैं–तिहार जस्ता चाडपर्वहरू खर्च र समयका हिसाबले पनि तीजसँग तुलनायोग्य छैनन् तर पनि तीजको जस्तो चर्चा–परिचर्चा कमै सुनिन्छन्।
यस पर्वमा खाने खाना, गाउने गीत र लगाउने पहिरनको पनि बढ्तै लेखाजोखा गरिन्छ। जबकि यो त अदना महिलाका लागि मात्र भनेर छुट्याइएको एउटा सानो चाड हो जुन दिनमा पुरुषलाई बिदा दिन पनि आवश्यक ठानिंदैन। यो सानो चाड बारे किन बढ्तै चर्चा हुन्छ, चर्चा कसले गर्छ ? यसैमा केही चिन्तन मन्थन गरौं।
सबैभन्दा पहिले, तीज बारे कस–कसलाई बढ्ता चासो छ भन्ने कुरा बुझ्यौं भने अघि बढ्न सजिलो होला। महिलाको चाड बारे कुरा गर्दा पहिलो त महिला जमात नै हो जहाँ हामी तीन प्रकारका महिला स्पष्ट देख्न सक्छौं।
पहिलो, कट्टर महिला जसलाई तीज भनेको पतिको आयु लम्ब्याउने, निराहार बस्ने, पूजा गर्ने जस्ता कार्यमा पूरा विश्वास छ, उनीहरूलाई यसभित्रको अन्तर्य बुझ्ने चेष्टा गर्नु छैन। दोस्रो खाले महिलाका लागि तीज रमाइलो चाड हो, विभिन्न परिकारका खाना खाने, गाउने नाच्ने साथीसंगीसँग रमाइलो गर्ने, बस्! तेस्रो किसिमका महिला ती हुन् जो यस पर्वको अन्तर्य खोतल्न चाहन्छन्। महिलाले किन व्रत बस्ने, किन अनेक परिधान पहिरिन्छन्, आफ्नो भन्दा लोग्नेको अस्तित्वलाई किन महत्व दिन्छन् भनेर खोज्छन्।
यी तीनथरीलाई हामी कट्टर परम्परावादी, निरपेक्ष जमात र नारीवादी भनेर वर्गीकरण गर्न सक्छौं। संख्याको हिसाबले कट्टर र नारीवादी महिला भन्दा निरपेक्ष महिला अत्यधिक धेरै छन्।
एक नारीवादीका हैसियतले मैले कहिल्यै पतिका लागि निराहार बसिनँ, पूजाआजा गरिनँ। महिनावारी जस्तो नितान्त प्राकृतिक धर्मलाई पाप ठानेर आफैंलाई चोख्याउने पुरुष पुजारी खोजिनँ। यस बारे आफूलाई लागेका बारे लेखेर–भनेर वकालत गर्दै रहें। वास्तवमा मेरो ब्रह्मले देखेको सत्यका लागि लड्ने एक्लो विद्रोही थिएँ म मेरो परिवेशमा।
तीज पर्व लिङ्गको आधारमा महिलालाई अवमूल्यन गर्ने चाड लाग्थ्यो मलाई, त्यसैले तीज मान्ने कुरा मेरो उपेक्षामा रहिरह्यो। अहिले पनि तीज महिलाको महान् चाड भयो भन्ने पक्षमा म छैन तथापि समयले ल्याएको बदलावसँगै केही अनुभूति बदलिएका छन्। त्यसकै सार संक्षेप हो यो लेख।
तीजका बारेमा जतिसुकै नारीवादी कहलिने पुरुषहरूको पनि यसको संरचनागत परिवर्तनमा उति ध्यान गए जस्तो लाग्दैन। तीजका बारेमा जे लेखेका छन् महिलाले नै लेखेका छन्। यसबाट भन्न सकिन्छ कि महिलाको तीज उनीहरूको महत्वको विषय होइन। थोरै नरम स्वभावका पुरुषहरू बाहेक अर्काथरी पुरुषहरूको काम भनेकै महिलाको खाना, नाना र गाना बारे विशेष ध्यान दिने र टीकाटिप्पणी गर्ने मात्र छ।
महिलाले खाएको, लाएको, गरेको परिवर्तन उनीहरूलाई पाच्य हुँदैन। महिलाले जे गर्छन् उनीहरूको मापदण्डमा बढ्ता ठहरिन्छ। परम्परागत रूपमा आफू ठूलो र महिला सानो भन्ने यिनको सोचाइमा परिवर्तन आउन सकेको छैन। यसमा वृद्ध र वयस्क मात्र होइन युवा जमात झन् उग्र रूपले प्रस्तुत भएको देखिन्छ। तैपनि यिनै पुरुषले तीजलाई अनावश्यक बढावा दिइरहेका छन्। भड्किलो बनाउनमा यिनीहरूको पनि हात छ।
पुरुषको दोहोरो मानसिकता
वास्तवमा चाड महिलाको हो भनिन्छ, चिन्ता र चासो पुरुषलाई पनि छ। तीज भड्किलो भयो, धेरै खर्चिलो भन्ने चिन्ता तीज मनाउँदै गरेका महिलाको नभई विशेषगरी पुरुषहरूलाई रात निद्रा न दिन भोक हुनुको मुख्य कारण हो महिलाको अलिअलि देखिंदो उन्मुक्तिको लहर। उनीहरूले गाउने गाना, खाने खाना र लाउने नाना समेतमा चिन्ता छ। चिन्ता पनि अलिअलि अनौपचारिक टिप्पणी मात्र होइन राज्यस्तरमा नै लिखित उर्दी नै जारी गर्नुपर्ने अवस्था आएको छ।
भएको खाँटी कुरा के हो भने महिलाले तीज त मनाउन् तर आफू (पुरुष) ले चाहेजति मात्र, आफ्नो अनुकूलका आचरण मात्र देखाउन्, हामी (पुरुष) लाई नपच्ने खालको हैन भन्ने प्रवृत्ति जताततै देखिन्छ। म त भन्छु यो एक जटिल किसिमको हस्तक्षेप हो। महिलालाई आफ्नो अधीनस्थ वस्तु ठान्नेहरूको हस्तक्षेप। महिलाको आफ्नैपन सहन नसक्नेहरूको हस्तक्षेप। महिलाले सदियौंदेखि सहिरहेका थिए यस्ता हस्तक्षेपहरू। अहिले उनीहरू पनि अलिअलि प्रतिवाद गर्न सक्ने भएका छन्, आफ्नोपन खोज्नसक्ने हुँदैछन्। महिलाको यही जागृत अवस्था नियन्त्रण गर्ने उपाय र योजना पनि सँगसँगै विकसित हुँदैछ।
जसरी तीज मनाउने महिलाहरूको मानसिकता फरक–फरक छ, उसरी नै पुरुषको मानिसकता पनि द्वन्द्वग्रस्त छ, त्यसैले कहिले एकथरी चरित्र देखाउँछन् कहिले अर्कोथरी। कहिले माया गर्न खोज्छन् कहिले नियन्त्रण। उदाहरणको लागि आजकल तीज विचरा महिलाको एकदिने चाडमा सीमित छैन। हरेक सरकारी कार्यालय, संस्थान, स्कुल, कलेज र हरेक राजनैतिक पार्टीहरूका पुरुषहरूले तत्तत् ठाउँमा कार्यरत महिलालाई ‘चेलीबेटी’ भन्दै ‘दर’ खुवाउने प्रचलन बढाएका छन्।
कतै कतै त चुरा, पोते, फूल र कपडा समेत उपाहर दिन्छन्। म आफैं कार्यरत संस्था सिनासमा मैले पनि एक दुई वर्ष उपहार पाएकी छु। मलाई अनौठो लाग्थ्यो, यसको उपादेयतामाथि प्रश्न पनि गर्थें। तर म एक्लो बृहस्पति झुटो सावित हुन्थें। ‘महिलाले दर खान नपाए गुनासो गर्ने हो, चुरा पोते उपहार चाहिन्छ भन्ने हो तर किन उल्टा कुरा गर्दैछ’ भन्ने जस्तो पुरुष र महिला साथीहरूको पनि एकै मानसिकता देख्थें। म उपहार लिन्थें। यो नचाहिंदो लहर हो झैं लाग्थ्यो तथापि चाहिंदैन यो उपहार भनेर फ्याँक्न पनि सक्दिनथें, लिएर रमाउन पनि सक्दिनथें।
मलाई लाग्छ हरेक चाडबाड पारिवारका उत्सव हुन्, त्यसैले चाडको दिन सार्वजनिक बिदा नै दिइएको हुन्छ। बिदाको महत्व पेशागत कामको लगातारको दायित्व र दबाबबाट छुटकारा लिएर आफू आफन्तसँग भेट्न पाउन, रमाइलो गर्न पाउनु भन्ने उद्देश्य रहन्छ। चाडको मुख्य उद्देश्य नै त्यो भएपछि हरेक कार्यालयले किन दर खाने कार्यक्रम राख्नुपर्यो ? चेलीहरू आफ्नै घरमा दर खाइहल्छन्, अफिसमा नै चाडबाड मनाइदिनुपर्ने कुनै संस्थाको पनि दायित्व होइन। अफिसमा पुरुष कलिगले त्यो अतिरिक्त बोझ किन बोक्नु पर्यो ? चाड मनाउने तरिका त्यस्तो नहुँदो हो त दशैं, तिहार, छठ र अन्यान्य चाडमा मानिसहरू किन घरमा जान्छन् ? सबै चाडपर्वहरू पेशागत कर्मबाट फुर्सद लिएर परिवारजनसँग मनाइनुपर्छ भने तीजमा किन ‘चेलीबेटी’ लाई ‘दर’ खुवाउन उद्यत हुँदैछन्? स्नेहको आवरणमा यो एउटा स्वाङ्ग हो अनि महिलालाई दया र माया देखाएर ‘अबला’ पात्रको रूपमा सीमित गराइरहने एक प्रपञ्च पनि।
हरेक पेशागत क्षेत्र व्यक्ति व्यक्तिको क्षमता र प्रतिस्पर्धाको स्थल हो। सानाठूला पद र ओहोदामा रहेका महिला हुन् या पुरुष उनीहरूको कार्यसम्पादन तरिका, लगनशीलता र क्षमता अनुसार पदोन्नति र अवनति पनि हुन्छ। हरेक कार्यक्षेत्रमा महिलाहरूले पनि पुरुष सरह खट्नुपर्छ र पेशागत अनिवार्य शर्तहरू पालना गर्नुपर्छ। त्यसैले त्यहाँ महिला–पुरुष प्रतिस्पर्धी हुन्। प्रतिस्पर्धीको बीचमा क्षमताको लेखाजोखा हुन्छ\हुनुपर्छ। दया र मायाको देखावटी भाव आवश्यक छैन। तर भएको छ त्यस्तै।
त्यसैले दर खाने प्रचलन महिनाभरि चल्छ। यहींनेर बुझ्न आवश्यक छ कि किन खाना खाने लाइनमा बस्दा ‘लेडिज फर्स्ट’ भन्दै अगाडि लगाउने पुरुषले पेशागत काम र प्रमोशनका बेला त्यस्तो दया देखाउँदैनन् ? बरु ‘लेडिज लास्ट’ भन्दै पालो उछिन्दै अघि जान उछिनपाछिन गर्छन् ?
नाना, खाना र गानाको आरोह-अवरोह
अब चिन्तन गरौं महिलाले पहिरने लुगा कपडा र पार्टी प्यालेसमा खाने दर र गाइने गीतहरू बारे। तीजमा अधिकांश महिलाले रातो लुगा लगाउँछन्। परम्परागत रूपमा रातो भनेको पतिको अस्तित्वको बोध गराउने रंग हो। विवाहमा रातो लगाइन्छ, चाडपर्वमा पनि रातै लगाउने चलन छ। पतिको निधन पछि रातो लुगा त्याग्नुपर्ने बाध्यता थियो विधवाहरूलाई। महिलाले लगाएका लुगा र आभूषणका आधारमा ऊ सधवा हो या विधवा सजिलै चिन्न सकिन्थ्यो। अहिले यो मान्यतामा विचित्रको परिवर्तन आएको छ। यो प्रचलन ठ्याम्मै सकिएको त छैन तापनि अहिले राता लुगा, टीका र चुरापोतेका आधारमा कसैको पति जीवितै छन् भन्न सकिंदैन, त्यस्तै सेता लुगा लगाएका महिला विधवा हुन् भनेर किटानी गर्न सकिने अवस्था पनि छैन। भन्नुको मतलब, महिलाले सानै भए पनि एउटा संकेतिक बन्धन तोडेका छन्। लोग्नेको निधनसँगै आफूलाई लगाउन मन लागेका वस्त्र, आभूषण त्याग्न सकिंदैन भन्ने एकल महिलाहरू र अन्य महिलाहरूको पनि आन्दोलनले ल्याएको परिणाम के हो भने महिलाका पनि आफ्नै चाहना हुन्छन्, मरेर जानेसँग आफ्ना चाहना मार्न सकिंदैन भन्ने भावना स्थापित भएको छ।
त्यसैले यो उपलब्धि महिला स्वअस्तित्वको द्योतक हो। के लगाउने, कुन रंगको लगाउने हरेक महिलाको नितान्त व्यक्तिगत चाहनाको विषय बन्दैछ। रातो रंग अब लोग्नेको अस्तित्व बोधको रंग रहेन। विधवाले पनि रातो रंगका लुगा र आफ्नो चाहना अनुसारका चुरा र गर-गहना लगाउन थालेका छन्। स्वनिर्णयको क्षेत्रमा महिलाको यो एक उल्लेखनीय उपलब्धि हो।
त्यसैगरी खाना कहाँ खाने, कतिले खाने के खाने भन्ने पनि महिलाहरू आफैंले निर्णय गर्न थालेका छन्। जसरी महँगा लुगा लगाउने कि सस्ता; सुनका गहना लगाउने कि नक्कली गहनाले नै सुनको तुष्टि लिने जस्ता कुरा आफ्नो आर्थिक अवस्था हेरेर एक एकले निर्णय आफैं लिनसक्छन्। दुईचार जना साथीलाई बोलाएर घरमै खाने खुवाउने कि पार्टी प्यालेसमा ठूलै जमघट गर्ने भन्ने कुरा पनि महिलाले आफैं निर्णय लिन सक्छन्, लिएकै पनि छन्।
एकथरी पुरुषहरू भने लगातार महिलाका यस्ता झिनामसिना र निजी मामलामा हस्तक्षेप गरिरहन्छन्। जो कोही पुरूषले जो–कोही महिलालाई औंला ठड्याइरहन पाउने पुरातनपन्थी विचारमा रमाउन बानी परेकाहरूको अवशेष हो यस्तो बानी।
सिडिओ अफिसको परिपत्र पनि एक नमूनायोग्य हस्तक्षेप हो। नत्र दशैं-तिहारमा अथवा विवाह व्रतबन्धमा गरिने अत्यधिक खर्चमा किन हस्तक्षेप गरिंदैन ? चाडपर्वहरू भड्किलो बनाउन नहुने कानुन हुँदाहुँदै पनि त्यसको पालना नगर्नेहरू कसैलाई पनि सरकारले यसरी, उसरी यति उति खर्च गर भनेर परिपत्र जारी गरेको देखिंदैन भने महिलाका हकमा मात्र सतहमा उत्रनुको एउटै मात्र कारण हो महिलाले पुरुष आदेश मात्र मान्न छोडेका छन् ।
तीज मान्ने तरिकामा आएको परिवर्तन
तीजमा पतिको आयुको लागि महिलाले व्रत बस्नुपर्ने मान्यता, पतिको गोडाको पानी खानुपर्ने चलन, तीजकै सिलसिलामा आउने पञ्चमीको दिनमा आफू रजस्वला भएका बेला जानेर नजानेर गरिएको छुवाछूत चोख्याउन गरिने पूजाआजा आफ्नै स्वत्वको खोजी र सहअस्तित्वमा बाँच्न चाहने महिलावादीका मान्यता विपरीत कार्य हुन्। यसमा विवाद छैन।
निमिट्यान्नै नभए पनि यस्ता परम्परागत व्यवहार र मान्यतामा निरन्तर कमी आएको कुरा धेरैका अभिव्यक्तिबाट अनुभूत गर्न सकिन्छ। माथि भनिए झैं अहिले तीज मनाउनेहरू उपल्लो जातका बाहुन क्षेत्री मात्र छैनन्, न त पार्वतीले महादेवलाई पति पाउन गरेको तपस्याबाट अहिलेका किशोरीहरू उत्साहित भएका हुन्। तैपनि तीजको प्रभाव सम्पूर्ण जातजाति, जनजाति, दलित र केही हदमा गैरहिन्दुमा पनि पुगेको छ।
अधिकांशका लागि यो चाड मनमिलेका महिला जम्मा हुने, राम्रो लाउने र मीठो खाने, नाचगान गर्ने कुरामा सीमित छ। व्रत हैन, पतिको आयुको कुरा छैन, छ त केवल रमाइलो। यस्तो लहर देखेर नारीवादीले देखेका पक्षपात र महिलाको अवमूल्यनको कुरा पातलिंदै जाँदैछ भनेर मान्नै पर्ने भएको छ।
अहिलेको मात्र होइन, केही वर्ष अघिदेखि नै केही नारीवादीहरूले ‘तीज हाम्रा छोरी बुहारीले मनाउन आवश्यक छ छैन’? भन्ने बहस चलाएका छन्। यस पक्षमा र उस पक्षमा निकै तर्क पनि गरिएका छन्। तर याद गर्नुपर्ने मुख्य कुरा के हो भने कुनै संस्कारजन्य क्रियाकलापको सेतो कालोमा उत्तर खोज्नु युक्तिसंगत देखिंदैन। त्यसैगरी एक्कसी गरिएका उर्दी र घोषणाले संस्कारजन्य मान्यता हटाउन सकिंदैन। त्यसो हुँदो हो त कोही प्रधानमन्त्री हुने बित्तिकै दाइजो उन्मूलनको घोषणा गर्छन् कोही छुवाछूतको अन्त्यको उर्दी गर्छन्। तर ती घोषणाले यस्ता विकृति त सकिएका छैनन्।
तैपनि यस्ता विकृतिजन्य क्रियाकलाप क्रमश: घट्दै छन्, यो हाम्रो दैनिकको अनुभवले देखाएको यथार्थता हो। रजस्वला नबार्ने किशोरी बढेकै छन्, नाचगान गरेर मीठो खानेहरू सबैले पतिको दीर्घायुको कामना गरेका हैनन्, रातो लगाउने विधवा बढेकै छन्, अधिकांशले पूजाआजाको उपेक्षा गरेकै छन्।
सबैभन्दा मुख्य कुरा के हो भने हरेक कार्यबाट मानसिक रूपमा सन्तुष्ट हुन चाहने स्वाभाव हो मानिसको। एकैदिन भने पनि महिलाहरू आपसमा भेट्ने, खाने, खुवाउने, नाच्ने गाउने हाँस्ने हँसाउने गर्दै खुसी देखिन्छन्। यही खुसीको माध्यमबाट उनीहरूमा परिवर्तन ल्याउन खोज्नु महिलावादीका लागि सही र सुगम मार्ग सावित हुन्छ/हुँदैछ।
सामूहिकतामा सामर्थ्य हुन्छ
महिलाले सामूहिकतामा आफूले चाहेको परिवर्तन गर्दै पनि छन्, धिमा गतिमा नै सही। आर्थिक रूपमा जतिसुकै सम्पन्न र व्यक्तिगत रूपमा जति स्वतन्त्र भए पनि परिवार, समाज र परिवेशको प्रत्यक्ष-अप्रत्यक्ष दबाबमा अझै छन् महिला। ती सांस्कृतिक दबाबको प्रतिवाद महिलाले एक्लाएक्लै गर्नै सक्दैनन्।
जसरी सामूहिकतामा आफूले चाहेको रंगका लुगा लगाउने कुरालाई आफ्नो हितमा ल्याउन सफल भएका छन् महिलाहरू त्यसरी नै गाना अथवा गीत र नाचको आयाम पनि हाम्रो अनुकूल हुनसक्छ। जसरी पहिलेका महिलाहरू घरतिर गाउन नसक्ने गीत माइतमा गएका बेला साथीसंगीसँग गाउँदा केही बलियो भएको अनुभूत गर्थे। अहिलेका महिलाले पनि एक्लै लड्न नसक्ने लडाइँ सामूहिक रूपमा सम्पन्न गर्दैछन्, अहिलेका हामी नारीवादीले खोजे झैं द्रुत गति लिन भने बाँकी नै किन नहोस्।
सामूहिक प्रयत्नमा ऊर्जा हुन्छ। उत्साह र उमंगले भरिपूर्ण अभिव्यक्तिले जागरणको गति तीव्र बनाउन सक्छ। जस्तो कि हामीकहाँ कानुनी व्यवस्था नै भए पनि संस्कार र सांस्कृतिक मूल्यको बोझले थिचिएकी किशोरीहरू बाबाआमासँग एक्लै अंश दाबी गर्न अझै सक्षम देखिंदैनन्, यदाकदा बाहेक। तीनै महिला ‘छोरी हैन भन्छौ भने अर्को बाबु देखाइदेऊ, हौ छोरी भन्छौ भने अंश लेखाइदेऊ’ भन्ने साहस गर्दैछन्। यसलाई हाम्रो पक्षमा आएको जागरण मान्नुपर्छ। सामूहिकतामा महिलाले आफू बाँच्दै आएको संकुचित स्पेस खुकुलो अनुभूत गर्दैछन्।
मनमा परेको संस्कारजन्य छाप र संस्कृतिका विभिन्न पहलुहरू अलिखित नियम कानून भन्दा बलिया हुन्छन्। यिनमा एक्कासी परिवर्तन संभव हुँदैन। तर असंभव पनि हैन। त्यसका लागि केही धैर्य चाहिने रहेछ। तिरस्कार र बहिष्करण भन्दा उपलब्ध परिस्थितिलाई आफ्नो उद्देश्य अनुकूल मोड्ने प्रयासबाट परिवर्तन सहज बनाउन सकिन्छ।
तीजका विभिन्न आयामको सूक्ष्म अवलोकनबाट के थाहा लाग्दैछ भने यसका अनेक असंगत क्रियाकलापहरू हटाउन यसैभित्रको हिस्सा भएर जति सहज हुन्छ परबाट औंल्याउँदा झन् कठिन हुने रहेछ भन्ने कुरा हामीले नै बुझ्न आवश्यक छ ।
प्रतिक्रिया 4