मेरो घर कालीकोट हो । त्यतिबेला म कक्षा ६ मा पढ्थें । उमेर १०–११ वर्षको हुँदो हो । २ असार २०६७ मा स्कुलबाट छिट्टै फर्केर खाजा समेत नखाई म कोदालो लिएर मकैबारी खन्न निस्किएको थिएँ । बारीमा म एक्लै गएर खन्दै थिएँ । खन्दाखन्दै एउटा वस्तुमा कोदालो बझारियो । म दौडिएर भाग्न खोज्दा खोज्दै ठूलो आवाजमा पड्कियो ।
म त्यहीं ढलेछु । बुबाआमाले भने अनुसार मेरो छातीमा प्वाल परेको थियो रे ! शरीरबाट मासुका टुक्राहरू झरेका थिए रे ! रगतै–रगत लत्पतिएको थियो रे ! आफन्त र गाउँलेले मलाई अस्पताल लैजान खोजेछन् । तर हुम्लासम्म पुग्ने बाटो थिएन । डोकोमै बोकेर एक घण्टाको बाटो गाउँलेले मलाई हुम्ला पु¥याएछन् । त्यहाँ पनि राम्रो अस्पताल थिएन ।
त्यसपछि मलाई नेपालगञ्ज लगिएछ । हामीसँग उपचार गर्न पैसा पनि थिएन, गाउँलेले चन्दा उठाएर अस्पताल पु¥याएछन् । नेपालगञ्जमा पनि उपचार सम्भव नभएपछि मलाई काठमाडौंको वीर अस्पतालमा लगिएछ । सातौं दिनमा मात्र मेरो होश आएछ । म अस्पतालमा पीडाले छट्पटाइरहेको थिएँ । आँखा खोल्दा धमिलो–धमिलोे मात्र देखें ।
विस्तारै आफ्नो जीउ छामें । हातको एउटा औंलै थिएन । शरीरमा प्वाल परेर भित्रको भाग देखिन्थ्यो । छाती र हातहरू क्षत–विक्षत थिए । सबै दाँत झरिसकेका थिए । शरीरमा बमका छर्राहरूले प्वालै प्वाल भएको थियो । मेरो अवस्था कस्तो थियो भने त्यसबेला डाक्टरले ‘बाँच्दैन, पैसा खर्च नगर्नु’ भनेका रहेछन् ।
तर आन्टीहरूले मान्नु भएनछ, जति पैसा लागे पनि उपचार गर्छाैं भनेर जिद्दी गर्नुभएछ । पछि मलाई वीर अस्पतालबाट डिस्चार्ज गरेर टिचिङ अस्पताल पु¥याइयो । त्यहाँ भने मेरो उपचार राम्रो गरी हुन थाल्यो । दुई महिना त म अस्पतालमै बस्नु प¥यो । बमका छर्राले दुईवटै आँखामा लागेको रहेछ । एउटा आँखा त्यही बेला गुमाइसकेको थिएँ । अर्काे पनि धमिलो, धमिलो देख्थें ।
तीन वर्षपछि त्यो आँखा पनि गुम्यो । दुवै आँखाको ज्योति गुमेपछि मेरो संसार अँध्यारो भयो । त्यतिबेला माओवादी सरकारमा थियो, तर मैले उपचार खर्च पनि पाइनँ । जबकि म उनीहरूले नै सुरु गरेको द्वन्द्वका कारण त्यो हालतमा पुगेको थिएँ । सरकारबाट मलाई कत्ति पनि सहयोग भएन ।
पछि ‘एजुकेशन फर फाउण्डेशन’ नामक संस्थाले सबै उपचार खर्च व्यहोरिदियो । पढ्न पनि उसैले सहयोग गरिदियो । आँखाको ज्योति गुमेपछि मेरो जिन्दगी अँध्यारो भयो । कोठाभित्र बस्थें । बाहिर–भित्र पनि एक्लै गर्न नसक्ने भएँ । जे गर्दा पनि अरूको सहारा चाहिन्थ्यो । मेरो लागि एक जना कुरुवा नै राख्नुपथ्र्यो ।
बेला–बेला म यस्तो जिन्दगी बाँच्नु भन्दा मरेकै ठिक भनेर आफन्तहरूबाट सुन्थें । यस्तो सुन्दा मन कुँडिएर आउँथ्यो । दुई वर्ष कोठाभित्रै रोएर बसें । म डिप्रेसनमा गइसकेको थिएँ । गाउँ पनि फर्केर जान सकेको थिइनँ । दिनभरि रुन्थें, यस्तो जिन्दगी बाँच्नु भन्दा मर्नु ठिक भन्ने जस्तो सोचाइ आउँथ्यो । त्यो समय मेरो दिन र रात रोएरै बित्थ्यो ।
एजुकेशन फर फाउण्डेशनले मलाई पढ्न सघायो । कीर्तिपुरमा मैले दृष्टिविहीनसँग पढ्न थाले । त्यहाँ मैले अरू जस्तै साथी भेटे । त्यहाँ पुगेपछि पढ्नुपर्छ भन्ने केही ऊर्जा आयो र ब्याचलरसम्म पढाइ जारी राखें । द्वन्द्वले मेरो जीवनको खुसी नै खोसिदियो । हाँस्ने, खेल्ने, दौडिने उमेरमा आँखा गुमाएँ । मेरो जिन्दगी फेरि उस्तै रहेन । त्यो पीडाले म ५, ६ वर्षसम्म गाउँ फर्केर पनि गइनँ ।
घरमा बुबाआमाको अवस्था एकदमै नाजुक भइसकेको रहेछ । मलाई नदेख्दा उहाँहरूले म जिउँदो छु भनेर पत्याउनु नै भएको रहेनछ । ५, ६ वर्षपछि घर पुगेर भेटेपछि मात्रै म बाँचेकै रहेछु भनेर पत्याउनुभयो । मलाई भेट्नु भन्दा अघि उहाँहरू खाना नखाएर, रोएर मात्रै बस्नु हुँदोरहेछ ।
युद्धले मेरो जीवन, हाँसो, खुसी सबै खोसिदियो । यतिका दुःख झेले पनि राज्यले मलाई द्वन्द्वपीडित समेत ठानेन । उपचार खर्च, राहत, परिपूरण केही दिएन । पहुँच हुनेले मनपरी राहत पाए । तर हाम्रो पहुँच थिएन, बा–आमा पनि सोझा थिए ।
सरकारले २०६३ साल अघिका पीडितलाई मात्रै द्वन्द्वपीडित भन्यो । हामी न विद्रोही पक्षका थियौं, न राज्य पक्षका । हामी त सर्वसाधारण थियौं, जसलाई युद्धसँग लिनु–दिनु थिएन । युद्धमा हाम्रो दोष केही थिएन । तर पनि राज्यले हामीलाई विभेदपूर्ण व्यवहार ग¥यो ।
शान्ति–सम्झौतापछि विस्फोटका घटनाबाट घाइते भएकालाई सरकारले अहिलेसम्म पीडित भनेर समेटेको सम्म छैन । जबकि उनीहरूकै कारण हाम्रो यस्तो अवस्था भयो । यसको जिम्मेवारी राज्यले नै लिनुपर्छ । राज्यले हामीलाई द्वन्द्वपीडित भनेर परिचय दिनुपर्छ । किनभने यो हामी आफैंले गरेका थिएनौं ।
(शान्ति प्रक्रियापछि विस्फोटक पदार्थको धरापमा परेर दुवै आँखा गुमाएका कालीकोटका पाण्डेसँग अनलाइनखबरकर्मी आभास बुढाथोकीले गरेको कुराकानीमा आधारित ।)
प्रतिक्रिया 4