+
+

मलेसिया र खाडीमा श्रमिक कटौती, नेपालले के गर्ने ?

मलेसिया सहित खाडीका मुलुकले श्रमिक मागमा कटौती गर्दा अहिले त्यहाँ जाने नेपाली श्रमिकको संख्यामा वर्षेनि ठूलो गिरावट आइरहेको छ ।

आभास बुढाथोकी आभास बुढाथोकी
२०८१ भदौ ३० गते ११:१६

३० भदौ, काठमाडौं । दुई दशकदेखि नेपालको मुख्य श्रम गन्तव्यका रुपमा रहेका मलेसिया तथा खाडी मुलुकले ठूलो मात्रामा नेपाली श्रमिक कटौती गर्न थालेपछि त्यसको प्रभाव समेत नेपालको श्रम बजारमा देखिन थालेको छ ।

मलेसिया सहित खाडीका मुलुकले श्रमिक मागमा कटौती गर्दा अहिले त्यहाँ जाने नेपाली श्रमिकको संख्यामा वर्षेनि ठूलो गिरावट आइरहेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत वर्षको तुलनामा यस वर्ष वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्यामा ३.८९  प्रतिशतले कमी आएको छ ।

कुनै समय खाडी राष्ट्र साउदी, कुवेत, यूएई, ओमनमा नेपाली श्रमिकको ठूलो संख्यामा नेपालीहरु जान्थे । अहिले यो क्रम घटेको विभागको तथ्यांकले देखाउँछ । साउदीमा तीन वर्षमा जाने श्रमिकको संख्यामा कमी आएको छ । आर्थिक वर्ष ०७८/०७९ मा १ लाख ८८ बाट घटेर  ०८१/०८१ सम्म आइपुग्दा १ लाख ४१ हजारमा झरेको छ ।

कुनै समय ठूलो संख्यामा नेपाली श्रमिक भित्राउने मुलुकमध्ये कतार पनि एक थियो । तर, विश्वकप पछि कतारले पनि श्रमिकहरु कटौती गर्दै लगेको छ । आर्थिक वर्ष ०७८/०७९ मा १ लाख ८४ हजार श्रमिक लिएको कतारले आर्थिक वर्ष ०८०/०८१ मा १ लाख ३४ हजार ६९९ श्रमिक लिएको थियो ।

पछिल्लो समय खाडीको पहिलो श्रम गन्तव्य यूएईमा भने नेपालीको रोजाइ बढेको देखिन्छ । हाल यूएई नेपालको प्रमुख श्रम गन्तव्य मानिन्छ । यूएईमा रोजगारीको खोजीमा आर्थिक वर्ष ०७८/०७९ मा १ लाख २२ हजार, ०७९/०८० मा १ लाख १६ हजार ०८०/०८१ मा भने बढेर १ लाख ९३ हजार गएका थिए ।

मलेसियामा ठूलो गिरावट

विभागकै अनुसार अहिले सबैभन्दा ठूलो श्रमिक गिरावट मलेसियामा आएको छ । नेपालको प्रमुख श्रम गन्तव्य मानिएको मलेसियामै नेपाली श्रमिक मागको संख्यामा धेरै कमी आएको तथ्यांकले देखाउँछ ।

पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा मलेसिया जाने श्रमिकको संख्यामा कमी आएको देखिन्छ । आर्थिक वर्ष ०७८/०७९ मा ३ लाख ६६ हजार मलेसिया गएका थिए । आर्थिक वर्ष ०७९/०८० मा घटेर यो संख्या २ लाख ५९ हजारमा खुम्चियो । आर्थिक वर्ष ०८०/०८१ सम्म आइपुग्दा मलेसिया जाने श्रमिकको संख्या १ लाख ३ हजारमा सीमित भयो ।

चालु आर्थिक वर्ष ०८१/०८२ को पहिलो महिना साउनमा पनि मलेसिया जाने श्रमिकको संख्यामा ठूलो कमी आएको छ । साउनमा मलेसियामा १ हजार ३४४ जना वैदेशिक रोजगारीमा गएका छन् । जबकि अघिल्लो आर्थिक वर्षमा साउनमा मात्रै ९ हजार २३८ जना श्रमिक रोजगारीको खोजीमा मलेसिया गएका थिए ।

विभागका निर्देशक गुरुदत्त सुवेदी कतार र मलेशियाले श्रमिकहरु कटौती गर्दै लगेको बताउँछन् ।

नेपालका लागि खुम्चिँदै अवसर

श्रम गन्तव्य मुलुकमा भने नेपाली श्रमिकका लागि अवसर पनि खुम्चिँदै गएको देखिन्छ । वैदेशिक रोजगारसम्बन्धी जानकारहरु विगतमा जस्तो नेपाली श्रमिकका लागि अवसर नभएको बताउँछन् ।

वैदेशिक रोजगार व्यवसायीहरु कोभिड संक्रमणपछि निम्तिएको आर्थिक संकट र आप्रवासी श्रमिक ल्याउन कडाइ गरेकाले पनि नेपाल श्रमिकको लैजान कम गरेको बताउँछन् । उनीहरु भन्छन्, ‘कोभिड पछि निम्तिको आर्थिक संकटले त्यहाँका उद्योग, कलाकारखाना र  व्यवसाय धरासाय भएकाले पनि अवसहरु हिजो जस्तो छैन ।’

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार खाडी र मलेसियामा श्रमिकका लागि आउने माग कम हुँदै गएको बताउँछन् । ‘पहिले जुन संख्यामा श्रमिकको माग आउँथ्यो, अहिले त्यो छैन । वर्षैपिच्छे यो डिमाण्ड घटिरहेको छ’, उनी भन्छन् । श्रम गन्तव्य मुलुकले आन्तरिक रोजगारी सिर्जना जोड दिनेगरी नीति ल्याउँदा पनि विदेशी श्रमिक लैजान कम गरेको उनी सुनाउँछन् । त्यसको प्रत्यक्ष प्रभाव नेपाली श्रम बजारमा परिरहेको छ ।

त्यस्तै नेपालबाट श्रमिक पठाउँदा हुने ढिलाइले पनि नेपाली श्रम बजार अन्यत्र खोसिँदै गएको उनी सुनाउँछन् । ‘श्रमिक पठाउँदा चाहिने मागपत्र प्रमाणीकारणमा हुने ढिलाइ र डकुमेन्टेसनजस्ता प्रक्रियाहरु झन्झटिलो छन्’, उनले भने, ‘यही कारण पनि रोजगारदाताहरु नेपालबाट श्रमिकहरु लैजान अनिच्छुक देखिन्छन् ।’ यसको लाभ अन्य मुलुकले लिइरहेको उनले बताए ।

नेपालको प्रमुख श्रम गन्तव्य मलेसियाले गत मार्चदेखि नै आप्रवासी श्रमिक लैजान कटौती गरेको थियो । आप्रवासी श्रमिक लैजान कडाइ गरेपछि यसको प्रभाव नेपालमा पनि परेको छ । गत मार्चदेखि मलेसियाले आप्रवासी श्रमिक लैजान कडाइ गरेको थियो । मलेसियाले १५ प्रतिशत मात्रै आप्रवासी श्रमिक राख्ने नीति लिएको छ । जसको प्रभाव नेपालमा पनि देखिएको छ ।

नेपाललाई के पाठ ?

नेपालीको रोजगारीको ठूलो हिस्सा वैदेशिक रोजगारीमा निर्भर छ । सरकारी तथ्यांक अनुसार वार्षिक साढे सात लाख श्रमिकहरु नेपालीहरु रोजगारीको खोजीमा विदेश जाने गरेका छन् ।

राष्ट्रिय जनगणना ०७८ को तथ्यांकअनुसार नेपालबाट २१ लाख ९० हजार लाख नेपालीहरु विदेशिएका छन् । तीमध्ये वैदेशिक रोजगारी र अध्ययनका लागि जोनहरु छन् । .

मुलुकको ठूलो जनसंख्या वैदेशिक रोजगारीमा निर्भर भएको बेला प्रमुख श्रम गन्तव्यमा मुलुकमा श्रमिक कटौतीको असर नेपालमा पर्ने विज्ञहरु बताउँछन् । उनीहरुका अनुसार दुई दशकदेखि वैदेशिक रोजगारीमा ठूलो युवा शक्ति आश्रित यसको असर रोजगारीमा पर्ने देखिन्छ ।

तर प्रमुख श्रम गन्तव्यमा श्रमिक कैटौतीको विषयलाई भने नेपालले पाठका रुपमा हेर्नुपर्र्र्ने उनीहरु बताउँछन् । श्रम आप्रवासन मामलाका जानकार डा. गणेश गुरुङ श्रमिक परम्परागत गन्तव्य मुलुकमा श्रमिक कटौती भइरहदा नयाँ श्रम गन्तव्यका लागि ढोका खोल्नुपर्ने बेला आएको बताउँछन् ।

‘लामो समय हामी खाडी र मलेसिया जस्ता परम्परागत श्रम गन्तव्यमा निर्भर भयौं’, उनले भने, ‘अब तिनको विकल्पमा युरोप, जापान, कोरियाजस्ता नयाँ मुलुकहरुमा श्रम गन्तव्यको अवसरहरु खोज्नुपर्नेबेला आएको छ ।’ उनले नयाँ गन्तव्य मुुलुकमा श्रम सम्झौता गरेर जी टू जी र संस्थागतरुपमा श्रमिक पठाउने बाटो खोल्नुपर्ने बताए ।

यसको लाभ श्रमिक र राज्य दुवैलाई हुने उनले बताए । श्रम विज्ञ रामेश्वर नेपालले भने नेपालले अब आन्तरिक रोजगारी सिर्जना गर्न तर्फ ध्यान दिनुपर्ने बताउँछन् । ‘प्रमुख श्रम गन्तव्यमा मुलुकमा भइरहेको श्रमिक कटौती गरेको विषयलाई अवसरका रुपमा हेरिनुपर्छ’, उनी भन्छन्, गन्तव्य मुलुकहरुले, ‘यसलाई एउटा संकेतको घण्टीका रुपमा लिएर अहिलेबाट नै मुलुकभित्रै रोजगारीका दीर्घकालीन योजनाहरु बनाउनतर्फ लाग्नु जरुरी छ ।’

उनले वैदेशिक रोजगारी दीर्घकालीन उपाय नभएको भन्दै आन्तिरिक रोजगारी सिर्जनामै जोड दिनुपर्ने बताउँछन् । ‘हामीले कहिलेसम्म श्रमिक बाहिर पठाइरहने ? यो दीर्घकालीन समाधान होइन । समयमै देशभित्रै रोजगारी सिर्जनामा ध्यान नदिए समस्या निम्ताउँन सक्छ’, उनी भन्छन् ।

तर विगतमा कर्मकाण्डी र अवैज्ञानिक खालका रोजगारीका कार्यक्रमहरु ल्याउन नहुने बताउँछन् । ‘प्रधानमन्त्री रोजगार जस्ता कार्यक्रमहरु सफल हुन सकेनन्’, उनले भने, ‘अब रोजगारीका कार्यक्रमहरु ल्याउँदा अर्थपूर्ण र दिगो हुने खालका ल्याउनुपर्छ ।’

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?