२० मंसिर, काठमाडौं। दुई महिनाअघि अनलाइनखबरसँग कुरा गर्ने क्रममा पूर्वराष्ट्रपति विद्या भण्डारीले आफू एमाले अध्यक्ष बन्ने सम्भावना टरिनसकेको खुलासा गरेकी थिइन् ।
नागरिकको करले चलेको राज्यको सम्मानित पदमा पुगिसकेपछि फेरि सक्रिय राजनीतिमा फर्किने उनको अभिलाषा कसरी कार्यान्वयन होला या नहोला, समयले बताउला । तर भण्डारीकै अभिव्यक्तिको सिको गरेर अघि बढेका छन् उनकै पालाका उपराष्ट्रपति नन्दकिशोर पुन ।
अर्थात् पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ पुनः सक्रिय राजनीतिमा फर्किने पक्कापक्की देखिएको छ । उनी नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति उपाध्यक्ष बनेर सक्रिय राजनीतिमा फर्कने भएका हुन् ।
माओवादीका नेताहरूका अनुसार पुन र अर्का नेता अमिक शेरचनलाई माओवादीले उपाध्यक्ष बनाउने तयारी गरेको छ । ‘पासाङजी लगभग उपाध्यक्ष भए । अमिक शेरचनको विषयमा छलफल जारी छ,’ माओवादी केन्द्रका एक पदाधिकारीले भने ।
ती पदाधिकारीका अनुसार यही मंसिर २७ गते बस्ने स्थायी समितिको बैठकले निर्णय गरेर केन्द्रीय समितिको बैठकमा लैजाने तयारी छ । पार्टीको केन्द्रीय समिति पुस २ गतेका लागि बोलाइएको छ । उक्त बैठकले अनुमोदन गरेमा पुन माओवादी केन्द्रको उपाध्यक्ष बन्नेछन् ।
पुन र शेरचनलाई उपाध्यक्ष बनाउन विधान संशोधनको विकल्पबारे पनि माओवादी पदाधिकारीले गृहकार्य गरेका छन् । माओवादी केन्द्रका अर्का पदाधिकारी भन्छन्, ‘पदाधिकारी थप भएको विषयमा अर्को महाधिवेशनमा छलफल हुनेगरी जान सकिने व्यवस्था विधानतः रहेकाले अप्ठ्यारो पर्दैन ।’
पुनलाई उपाध्यक्ष बनाउने विषयमा बिहीबार बसेको पदाधिकारी बैठकमा सामान्य छलफल भएको थियो । पार्टी अध्यक्ष प्रचण्डले ‘पदाधिकारीमा केही मिलाएर जानुपर्ने भएको छ’ भनेर विषय प्रवेश गराएका थिए । बैठकमा नन्दकिशोर पनि पनि उपस्थित थिए । प्रचण्डको अभिव्यक्तिमा कसैले पनि विमति नराखेको नेताहरू बताउँछन् ।
नन्दकिशोर स्वयंले ‘माओवादी आन्दोलनलाई अगाडि बढाउनका लागि आफूले योगदान गर्न सक्ने देखेको र यसका लागि ठाउँ पाए काम गर्न तयार रहेको’ प्रतिक्रिया दिएका थिए ।
माओवादी सचिव देवेन्द्र पौडेलका अनुसार नन्दकिशोर पुन बिहीबार पदाधिकारी बैठकमा आमन्त्रित सदस्यका रूपमा सहभागी भएका हुन् । यसअघि पनि नन्दकिशोर आमन्त्रित सदस्यको रूपमा पदाधिकारी बैठकमै सहभागी भएका थिए ।
नन्दकिशोर पुन नेपालको दोस्रो र तेस्रो उपराष्ट्रपति हुन् । ७ वर्ष उपराष्ट्रपतिको भूमिका निर्वाह गरेका नन्दकिशोर पार्टी राजनीतिमा सक्रिय हुन खोजिरहेका छन् । उनकै चाहनाअनुसार पार्टीले भूमिका दिन खोजिएको माओवादी नेताहरू बताउँछन् ।
यसअघि नन्दकिशोरलाई पार्टीको भूमिका दिने विषयमा विधानको व्यवस्था अध्ययन गर्नेगरी माओवादीले उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा कार्यदल नै बनाएको थियो ।
उक्त कार्यदलमा महासचिव देव गुरुङ, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा थिए । कार्यदलले दिएको सुझावका आधारमा पुनलाई उपाध्यक्ष बनाउने प्रस्ताव स्थायी समितिबाट पास गरेर केन्द्रीय समितिको बैठकमा लैजान खोजिएको अध्यक्ष प्रचण्ड निकट नेताहरू बताउँछन् ।
हाल २१ सदस्यीय माओवादी केन्द्रको पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ छन् भने उपाध्यक्षत्रय छन्– कृष्णबहादुर महरा, अग्नि सापकोटा र पम्फा भुसाल ।
महासचिवमा देव गुरुङ छन् भने उपमहासचिवमा वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव र हरिबोल गजुरेल छन् ।
९ सचिवमा दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की रहेका छन् भने कोषाध्यक्षमा श्रीराम ढकाल । नन्दकिशोर र अमिक शेरचन दुवै जना थपिएमा माओवादीको पदाधिकारी संख्या २३ सदस्यीय हुनेछ ।
माओवादीका युवा नेताहरू भने उपराष्ट्रपतिको जिम्मेवारीमा रहेको र उमेरका कारणले समेत राजनीतिबाट रिटायर्ड हुनुपर्ने अवस्थामा पुगेका नेताहरूलाई पदाधिकारीमा ल्याउनु स्वभाविक नरहेको बताउँछन् ।
‘केन्द्रीय पदाधिकारीको आफ्नै संख्या थप्ने निर्णयमा हाम्रो समर्थन नै छैन, समर्थन नै नभएपछि विरोध गर्नुपरेन । तर, यो ठीक भइरहेको छैन,’ एक युवा नेताले अनलाइनखबरसँग भने ।
विधान महाधिवेशनले अर्को महाधिवेशनपछि कार्यान्वयन गर्नेगरी निर्णय गरेको र हाल पार्टीका सबै संरचना अन्तरिम रहेकाले महाधिवेशन अगाडिसम्म सहनुपर्ने अवस्था रहेको उनीहरू बताउँछन् ।
ती नेता थप्छन्, ‘भोलि महाधिवेशनको समयमा हामीले प्रतिस्पर्धा गर्न पाउने कुरामा अवरोध नहुँदा अहिले मौन बस्नुको विकल्प छैन ।’ तर, संवैधानिक जिम्मेवारीमा रहेकाहरू स्वयम्ले पार्टीमा जिम्मेवारी नखोज्नु उचित हुने नेताहरूको राय छ ।
ती नेताले प्रश्न गरे, ‘उपराष्ट्रपति, राष्ट्रपति भएकाहरू पार्टी राजनीतिमा सक्रिय भइरहने हो भने नयाँ नेता कसरी आउँछ ? एकपटक नेता भएपछि सधैं भइरहनुपर्छ भन्ने अभ्यास बारे महाधिवेशनमा व्यापक छलफल हुन्छ ।’
विगतमा जुनसुकै पृष्ठभूमिबाट आए पनि राष्ट्रपति वा उपराष्ट्रपतिजस्ता राष्ट्रको सर्वोच्च अनि सर्वमान्य ओहदामा बसिसकेका व्यक्तिहरु नै फटाफट दलप्रति उत्तरदायी हुँदै पद दाबी गर्दै आउने अभ्यासलाई राजनीतिवेत्ताहरुले अनौठो र अनुपयुक्त भनी विश्लेषण गरिरहेका छन् ।
प्रतिक्रिया 4