
मान्छेको एक तिहाइ जीवन सुतेरै बित्छ अरे ! भनेपछि जे-जति गर्नु छ बाँकीको दुई तिहाइमै गर्नुपर्ने बाध्यता।
यही तथ्यले- हो कि सञ्जालमा व्यापक शेयर गरे पश्चात् सत्य परिणत भएको मिथ्याले- उजागर गरेको कार्यकुशलताको आकांक्षा अनुरूप झट्टै मोबाइल बन्द गरी युनिभर्सिटी लाग्ने सुरसार मात्र के गरेको थिएँ, कोठाको चाबी भेटिनँ। त्यहीं फ्रिजमाथि राख्या जस्तो लाग्छ, जहाँ म प्रायः राख्ने गर्छु।
फ्ल्याट शेयर गर्ने भा’भए अहिलेसम्म अर्को पात्रलाई दोषारोपण पनि गरी सक्थें होला, जसरी घर छँदा केही सामान देखिनँ भने पक्कै पनि आमाकै सरसफाइ अभियानको नतिजा हो भन्ठान्ने गर्छु। तर कोठामा रहेको धुलाम्मे ऐनाले एकल दर्पण मात्र देखाउँदा, दोषको भार अर्कालाई बोकाऔं पो कसरी ?
फेरि के सारो फितलो यो मस्तिष्कको स्मरण शक्ति ? हुन त बाल्यकालमा परीक्षा दिंदा, ‘फिल इन द ब्ल्यांक्स’ मा रटेको, याद पनि गरेको तर उत्तर दिने बेला ‘हैन यो त मलाई थाहा छ’ भन्दै भन्दै भुलेको, अथवा पूरा आत्मविश्वासका साथ उल्टो उत्तर लेखेको किस्साहरूबाट केही न केही त सिकिसक्नुपर्ने हो। तर यस्तै रहेछ जिन्दगी।
आफैंले आफैंलाई निर्दोष प्रमाण गर्न कसम खाँदैछु, ‘हैन, त्यहीं नै राख्या थिएँ’। उता बस छुट्ने बेला भइसक्यो। धमाधम खोज्छु। फ्रिज पछाडि, बेन्चमा थुप्रेको कपडाको चाङ मुनि, तकिया, गलैंचा, जे जे उठाउन मिल्छ सब उठाउँछु। तर अहँ! नामोनिशान छैन। अनि फेरि त्यही क्षमायाचनाको अभिव्यक्ति। आखिरमा नराखी, राखेको जस्तो लागेको पो रहेछ।
‘लाग्ने’ भनेको मुख्य रूपमा युवावस्थाकै रोग हो शायद, जहाँ ज्ञानको खाडल ज्ञानबोधको मृगतृष्णाले भरिएको हुन्छ। आफ्नो स्कुल सम्झन्छु। गणित पढाउने टिचर असाध्यै बुद्धिजीवी। लाखौं काबिल नेपालीहरू विदेश लागे पनि कम्तीमा एउटा अद्भुत गणित पढाउने शिक्षकको उपस्थिति कसरी हो सदैव कायम हुने रहेछ।
बुढाले यस्तो मजासँग पढाउने कि इन्टिग्रेसन र डिफरेन्सिएसनका समीकरणहरूले पनि आफ्नो रहस्यको बस्त्र उतारी हामी लास्ट बेन्चमा बस्ने अबुझहरूलाई समेत न्यानो स्पर्शमा अँगालेको झैं अनुभव हुने।
पढाइसकेपछि कक्षाकार्यको लागि ब्ल्याक बोर्डमा केही प्रश्न दिन्थे।
भएका ५ वटा प्रश्नमध्ये २ वटा पढिसकेपछि त्यो न्यानो स्पर्श हराउँथ्यो, हाम्रो मुस्कानसँगै। गणितमा धेरै सूत्रहरू पढियो, तर सबैभन्दा उपयोगीमध्ये एक के हो भने रोलक्रममा जति पछाडि एउटा प्रश्न आउँछ, त्यति गाह्रो त्यो हुँदै जान्छ। डाइरेक्टली प्रोपोर्सनल।
यदि प्रश्न नम्बर १ र २ नै सकिंदैन भने लास्ट क्वेसन आँट गर्ने भनेको प्रयास बापत ग्रेस अंक पाउन लागि मात्र हो। बुढाले पढाउँदा जति मुन्टो हल्लाए पनि, जति ‘हो’ मा ‘हो’ थपे पनि, जति बुझेको जस्तो महसुस गरे पनि आखिर त्यो सब ‘लाग्नु’ को मायाजाल हुने रहेछ।
त्यसैले अचम्मित हुन्छु, जब कसैले कुन्नि कुन चाहिं टिकटक भिडियो उद्धृत गर्दै भन्छ ‘यदि सजिलै बुझाउन सकिंदैन भने तपाईंले नि बुझ्न भएको रहेनछ।”
हैन, मैले देखेको छु मेरा इन्जिनियरिङ पढ्ने साथीहरू। डाक्टर बन्न प्रयासरत भाइहरू। अन्य विषयमा पीएचडी आँटिरहेका चौबीसै घण्टा लाइब्रेरी ओगट्ने परिचित अपरिचितहरू। आफैंले नखोले पनि, सुमसुम्याएको छु तिनले बोक्ने किताब, जुन आफैं विमानमा लग्न मिल्ने सानोतिनो सुटकेस जत्रा हुन्छन्, जसलाई खोलेर सरर्र २३८ शब्दप्रति मिनेटको औसत पढ्ने गतिमा हेर्न मात्रै पनि महिनौं लाग्दो हो।
नभोगे नि जानकार छु तिनका अथक् प्रयाससँग, देखेको छु तिनका निधारमा समयसँगै कोरिंदै गएका धर्सा, र त्यही धर्साबाट निस्किंदै गएको अनुहारको चमक। वर्षौं लगाएर पढ्छन् र बल्ल ‘जानेको’ मान्छे कहलिन योग्य हुन्छन्। जुन कुरा आर्जन गर्न यति कठिन छ, त्यो सबै १० मिनेटमा बुझ्न सकिने र बुझाउनुपर्ने ?
आइन्स्टाइन आफैं प्राध्यापक छँदा कोर्स निर्धारित समयमा पढाउनुहुन्थ्यो अरे। प्रसिद्धि हासिल गरेपछि पनि गेस्ट लेक्चर दिने बेला विद्यार्थीले उहाँलाई बोल्दै जाँदा आफ्ना विचारहरू विकास गर्दै गरेको पाउँथे अरे।
यता एक्सप्रेस डेलिभरीको युगमा चाहिं जे कुरा पनि तत्काल पस्किनुपर्ने, त्यो पनि फाइनल र परिस्कृत। अझ पचाउनु पनि पर्ने। गाह्रो छ आधुनिक मानवलाई। २१औं शताब्दीको तर्कसंगत प्राणी भन्दै एक हातमा परम्पराहरूको निन्दा नि गर्नु छ, अविश्वसनीय भयो भनेर। तर ज्ञान आर्जन चाहिं ‘तथास्तु’ भनेर वरदान पाए जसरी पाउन पनि छ।
आखिर किन? ताकि त्यही सरलीकृत बुझाइ अन्यसँग बाँड्न मिलोस्, आफ्नै सरी, आत्मरतिको लागि। सरल यस कारण चाहन्छौं किनभने आफूलाई बुझ्या जस्तो लाग्छ। सञ्जालको सर्कसमा दुई–तीन शब्द हाल्ने मौका जुर्छ। रमितामा आफू छुटेको अनुभूति हुँदैन। सान्त्वना !
जटिलभन्दा जटिल समस्या ‘नेता’, ‘झोले’, ‘विदेशी’, ‘दलाल’, ‘पूँजीपति’, ‘माओवादी’, ‘साम्राज्यवादी’, ‘नयाँ’, ‘पुरानो’, क्रिश्चियन’, ‘हिन्दु’ आदि मध्ये कुनै एक शीर्षक मुनि हालिदिएपछि संसार कालो र सेतोमा परिणत भइहाल्ने। र एउटा टुक्रे भिडियो हेरिसकेपछि त जान्नका लागि के पो बाँकी रह्यो र ?
केही प्रक्रिया, घटना, पात्र वा परिस्थितिको ऐतिहासिक सन्दर्भ बारे घोत्लिएर विचार गर्नु भन्दा, तिनमा निहित पूर्वाग्रह, कमजोरी, जटिलता, प्रविधिकता आदिको लेखाजोखा गरेर तर्क निर्माण गर्नु भन्दा, हैन काठमाडौंमा भएको सबै अग्लो भवनहरू प्रचण्डको हो भन्दा बुझ्न पनि सजिलो, सुन्दा पनि रमाइलो।
शायद होला पनि अब के थाहा ? सबैको लालपुर्जा हेर्दै जाने कुरा भएन, अनि फेरि लालपुर्जा अर्काकै नाममा रै’छ भने नि त्यो प्रमाण कहाँ भयो र ? चलखेल पो हो त। फेरि प्रमाणको परिभाषा अलग छ सञ्जालतिर। हातमा फोटोकपी पन्ना, माइक, चर्को आवाज र राज्यको खिलाफ बोल्नासाथ त्यो मान्छे स्वतः सही भइहाल्छ।
सत्य तितो हुन्छ भन्ने भनाइ अहिले आएर सबै तितो कुरा सत्य हुन्छ भन्ने मान्यतामा परिणत भएको छ। अब यति भनिदिएपछि म पनि एउटा शीर्षक भित्र पर्ने नै भएँ। अंग्रेजी अलि ठिकठाक छ र विदेशमा पढ्छु। त्यसैले शायद दलालको विशिष्ट क्याटेगोरी मध्ये ‘ईयुको दलाल’मा भर्ना गरिदिन्छन् होला।
फोनमा समय हेर्छु। बस त पक्कै छुट्यो। नेपाल छँदा विदेशीले र बाहिर हुँदा विदेश स्वयंले राष्ट्रप्रेमी बनाउँदो रहेछ। दिनदिनै अनुभव गरिएका खराब पलहरू पनि सम्झनाको जादुई स्पर्शले मिठो तुल्याइदिने।
झल्झल्ती आफ्नो टोलबाट सुरु हुने हाएसको लस्कर, तिनका सदैव खुला रहेन ढोका र ढोकामा गुँड बनाएका दाजु-भाइहरूको मुहार मस्तिष्कमा छाइरहेको छ। आखिर जति हुँइकाए नि, जति रुखो बोले नि, सिट नहुने बखत कुप्रेर यात्रा गर्दा शरीर दुखे नि, नेपालमा बस छुट्दा चित्त भने कहिल्यै दुखेन।
मेरा प्यारा हाएसहरू, जसको न आगमनको समय हुन्छ न बहिर्गमनको, जो सधैं ‘आउँदै-जाँदै’ को तरल अवस्थामा रहिरहन्छन्। ठेगान नभएपछि त्यसबाट अपेक्षा पनि नहुने र जब कुनै अपेक्षा नै छैन, तब चित्त दुखाओस् पो कसरी ? रणनीति भनेकै बस स्टपतिर जाने अनि यसो यताउता हेर्ने।
कहिलेकाहीं त्यसको पनि आवश्यकता पर्दैन। बाटो किनार हिंडिरहँदा ठेगानै नहुने बसको बालै नदिने सह-चालकले अकस्मात् पछाडिबाट “जाने हो?” भनेर चिच्याउँदा, ‘हो’ मात्र मिलाइदिए, त्यहीं निर्मित हुन्छ बिसौनी।
तर विदेशमा छुटेपछि छुट्यो, छुट्यो। यतिसम्म कि निस्किसकेको बस जाममा आफ्नै अगाडि फसिरहेको छ भने पनि त्यो बन्द भइसकेको ढोका खुल्नेवाला छैन। सहचालकले झ्यालबाट टाउको निकाली, ट्राफिकले नदेखेको बखत सुटुक्क निम्तो देला भन्नु त झन् अकल्पनीय!
हाते इशारा, जसद्वारा नेपालमा गाडी रोक्ने, बाटो काट्ने, युट्युबमा खबरदारी गर्ने, नैतिकताको पाठ पढाउने जस्ता मल्टिटास्कहरू गर्न सकिन्छ, त्यो बिल्कुलै निर्बल। अब अर्को बस आउन बीस मिनेट लाग्छ।
कसैले ‘गुरु अलि छिटो जाऊ’ भन्दैमा, अथवा सोही रुटको अर्को गाडीले पछ्याउँदैमा चालकले एक्सिलेटर दबाएर त्यो अवधि घटाउने सम्भावना पनि न्यून। घर छँदा चित्तै नबुझ्ने नेपाली जीवनको अनिश्चितता, केही कुराको पहिल्याउन नसक्ने ‘ठेगान’ अहिले विदेशमा आएर यताको प्रणालीले फोन मार्फत ठ्याक्कै पहिल्याइदिंदा अलिकति विचित्र लाग्ने रहेछ।
हुन त छुटेको बसले अलिकति समय थपिदिएको छ। तर तात्कालिक र क्षणिक हो यो राहत। फुटबलमा नब्बे पछिको प्लस २ जस्तो। नेपालमा व्याप्त ‘के था’ र ‘खै हेरौंला नि’ ले प्रधान गर्ने कालातित आराम छैन यहाँ, जसमा दौडाउने भन्दा सुस्ताउने शक्ति प्रबल हुन्छ।
जब म कोठाबाट निस्कौंला, तब लगभग ५०० मिटरको हिंडाइ पछि बाटो काट्नुपर्नेछ, स्वचालित बत्तीको सहायता लिई। ४७५ मिटर जति पुग्दा प्रायः हरियोमा अडिरहने बत्ती मुनि गणना सुरु हुनेछ १० बाट। र त्यो देख्ने बित्तिकै मेरो शरीरले आफैं विना कुनै सचेत प्रयास गति लिनेछ। पाइलाहरू छलाङमा परिणत हुनेछन् र आफैंलाई दौडिरहेको पाउनेछु। कहिले भ्याउँछु, कहिले भ्याउँदिनँ। तर प्रयास चाहिं सधैं गर्छु।
गन्ती सुरु भएको आभास हुनासाथ आलस्यको कम्मल ओढेर सुतिरहेको अत्यावश्यकता, जोसँग म स्वयं परिचित हुने मौका खासै जुर्दैन, त्यो यसरी झम्टिन्छ कि म छक्कै पर्छु। र त्यही आश्चर्यको अवस्थामा मन लाग्छ एउटा चिट्ठी लेखिपठाउँ, नेपालको अर्थतन्त्र चलायमान बनाउन प्रयासरत अर्थमन्त्रीहरूलाई। लम्बेतान् ज्ञान केही हुने छैन।
सम्भवतः पहिलो ‘दुई शब्द’ हुनेछ जुन वास्तवमै दुई शब्दमा टुंगिनेछ। लेख्ने छु ‘सडक बत्ती’, जसलाई हरेक ठाउँ जडान गरिदिए हाम्रा आनन्दित पाइलाहरूले मेटाइदिएको ठेगान फेरि पत्ता लगाउन सकिन्थ्यो। तर चिट्ठी पुग्न भन्दा अगाडि मन्त्री फेरिने भएकाले अलिकति समस्या।
फोन हेर्छु अनि बेडमा थचक्क। अब त घडी पनि सुस्तरी चल्न थालिसक्यो। भन्नै पर्दा, चाबी मात्र हैन मैले जीवनका पलहरू पनि यस्तै नानाथरी विचारको बहावले गर्दा हराउँदै आएको छु। बन्द ढोकालाई हेर्दै टोलाइरहन्छु।
अनि सोच्छु, ‘यस्तो मूर्ख त छैन म’। झ्वाट्ट उठेर ढोका तान्दा, चाबी त्यहीं बाहिर झुन्डिरहेको। आखिरमा फेरि लागेकै पो रहेछ।
प्रतिक्रिया 4