+

ईपीएल खेल्न २४ विदेशी खेलाडी आउने, श्रीलंकाका ८ जना

२०७८ असोज  ४ गते १६:१२ २०७८ असोज ४ गते १६:१२
ईपीएल खेल्न २४ विदेशी खेलाडी आउने, श्रीलंकाका ८ जना

४ असोज, काठमाडौं ।  हालै ओमानमा नेपाली राष्ट्रिय क्रिकेट टिमले आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेको हेरेका क्रिकेट प्रेमीको प्रतीक्षामा रहेको अर्को प्रतियोगिता हो एभरेष्ट प्रिमियर लिग  (ईपीएल)।

नेपाली खेलाडीसंगै विदेशी स्टार खेलाडीहरुको जमघट हुने ईपीएलको चौथो संस्करण यही असोज ९ देखि २३ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदैछ । २०२० को मार्च अर्थात २०७६ साल चैतमै चौथो संस्करण आयोजना गर्ने भनिएपनि कोरोना महामारीले गर्दा इपीएल स्थगित भएको थियो ।

सहभागी फ्रेन्चाइजहरुले प्रतियोगिताको आन्तरिक तयारी गरिसकेका छन् । ईपीएलमा आकर्षणको केन्द्रविन्दुको रुपमा रहेका विदेशी खेलाडीको अनुबन्ध प्रक्रिया समेत लगभग सबै टिमले गरिरहेका छन् ।

आयोजकका अनुसार ईपीएलका ६ वटै फ्रेन्चाइज क्लबले ३ विदेशी खेलाडी अनिवार्य टिममा राख्नुपर्नेछ । ईपीएलमा खेल्न आउने विदेशी खेलाडीको नामले धेरै नै चर्चा पाएको छ । यस पटक पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी देखि बंगलादेशका सफल ब्याट्सम्यान तमिल इक्वालसम्म ईपीएल खेल्न आउँदैछन् ।

फ्रेन्चाइजहरुले अष्ट्रेलियादेखि इंग्ल्याण्डसम्मका टी-२० का चर्चित खेलाडीहरु ल्याउने प्रयास गरेपनि आइतबारदेखि युएईमा सुरु भएको आईपीएल २०२१ को दोस्रो लेग र आउँदै गरेको आईसीसी टी-२० विश्वकपका कारण सम्भव हुन सकेन ।

त्यसैले टी-२० विश्वकप खेल्ने टिममा नपरेका धेरै खेलाडी नेपाल आउँदैछन् । अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म युएई र ओमानमा टी-२० विश्वकप आयोजना हुँदैछ । तर विश्वकप खेल्ने टिममा परेका अफगानिस्तानका तीन खेलाडी भने ईपीएलमा अनुबन्ध भएका छन् र नेपाल आउँदैछन् ।

जसमा मोहम्मद साहाजाद र करिम जन्नत चितवन टाइगर्सबाट खेल्ने छन् भने रहमानुलल्ह गुर्बाज काठमाडौं किंग्स ११ मा अनुबन्ध भएका छन् । यसैगरी यस पटक मलेसिया, सिंगापुर र भुटानका खेलाडी समेत ईपीएल खेल्न आउँदैछन् ।

अहिलेसम्म ६ टिमले गरी कूल २४ विदेशी खेलाडी अनुबन्धित छन् । ईपीएलमा प्रतिस्पर्धा गर्ने ६ वटै फ्रेन्चाइज सकेसम्म स्टार विदेशी खेलाडी राख्ने होडमा छन् ।

समय जुधेकाले धेरै उत्कृष्ट खेलाडी आईपीएल खेल्न गएका छन् । तैपनि टेष्ट मान्यता प्राप्त राष्ट्र श्रीलंकाबाट मात्रै ८ खेलाडी ईपीएल खेल्न आउँदैछन्  । जसमा राष्ट्रिय टिमका पूर्व ओपनर उपुल थरंगादेखि अहिलेका स्टार असेला गुनारत्ने सम्म छन् ।

चितवनले अहिलेसम्म ५ विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । जसमा साहाजाद र करिम जन्नतसंगै श्रीलंकाका सेकुगे प्रसन्ना, पाकिस्तानका डानिस अजिज र मलेसियाका भिरनदीप सिंह छन् ।

यस्तै साविक विजेता तथा राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लको कप्तानी रहेको ललितपुर प्याट्रिओट्सले श्रीलंकाका ओसादा फर्नान्डो र सन्दुन विराकोडी, अफगानिस्तानका ओमारजाई र भुटानमा मिक्योङ दोर्जीलाई अनुबन्ध गरेको छ ।

साविक उपविजेता भैरहवा ग्लाडिएटर्सले श्रीलंकन उपुल थरंगा र धम्मिका प्रसादसंगै बंगलादेशका तमिम इक्वाल र मलेसियाका सर्भिन मुनिएन्डीलाई अनुबन्ध गरेको छ ।

पोखराले टेष्ट राष्ट्र वेष्ट इन्डिजबाट केसरिक विलियम्स र दक्षिण अफ्रिकाका रिचर्ड लेभीलाई अनुबन्ध गरेको छ । यसैगरी श्रीलंकन असेला गुनारत्ने र साहान अरासिगेलाई पनि पोखराले अनुबन्ध गरेको छ ।

यसैगगरी एक पटकको विजेता विराटनगर वारियर्सले जिम्बाव्वेका अलराउण्डर सिकन्दरराजा, वेष्ट इन्डिजमा हेमराज चन्द्रपउल, क्यानडाका रेयानखान पठान र श्रीलंकाका दिल्सान मुनाविरालाई अनुबन्ध गरेको छ ।

काठमाडौंलै  शाहीद अफ्रिदी र गुर्बाजसंगै सिंगापुरका जनक प्रकाशलाई पनि अनुबन्ध गरेको छ ।

अहिलेसम्म भैरहवाले अनुबन्ध गरेका श्रीलंकाका दिनेश चन्डिमाल र ललितपुरले अनुबन्ध गरेको इंग्ल्याण्डका एलेक्स ब्लेक भने नआउने भएका छन् ।

आयोजक ईपीएल प्रालिका म्यानेजिङ डिरेक्टर आमिर अख्तरले विदेशी स्टार खेलाडीको आगमनले ईपीएलको दायरा अझै ठूलो हुने र नेपालको पर्यटनमा समेत यसले सहयोग पुग्ने बताउँदै आएका छन् ।

विश्वका विभिन्न लिगमा खेलिसकेका, टी-२० विश्वकप खेलेका देखि पहिलो पटक विदेशी फ्रेन्चाइज लिगमा छनोट भएकाहरुसम्म यस पटक ईपीएल खेल्न नेपाल आउँदैछन् ।

अहिलेसम्म घोषणा भएका विदेशी खेलाडी

ललितपुर प्याट्रिओट्स

ओशादा पर्नान्डो : श्रीलंका

अजमतुल्लाह ओमारजाई : अफगानिस्तान

सन्दुन विराकोडी : श्रीलंका

मिक्यो दोर्जी : भुटान

भैरहवा ग्लाडिएटर्स

उपुल थरंगा :  श्रीलंका

धम्मिका प्रसाद :  श्रीलंका

तमिम इक्वाल : बंगलादेश

सर्विन मुनिएन्डी : मलेसिया

पोखरा राइनोज

रिचर्ड लेभी : दक्षिण अफ्रिका

केसरिक विलियम्स :  वेष्ट इन्डिज

असेला गुनारत्ने : श्रीलंका

साहान अराससिगे : श्रीलंका

काठमाडौं किंग्स ११

शाहिद अफ्रिदी : पाकिस्तान

जनक प्रकाश : सिंगापुर

रहमानुल्लाह गुर्बाज : अफगानिस्तान

चितवन टाइगर्स

मोहम्मद साहाजाद : अफगानिस्तान

करिम जन्नत : अफगानिस्तान

डानिस अजिजत : पाकिस्तान

सेकुगे प्रसन्न : श्रीलंका

भिरनदिप सिंह : मलेसिया

विराटनगर वारियर्स

सिकन्दर राजा : जिम्बाव्वे

रेयानखान पठान : क्यानडा

चन्द्रपउल हेमराज : वेष्ट इन्डिज

दिल्सान मुनाविरा : श्रीलंका

कुन देशका कति खेलाडी ?

श्रीलंका : ८

अफगानिस्तान : ४

वेष्ट इन्डिज : २

पाकिस्तान : २

मलेसिया : २

दक्षिण अफ्रिका :  १

बंगलादेश : १

जिम्बाव्वे : १

सिंगापुर : १

क्यानडा : १

भुटान : १

ईपीएल क्रिकेट नेपाली क्रिकेट
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय