+

खेलकुद मन्त्रालयको प्रस्तावित बजेट : मूलपानी क्रिकेट रंगशालालाई ५० कराेड, अरुलाई कति ?

२०८१ जेठ  १३ गते ९:०२ २०८१ जेठ १३ गते ९:०२
खेलकुद मन्त्रालयको प्रस्तावित बजेट : मूलपानी क्रिकेट रंगशालालाई ५० कराेड, अरुलाई कति ?

१३ जेठ, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले आर्थिक वर्ष ०८१/८२ का लागि प्रदेश र स्थानीय तहलाई सशर्त अनुदान उपलब्ध गराउने बजेट तथा कार्यक्रम प्रस्ताव गरेको छ ।

मन्त्रालयले बजेट कार्यक्रममा खेल पूर्वाधार निर्माण र प्रतियोगिता आयोजनालाई प्राथमिकतामा राखेको छ । पूर्वधारअन्तर्गत मूलपानी क्रिकेट एकेडेमी तथा रंगशाला निर्माणका लागि ५० करोड रुपैयाँ माग गरिएको छ । यस्तै मोरङको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट स्टेडियमका लागि १० करोड प्रस्ताव गरिएको छ ।

कीर्तिपुरस्थित टियु मैदानको फ्लड लाइट र स्कोर बोर्ड जडानका लागि २० करोड रुपैयाँ माग गरिएको छ । पोखरा क्रिकेट रंगशाला र धनगढी प्रादेशिक रंगशाला तथा कभर्डहल निर्माण तथामर्मतका लागि समान १ करोड ५ लाख रुपैयाँ रहेको छ ।

कोहलपुर क्रिकेट रंगशाला तथा महिला क्रिकेट एकेडेमी निर्माणका लागि पनि १ करोड ५ लाख माग गरिएको छ । पोखरा रंगशालाको स्तरोन्नतिका लागि १ करोड ५ लाख तथा दशरथ रंगशाला, सातदोबाटो खेलकुद परिसर तथा लैनचौरको कभर्ड हल मर्मत सम्भारका लागि १ करोड ५ लाख रुपैयाँ छुट्टयाएको छ । त्रिपुरेश्वरस्थित बहुउदेश्यीय कभर्डहल स्तरोन्नती तथा सवलीकरणका लागि ३ करोड प्रस्ताव गरिएको छ ।

स्पोर्ट्स साइन्स ल्याब स्थापनाको लागि ३ करोड प्रस्ताव गरिएको छ । प्रदेश सरकारबाट कार्यान्वयन गरिने आयोजनाहरु अन्तर्गत कर्णालीमा पातारासी हाइ अल्टिच्युडका लागि ४ करोड  र दोलखाको सैलुंगमा ३ करोड रुपैयाँ प्रस्ताव गरिएको छ ।

यस्तै स्थानीय तहमा सशर्त अनुदान प्रदान गरिने आयोजनाहरुमा विभिन्न जिल्लामा रंगशाला र मैदानहरु निर्माणमा बजेट प्रस्ताव गरिएको छ । मन्त्रालयले बजेटमा प्रतियोगिताहरुको संख्या थप गरेको छ । जसमा नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरु देखि राष्ट्रिय स्तरका प्रतियोगिताहरु समेत समावेश गरिएको छ ।

मन्त्रालयलले मिसन २०२६ विशेष प्रशिक्षणका लागि २ करोड ५० लाख छुट्याएको छ । छैटौं एसियन इन्डोर मार्सल आर्ट्स गेम्सको तयारीमा लागि २ करोड रुपैयाँ रहेको छ । एसियाली ई-स्पोर्ट्स प्रतियोगिताका लागि ५० लाख तथा पेरिस ओलम्पिक सहभागिता व्यवस्थापनका लागि ९० लाख रुपैयाँ प्रस्ताव गरिएको छ ।

राष्ट्रिय महिला लिग फुटबल सञ्चालनको लागि ५० लाख प्रस्ताव गरिएको छ । यसबाहेक विभिन्न खेल संघहरुको राष्ट्रिय प्रतियोगिता आयोजनाका लागि २०-२० लाख रुपैयाँ छुट्याइएको छ ।

मौलिक तथा परम्परागत खेलकुद प्रतियोगिता आयोजनामा २० लाख प्रस्ताव गरिएको छ । नेपालमा आयोजना हुने काभा मेन्स क्लब च्याम्पियनसिप र काभा वुमन्स नेशन्स लिग भलिबलका लागि ५०-५० लाख बजेट प्रस्ताव गरिएको छ ।

नेपालमा हुने आसन्न दुई अन्तर्राष्ट्रिय रग्बी प्रतियोगिताका लागि ४० लाख प्रस्ताव गरिएको छ । मन्त्रालयले खेलकुद दशक तयारी तथा घोषणाका लागि ४० लाख बजेट प्रस्ताव गरिएको छ ।

मन्त्रालयले खेलाडी भत्ताको लागि पनि बजेट प्रस्ताव गरेको छ । जसअनुसार खेलाडी आजिवन भत्ता अन्तर्गत प्रथम ओलम्पिकयन ५ जना र पहिलो अन्तर्राष्ट्रिय पदक विजेता १ गरी ६ जनालाई ८ लाख प्रस्ताव गरिएको छ ।

यस्तै ओलम्पिकयन खेलाडी भत्ता १०४ जनालाई ५० लाख प्रस्ताव गरिएको छ । यस्तै अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई मासिक भत्ताको रुपमा १ करोड ७८ लाख राखिएको छ । खेलाडी दुर्घटना विमामा ५० लाख रुपैयाँ राखिएको छ ।

खेलकुद मन्त्रालय बजेट प्रस्ताव
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय