+

राष्ट्रिय खेलकुद नियमित आयोजना गराउने खेलकुदमन्त्री पोखरेलको प्रतिबद्धता

२०८३ मंसिर  ६ गते १७:५६ २०८३ मंसिर ६ गते १७:५६

६ मंसिर, काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय खेलकुद नियमित आयोजना गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

१०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र पारिएको जानकारी गराउँदै उनले विगतमा देखिएको ढिलासुस्ती र अवरोध अन्त्य गर्दै अबदेखि प्रतियोगितालाई नियमित आयोजना गर्ने बताएका हुन्।

हरेक दुई वर्षमा आयोजना गर्ने लक्ष्यसहित २०३८ सालमा सुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगिताका अहिलेसम्म नौवटा संस्करण मात्रै सम्पन्न हुनु दुःखद भएको पनि मन्त्री पोखरेलले उल्लेख गरेका छन्।

नेपाल प्रिमियर लिग (एनपीएल) पछि नेपाली खेलकुदको ध्यान अब राष्ट्रिय खेलकुदतर्फ केन्द्रित भएको उनको भनाइ छ।

मन्त्री पोखरेलले एनपीएलले जगाएको ऊर्जा, व्यावसायिकता र उत्साहलाई निरन्तरता दिँदै राष्ट्रिय खेलकुदको महाकुम्भलाई भव्य बनाउने तयारी भइरहेको जानकारी दिएका हुन्।

प्रतियोगिताका मुख्य खेलहरू मंसिर ८ गतेदेखि सुरु हुनेछन् भने औपचारिक उद्घाटन मंसिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा हुनेछ।

‘यही मंसिर ८ गतेबाट मुख्य खेलहरू सुरु भई मंसिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा औपचारिक उद्घाटन हुने यस बृहत् प्रतियोगिताको तयारी तीव्र पारिएको छ,’ उनले लेखेका छन्।

नेपाली खेलकुदको स्तर उकास्न र खेलकुदलाई बलियो संस्कृति तथा व्यावसायिक क्षेत्रका रूपमा स्थापित गर्न सरकार गम्भीर रहेको उल्लेख गर्दै उनले खेलाडी, खेलप्रेमी र सरोकारवालासँग सहकार्यको अपेक्षा गरेका छन्।

‘खेलकुदलाई एउटा बलियो संस्कृति र व्यावसायिक क्षेत्रका रूपमा स्थापित गर्दै दशौँ राष्ट्रिय खेलकुदलाई ऐतिहासिक र भव्य बनाउन सम्पूर्ण खेलाडी, खेलप्रेमी तथा सरोकारवालाहरूको साथ र सहकार्यको अपेक्षा गर्दछौँ,’ उनले लेखेका छन्।

खेलकुदमन्त्री सस्मित पोखरेल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय