+

सातौं मेयरकपको उपाधि पविन र निश्चलको जोडीलाई

२०८१ जेठ  १३ गते १०:३२ २०८१ जेठ १३ गते १०:३२
सातौं मेयरकपको उपाधि पविन र निश्चलको जोडीलाई

१३ जेठ, काठमाडौं । नेपाली सेनाका पविन लिङ्गथेप र भोजपुरका निश्चल खत्रीको जोडी भोजपुरमा सम्पन्न सातौं मेयरकप खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् ।

च्याम्पियनको जिल्ला भनेर चिनिने भोजपुरमा भएको पुरुष युगल फाइनल खेलमा पविन र निश्चलको जोडीले नेपाली सेनाका नरेन्द्र बम र हिमाल चन्दको जोडीलाई २१-१८, २०-२२, २१-११ ले परातिज गर्दै उपाधि हात पारेका हुन् ।

विजयी खेलाडीहरुले नगद ५० हजार र उपविजयी खेलाडीहरुले नगद २५ हजारसहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

यस्तै तेस्रो स्थान प्राप्त गर्ने एपीएफका भोजबहादुर गुरुङ्ग र भोजपुरका लाक्पा शेर्पा तथा संखुवासभाका सुनिल कार्की र भोजपुरका महेश खड्काको जोडीले नगद १२/१२ हजारका साथ मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

मिक्स डबल्स खुल्ला तर्फको प्रतिस्पर्धामा पूर्वनम्बर एक भोजपुरकी नङ्गशल तामाङ्ग र एपीएफका भोजबहादुर गुरुङ्गको जोडीले उपाधि जिते । उक्त जोडीले संखुवासभाका सुनिल कार्की र इलामकी निसम सुब्बालाई २१-१७, २१-११ ले पाखा लगाउँदै उपाधी उचालेका हुन् ।

उदयपुरका बिनय चौधरी र फिदिमकी छाया केरुङ्ग तथा सेनाका नरेन्द्र बम र रिहाना शेरचनको जोडी संयुक्त तेस्रो भए ।

विजयी जोडीले नगद ३० हजार, उपविजयीले नगद २० हजार र तेस्रो हुनेले नगद १० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

प्रतियोगिताको यु-१५ गर्ल्सतर्फको प्रतिस्पर्धामा सेनाकी रिहाना शेरचनले आफ्नै क्लबकी सम्बृद्धि श्रेष्ठलाई २१-१६, २१-५ ले पराजित गर्दै जित हात पारिन् । तेस्रो स्थानमा बेलटार ब्याडमिन्टन एकेडेमीकी दिया राई र भोजपुरकी नदिरा तामाङ रहे ।

यस्तै ब्वाइजतर्फ सेनाका सुविन श्रेष्ठले आफ्नै क्लबका सुदेश राजकोटीलाई पराजित गर्दै उपाधि जिते । सुविनले सुदेशमाथि २१-१०, २१-१७ को जित निकालेका हुन् । एनटिएससीका सुजल चौधरी र भोजपुरका सदीप राई संयुक्त तेस्रो भए ।

यु-१५ तर्फ पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीहरुले क्रमश १५ हजार, १० हजार र ५ हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

९० वर्षमाथिको मास्टर्स डबल्सतर्फ भोजपुरका राम राई र दानबहादुर तामाङ्गको जोडीले जित हात पारे । उक्त जोडीले सुनसरी ब्याडमिन्टन एकेडेमीका भजनलाल चौधरी र सावन चौधरीको जोडीलाई २१-१८, २१-१९ ले पराजित गरेका हुन् ।

तेस्रो स्थानमा एनटिएससीका सन्तोष कटुवाल र सुनिल परियारको जोडी तथा भोजपुरका जीवन बोगटी र एलबिएका राजेन्द्र महर्जन रहे । जोडीको कुल उमेर ९० बर्ष मानेर ९० बर्ष माथिको मास्टर्स प्रतियोगिता आयोजना गएिको प्रतियोगिता संयोजक पूर्वच्याम्पियन बिवेक श्रेष्ठले जानकारी गराए ।

विजयी जोडीले नगद ३० हजार उपविजेता जोडीले नगद २० हजार र तेस्रोले नगद १० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

यस्तै पुरुष युगल बी तर्फको प्रतिस्पर्धामा दमक एनबिएका जुनुन राई र प्रकाश राइको जोडीले पाँचथरका कुशल बस्नेत र दर्पण केरुङ्गको जोडीलाई २१-१८, २१-१७ ले पराजित गरे ।

विजयी खेलाडीहरुलाई भोजपुरका मेयर, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, महासचिव वीरेन्द्र श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा देशभरका १४५ खेलाडीहरुको सहभागिता रहेको थियो ।

खेलकुद ब्याडमिन्टन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय