
२५ असोज, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा ५ वटा वर्थिङ सेन्टर र ५ वटा वडा कार्यालय भवन बनाउन लागिएको छ । महानगरपालिकाको विभिन्न वडामा वर्थिङ सेन्टर र वडा कार्यालय भवन बनाउन लागिएको हो ।
राष्ट्रिय योजना आयोगको विशेष अनुदानबाट वर्थिङ सेन्टर बनाउन लागिएको वीरगञ्ज महानगरपालिकाको पूर्वाधार विकास शाखाले जनाएको छ । वीरगञ्ज–२२ जगरनाथपुर, २६ नम्बर सुगौलीविर्ता, १७ नम्बर अलौ, ३१ नम्बर बेल्वा र २९ नम्बर बसडिल्वामा चालु आर्थिक वर्षभित्र वर्थिङ सेन्टर बनिसक्ने महानगरपालिकाले जनाएको छ ।
५ वटा वर्थिङ सेन्टर र ५ वटा विद्यालय भवन गरी १० वटा भवन बनाउन ठेक्का आव्हान गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको शहरी पूर्वाधार विकास महाशाखाका प्रमुख इन्जिनियर राकेश साहले जानकारी दिए ।
प्रतिवर्थिङ सेन्टर लागत १ करोड ११ लाख रुपैयाँ अनुमान गरिएको छ । वर्थिङ सेन्टरको भवन १ तलाको भएपनि सुविधा सम्पन्न हुने जनाइएको छ ।
पाँच ठाउँमा सुविधा सम्पन्न वडा कार्यालय बन्ने
वीरगञ्ज महानगरपालिकामा ३२ वटा वडा छन् । १६ वटा वडा ग्रामीण क्षेत्रमा पर्छ भने १६ वटा वडा शहरी क्षेत्रमा पर्छन् । ग्रामीण वडाका अधिकांश वडा कार्यालय तत्कालीन गाविस भवनमा छन् । कतिपय वडा कार्यालय भाडाको घरमा छन् । आफ्नै भवन भएकाको सुविधा सम्पन्न छैन । वडा नम्बर १८ र २३ मा सुविधा सम्पन्न भवन छ । बाँकी वडा कार्यालयको भवन गतिलो छैन ।
वडा नम्बर ८ को वडा कार्यालय बन्द गरिएको रात्री माविको भवनमा छ । वडा नम्बर १५ को भाडामा चलेको छ ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप कुमार निरौलाले भवन गतिलो नहुँदा सेवा प्रवाहमा समस्या भईरहेकोले वडा कार्यालय भवन बनाउन लागिएको जानकारी दिए ।
‘ अधिकाशं वडा कार्यालय भवन जिर्ण छ, कतिपय वडा कार्यालय तत्कालिन गाविस भवनमा छन् । कोहि जस्ताको छाना भएको कतै पानी चुहिने समस्या, सुविधा सम्पन्न कार्यालय नहुँदा विजोग छ ।’ उनले भने ‘क्रमशः भवन बनाउँदै लैजाने सोचले चालु आर्थिक वर्षमा ५ वटा वडाको कार्यालय भवन बनाउँदैछौं ।’
प्रतिक्रिया 4