
११ कात्तिक, विराटनगर । यमपञ्चक सुरु भइसकेको थियो । अन्तजस्तै कानेपोखरी-४ (साविक बयरवन-६) मा पनि तिहारको माहोल थियो । किनमेलका लागि भन्दै २४ वर्षीय सुनिल धिमाल दोहमना बजार गएका थिए ।
बजारबाट फर्किंदै गर्दा बाटोमा नेपाली सेनाको टोलीले उनलाई नियन्त्रणमा लिएर बेपत्ता बनायो । कारण उनी माओवादी आन्दोलनमा लागेका थिए र सुरक्षाकर्मीको ‘हिटलिस्ट’मा थिए ।
घरमा तिहारको माहोल बिथोलियो । रुवाबासी चल्यो । सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेका बेला सेनाले बेपत्ता बनाएको छोरो खोजीका लागि बुबा रामबहादुरले हारगुहार गरे । एक सातापछि जसोतसो जिल्ला प्रशासन कार्यालय मोरङमा आएर सोधीखोजी गर्दा पत्ता लागेन । सास नभए छोराको लास देऊ भन्दै रोइकराई गर्दा उनको कुरा सुन्ने कोही भएनन् । त्यसपछि छोरो खोज्दै राज्यका निकाय धाएनन् । तर आउँछ कि भन्ने आशमा १९ वर्ष बिताए ।
७५ वर्षीय रामबहादुरले अब भने छोरा आउने आश मार्दै काजकिरिया गरेका छन् । छोरो बेपत्ता भएको १९ वर्षपछि कात्तिक ६ गतेबाट उनले काजकिरिया सुरु गरेका हुन् । ‘बाँचेको भए त अहिलेसम्म घर आइहाल्थ्यो नि,’ भक्कानिदै रामबहादुरले भने, ‘अब त फर्किन्छ भन्ने आशै मर्यो।’
काका धनबहादुरका अनुसार काग तिहारको दिन बजारबाट र्फकदै गरेका सुनिललाई पक्राउ गरेको सेनाले कुट्दै गाडीमा लगेको थियो । सेनाले नियन्त्रणमा लिएको केही घण्टापछि चिसाङ खोलाको पुलमा गोली हान्यो भन्ने हल्ला चल्यो । तर लास नभेटेका कारण आमा-बुबाले पत्याएनन् ।

आँखाले नदेखेका कारण छोरो आउने आशमा १९ वर्ष बितेको आमा डल्लीमायाले बताइन् । ‘छोरा आउला कि भनेर यत्रो वर्ष हेर्यौं,’ उनले भनिन् ‘अब आश मर्यो, काम पनि गर्यौं ।’
बेपत्ता व्यक्तिको १२ वर्षसम्म पत्तो नलागे विधिवत काजकिरिया गर्नुपर्ने परम्परा धिमाल समुदायमा छ । बुढा भैसकेका आमा-बाबुले नमानेका कारण १९ वर्षपछि काम गरेको धिमाल पुरोहित खसेन्द्र धिमालले बताए । उनका अनुसार जंगलमा च्याउ टिप्न जानेहरुले सेनाले सुनिलमाथि गोली चलाएको सूचना ल्याएका थिए ।
राज्यले पैसा दियो, छोरोको अवस्थाबारे थाहा दिएन
द्वन्द्वकालमा सुरक्षा निकायको टोली पटक-पटक घर पुग्दा सुनिल भागेर बाँचेका थिए । छोरो माओवादीमा लागेका कारण बारम्बार सेनाले दुःख दिइरहन्थ्यो । ‘एक दिन त जबरजस्ती घरमा पसेर सामान खोताल-पताल पारे,’ बिगत सम्झदै रामबहादुरले भने, ‘छोरीले कराउँदा गोली हान्छु भने, छोरी पनि आँटीली थिइन्, त्यसो भए हामी सबैलाई गोली हान् भनेपछि आर्मीहरु पछि हटेका थिए ।’
राज्यबाट बेपत्ता बनाइएका सुनिलको परिवारलाई सरकारले किस्ताबन्दीमा १० लाख रुपैयाँ राहत दिएको छ । तर बेपत्ता बनाएका सुनिलको अवस्थाबारे राज्यले जानकारी गराएको छैन । ‘बेपत्ता नागरिकको अवस्थाको बारेमा जानकारी दिने दायित्व राज्यको हो,’ माओवादी केन्द्र कानेपोखरी गाउँपालिका सहइञ्चार्ज अर्जुन आचार्य भन्छन्, ‘जनयुद्धमा बेपत्ता भएकाहरुको अवस्था राज्यले सार्वजनिक गर्नुपर्छ ।’
धिमाल दम्पतिका तीन छोरामध्ये सुनिल जेठा थिए । स्कुल छाडेर उनी माओवादीमा लागेका थिए । सुनिलका माहिला भाइ लिलाबहादुर घरमै खेतीपाती गर्छन्, कान्छा अमरबहादुर रोजगारीको सिलसिलामा मलेसियामा छन् ।
प्रतिक्रिया 4