
२६ मंसिर, काठमाडौं । अन्तर्राष्ट्रिय व्यपारको इतिहासदेखि वर्तमानसम्मका चुनौती र अवसर समेटेर लेखिएको ‘नेपालको अन्तर्राष्ट्रिय व्यापारः चुनौती र अवसर’ पुस्तक सार्वजनिक भएको छ । पुस्तक उद्योग वाणिज्य क्षेत्रमा झण्डै तीन दशक विताएका शरद विक्रम राणाले लेखेका हुन् ।
आफ्नो अध्ययन, सेवा अनुभव र विज्ञताको आधारमा सो पुस्तक बजारमा ल्याएको उनले बताएका छन् । नेपाल चेम्बर अफ कमर्समा आयोजित कार्यक्रममा आइतबार चेम्बर अध्यक्ष राजेन्द्र मल्लले विमोचन गरे ।
पुस्तकमा नेपालको अन्तर्राष्ट्रिय व्यापारको इतिहास, व्यापार घाटाको चुनौती, समाधानको उपायहरु पुस्तकमा समावेश गरिएको छ । विभिन्न चार खण्डमा विभाजन गरिएको पुस्तकको पहिलो खण्डमा नेपालको वैदेशिक व्यापारको पुष्ठभूमी, दोस्रो खण्डमा दक्षिण एसियाली मुलुकमा नेपालको अवस्था, मुलुकको अन्तर्राष्ट्रिय व्यापारको अवस्था समावेश गरिएको छ । यस्तै तेस्रो खण्डमा कृषि जन्य वस्तुहरुको आयत निर्यातको अवस्था, अन्तर्राष्ट्रिय व्यपारमा देखा परेका चुनौती तथा समाधनको उपायहरु पनि पुस्तकमा समावेश गरिएको छ ।
पुस्तकको अन्तिम खण्डमा आयात प्रतिस्थापनका सम्भावनाहरु, विप्रेषण आप्रवाहको थप सम्भावना, सहजीकरणका उपाय तथा मुलुकमा उपलब्ध कच्चा पदार्थमा आधारित निर्यातमुलक लघु, घरेलु तथा साना उद्योगहरुको उत्पादनदेखि निर्यातसम्मका चुनौतीलाई लेखक राणाले उल्लेख गरेका छन् ।
सरकारी र नीजि क्षेत्रमा कार्यरत सरोकारवाला निकाय, नीति निर्माता तथा आर्थिक पत्रकारिता गर्नेलाई सो पुस्तक फलदायी हुने अपेक्षा राखेको लेखक राणाले बताए । पुस्तकको विमोचन गर्दै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले नीति निर्माणकर्ताका लागि पुस्तक निकै प्रभावकारी भएको बताए ।
प्रतिक्रिया 4