+
+

क्यानडाले आदिवासी बालबालिकालाई ३१ अर्ब डलर क्षतिपूर्ति दिने

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २८ गते १३:३१

२८ मंसिर, काठमाडौं । क्यानडाले आवासीय स्याहार केन्द्रमा विभेद गरिएका आदिवासी बालबालिका र परिवारलाई क्षतिपूर्तिस्वरुप ३१ अर्ब अमेरिकी डलर दिने भएको छ ।

सेप्टेम्बरमा एक उच्च अदालतले अन्य बालबालिकाको तुलनामा आदिवासी बालबालिकालक्षित आवासीय सेवालाई न्यून बजेट उपलब्ध गराइएको भन्ने २०१६ को फैसला सदर गरेको थियो । त्यस्तै, अदालतले आरक्षण कल्याण कार्यक्रममा आबद्ध हरेक बालबालिकालाई ४० हजार क्यानाडेली डलर (३१ हजार ३५० अमेरिकी डलर) दिन भनेको थियो ।

सरकारले सुरुमा अदालतको फैसलाविरुद्ध पुनरावेदन गर्ने बताएको थियो । तर १९९६ सम्म सञ्चालित आवासीय विद्यालय नजिकै ११ सय जनाको चिहान फेला परेपछि जन दबाब खेप्दै आएको सरकारले क्षतिपूर्ति दिने भएको हो ।

क्यानडा सरकारले मंगलबार औपचारिक रुपमा क्षतिपूर्ति रकम घोषणा गर्ने अपेक्षा गरिएको बीबीसीले जनाएको छ । ३१ अर्ब बराबरको क्षतिपूर्ति रकमलाई २०१६ को न्यायिक छानबिनसहित अन्य २ वटा मुद्दा निरुपण र आदिवासी बाल कल्याण कार्यक्रमको दीर्घकालीन सुधारका लागि प्रयोग गरिने समाचारमा उल्लेख छ ।

क्यानाडामा १९९६ सम्म आदिवासी बालबालिलकालाई आफ्नो मातृभाषा त्यागी इसाइ बनाउने र  समाजमा सम्मिलन गराउने उद्देश्यस्वरुप आवासीय विद्यालय प्रणाली लागू गरिएको थियो । उक्त प्रणालीअन्तर्गत आदिवासी बालबालिकालाई उनीहरूको परिवारबाट छुटाएर आवासीय विद्यालय पठाइने गरिन्थ्यो । यसमध्ये कैयौं बालबालिकाहरू कुपोषण, कुटपिट र यौन दुर्व्यवहारको सिकार बन्ने गर्थे ।

मातृभाषा त्यागी अंग्रेजी वा फ्रेन्च बोल्न र इसाइ बन्न बाध्य पार्ने उक्त नीतिका कारण आदिवासी बालबालिकाको कैयौं पुस्तामाथि आघात परेको थियो । सन् १८७४ देखि १९९६ सम्म सञ्चालित आवासीय विद्यालयमा फस्ट नेशन्स, मेटिस र इनुइट आदिवासीका १ लाख ५० बालबालिका राखिएको अनुमान गरिन्छ ।

आवासीय विद्यालयलाई आर्थिक सहयोग दिने र सञ्चालन गर्ने कार्यमा गिर्जाघर (चर्च) ले महत्वपूर्ण भूमिका खेलेका थिए । एक सर्वेक्षणअनुसार खासगरी रोमन क्याथोलिक चर्चले झण्डै ७० प्रतिशत आवासीय विद्यालय सञ्चालन गरेका थिए ।

यसै वर्षको सुरुमा भ्याटिकनले मेलमिलाप प्रयासमा सघाउन भन्दै पोप फ्रान्सिस क्यानाडाको भ्रमण गर्न सहमत भएको बताएको थियो । हालसम्म भ्रमणको औपचारिक मिति घोषणा गरिएको छैन । चर्चको भूमिकालाई लिएर पोपले माफी माग्नु पर्ने क्यानाडेलीहरूको माग छ तर पोपले हालसम्म आधिकारिक रुपमा क्षमायाचना गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?