
अनादिकालदेखि समाजमा मानिसको समय, परिस्थिति र युग सापेक्षतामा सामाजिक वर्ण व्यवस्थानुसार विचार, शैली र कार्यकुशतलामा पनि परिवर्तन आएको छ। मानव जातिको सभ्यतासँगै व्यवहारगत सभ्यतामा पनि विविधता हुँदै गयो। मानवेत्तर प्राणीमा देखापरेको स्वार्थगत र समूहगत प्रभाव मानवमा पनि देखिन थाल्यो। फलस्वरूप मानव समाजमा आफ्नो अनुकूल सामाजिक संरचना र नीति व्यवस्था जाने क्रम चल्दै आएको छ। यही क्रममा आजको समाजमा आइपुग्दा पूर्णरूपमा स्वार्थी मानव संरचनाको विकास हुन पुगेको छ।
नेपाली समाजमा विविध जात, जाति, भाषाभाषीको सिर्जना फरक भू-बनोटले मात्र गरेको होइन। हाम्रो समाज विविध स्वभाव र प्रवृत्तिका मानिसका लागि धनी देखिन्छ। यसमध्ये एक हो चाकरी र चाप्लुसीको संस्कार। संसारका विकसित राष्ट्रको तुलनामा नेपाली समाजका यस्तो अभ्यास अत्यधिक धेरै पाइन्छ। यस्तो अभ्यासमा अभ्यस्त हुन नसक्दा क्षमतावानहरूले पनि अवसर नपाउने अवस्था सिर्जना हुँदै गएको पाइन्छ।
समाज विकासको प्रमुख आधारमध्ये चेतनाको विकास सबैभन्दा प्रमुख हो। सामाजिक, राजनैतिक परिवर्तन भयो भन्दैमा सभ्य र सुशिक्षित समाजको निर्माण हुन सक्दैन। जब सभ्य समाजको निर्माण हुन्छ अनि समाजमा चाकरी प्रथाको पनि अन्त्य हुन्छ। नेपाली समाजमा संस्कारगत केही चाकरी प्रथा छन्। यसमा रमाउनेको जनसङ्ख्या उल्लेख्य हुनु नै हाम्रो अविकासको एउटा कारण हो।
१. संस्कारगत चाकरी
हिजोको राणाकालीन समयमा भएको चाकरीबाज संस्कारलाई आजका शासक, प्रशासकले पनि निरन्तरता दिएका छन्। कतिपय मानिस आफ्नो विरोध सुन्न सक्दैनन्। उनीहरू प्रशंसाको अत्यन्त भोका देखिन्छन्। आफ्नो वरिपरि पाले पहरे राख्न चाहन्छन्। शानसौकत देखाउन चाहन्छन्। जसरी हो ठूलो महल होस्, थुप्रै सेवक होऊन्, सबैले मानून्, जताततै जयजयकार होस्, दलबलका साथ हिंड्ने अवसर मिलोस् भन्ने उनीहरूको चाहना हुन्छ। अरुले धनुष्टंकार शैलीमा दर्शन, नमस्ते गरुन्, सुरासुन्दरीले चरण स्पर्श गरुन्, ठूला मानिसको विरोध गर्न हुँदैन भनेर अरुले बुझोस्। यस्तो चाहना भएका मानिसहरू चाकरीको अपेक्षा राख्छन् र संस्कारगत रूपमा नै यो अभ्यासलाई निरन्तरता दिन चाहन्छन्।
२. भाषागत चाप्लुसी
नेपालीमा जस्तो आदरार्थी स्वरूप अन्य भाषामा छैन। जस्तो अङ्ग्रेजीमा ‘यू’ ले सबैलाई जनायो। नेपाली भाषाको उत्पत्ति कर्णालीको सिंजाबाट भएको हो। हाम्रो मूल भाषा खसबाट विकसित र परिमार्जित भएको हो। खस भाषामा मध्यम आदरको (तिमी) मात्र संरचना छ। बक्सियोस्, तपाईं, हजुर जस्ता शब्द तत्कालीन शासक वर्गलाई बोलिने चाकरीयुक्त भाषा हो। समाजमा एक खालको वर्ग अरुको चाकरी मात्र गरेर भए पनि फाइदा लिन चाहन्छन्। पद भएका मानिसलाई भाषाले मोहित पारेर भए पनि काम लिने अभ्यास हाम्रोमा पाइन्छ। काम दिनेले पनि त्यस्तालाई नै अवसर दिने हाम्रो परम्परा छ।
३. संस्थागत चाकरी
कार्यक्रम औपचारिक होस् वा अनौपचारिक, ठूलाबडाले मान खोज्छन्। सकभर श्रीमानको सम्बोधन अनिवार्य गरिएको हुन्छ। अगाडि बसाल्नुपर्ने, सकभर फरक खालको सोफाको व्यवस्था गर्नुपर्ने, कसैले सम्बोधन नगरे कार्यक्रम छोडेर नै जाने, आउँदा-जाँदा उठ्नुपर्ने संस्कार पुराना मात्र होइन, क्रान्तिकारी पार्टी र आधुनिक संघसंस्थाका प्रमुखहरुमा पनि देखिन्छ। कार्यक्रममा उनीहरूको प्रशंसामा केही शब्द खर्च गर्नुपर्ने, लम्बेतान पृष्ठभूमि बताइदिनुपर्ने अभ्यास जबर्जस्त रुपमा स्थापित देखिन्छ। एकपटक पद खाएकोलाई सधैं भूपू भन्नुपर्ने एउटा अर्को अभ्यास हाम्रोमा छ। सरकारले औपचारिक रूपमा नै भूपूहरुलाई सुविधा र सम्मान दिने व्यवस्था गर्नु यसैको उपज हो।
४. पारिवारिक चाकरी
काम थोरै गर्ने तर माथिल्लो तहका मानिसलाई धूप–दीप गरेर पद, शक्ति, काम हात पार्ने जमातले समाज कब्जा गरेको छ। यसले योग्यता र क्षमता भएका मानिस पछाडि पर्छन् र समाजमा अयोग्यहरूको राज चल्छ। यसले देशको समृद्धिको यात्रामा अवरोध सिर्जना गरिरहेको छ। समृद्धिका लागि ‘चोरलाई चौतारो, साधुलाई शूली’ को भाष्य नै बदल्ने आँट गर्नुपर्छ
समाजमा पद भएका मान्छेका परिवारलाई अनेक गोरु बेचेको साइनो लगाएर भए पनि चाकरी गर्ने अभ्यास चाकरीप्रथाको अर्को स्वरुप हो। भाउजूलाई फलानो चिज ल्याइदिएको छु, दाइ, दिदी आदि आदिलाई मनपर्ने चिज ल्याएको छु भन्दै कसैलाई रिझाउने अभ्यास अहिले पनि कायम छ। घरमा बुबा आमालाई नदिएको सम्मान र सौगात पदमा भएका मानिसको नातेदार र पारिवारिक सदस्यलाई दिएर काम लिने प्रचलनले हाम्रो समाजमा शानका साथ निरन्तरता पाइरहेको छ। श्रीमान् ठूलो ओहोदामा पुगे श्रीमतीलाई पनि मानसम्मान दिनुपर्ने अभ्यास हाम्रोमा छ।
५. पदगत चाकरी
नेपाली समाजमा कुनै पनि पदमा पुग्नासाथ अनावश्यक मानसम्मान खोज्ने प्रवृत्ति मौलाइरहेको छ। पदमा बहाल हुने बित्तिकै अधिकांश समय दलाली र चाकरीमा रमाउने नेतृत्वलाई तदनुरुपका कार्यकर्ता र कर्मचारीले घेरिरहेका हुन्छन्। नजिक पनि तिनै मान्छेसँग नै हुन्छन्। नजिक भएमा काम नगरे पनि पदक पाउने, बढुवा हुने, पुरस्कार लगायत सबथोक पाउने काम भइरहेको हुन्छ। योग्यभन्दा चाकरी गर्नेलाई विश्वास र पद दिने अर्को दुर्भाग्यपूर्ण अभ्यास हो। यस्तो प्रवृत्तिबाट अझै हाम्रो समाज अगाडि बढ्न सकेको छैन।
६. सञ्चारगत चाकरी
नेपाली समाजमा पछिल्लो समयमा मिडिया मार्फत हुने चाकरी पनि मौलाएको छ। प्रत्येक सार्वजनिक पद धारणा गरेकाको आफ्ना निजी पत्रकार र मिडिया छन्। तिनै पत्रकार बिहानै सकभर घरै पुगेर हुन्छ कि फोनबाट हुन्छ समाचार बनाउने, प्रकाशन–प्रसारण गर्ने र हजुरको समाचार गज्जब बनाएको छु है हजुर भनेर साष्टाङ्ग गर्ने अभ्यास मौलाएको छ। सामाजिक सञ्जालमा लाजै नमानी चाकरी गर्ने अभ्यास उस्तै छ। नीति, विधि, आचारसंहिता पैतालामुनि कुल्चिएर प्रशंसा खोज्ने र प्रशंसकको भीड जन्माउने अभ्यासले पनि नेपाली समाज पछाडि परिरहेको छ। आवाजविहीनको आवाज छाडेर ठूला भनिएका मानिस खाएको, उठेको देखि शौचालय गएको सम्म पनि समाचार बनाएर खुशी बनाउने प्रचलनले लाज पनि लजाउने अवस्था सिर्जना भएको छ। यो चाकरी प्रथाको अर्को संस्करण हो।
८. स्वभावगत चाकरी
हाम्रो समाजमा कतिपय मानिस स्वभावैले चाकरीमा मात्र रमाउने खालका छन्। पदमा पुगेकोलाई जात-भात, धर्म, संस्कृति भन्दैनन्। साना, निमुखालाई हेपेर बोल्ने मानिस कसरी ठूला हुन्छन् ? पदमा पुगेपछि तथाकथित अछूत भन्ने केही बाँकी रहँदैन। पदमा नपुगेकोलाई नामै काढेर बोलाउने गरिन्छ। तर त्यही व्यक्ति पदमा आउनासाथ उसलाई चाकरी गरिहाल्ने, पद गए वास्ता नगर्ने अभ्यास छँदैछ। सानोतिनो काममा पनि भनसुन गर्न लगाउने, आफ्नो योग्यता र क्षमतामा कत्ति पनि विश्वास नगर्ने खाली अरुकै भरमा, चाकरीकै भरमा जीवन चलाउनेहरूको कमि हाम्रो समाजमा छैन।
९. अबोधगम्य चाकरी
नेपाली समाजको ग्रामीण क्षेत्रमा निमुखा, सोझा जनता विना स्वार्थ गाउँमा कोही राजनैतिककर्मी होस् या अन्य कार्यालयको टोली विना चिनजान पनि ठूला मानिसको स्वागत, सम्मान, सत्कार गर्नुपर्छ भन्ने मान्यता राख्दछन्। भ्रष्टाचारी, कुविचारी गाउँमा प्रवेश गरे भने पनि अबोधताका आधारमा शुद्ध मनले चाकरी गर्ने संस्कार अहिले पनि अभ्यासमा छ।
नेपाली समाजको चाकरीबाज संस्कार प्रमुख रोगका रूपमा देखा परेको छ। चाकरी चाप्लुसी गर्नेले सहजै पद पाउँछन्। काम थोरै गर्ने तर माथिल्लो तहका मानिसलाई धूप–दीप गरेर पद, शक्ति, काम हात पार्ने जमातले समाज कब्जा गरेको छ। यसले योग्यता र क्षमता भएका मानिस पछाडि पर्छन् र समाजमा अयोग्यहरूको राज चल्छ। यसले देशको समृद्धिको यात्रामा अवरोध सिर्जना गरिरहेको छ। समृद्धिका लागि ‘चोरलाई चौतारो, साधुलाई शूली’ को भाष्य नै बदल्ने आँट गर्नुपर्छ।
(रोकाया रारा बहुमुखी क्याम्पस मुगुका उप–प्राध्यापक हुन्।)
प्रतिक्रिया 4