
८ फागुन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट माघ २९ गते झण्डै ४ करोड रुपैयाँ मूल्य बराबरको ४ सय १४ तोला सुनसहित एक चिनियाँ नागरिक पक्राउ परे । अनुसन्धानको क्रममा पक्राउ परेका चिनियाँ नागरिक झ्याङ लीले आफू भरिया मात्रै भएको दाबी गरिरहेका छन् । दुबईबाट नेपालसम्म सुन भित्र्याउन २ हजार दिराम (दुबईको पैसा) करिब ६५ हजार नेरु पाउने आशामा आफूले सुन बोकेको बयान प्रहरीलाई दिएका छन् ।
तर, उनले दुबईमा चिनेको मानिस को हुन् भन्ने खुलाएका छैनन् । ‘दुबईमा चिनेका व्यक्तिले नेपालसम्म चार सय १४ तोला सुन पुर्याए बापत २ हजार दिराम दिने बताए पछि मैले सुन बोकेर आएको हुँ,’ लीको बयान उदृत गर्दै स्रोतले अनलाइनखरसँग भन्यो ।
नेपालमा सुन ल्याउन नपाइने व्यवस्थाबारे आफू जनाकार नभएको दाबी पनि झ्याङ लीले गरेको भन्सार स्रोतले बतायो । नेपाल आगमनको ‘ट्राभल हिस्ट्री’ बाक्लो रहेका उनले सिलसिलेवार सुन बोकेर नेपाल आएको आरोप भने अस्वीकार गरेका छन् ।
तस्करले भन्सारको प्राविधिक कमजोरी जाँचेको अनुमान
चिनियाँ नागरिक झ्याङ लील २०७८ मंसिर १५ देखि माघसम्म ८ पटक नेपाल आएको र फर्केको ट्राभल हिस्ट्री अनुसन्धानमा पाइएको छ । हरेक पटककमा सुन बोकेर नेपाल आएको हो भन्ने ? अनुसन्धान अधिकारीको आरोप झ्याङ लीले अस्वीकार गरी रहेकाछन् तर भन्सार अधिकारीहरु उनको बयानमा विश्वस्त बन्न सकिरहेका छैनन् ।
‘चिनियाँ नागरिकले बोकेको सुन भन्सारको मेटल डिटेक्टरले चाल नपाउनु र छोटो समयमै धेरै पटक आउजाउ हुनुले उनी कि त सुन बोकेरै नेपाल आइरहेका थिए, कि भन्सार प्रणालीको कमजोरी जाँच गरिरहेका थिए,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने ।
पक्राउ गरेको २४ दिनसम्म अनुसन्धान गर्न पाइने कानुन अनुसार आइतबार १० औं दिनसम्म पनि झ्याङ लीमाथि अनुसन्धान भइरहेको भन्सारले जनाएको छ । ‘अहिले हामी चिनियाँ नागरिकले बोक्ने एनसेल फोनको कल डिटेल्स्को पर्खाइमा छौं । थप रहस्य खुल्नेमा विश्वस्त छौं’ एक अधिकारीले भने ।
फेरियो भन्सारको मेटल डिटेक्टर
२९ माघमा पक्राउ परेका चिनियाँ नागरिकले शरीरमा बोकेको ठूलो परिमाणको सुन मेटल डिटेक्टर पास गरेर अघि बढेपछि गरिएको खानतलासीमा मात्रै बरामद भएको थियो । धुल्याएर केमिकल प्रयोग गरी लेदो बनाएर ल्याइएको सुन मेटल डिटेक्टरले पहिचान नगरेको विमानस्थल भन्सारले जनाएको छ ।
सुन पहिचान नगरेको एक नम्बर गेटको मेटल डिटेक्टर विमानस्थलमा उपलब्ध मध्येबाट फेरिएको विमानस्थल भन्सार कार्यालय प्रमुख महेश भट्टराईले बताए । ‘विमानस्थलमा तीन वटा मेटल डिटेक्टर रहेछ, यात्रुको चाप बढी हुने एक नम्बर गेटमा हामीले भएकामध्ये प्रभावकारी मेटल डिटेक्टर लगाएका छौं,’ भन्सार प्रमुख भट्टराईले भने । नेपालमा उपलब्ध मध्ये सबैभन्दा प्रभावकारी सुरक्षा प्रणालीको मेटल डिटेक्टरबारे विभागलाई जानकारी गराउन आपूर्तिकर्तालाई आह्वान गरिएको पनि भन्सारले जनाएको छ । सार्वजनिक खरिद प्रक्रियाको झन्झटिलो प्रक्रियाका कारण अत्यधुनिक नयाँ मेटल डिटेक्टर आउन चार महिनासम्म लाग्न सक्ने उनले बताए ।
गत माघ २९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट झण्डै पाँच किलो सुनसहित झ्याङ ली नामक चनियाँ नागरिक पक्राउ परेका थिए । दुबईबाट हिमालयन एअरलाइन्सको उडान नम्बर एच ९५६६ बाट काठमाडौं आएका उनले ३ करोड ९६ लाख २७ हजार ७ सय रुपैयाँ बराबरको सुन बोकेका थिए ।
प्रतिक्रिया 4