 
																			१७ असार, काठमाडौं । करिब ३२ क्वीन्टल सुन तस्करी भएको निष्कर्ष निकाल्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले दोस्रो चरणको अनुसन्धान टुंग्याएको छ ।
चिनियाँ नागरिक दावाजिन वाङको योजनामा भएको भनिएको यति ठूलो परिमाणको सुन तस्करीमा अहिलेसम्म राजनीतिक कनेक्सन नदेखिएको सीआईबीको दाबी छ ।
ब्रेक सुमा लुकाएर ल्याएको सुन विमानस्थलको भन्सार कटिसकेको अवस्थामा २ साउन २०८० मा बरामद भएको थियो ।
अनुसन्धानका क्रममा टोखा लगायतका स्थानमा सुन गाल्ने मेसिन नै राखेर तस्करी गरेको खुल्यो, जसका मुख्य योजनाकार दावाजिनको माओवादी केन्द्रका नेताहरुसँग बाक्लो उठबस रहेको सार्वजनिक भयो ।
त्यसैले प्रतिपक्षमा रहेका नेकपा एमालेले उच्चस्तरीय छानबिनको माग गर्दै संसद नै अवरुद्ध गर्यो । सीआईबीले अनुसन्धान सकेर मुद्दा दायर गरेपछि आयोग बनाउने सहमति भयो । सीआईबीले ३२ किलो ७७८ ग्राम सुन तस्करीको भएको निष्कर्ष निकाल्दै ३१ भदौ २०८० मा २५ जनाविरुद्ध मुद्दा दायर गर्यो । त्यसपछि जाँचबुझ आयोग बन्यो ।
जाँचबुझ आयोगले १ चैतमा बुझाएको प्रतिवेदनका आधारमा सीआईबीको नेतृत्व हेरफेर भयो । साथै दोस्रो चरणको अनुसन्धान गरेको सीआईबीले करिब ३२ क्वीन्टल सुन तस्करी भएको निकर्ष निकाल्यो ।
ब्रेक सुमार्फत ३६२ किलो ७७८ ग्राम र पानी तान्ने मोटर लगायतका अरु इलेक्ट्रोनिक उपकरणमा राखेर दुई हजार ८३१.८९ केजी सुन तस्करी गरेको सीआईबीको ठहर छ ।
तस्करी भएको सुनको हालको बजार मूल्य ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २७२ रुपैयाँ बराबर छ ।
खुल्यो तस्करीको कारोबार
दोस्रो चरणको अनुसन्धानका क्रममा सीआईबीले सुन तस्करीको कारोबारको नेक्सस पनि पत्ता लगाएको छ ।
अनुसन्धान अधिकृत डीएसपी सुन्दर तिवारीका अनुसार फरार व्यक्तिहरुको पहिचान, पक्राउ र अवैध सुनको भुक्तानीको कारोबारलाई केन्द्रमा राखेर दोस्रो चरणको अनुसन्धान गरिएको थियो । त्यसक्रममा पहिलो चरणमा यकिन नाम नखुलेको भनेर छाडिएका बम्बैया, राकेश सिंह, सन्दीप ब्रिस्लेरी वाला, राजु मारवाडीको पहिचान गर्न प्रहरी सफल भयो ।

सुनमा प्रत्यक्ष जोडिएका १२ जना पक्राउ परेका छन् । सुनको अवैध कारोबार सजिलो पे र पेवेल मोबाइल भुक्तानीबाट गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । यसमा संलग्न रहेका ८ जनालाई पनि सीआईबीले नियन्त्रणमा लिएको छ । अनुसन्धानका क्रममा मोबाइल भुक्तानी सेवा कसरी सुन तस्करीमा जोडियो, यसमार्फत कसरी हुण्डीको कारोबार हुन्छ भन्नेबारे खुलेको सीआईबीले बताएको छ ।
पेवेल वालेटमार्फत एक वर्ष (१२ वैशाख २०८० देखि २१ जेठ २०८१ सम्म) मा ८६ अर्ब १७ करोड ११ लाख ५३ हजार २५३ को कारोबार भएको भेटिएको छ । जसमध्ये ६१ अर्ब ५० करोड रुपैयाँको भौचर बरामद भएको छ । २ जेठ २०७८ देखि २१ जेठ २०८१ सम्म सजिलो पेबाट ३६ अर्ब ९४ करोड ३५ लाख ७५ हजार २४७ रुपैयाँको कारोबार भएको भेटिएको छ ।
अधिकांश कारोबारहरु तस्करीको सुन र हुण्डीको भएको सीआईबीका प्रवक्ता होविन्द्र बोगटी बताउँछन् । उनका अनुसार पक्राउ परेकाहरुबाट सुन, नगद, पेस्तोल गोली, झुटो विवरण पेश गरी लिइएका नेपाली नागरिकता, राहदानी, लाइसेन्स समेत प्रहरीले बरामद गरेको छ ।
सोमबार पत्रकार सम्मलेनमा सीआईबीका निर्देशक एआईजी श्यामलाल ज्ञवालीले भने, ‘अहिलेसम्मको अनुसन्धानले सुन तस्करीको मुख्य व्यक्ति चिनियाँ नागरिक दावाजिन वाङ नै रहेको खुलेको छ । उनैले सञ्जाल विस्तार गरेर सुन तस्करी गर्दै आएको अनुसन्धानले बताउँछ ।’
राजनीतिक संलग्नता देखिएन
ब्रेक सुमा लुकाएर भएको सुन तस्करीको मुख्य व्यक्ति दावाजिन भएको सीआईबीको पुरानै निष्कर्ष हो ।
उनको मातहतमा रहेका चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङले काम गरेका थिए । दावा माओवादी केन्द्रकै रोल्पाकी नेतृ अमला रोकाका श्रीमान् हुन् । ठमेलमा भियना होटल सञ्चालन गरेका दावा र अमलाको माओवादी केन्द्रका उच्च तहका नेतासँग बाक्लो हिमचिम थियो । प्रधानमन्त्री र गृहमन्त्री माओवादीकै नेता (प्रचण्ड र नारायणकाजी श्रेष्ठ) थिए ।
त्यसैले प्रतिपक्षमा रहेका एमाले र रास्वपाका नेताहरुले सुन तस्करीको सही छानबिन हुनेमा आशंका गरे । रास्वपा सभापति रवि लामिछानेले त केही व्यक्तिको नाम लिँदै तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि प्रश्न गरेका थिए । एमालेको पनि उस्तै आशंका थियो ।
उनीहरुको मागअनुसार बनेको जाँचबुझ आयोगले प्रतिवेदन बुझाउँदा सत्ता समीकरण फरिसकेको थियो । प्रतिपक्षमा रहेका एमाले सत्तारुढ दल बनिसकेको थियो भने र रास्वपा सभापति लामिछाने गृहमन्त्री भए । उनले प्रतिवेदन बुझेर कार्यान्वयन गर्न सीआईबीलाई दिए ।
आयोगको प्रतिवेदनका आधारमा सीआईबीले ५ चैतमा माओवादी उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्यो । स्वास्थ्य अवस्थाको कारण देखाउँदै ९ चैतमा छुटे । पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरासमेत रहेका अखिल क्रान्तिकारीका उपाध्यक्ष दिपेश पुन पनि सुन तस्करीमा जोडिएको तथ्यहरु सञ्चार माध्यममा आएका थिए ।
तर सीआईबीले दोस्रो चरणको अनुसन्धान पुरा गर्दा पनि सुन तस्करीमा राजनीतिक कनेक्सनबारे खुलाइएको छैन । महरा, पुनहरुको संलग्नताबारे सोधिएको प्रश्नमा ज्ञवालीले भने, ‘इलेक्ट्रिक सामान तथा ब्रेक सुमार्फत भएको सुन तस्करीको मात्रै अहिले अनुसन्धान गरिएको हो । यसमा महरा र पुनको संलग्नता देखिएको छैन । भेपको अनुसन्धान बाँकी छ ।’
अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीको पनि संलग्नताबारे नदेखिएको उनको दाबी छ । दावाजिन पक्राउ परेपछि माथिल्लो कनेक्सन खुल्नसक्ने सीआईबीका अधिकृतहरु बताउँछन् ।
‘पक्राउ प्रतिवादीहरुले कुनै उच्च तहका व्यक्तिको नाम लिएका छैनन् । अहिलेसम्मको प्रमाणले पोलिटकल कनेक्सन पुष्टि गर्न सक्दैनौं’, सीआईबीका एक अनुसन्धान अधिकृत भन्छन्, ‘बिना आधार प्रमाण धरपकड गरेर मुद्दा चलाउने कुरा भएन ।’
पूर्वएआईजी राजेन्द्रसिंह भण्डारी भने यसलाई अनुसन्धान स्वभाविक प्रक्रियामा नजाँदाको परिणाम भन्छन् ।
प्रहरीले स्वभाविक रुपमा अनुसन्धान गर्नुपर्ने विषयमा आयोग र संसदीय समितिको माग गरिएको भन्दै उनले अनलाइनखबरसँग भने, ‘अहिले कुनै पनि अनुसन्धान पूरा नगरी राख्ने र राजनीतिक बार्गेनिङ गर्ने प्रवृत्ति पनि देखिन थालेको छ । ओहदामा पुगेकाहरुले यही शैलीमा रणनीतिक रुपमा फाइदा लिइरहेका छन् ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4