
१ चैत, तनहुँ । व्यास नगरपालिका–१० का स्थानीय वासिन्दा सहकारीमार्फत सार्वजनिक जग्गामा सामूहिक खेती गर्न जुटेका छन् । मादी नदी किनार नजिकैको २५ रोपनी जग्गामा सिसुवा भतेरी कृषि सहकारीमार्फत स्थानीय वासिन्दाले सामूहिक खेती गरेका हुन् ।
संस्थाले सामूहिक खेती गरेर विपन्न समुदायको आयवृद्धिमा सहयोग गर्दै आएको सहकारीका अध्यक्ष यज्ञप्रसाद शर्माले जानकारी दिए । सामूहिक खेतीका कारण अति सीमान्तकृत बोटे, अल्पसङ्ख्यक दरै, दलित तथा विपन्नको आयआर्जनमा टेवा पुग्नुका साथै अँधिया खेतीको लागि अन्यत्र जानुपर्ने समस्या हटेको छ ।
विपन्नको आयआर्जनको लागि वडा कार्यालयले १० वर्षको लागि उक्त सार्वजानिक जग्गा निःशुल्क प्रयोग गर्न अनुमति दिएपछि विगत चार वर्ष अघिदेखि नै सामूहिक खेती गरिँदै आएको हो । करिब एक लाख रुपैयाँ लागतमा जमिन समथर बनाएपछि सामूहिक खेती सुरु गरिएको हो ।
सहकारीले राम्रो काम गरेको भन्दै व्यास नगरपालिकाले सामूहिक खेतीका लागि १७ लाख रुपैयाँ पर्ने ट्र्याक्टर प्रदान गरेको छ । जग्गा नहुनेलाई प्राथमिकता दिएर सामूहिक खेती गर्ने समूह बनाइएको छ । काम पाइन वा गरी खान पाइन भन्नेका लागि सहकारीले सामूहिक खेतीलाई प्राथमिकता दिएको वडाध्यक्ष तुलसीराम सापकोटाले बताए ।
सहकारीले पराल तथा घाँस स्थानीय गौ संरक्षण प्राङ्गरिक मल उत्पादन तथा सरसफाइ केन्द्रलाई दिने गरेको छ र केन्द्रका गाईको मलमूत्र सामूहिक खेतीको लागि प्रयोग गर्ने व्यवस्था मिलाएको छ । सहकारीले मौसम अनुसारको विभिन्न तरकारी, धान तथा माछापालन गर्दै आएको छ ।
सहकारीमा आवद्ध भएकाले सामूहिक खेती र गाईभैंसीको दूध बिक्री गरी मासिक ३० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । उक्त सहकारीमा हाल ३२६ जना आवद्ध भएकामध्ये १०९ जना सामूहिक खेतीमासमेत सहभागी भइसकेका छन् ।
प्रतिक्रिया 4