+
+

आयो चुनाव

आइतबार काठमाडौंमा पार्टी भन्दा स्वतन्त्र उम्मेदवार बढी

आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा राखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार र समर्थकहरुको बाक्लो चहलपहल थियो । हातमा उम्मेदवारी दर्ताको प्रमाणपत्र बोकेका उनीहरु कोही फारम भरिरहेका थिए भने कोही फारम माग्दै थिए ।

अंगद सिंह अंगद सिंह
२०७९ वैशाख ११ गते २१:२६

११ वैशाख, काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारी दर्ता प्रक्रिया सुरु गरेपछि देशभर चुनावी सरगर्मी बढेको छ । ठ्याक्कै पाँच वर्षपछि यसपालि हुन लागेको स्थानीय चुनावको चहलपहल देशैभरि छ । स्थानीयस्तरमै चिनेजानेका जनप्रतिनिधि छान्ने भएकाले सर्वसाधारणले यस चुनावलाई अझै चासोका साथ हेरिरहेका छन् ।

२०७४ सालमा पहिलो पटक स्थानीय तहको निर्वाचनमा संघीयताको पहिलो अभ्यास गर्दा अलमलमा परेका नागरिकले यसपालि कस्ता उम्मेदवार छान्ने र कस्तालाई नछान्ने भन्ने भेउ पाइसकेका छन् । यही पृष्ठभूमिका बीचमा निर्वाचन आयोगले उम्मेदवारी दर्ता गराउन आइतबार र सोमबारको समय दिएका कारण आइतबारदेखि चुनावी माहौल झन् बढेको हो ।

स्थानीय जनप्रतिनिधि निर्वाचनमा उम्मेदवारी दर्ता गराउन घरपरिवार समर्थक र आफन्तसँग उम्मेदवारी स्थल पुग्न थालेका छन् । उम्मेदवारी दर्ता स्थानको माहोलले देश निर्वाचनमा गइसकेको देखाउँछ ।

विभिन्न राजनीतिक दलका प्रतिनिधि र स्वतन्त्र उम्मेदवार हातमा मनोनयन दर्ताको फारम बोकेर नामावली दर्तास्थल पुगेका छन् ।

उम्मेदवारी दर्ता गराउनेहरु जनतालाई आफ्ना कुरा बताउन, सुनाउन लागिपरेका छन् । उम्मेदवारले नाम दर्ता गराएसँगै आफ्ना एजेण्डा र के का लागि उम्मेदवार बनेको भन्दै प्रस्ट्याइरहेका छन् ।

आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा राखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार र समर्थकहरुको बाक्लो चहलपहल थियो ।

हातमा उम्मेदवारी दर्ताको प्रमाणपत्र बोकेका उनीहरु कोही फारम भरिरहेका थिए भने कोही फारम माग्दै थिए । दर्ता स्थलमा उम्मेदवारको हाउभाउ हेर्दा पार्टीबाट उम्मेदवारी दिने भन्दा स्वतन्त्र उम्मेदवारको अनुहारमा बढी खुसी देखिन्थ्यो ।

अधिकांश स्वतन्त्र उम्मेदवारले राजनीतिक पार्टीले मात्र नभई स्वतन्त्र व्यक्तिले पनि काम गर्न सक्ने बताउँदै थिए । स्वतन्त्र व्यक्तिलाई काम गर्न पार्टी तथा सरकारले दबाव दिन सक्दैन भन्ने उनीहरुको धारणा छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका उम्मेदवारी दर्ता स्थल पनि उम्मेदवार र समर्थकले भरिभराउ छन् । पहिलो दिन ठूला राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छैनन् । अहिले स्वतन्त्र र स–साना राजनीतिक दलले नाम दर्ता गराइरहेका छन् ।

काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार मनोनयन दर्ता गरेपछि र्‍यापर बालेन शाह ।

उम्मेदवारी दर्ताको पहिलो दिन चार बजेसम्म काठमाडौं महानगरको मेयर पदमा १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

काठमाडौं महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवारी दर्ता गराएका १६ जनामध्ये आठ जना स्वतन्त्र उम्मेदवार रहेका छन् भने छ जना पाटीसँग सम्वद्ध छन् ।

त्यस्तै उपमेयरमा १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

खाल–खालका उम्मेदवार

र्‍यापर बालेन शाह ३३ वर्षका भए । उनले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवारबाट नाम दर्ता गराएका रविबिक्रम मानन्धर ८४ वर्षका हुन् । ७५ वर्षीया सूर्या थापा श्रेष्ठले पनि मेयरको उम्मेदवारमा नाम दर्ता गराएकी छन् ।

‘काठमाडौंलाई सफा सुन्दर बनाउन र जनताको आशा अपेक्षा अनुसारका काम गर्न मेयरमा उम्मेदवारी दिएकी हुँ,’ सूर्या भन्छिन्,‘काठमाडौं महानगरको अवस्था नाजुक छ । स्थानीय जनप्रतिनिधिले जनताको चाहाना अनुसार काम गर्न सकेनन् ।’

आफू काठमाडौंको मेयर भए काठमाडौंलाई सफा राख्ने, बाटोघाटो बनाउने, रोजगारीका लागि कलकारखाना स्थापना गर्ने र उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने उनले बताइन् ।

विवेकशील साझाका उम्मेदवारहरु मनोनयद दर्ताका लागि जाँदै ।

विवेकशील साझा पार्टीबाट मेयर पदकी उम्मेदवार समीक्षा बाँस्कोटा काठमाडौं सम्पदाको सहर भएकाले यहाँको सम्पदा, भाषा, संस्कृति र पहिचान जोगाउनका लागि मेयरमा उम्मेदवारी दिएको बताउँछिन् ।

‘नेवा कला, संस्कृति र पहिचानलाई पूर्नजागरण गर्ने योजनाका साथ हामि काम गर्छौ, बास्कोटा भन्छिन्,‘जनातले अहिलेका भ्रष्ट प्रतिनिधिलाई त सुध्रियो कि भनेर मत दिए हामिलाई नदिने कुरै हुदैन् । हामिलाई ककाम गर्न दिए गुनासो गर्नै ठाउँ राख्दैनौ ।’

स्वतन्त्र उम्मेदवार भन्छन् : पार्टीले काम गर्दैनन

आइतबार मेयर तथा उपमेयरमा उम्मेदवारी दिएकामध्ये आधाभन्दा बढी स्वतन्त्र उम्मेदवार छन् ।

अहिलेसम्मका हरेक निर्वाचनमा जनताले पाटीका उम्मेदवारलाई भोट दिएको तर नेताले काम गर्न नसकेको उनीहरुको गुनासो छ ।

पार्टीका उम्मेदवारलाई जिताउँदा आफूभन्दा माथिका मान्छेले काम गर्न नदिने र पाटी तथा उच्च तहका नेताको भनेको मान्नु पर्ने सुन्नु पर्ने भएकाले उनीहरुको तुलनामा स्वतन्त्र उम्मेदवारले काम गर्न सक्ने उनीहरुको भनाइ छ ।

काठमाडौं महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएका सुमन सायमी काठमाडौं महानगरपालिकाले जनताको चाहाना अनुसार काम गर्न नसकेको बताउँछन् ।

‘जनताका फोहोर मैला, व्यवस्थापन खानेपानीको सुविधा, धुवाधुलोबाट मुक्ति, बाटोघाटो, डुल्नलाई खुला स्थान जस्ता स–साना आशा हुन्छन् । धेरै ठूलो काम गर्छु भनेर भाषण ठोक्नु पर्दैन’ सायमी भन्छन् ।’

उनले आफूले मेयरको चुनाव जिते कुरा भन्दा काम गरेर देखाउने बताए ।

त्यस्तै उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएकी विद्या श्रेष्ठ महर्जन काठमाडौंलाई व्यवस्थित र सुन्दर बनाउन आफ्नो उम्मेदवारी रहेको बताउँछिन् ।

‘काठमाडौं नेपालकै नमुना र विश्वको ध्यान तान्ने नगर हो, यसको मौलिकता, संस्कृति, सभ्यता र पहिचान जोगाउनु आवश्यक छ । यसैका लागि मैले उम्मेदवारी दिएकी हु’ उनी भन्छिन् ।

कति उम्मेदवारी पर्‍यो आइसकेको छैन

निर्वाचन आयोगका अनुसार, देशभर आइतबार कति उम्मेदवारी पर्‍यो यकीन तथ्यांक आइसकेको छैन । सोमबार पनि उम्मेदवारी दिने समय भएकाले त्यसपछि देशभर कति उम्मेदवार भए भनेर सार्वजनिक गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

आयोगले आइतबार साना दल र स्वतन्त्र उम्मेदवारहरुले बढी उम्मेदवारी दर्ता गरेको जनाएको छ । गठबन्धनभित्र कतिपय ठाउँमा भागवण्डा नमिलेको र कतिपय ठूला दलभित्र उम्मेदवार नै टुंगो नलागेकाले आइतबार उम्मेदवारी दर्ता नभएको हो ।

हेर्नुहोस् काठमाडौं र ललितपुरको निर्वाचन कार्यलयमा मनोनयनको चहलपहल 

तस्वीरहरु : चन्द्रबहादुर आले/आर्यन धिमाल

लेखकको बारेमा
अंगद सिंह

अंगद सिंह अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?