+
+

नाटकघरहरु हाउसफुल, ‘पल्पसा क्याफे’ र ‘उलार’मा दर्शकको घुइँचो

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते १४:५२

काठमाडौं । कोरोना महामारीपछि ठूला फिल्म आउँदा सिनेमा हलहरुमा देखिने गरेको भीड अहिले नाटकघरमा समेत देखिन थालेको छ । यतिबेला काठमाडौंका नाटकघरहरुमा ‘अभूतपूर्व दृश्य’ देखिएको छ । सबै नाटकघर हाउसफुल मञ्चन भइरहेका छन् ।

कोरोना महामारीले दुई वर्ष ठप्प रहेका नाटकघर यतिबेला गुल्जार देखिन्छन् । नाट्यकर्मी तथा फिल्म अभिनेता विजय बराल अहिलेजस्तो दर्शकीय आगमन यसअघिका नाटकमा आफूले नदेखेको बताउँछन् ।

‘रंगमञ्चमा पुनर्जागरण आएको समय हो यो,’ बरालले भने, ‘महामारीले सुस्ताएको रंगमञ्चमा नाटक हेर्न दर्शक चाख लिएर आउनुभएको छ । यसलाई पुनर्जागरण नै मान्नुपर्छ ।’

गत साता मण्डला थिएटरमा मञ्चन भएको दयाहाङ राई निर्देशित नाटक ‘मीतज्यू’मा दर्शकको उपस्थिति बढेपछि शो थपिएको थियो ।

अहिले थापागाउँस्थित मण्डला थिएटरमा नारायण वाग्लेको उपन्यासमा आधारित नाटक ‘पल्पसा क्याफे’ मञ्चन भइरहेको छ । माओवादी सशस्त्र युद्धको कथा प्रस्तुत गर्ने यो नाटक वैशाख २५ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

टेकुस्थित कौशी थिएटरमा नयनराज पाण्डे लिखित उपन्यास ‘उलार’कै नाममा आधारित नाटक मञ्चन भइरहेको छ । भुइँमान्छे नेपाली समाजमा गर्नुपर्ने संघर्ष प्रस्तुत गर्ने यो नाटक वैैशाख १८ गतेसम्म मञ्चन हुने जनाइएको छ ।

सिनामंगलस्थित पुरानो घरमा नाटक ‘खत’ मञ्चन भइरहेको छ । सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको यो नाटक वैशाख १६ गतेसम्म चल्ने जनाइएको छ । बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा नृत्यमा आधारित नाटक ‘एस्फिक्सिया’ चलिरहेको छ ।

बेल्जियमका मेरियन ल्याम्बार्ट र ट्याटियाना रोसिगनद्वारा निर्देशित यो नाटकले जलवायु परिवर्तन र प्रदूषणबारे कथा भन्छ । वैशाख ३ गतेदेखि शिल्पीले ‘अलिकति उज्यालो’ नाटक काठमाडौंबाहिर देखाइरहेको छ ।

कीर्तिपुर रंगमञ्चले पोखरापछि अहिले मोफसलका विभिन्न सहरमा ‘शिरीषको फूल’ नाटक मञ्चन गरिरहेको छ । ‘नेपाली नाटकघर कोरोना महामारीपछि लयमा फर्कन प्रयास गरिरहेका छन्,’ कीर्तिपुर रंगमञ्चका केदार श्रेष्ठ भन्छन्, ‘महामारीपछि नाटकमा दर्शक फर्किएका छन् । नयाँ दर्शक आएपनि पुराना छुटेका छन् ।’

तर नाटक लयमा फर्कन समय लाग्ने उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?