+
+

एलन मस्कले किनेपछि के होला ट्वीटरको भविष्य ?

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १४ गते १७:४२

१४ वैशाख, काठमाडौं । विश्वका सर्वाधिक धनी व्यक्ति एलन मस्कले आफ्नो प्रस्ताव अनुसार नै करिब ४४ अर्ब डलरमा ट्वीटर खरिद गर्ने पक्कापक्की भएको छ ।

मस्कलाई ट्वीटर विक्रि गर्न सोमबार कम्पनीको व्यवस्थापन सहमत भएको छ । मस्कले करिब दुई हप्ता अगाडि ट्वीटरको सम्पूर्ण शेयर ४४ अर्ब डलरमा खरिद गर्ने प्रस्ताव गरी तहल्का मच्चाएका थिए ।

त्यसबेला ट्वीटरको व्यवस्थापनले कम्पनीको नियमानुसार विशेष विधि अवलम्बन गरी ट्वीटर कम्पनी पूरै खरिद गर्न सक्ने एलन मस्कको सम्भावनालाई निस्तेज बनाइदिएको थियो ।

तर अन्ततः ४४ अर्ब डलरमा माइक्रो ब्लगिङ साइट ट्वीटर एलन मस्कलाई बिक्रि गर्नका लागि ट्वीटरको व्यवस्थापन बोर्ड सोमबार सहमत भएको हो ।

कम्पनी बिक्रिको सम्झौता अनुसार अब ट्वीटर एलन मस्कको निजी कम्पनी हुनेछ र हालका शेयरधनीहरुले प्रतिशेयर ५४.२० डलर नगद पाउनेछन्।

एलन मस्कलाई ट्वीटर बिक्रि गर्ने सम्झौतालाई ट्वीटरको बोर्डले सर्वसम्मतिले पारित गरेको हो । यो वर्ष सन् २०२२ को अन्त्यसम्ममा सम्झौताले अन्तिम रुप पाउने अपेक्षा गरिएको छ । यद्यपि यसलाई शेयरधनी तथा नियामक निकायले सहमति प्रदान गर्नुपर्नेछ ।

स्मरण रहोस् मस्कले दुई हप्ता अगाडि ट्वीटरको करिब १० प्रतिशत शेयर खरिद गरी सबैभन्दा ठूलो शेयरधनी बनेका थिए । त्यस्तै उनले करिब ४४ अर्ब डलरमा ट्वीटर कम्पनी नै खरिद गर्ने प्रस्ताव गरी आफुले ट्वीटर खरिद गर्ने प्रयोजनका लागि ४६.५ अर्ब डलर रकम छुट्टाइसकेको बताएका छन् ।

मस्कको यस्तो खुलासासँगै ट्वीटर कम्पनी पनि गम्भीर बनेका थियो । तत् पश्चात् आइतबार मस्कको प्रस्तावमाथि छलफल गर्न ट्वीटरको व्यवस्थापन बोर्डको बैठक बसेको थिया ।

ट्वीटरको स्वतन्त्र बोर्डका अध्यक्ष ब्रेट टेलरले भनेका छन्, ‘ट्वीटर बोर्डले एलन मस्कको प्रस्तावको मूल्यांकनका लागि विस्तृत तथा विचारविमर्शपूर्ण प्रक्रिया अबलम्बन गरेको छ र खासगरी यसको मूल्यांकन, निश्चितता र वित्तिय व्यवस्थाका विषयमा केन्द्रित भएको छ । यो सम्झौता ट्वीटरका शेयरधनीका लागि सबैभन्दा उत्तम विकल्पको रुपमा रहेको छ ।’

कम्पनी बिक्रिको सम्झौता हुने भएको समाचार सार्वजनिक भएसँगै सोमबार ट्वीटर कम्पनीको शेयर मूल्यमा ६ प्रतिशतले बढोत्तरी भई ५१.८४ डलरसम्म पुगेको थियो ।

मस्कको हातमा ट्वीटरको भविष्य

एलन मस्क ट्वीटरका हाइप्रोफाइल प्रयोगकर्ता मात्र होइनन् विवादास्पद प्रयोगकर्ता पनि हुन् । ट्वीटरमा उनका फलोअर्सको संख्या ८ करोड ३० लाख छ ।

वर्षौँदेखि आफ्नो ट्वीटर प्लाटफर्मलाई उनले विभिन्न मिम्स शेयर गर्नेदेखि आफ्ना कम्पनीका बारेमा छलफल गर्न, राजनीतिज्ञहरुलाई अपमान गर्न तथा कोभिड १९ का बारेमा अफवाहपूर्ण दाबी फैलाउनसम्मका लागि प्रयोग गर्ने गरेका छन् । साथै उनले ट्वीटरमै समलिंगी तथा तेश्रोलिंगी समुदायप्रति आपत्तिजनक अभिव्यक्ति पनि दिने गरेका छन् ।

प्छिल्ला दिनहरुमा उनले ट्वीटरमा वाक स्वतन्त्रतालाई प्रवर्द्धन गर्नु र ट्वीटरको असाधारण सम्भावनाको ढोका खोल्नु आफ्नो लक्ष्य रहेको बताउने गरेका छन् ।

सोमबार मस्कले एक वक्तव्यमा उनले आफुले ट्वीटरमा विभिन्न नयाँ फिचरहरु थप गरी अहिलेसम्मकै उत्कृष्ट बनाउन चाहेको बताएका छन् ।

ट्वीटरमा विश्वसनीयता वृद्धि गर्नका लागि अल्गोरिदमलाई ओपन सोर्स बनाउने, स्माप बोट्सलाई निस्तेज पार्ने र सबै मानवजातिलाई प्रमाणिकरण गर्ने उनको भनाई छ । ट्वीटर भनेको वाक स्वतन्त्रताको पर्यावाची हुनाले आफ्नो सबैभन्दा कटु आलोचकले समेत ट्वीटर प्रयोग गर्ने उनको दाबी छ ।

तर कतिपय विज्ञहरुले भने ट्वीटरमा वाक स्वतन्त्रता कायम गर्ने मस्कको इच्छाका कारण घृणाजन्य अभिव्यक्ति, अफवाह तथा गलत सूचनाहरु, दुव्र्यवहार तथा हानीकारक सामाग्रीहरुमा बन्देज लगाउने सम्बन्धमा ट्वीटरले गरिरहेको कामबाट पछाडि फर्किने जोखिम रहन सक्दछ । कतिपयले चाहीँ मस्कले कम्पनी खरिद गरेसँगै उनले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको प्रतिबन्ध समेत फुकुवा गर्नसक्ने आँकलन गरिरहेका छन् ।

फेसबुक लगायतका अन्य सोसल मिडिया साइट भन्दा प्रयोगकर्ताको संख्याका हिसाबले सानो भएपनि अनलाइन तथा अफलाइन संसारमा ट्वीटरको प्रभाव सबैभनदा बढि छ । किनकी धेरै नेता, सार्वजनिक व्यक्तित्व तथा पत्रकार लगायतले ट्वीटर प्रयोग गर्ने गर्दछन् ।

साथै हानीकारक तथा आपत्तिजनक सामाग्रीमाथि कसरी लगाम लगाउने भन्ने कुरामा पनि ट्वीटर अन्य सोसल मिडिया प्लाटफर्मका लागि मानक बन्ने गरेको छ ।

ट्वीटरका लागि नयाँ तथा अनिश्चित युग

एलन मस्कले ट्वीटर खरिद गर्ने प्रस्ताव गरेसँगै ट्वीटरले मस्कलाई टक्कर दिनका लागि अर्को क्रेताको खोजी गर्नसक्ने अनुमान कतिपयले गरेका थिए ।

ट्वीटर बोर्डको सहमति विना मस्कले कम्पनी खरिद गर्न नसक्ने ‘प्वाइजन पिल’ नियम ट्वीटरले लागू गरेसँगै धेरैको अनुमान मस्कलाई ट्वीटर कम्पनी खरी दगर्नबाट रोकिनेछ भन्ने थियो ।

तर पछिल्लोे समयमा सोसल मिडिया कम्पनीको सम्पत्तिको मूल्यांकनमा भैरहेको गिरावटलाई मध्यनजर विचार गर्दा मस्कलाई टक्कर दिनेगरी अर्को कुनै प्रस्तावक आउने सम्भावना कठीन रहेको महसुस गरेसँगै ट्वीटर बोर्डले मस्कको प्रस्तावमाथि गम्भीर छलफल गरेको हो ।

गत नोभेम्बरदेखि ट्वीटरको सिइओ रहेका पराग अग्रवाल एलन मस्कले कम्पनी खरिद गरेपछि सोही पदमा रहन्छन् वा हटाइन्छन् भन्ने प्रष्ट छैन । स्मरण रहोस् केही महिनाअघि मस्कले एउटा मिम ट्वीट गरेका थिए जसमा पराग अग्रवाललाई जोसेफ स्टालिनसँग तुलना गरिएको छ । मस्कले ट्वीटर खरिदको आफ्नो प्रस्तावका क्रममा हालको ट्वीटर व्यवस्थापनप्रति आफ्नो विश्वास नरहेको पनि उल्लेख गरेका छन् ।

यद्यपि मस्कले कम्पनी खरिद गरेसँगै करिब एक दशकयता सार्वजनिक कम्पनीको रुपमा ट्वीटरमा व्याप्त अव्यवस्थाको भने अन्त्य हुनेछ । यस अवधिमा ट्वीटरमा सिइओहरु परिवर्तन हुने, अधिकारकर्मी लगानीकर्ताको खिचातानी, कम्पनीको वृद्धिका लागि गर्नु परिरहेको संघर्ष तथा प्रभावशाली प्रयोगकर्ताको संख्यालाई कम्पनीको आम्दानीमा परिणत गर्न नसकेको अवस्था रह्यो ।

ट्वीटरका सिइओ पराग अग्रवालले सोमबार एक वक्तव्यमा भनेका छन्, ‘ट्वीटरसँग पूरै विश्वलाई प्रभाव पार्ने खालको उद्देश्य र सान्दर्भिकता छ । हाम्रो समूह तथा कार्यशैलीप्रति गहन रुपमा गौरवान्वित छौँ । सीएनएनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?