+
+
ललितपुरमा घरदैलो :

हिलाम्मे सडकबाटै चिरिबाबु र बाबुराजको नमस्कार !

‘मेयर र उपमेयरका उम्मेदवारको घरदैलो कार्यक्रममा गाउँको विजोग देखाउन पाइयो’ स्थानीय अनिल थापाको भनाइमा चुनाव प्रचारमा हिँडेका नेता कार्यकर्ताले हो मा हो मिलाए ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७९ वैशाख २२ गते १९:५१

२२ वैशाख, काठमाडौं । ‘यो बाटोमा अब बजेट पर्छ कि ?’ बिहीबार ललितपुर वडा नम्बर २४ बाँसघारीको कच्ची सडकमा भोट माग्दै हिँडिरहेका उम्मेदवार चिरिबाबु महर्जनलाई स्थानीयले सोधे ।

चिरिबाबुले जवाफ फर्काए, ‘पर्नुपर्ने देखियो ।’

ललितपुर महानगरपालिकाका मेयरका उम्मेदवार महर्जन र उपमेयरका उम्मेदवार बाबुराज बज्राचार्य बिहीबार ललितपुरको वडा नम्बर २४, २३ र ९ नम्बर क्षेत्रमा घरदैलो थियो । तर विहानीपखको पानीले बाँसघारीको कच्ची सडक हिलाम्मे थियो ।

बिहान साढे ६ बजे श्रीकृष्ण मन्दिरमा जम्मा भएर घरदैलो कार्यक्रम सुरु गर्ने तय गरिएको रहेछ । तर पानी परेका कारण साढे ७ मात्रै उम्मेदवारहरु मन्दिर परिसर पुगे । मेयर र उपमेयर मन्दिरसम्म गाडीमा गएका थिए ।

स्थानीय नागरिक, नेता/कार्यकर्ता र समर्थक हिँडेरै आएकाले होला, जुत्ता हिलाम्य भइसकेका थिए । अलिक हिँडेपछि उम्मेदवारका जुुत्ता पनि हिलाम्मे भए ।

स्थानीय अनिल थापाले थपे, ‘मेयर र उपमेयरका उम्मेदवारको घरदैलो कार्यक्रममा गाउँको विजोग देखाउन पाइयो ।’ चुनाव प्रचारका क्रममा हिलो बाटोमा हिँड्दै गरेका पाँच दलीय गठबन्धनका नेता/कार्यकर्ता र समर्थकले हो मा हो मिलाए ।

बिहानको पानीले विजोग पार्‍यो नि ! भन्नेहरु पनि पानी परेर ठीक भयो । उम्मेदवारहरुको ध्यानाकर्षण गराउनै परेन भनेपछि उम्मेदवारद्वय महर्जन र बज्राचार्य मुस्कुराए ।

ललितपुर महानगरपालिका-२४ धापाखेल, नागदह दोबाटो, पशुपति टोल, प्रधान बस्तीलगायत क्षेत्रमा कतै ग्राभेल गरिएको छ, कतै सडकको ट्र्याक मात्रै छ । बिहीबार विहानै पानी परेका कारण सडकमा कतै पानी जमेको थियो त कतै हिलाम्मे ।

त्यही हिलाम्मे सडकमा हिँडेर गठबन्धनका नेता कार्यकर्ता भोट मागिरहेका थिए । सत्तारुढ गठबन्धनको घरदैलो टोली पशुपति टोल पुग्दा स्थानीय श्यामकाजी महर्जन आँगनमा बसिरहेका थिए । उम्मेदवारहरुलाई नमस्कार गरे । नमस्कार फर्काउँदै मेयर उम्मेदवार महर्जनले भने, ‘फेरि पनि उठेको छु, विवेक प्रयोग गर्नुहोला है ।’

‘भइहाल्छ नि !’ भन्दै श्यामकाजी मुस्कुराएपछि उम्मेदवारहरु अगाडि बढे ।

श्यामकाजीलाई हामीले प्रश्न गर्‍यौं, ‘मेयर/उपमेयरका उम्मेदवारलाई केही सुझाव दिनुभएन, गुनासो पनि गर्नुभएन किन ?’ उनले जवाफ फर्काए, ‘केही भनिरहनुपर्छ र ! एउटा हातले पाइन्टमाथि सारेर हिँडिरहेको देख्नु भएन ?’

ललितपुर उपमहानगरपालिका थियो । राज्य पुनर्संरचना गर्दा साविकको हरिसिद्धि, धापाखेल र सुनाकोठी, खोकना, सैंबु र बुङ्‍मती गाविस थपेर महानगरपालिका बनाइएको थियो ।

तर आफूहरु अझै महानगरबासी भएको अनुभूति नभएको श्यामकाजीको बुझाइ छ । ‘भन्नलाई महानगरपालिका भनिन्छ, तर हाम्रोतिर सडककै समस्या छ । खानेपानीकै समस्या छ । ढल निकासको योजना छैन,’ श्यामकाजीले भने ।

यद्यपि ०७४ सालमा स्थानीय सरकार बनेपछि सबैतिर सडक बाटो पुर्‍याउने प्रयास हुनु सकारात्मक भएको श्यामकाजीलाई लाग्छ । उनी थप्छन्, ‘तर सडकको ट्रयाक खोल्नु मात्रै विकास होइन, पर्याप्त बजेट दिएर राम्रो बाटो बनाउन भूमिका खेल्न नसक्दा अहिले घरदैलोमा आउँदा आफैंले अनुभूत गर्दैछन् ।’

अर्का स्थानीय अजय माली व्यवस्थित विकासको आवश्यकता औंल्याउँछन् ‘अन्यत्र जस्तो केही भएन भन्ने हाम्रोमा छैन । काठमाडौंलाई मात्रै हेर्दा पनि केही न केही त भएको छ । नभएको व्यवस्थित विकास र सहरीकरणको योजना हो ।’

मठ, मन्दिर, चैत्य गुम्बा, पोखरीहरुको संरक्षण गरेर ललितपुरलाई सांस्कृतिक सहर बनाउने गरी अगाडि बढ्न मालीको सुझाव छ । थप्छन्, ‘अहिले हिलोमा गाडिँदै भोट मागेपछि जनतालाई यस्तै दुःखमा लामो समय नराख्लान् भन्ने आश गरौं ।’

घरदैलो कार्यक्रम सकिएपछि हामीले मेयर र उपमेयरका उम्मेदवारलाई सडकको समस्या सोध्यौं । दुबैले सडकको दुरावस्था देखेर मर्माहत बनाएको प्रतिक्रिया दिए ।

निवर्तमान मेयर समेत रहेका चिरिबाबुले ललितपुर महानगरपालिका हुँदा गाभिएका साविकका गाउँपालिकाहरुमा पर्याप्त बजेट विनियोजन गर्न नसकेको स्वीकार गरे ।

घरदैलोका क्रममा देखिएको दृश्य अनुसार भावी योजना तर्जुमा गर्नका निम्ति घरदैलो अभियान प्रभावकारी हुने उनीहरुको कथन छ । ‘जनसम्बन्ध बढाउन र यहाँको वास्तविक चित्रण हेर्नका निम्ति घरदैलो कार्यक्रम उपयोगी भएको छ’, मेयरका उम्मेदवार चिरिबाबु भन्छन्, ‘हिजोको गाउँपालिकालाई उच्च प्राथमिकतामा राखेर हिजोको उपमहानगरपालिकाका वडाहरुमा भन्दा बढी बजेट विनियोजन गरेर बढी योजना दिएर यहाँको स्तर उकास्नुपर्ने छ ।’

उपमेयर उम्मेदवार बाबुराज सडकको अवस्था देखेर आफू बेलाबेला भक्कानिने गरेको सुनाउँछन् । उनी भन्छन्, ‘आजै यो गति भयो । पानी नपर्दा धुलो त्यस्तै हुन्छ । ललितपुरका सबै क्षेत्रलाई महानगरको स्तरमा पुर्‍याउन बाँकी छ । यसका लागि जनताले योग्य जनप्रतिनिधि छान्नुपर्ने छ ।’

सबैतिर भ्याउनु छ नि !

छोटो समयमा सबै क्षेत्रमा घरदैलो कार्यक्रम गर्नुपर्ने धपेडी उम्मेदवारहरुमा देखिएको छ । यसबाट चिरिबाबु र बाबुराज पनि अछुतो छैनन् । त्यसैले मतदाता भेट्ने, उनीहरुको गुनासो सुन्नेतिर लागेको देखिएन । बुधबार र बिहीबार उनीहरुको ललितपुरका विभिन्न वडामा चलेको घरदैलो नियाल्दा दुबैले स्थानीयसँग सायदै सम्वाद गरे, भएको संवाद पनि केवल औपचारिक र सटिक ।

सडकै सडक हिँड्ने उनीहरुले ज–जसलाई भेटिन्छ, उनीहरुलाई नमस्कार गर्थे ।

अगाडि नारा लगाइँदै एउटा समूह जान्छ त्यही आवाज सुनेपछि स्थानीयहरु सडकमा नियाल्दा रहेछन् । स्थानीयहरुले घरको छत, झ्याल, ढोकाबाट हेर्ने वा वा सडकमै निस्किएर स्वागत गर्ने गर्थे ।

केहीले खादा र केहीले अबीर लगाएर बधाई दिए । उम्मेदवारहरु पनि सडकबाटै नमस्कार गर्दै, स्वागत स्वीकार्दै अगाडि बढ्थे । यसरी घरदैलो गर्दा मतदाता कत्ति कन्भिन्स होलान् भन्ने प्रश्नमा उपमेयरका उम्मेदवार बज्राचार्य भन्छन्, ‘सबैतिर भ्याउनु छ नि !’

भोट दिँदा विवेक प्रयोग गरौं

घरदैलोका क्रममा मेयरका उम्मेदवार चिरिबाबु महर्जन मतदाताले केही सोधे, छोटो जवाफ दिन्थे । र, आग्रह गर्थे, विवेक प्रयोग गरेर भोट दिनुहोला ।

प्रधान टोल पुग्दै गर्दा बाटोमा भेटिएका एक युवालाई चिरिबाबुले नमस्कार गरे । नमस्कार फर्काउँदै उनले प्रश्न गरे, ‘अहिले मात्रै होला आउने …?’ चिरिबाबुले ‘म आइरहनेमा पर्छु’ भनेर जवाफ फर्काए र ‘भोट दिँदा विवेक प्रयोग गरौं है ल’ भनेर अगाडि बढिहाले ।

अधिकांशलाई एउटै शैलमिा आग्रह गरेपछि चिरिबाबुलाई सोध्यौं, ‘आफ्नो चुनाव चिह्नमा वा पाँच दलीय गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह नगरी किन विवेक प्रयोग गर्नुहोला भनेको ?’

उनको जवाफ छ, ‘पटकपटक वडाध्यक्ष भएर काम गरेँ । फेरि मेयरमा उम्मेदवार भएको छु । मतदाताले मेरो काम गराई र लगनशीलतालाई हेरेर विवेक नै प्रयोग गर्ने त हो ।’

मतदातासँग कम सम्वाद गर्ने, नमस्कार गर्दै भोट माग्नुको कारण जितप्रति विश्वास कि स्टाइल ?’ भन्ने प्रश्नमा उनी भन्छन्, ‘स्टाइल ।’ आफूलाई सबैले चिनेको, गठबन्धनका उम्मेदवारहरुलाई पनि चिनेको उल्लेख गर्दै उनी मतदाता सचेत रहेका कारण पनि गफिएर भोट मागिरहनुपर्ने बाध्यता नरहेको सुनाए ।

‘अहिलेको गठबन्धन किन बन्यो भन्ने पनि सबैलाई थाहा छ । गठबन्धनका उम्मेदवार को कस्तो भन्ने पनि थाहै छ,’ महर्जनले आफ्नो विश्वास प्रकट गरे, ‘मैले कति गरेँ भन्ने पनि थाहै छ । अब के गर्छु भनेर मतदाताको हातमा प्रतिवद्धता पत्र थमाएको छु । अवसर दिए काम गरेर देखाउँछु ।’

चिरिबाबुले व्यवस्थित विकास लागि सडक र ढल व्यवस्थापन, भवन निर्माण, खानेपानी र सिँचाइ, सम्पदा, संस्कृति संरक्षण, पोखरी र सम्पदाको संरक्षण लगायतका विषय समेटेर कार्ययोजना ल्याएका छन् । घरदैलोमा जाँदा सोही कार्ययोजना समेटिएको प्रतिवद्धतापत्र मतदातालाई बाँडिएको छ ।

तीन पटक वडाअध्यक्ष भएका चिरिबाबु २०७४ मा महानगरकै मेयर चुनिएका थिए । योपटक सत्तारुढ दलहरुको गठबन्धन भएकाले उनमा फेरि जित्छु भन्ने विश्वास पनि छ । उपमेयरका उम्मेदवार बाबुराज भने माओवादी केन्द्रका हुन् ।

घरदैलोका क्रममा कांग्रेस नेता-कार्यकर्ताले उनलाई पनि जितको ढाडस दिएको देखियो । वडा नम्बर २३ र २४ को घरदैलो सकेर नागदह दोबाटो नजिकै चिरिबाबुले सम्बोधन गर्दा कांग्रेस नेता कार्यकर्ता भने बाबुराजसँग गफिइरहेका थिए ।

‘कुनै हालतमा जितिन्छ केही मिलाउनुपर्ने छ त्यो पनि मिलाइन्छ ढुक्क हुनुस्’ बाबुराजलाई ढाडस दिँदै थिए । बाबुराज पनि ढुक्क देखिन्थे । भन्छन्, ‘२०७४ कै मतपरिणाम केलाउँदा पनि एमालेभन्दा धेरै अगाडि छौं ।’

तस्वीर र भिडियो : आर्यन धिमाल/अनलाइनखबर

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?