
१६ जेठ, काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकमा सरकारको परराष्ट्र सम्बन्धलाई लिएर प्रश्न उठेको छ ।
चुनावी समीक्षाका लागि सोमबार बसेको सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकमा नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले परराष्ट्र सम्बन्धमा विचलन देखा परेको बताएका हुन् ।
सरकार भूराजनीतिक संवेदनशीलता नबुझी अघि बढेको र यसले देश दुर्घटनामा पर्ने उनले चेतावनी दिए ।
‘भारतसँग राजनीतिक एजेण्डा थन्को लगायौं । अब लिम्पियाधुरा, लिपुलेक र कालापानीको मुद्दा नउठ्ने भयो, १९५० को सन्धि, ईपीजी, डुवानका मुद्दाहरु नउठाउने भयौं,’ बैठकका एक सहभागीका अनुसार श्रेष्ठले भने, ‘भारतले चाहेको आर्थिक मामिलाको सम्झौता मात्र हुने भयो ।’
अमेरिकासँगको सम्बन्ध पनि त्यस्तै रहेको भन्दै उनले गम्भीर छलफल गर्नुपर्ने बताएका छन् ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहितका नेताहरुले ‘छलफल गरौंला’ भन्ने जवाफ दिएका छन् ।
प्रतिक्रिया 4